दिवंगत साथीलाई सम्झीएर

Author : अशोक राई
Published on : January 18, 2009


  
अशोक राई

मेरो दिवंगत प्रवासी साथी

तिम्रो असमायिक मृत्युदेखि

बेखबर म

जिजीबिषाको रंग भित्र

जीवन खोज्दै

परिधिहरूमा सिमित म

आकस्मिकताहरू झेल्दै

आफैप्रति बेखबर छु,

 

तिम्रा धेरै सपनाहरूसँगै तिमीलाई

बेइमान मृत्यु आएर

मध्यरातमा

अपहरण गरी लग्यो रे

यतिखेर

एउटा यान्त्रिक दुनियामा बाँचीरहेको

स्तब्ध तिम्रो साथी

तिम्रो मृत्यु शोकमा

असहज समय गुजारी रहेछु

तिम्रा जस्तै मेरा हजार सपनाहरूलाई

एकपटक अंगालो हालेर

प्रारब्धलाई स्वीकारी रहेछु

यो निष्कर्षमा

की

जीवन भन्नु वस्तुत

इच्छा या अनिच्छाको उपज होइन

या त कुनै प्रायोजित श्रृंखला हो जीवन,

 

तिमीलाई सम्झदा

ति पुराना दिनहरूको झल्को आउँछ

हाम्रो भेट कुनै समय

एउटा द्वन्दग्रस्त र अशान्त देश

नेपालमा भएथ्यो

तिमीले त्यसबेला

राज्यबिहीन र अनागरिक हुनुको पीडा पोखेका थियौ

अन्यौल र जटीलताको उपाय सोधेका थियौ

अफसोस्

उसबेला म पनि

त्यही प्रश्न लिएर भौंतारि रहेको थिए

अस्थिर देशको

त्यो अशान्त सडक जस्तो

आतंकित इटा, ढुंगा र टायरका धुवा जस्तो

एम्बुस र कर्फ्यूहरूदेखि जोगीएर,

 

कालक्रममा

तिम्रो प्यारो गाउँ बेनी बजार

जनयुद्धले ध्वस्त बनाइ दिएछ

त्यहि उजाडिएको बेनी बजार जस्तै

अमिलो मन लिएर

एकसाथ प्रवासिएका हामी

कहिले अमेरिका

कहिले यूके

कहिले जापान

कहिले आयरल्याण्ड अनि

कहिले अष्ट्रेलियाको उडान भर्ने गर्थ्यौ

फर्किएर सिंगापुरको सडक पेटी नाप्थ्यौं

बिस्मित र थकित दिनचार्य लिएर

खण्डित लक्ष्य बोकेर

प्रवासमा सँगै बाँचेका ती दिनहरू

मेरो मानसपटलमा आइरहेछ,

 

प्रिय साथी

प्रकारान्तरले सही

हामीले जीवन उस्तै उस्तै भोग्यौं

मैले पूर्वमा भोगे

तिमीले पश्चिममा भोग्यौ

पूर्व भन्नु पश्चिम भन्नु उस्तै

एउटा बिरामी देश भोग्यौं

धेरै सिमान्तकृत वर्गले भोग्ने

त्यो निष्ठूरी काठमाण्डौ भोग्यौं

प्रवासको कथित वैभवता भोग्यौं

र उकुस मुकुस स्वभिमान भोग्यौं,

 

समयले डोर्याएर

को कता को कता भयौं

म हकङ आए

तिमी मकाउ पुगेछौ

सायद तिमी मकाउमा

जीवनलाई क्यासीनोसित दाज्दै थियौ

या ठूला अग्ला महलसित आफ्नो कद नाप्दै थियौ

जस्तो की म कहिलेकाहीँ

शहरको कोलाहलभित्र

आफैलाई खोजी हिड्छु

मेरो आस्थाको भूगोल खोज्दै हिड्छु,

 

कुनै दिन मैले तिम्रा मलीन मुहारभरि

कुण्ठित विवशता पढेको थिए

तिमीले पिएको एक प्याक व्हिस्कीमा

कुजिएको अस्तित्व पाएको थिए

तिमीले बोल्ने भाषाहरूमा

बिद्रोहको स्वर सुनेको थिए

आज

तिमीलाई भेटेर

तिम्रा अनुहारमा देश खोज्नु थियो

तिम्रा बिचारमा राज्य खोज्नु थियो

र तिमीलाई सोध्नु थियो

तिमी बिनाको तिम्रो बेनी बजार

आज के गर्दै होला ?

 

बिडम्बना

आज एउटा जीवनको

असामयिक पटाक्षेप भएको पाउँदा

आफै भत्किएकोछु

र यस घडी

म एउटा बिस्थापित आस्था लिएर

निर्दयिताको पराकाष्ठ नाघी हिड्ने

निकृष्ट भगवानप्रति

भर्त्सना गर्दै

तिम्रो लासमा फूल चढाउन नपाए पनि

सृष्टीलाई स्वीकार्नुको अर्थमा

सम्झौता गर्दैछु

र साथी

तिमीलाई केवल

शब्द श्रद्धाञ्जली अर्पण गर्दैछु ।