यात्रा अनुभूति र सम्झनाका लहरहरू (भाग २)

Author : किराँती भोगेन एक्ले
Published on : January 16, 2009


  
किराँती भोगेन एक्ले

धरानदेखि काठमाण्डौको यात्रा बीच
           कुरो लेख्दै थिएँ सम्झनाको तर प्रशंगवस थोरै अन्तै मोडिएछ । यताको काम अपूरै छाडेर काठमाण्डौ लाग्ने दिन आयो । अब अर्को फसाद । कोशीले बाटो ध्वास्त छ प्लेनबाट जानेलाई टिकेटको मात्र पीर होला तर गाडीबाट जानु पर्नेलाई अन्योलको अवस्था । कसैले के भन्छ कसैले के, यताबाट गयो कोशी तार्दा टापुमा पुर्याएर यता न उता पारी जति भन्यो उति भाडा असुल्छ रे । उताबाट गयो गाडीको राम्रो सुविधै छैन घण्टौँ हिड्नु पर्छ भन्ने सुनिन्छ । भारत भएर गयो दुई दिन लाग्छ रे । यस्तै अन्योलमा भए पनि एउटा बाटो समाउनै थियो । धरानबाट नजिक चतरा । बरु एक दुई घण्टा हिड्नै परे पनि त्यही बाटो रोजियो । दुईटा घाट तरेर केहीबेर हिडेपछि सजिलै गाडी पाइने रहेछ । बाटो कच्ची भएकोले यात्रा केही कठिन भए पनि कहिलै नपुगेको ठाउँहरू हेर्नु पाउदा रमाइलै लाग्ने । एउटा भङ्गालो तरेर अर्को भङ्गालोसम्म पुग्नलाई दश मिनेट जति हिड्नु पर्दो रहेछ । त्यस बीचमा सुर्ती बिँडी जिर्माको वासुम बेच्न बसेको पसलहरूले, मेरो गाउँ जाने दुधकोशी किनारको वर पिपलको छहारीमुनि थापिने त्यस्तै पसलहरूको झझल्को दिलाइदियो । धेरै साल भैसकेको थियो मैले कोशीको बलौटे पानीमा छानेको कमेरे वासुम नपिएको, अझै जुनेलोको भए खासा हुने थियो त्यो बेला । वरिपरि डाँडाकाँडा, छेवैमा, तलसम्म बगिरहेको देखिने सप्तकोशी, घामले ��"इलाएर आइरहेको वनमाराको वास्ना, दुधकोशीको किनारभन्दा खासै फरक थिएन त्यो ठाउँ र जाँड पनि । मज्जाले पिएँ तीन सेर र तिर्खा भन्दा बढी तृष्णा मेटेँ । त्यो दिन गाईघाट आएर बास बसियो ।

          भोलिपल्ट, अन्तशूल्क तथा राजश्व संकलन कार्यालय लाहान पुग्नु थियो । दाइ र म बिहान अबेर त्यता लाग्यौं । काम थियो, मात्र एउटा फाराम भर्नु र कोलेनिकाले बनाएर पठाइदिएको एउटा आय विवरण साथमा राखेर बुझाउनु । काम फत्ते गर्न जाम्माजम्मी दश मिनेट जति लाग्यो होला । तर यति कामको लागि हामि आफ्नो जिल्लाबाट यति टाढा आउनु पर्ने । दश पन्ध्र मिनेटको कामको लागि दुई चार हजार र छ सात दिन स्वाहा । हैन, त्यहीं जिल्ला स्थित कोलेनिकाले कुनै पनि उद्योग व्यवसायको आर्थिक कारोबारको हिसाबकिताब लिन सक्ने तर उसले अन्तशूल्क अथवा कर असुल्न भने नसक्ने यो कस्तो अमिला व्यवस्था गरेको हो सरकारले । आखिर, उसैले तयार गरेको आय विवरणको आधारमा अन्तशूल्क तथा राजश्व संकलन कार्यालयले कर असुली गर्ने भएपछि त्यो कर संकलन गर्ने अधिकार पनि विनियोजित गरेर उसैलाई दिए के हुन्छ हा ? हामी सेवाग्राहीहरूको महत्वपूर्ण समय र महङ्गीको पैसा खर्च गराएर सरकारले के पाउँछ ? हैन, लौ न कहिले बनाउने हो संघीय स्वायत्त राज्यहरू ? यहाँ त भोक लाग्नेलाई डाँडा वारि, भोक नलाग्नेलाई डाँडा पारि भनेझैँ भइसक्यो ।

          दाइ र म एकापसमा यस्तै असन्तुष्टिहरू फतफताउँदै कार्यालयबाट सहिद रमेश चोकमा निस्कियौं । अब हामीले काठमाण्डौको रात्री बस समाउनु थियो । त्यो पनि गाईघाटबाट हाम्रा सहयात्रीहरू चढ्ने नै । बिहान उनीहरूसँगै एकैचोटी टिकेट लिन सकिएन । कारण, नेपालको सरकारी कार्यालयहरूमा दश मिनेटको काम दुई दिन पनि लाग्न सक्ने सम्भावना । तर भाग्यले हो न नयाँ नेपाल बन्दै गरेकोले हो काम दशै मिनटमा सकियो । उताका सथीहरूसाग मोबाइल सम्पर्क गरी गाडी नम्बर सोधेर सोही गाडीको सिट संयुक्त टिकेट काउन्टरमा गएर सोध्दा सिट मिल्यो तर अचम्म भाडा गाईघाटबाट जति नै भन्छ बा । चित्त नपरेपछि जहाँ पनि झोँक उठीहाल्ने मलाई, त्यहाँ पनि झोँक चलिहाल्यो । झोँकिएँ- के हो, गईघाटदेखि यहाँसम्मको सत्तरी रुपैयाँ भाडाचाहिँ घट्दैन ? किन टेर्थे खाईखेली ख्यागु भई सकेकाहरू । सुनेको नसुनेकै गरेर टारीदिए । म पनि किन त्यसै त गल्थेँ र, रिसले आँखै देखिना, र उता गाईघाट फोन गरेँ । उता भएका आमा र नाना त त्यस्तै हुन् तर दाइ मालिकरामले मिलाउलान् भन्ने आश थियो नभन्दै मिलाए पनि । तर सोझा दाइलाई मज्जाले सोझाएछन् । बिहान पाँचसय तीसमा काटेको अहिले भने छ सय ठट्टाई हालेछ । मौकामा किन नठट्टाउन् आखिर त्यहाँका पनि उही ड्याङका मुला न परे ।  एक मनले सन्तोष नै गरेँ, यो अन्तिम समयमा केही गरी उताबाट नमिलेको भए, रुझेको मुसा भएर त्यही ख्यागुहरूको शरणमा पर्नु पर्थ्यो, ठीकैछ । अर्को मन भित्रभित्रै असन्तोष पोख्दै थियो, यो देशमा सोझा, सिधा, सद्धेहरू नठगिने दिन कहिले आउला । उता, हालमा म बसेको अर्काको देशमा भएको सार्वजनिक यातायातको सुव्यवस्था सम्झन पुग्छ मन । त्यहाँ अपाङ्गले त भाडा तिर्नै पर्दैन, साठी नाघेका वृद्धहरू र विद्यालय पोशाकमा भएका विद्यार्थीहरूले आधा तिरे पुग्छ, अरु बाँकी जम्मै, चोर, डाँका, साधु सन्त, महन्त, मन्त्री, पति, राष्ट्रपति जम्मैलाई एक छत्र । जो जो चढ्छन्, सरकारले तोकेको भाडा गुरुजी छेउको बक्सामा खत्रुक्क हाल्यो लन्ठा साफ न चढ्नेलाई टेन्सन न त चढाउनेलाई । कहिले पुग्ला हाम्रो देश त्यो दाँजोमा ? कम्तिमा आधाउधी नै पुगे पनि त कति हाइसन्चो हुन्थ्यो होला यो देशका जनतालाई । सोचाइले टाउकोको पारोँ पटक्कै घट्न दिएन, मेरो पालो दुई बोतल चिसो बियर खनाई दिएँ । अनि बल्ल सन्च भयो ।

          गाडी आउने समय आयो तर गाडी आईपुगेन । बरु मोबाइलबाट खबर आयो, गाडी लाहानभन्दा दुई किलोमीटर पर चक्का जाममा पर्यो रे । दिनभरि ठीकै थियो यो साँझपख फेरि के को जाम नि ? हल्ला सुनियो, खै कताको लागि माटो बोक्ने डम्फरहरूले धुलो उडाएकोले बाटोमा पानी छर्केर मात्र डम्फर चलाउन दिने भनेर स्थानीय बासीले डम्फर रोक्दा चालक र स्थानीय बासी बीच भएको विवादमा सुरक्षा कर्मीले हस्तक्षेप गरी स्थानीय बासीहरूलाई हातपात गरेकोले उनीहरूले त्यसको विरोधमा चक्काजाम गरेको रे । लु खा, यो बन्द, हड्ताल, चक्काजाम अब त सकियो होला भनेको तेरो भाग बाँकी नै रहेछ भोगे, अस्ति अलिकति विराटनगरमा पनि भेटिस् आज पनि विस्मात नमानी अलिकति चाख् । कसैले कानमा खुसुखुसु भनिरहेझै लाग्यो । अब के गर्ने ? मेरो पालो क्यामारा तेर्साएर एफएम घन्काउँदै बयल गाडा हाँक्नेदेखि, आउन लागेको तराईबासीको मूख्य चाँड छटको लागि माटोको हात्ती लगायत विभिन्न कलात्मक साना साना मटियाहरू ढाकीमा राखेर टाउकोमा बोकी हसिलो मुहारमा हिडिरहेका दिदीबहिनीहरूको फोटो शोखले खिच्न तिर लागेँ । मधेश आन्दोलनले बनाएको सहीद रमेश कुमार महतोको प्रतिमालाई आफ्नो क्यामरामा कैद गरेर त्यसै छेउ राजमार्गकोबीचमा मज्जाले उग्राइरहेका एक हुल गाईवस्तुलाई पनि क्यामाराको मेमोरीमा घुसार्दै अलिकति पूर्व लाग्दा, एकजना ट्राफिक दाइले भर्खरै एउटा मोटर साइकललाई समातेको देखेा । नजिकै गएर वार्तालाप सुन्दा, ट्राफिक लाइसेन्स मागिरहेको थियो भने चालक दिन नमानी आलटाल गर्दै थियो । कारण रहेछ विनाहेलमेटको यात्रा । बाइकको पछाडि बसेकी महिला भने बाइकबाट ��"र्लेर अरु मोटर साइकल यात्रीहरूलाई ��"ँलाले घोचीघोची देखाउदै थिइन् ट्राफिक दाइलाई । ट्राफिक दाइ कतै नहेरी मात्र आफ्नो मुर्गामा आँखा गाडेर कड्किन्दै थिए, 'अरुले जेसुकै गरुन् तर तपाईंले किन हेलमेट लगाउनु भएन ? लाइसेन्स झिक्नुस् ।' बाइकको चाबी ट्राफिकको हातमा थियो । लाइसेन्सचाहिँ चालकको गोजीमा थियो होला सायद । त्यही बेला वरपर विनाहेलमेट मोटर साइकलमा यताउता हूइँकिरहेकाहरू त्यहाँ उपस्थित हामी सबैले प्रशस्त देखिरहेका थियौँ । वरिपरिको वास्तविकताले ट्राफिक दाइलाई थोरै असजिलो महसुस भइरहेको थियो कि जस्तो मैले महसुस गरेँ । मौका पारेर पृष्टभूमिमा विनाहेलमेटको बाइक यात्रीलाई पारी अगाडिको दृश्य कभरेज गरेँ । झिलिक्क फ्ल्यास लाइट बल्यो । म सोंच्दै अर्कोतिर लागेँ, के त्यो सवारी नियण्त्रक भनौँ वा व्यवस्थापकले साँच्चैनै नियम लागु गराउने नै नियतले त्यत्रोबीचमा एउटालाई छानेको हो ?   

          लाठेहरूले बजाए, टाउकेहरूले गएर खै कसरी मिलाएपछि, बल्लबल्ल तीन चार घण्टामा जाम खुल्यो र आइपुग्यो हाम्रो बस पनि । सबै बसहरू एकैसाथ आउदा सानो घुईंचो लागेन त्यहाँ । रातको अध्यारो त्यसमाथि लोडसेडिङ । ल्याम्पपोष्टहरू निभेकोले बसको हेड्लाईटको भरमा गाडी खोज्नु र चिन्नु पर्दा सानो आपद परेको होइन । बल्लबल्ल गाडी भेटाएर चढेको, चढ्नेबित्तिकै लफडा । सिटमा गएर बसेको मात्र थिएँ, अर्को आइपुग्यो त्यही सिट नम्बर भएको टिकेट बोकेर । बस स्टाफलाई बोलायौँ । उ आयो र र्झकन्दै त्यो मित्रलाई झन्डै झन्डै हप्काएको शैलीमा अर्कोपट्टकि सिट देखायो । मलाई फेरि उठ्यो है झोँक । झोँकी हालेँ, तपाईं किन हामीलाई हप्काउनु हुन्छ ? एकरातको लागि भए पनि हामी तपाईंहरूको पाहुना हौँ । रातभरको यात्रामा हाम्रो सुख सुविधाको ख्याल राख्नु तपाइँहरूको जिम्मेवारी हो । तपाईंहरूकै कारणले अप्ठेरो पर्छ, उल्टो तपाईंहरूले नै हप्काउने ? आफ्नो टिकेटमा लेखिए अनुसारको सिट खोज्नुमा उहाँको के गल्ती ? मैले पनि आधा हप्काएकै शैलीमा भनेँ । होइन हामीले ए साइडको बी र बी साइडको ए गरेका छौँ आज । कन्डक्टर अलिक मत्थर हुदै बोल्यो । ए को बी र बी को ए गर्नुभएको छ वा अरु केके गर्नु भएको छ, हामीले कसरी थाहा पाउने ? टिकेटमा त ए को ए नै छ बी को बी नै छ, गरेको त राम्ररी बताउनु पर्यो नि । मैले पनि अलिक मलै स्वर गरेँ अहिले । हैन यतिबेला कहाँ पुगिसक्नु पर्ने लाहानमै छौँ अलिक टेन्शन भयो क्या दाइ नरिसाउनुस् न । मेरै जस्तो थ्याप्चे नाक भएको कन्डक्टरले पान चपाएको पहेलो दाँत थोरै देखाउदै भन्यो र करायो गुरुजीलाई, जाउँ जाउँ गुरुजी जाउँ ढिला भयो ।

          अघि चक्काजाममा पर्दा भोकाएको खबर पाएपछि मैले किनिराखेको सिँगडा/समोसा पिरो भएकोमा गनगन गर्दै खाँदै थिए दाइ मालिकराम । दाइ त पिरो पचाउने नै हुन् तर दाइको 'पायल्स' ले नपचाउने हुँदा, मैले चुपचाप उहाँको गनगन पचाउनु पर्यो । करिब साढे आठ बजे गाडी लाहानलाई पछि पार्दै बेतोडले हुइँकियो आफ्नो गन्तव्यतिर । सन्त्रास पैदा भयो मनमा, दुर्घटनाको बढी सम्भावना यस्तै बेला हो । समयले डाँडा काटिसकेको हुन्छ तर यात्रा डाँडा वारि नै, अनि गुरुजीले गाडी मात्र गुडाउँदैन, उडाउन थाल्छ । सकुसल आइपुगियो खानाखाने ठाउँ । सबै ��"र्लिए । स्वागतमा होटेलवाला तीन चार जना दाजुभाइले चारैतिर छेकी धपाउँदै हुले होटलभित्र । मबाहेक हाम्रा टोलीका सबै बसे खाना खान । मचाहिँ उनीहरू छेउ उभिएर आफ्नै पि्रय पय पदार्थ तीन पानेले घाँटी भिजाउन थालेँ । खाना आयो, खान थाले सबै । एकै छिनपछि प्रत्येक टेवुलहरूबाट सुनिन थाले आवाजहरू, ए थप खाना लेउ, दाल खै, तरकारी छैन ? खालि थालमाथि जुठो हात राखेर कराएका कराएकै छन् । तर थप केही पनि छैन । बल्ल बल्ल आउँछ । एउटै टेबुललाई पुग्दैन । अनि सुरु हुन्छ गनगन, यो नाइट गाडीले खुवाउने खाना यस्तै हो, न मीठो, न त अघाउन्जेल नै । कोही निकै बेर पर्खिएर बस्छन् र केही थप भेटछन्, कोही चाहिँ कि सर्मले कि वाक्क भएर उठ्न थाल्छन् त्यतिकै ।  मेरो मनले अघि नै देखेको तर आँखाले भर्खरै हेरिरहेको यी सब दृश्य देखेर मज्जा लाग्छ मलाई । मान्छे साँच्चै नै भेडै हो । एकपल्ट परेपछि फेरि किन त्यहीँ हाम्फाल्ने ? नाइट बसमा यात्रा गर्नेमध्ये उनान्सय प्रतिशतको त्यो पहिलो यात्रा हुँदैन । यी सब कष्ट कम्तिमा एक पल्ट सबैले पहिलै भोगिसकेका हुन्छन् । जानाजान फेरि आफैँ दोहोराउने अनि आफैँ गनगनाउने ? विचित्र छ मान्छेको स्वभाव ! एक छाक हो, जेले पनि पेट भर्न सकिन्छ । थाहापाई थाहापाई त्यही भात खानु किन !? पसलेलाई त के छ दोहोराएर आइरहने ग्राहक होइन आए पनि फेरि कहिले हो कहिले । उसलाई जसो गर्दा सबभन्दा बढी नाफा हुन्छ ऊ त्यसै गर्छ । हामीले पो सुधार्नु पर्यो आफ्नो वानी । एकपल्ट मात्र कसैले पनि नखाइदिने हो भने, त्यो होटेलेले त्यो दिनको खाना कुहाएर फ्याक्नु वा खसी, बोका, कुखुरा, हाँसलाई सित्तिमा दिनु परेको दिन मरिगए भुल्दैन र भोलिबाट उसले आफ्नो ग्राहकलाई हेला गर्न सक्दैन । भैगो, यसो गर्नु नसकिएला रे या भनौँ यसो गर्नु फेरि अर्को एउटा आन्दोलन नै गर्नु पर्ला रे । कति गर्नु यो देशमा आन्देलन, हाम्रो आन्दोलन देखेर अन्तराष्ट्र त्यसै चकित परिसकेको छ । तर हामीले आफ्नो वानीमा क्रमशः सुधार ल्यायौँ भने उसको ग्राहक संख्या पनि क्रमशः घट्दै जान्छ र ऊ क्रमशः आफ्नो नीति परिवर्तन गर्न वाध्य हुन्छ । यो क्रमशः जे सोच्दै थिएँ, मेरो ध्यान एकै चोटी भङ्ग गरिदिए छेवैमा खाना खान बसेका मेरा माछापत्ते दाजु माधवले । पचास रुपैयाँको प्लेटमा एउटा पुच्छर परेको रहेछ भागमा । त्यही चपाएको, पुगेछ काँडा अड्किन घाँटीमा । होटेलको चाला देखेर अघि नै झोँकिएका दाजु अहिले झन उग्र भएर खोक्दै निस्किए बाहिर । मलाइ भने अर्को खास्साको मसला प्राप्त भयो । यताउता सबैका अनुहारको राम्रो अवलोकन गरेँ, अहा कसैको अनुहार उज्यालो देखिना सिबाय काउन्टरमा बस्ने होटल साहुजी र बस स्टाफको । गुरुजीले बस स्टार्ट गरे र थोरै हर्न पनि बजाए । हामी सप्पै बस चढ्यौँ । दाजु अझै विस्तारै खाक्खाकखुक्खुक गर्दै थिए । दया लाग्यो । विचरा, दाजुको एकमाने पेटलाई कोठेथालीको होटेले खाना त्यो पनि भर्खरै भागमा आएको थपनिभातलाई बैमानी माछाको काँढाको कारण निल्नै नपाई थालैमा बाईबाई गर्नु पर्दा कत्रो मार्का पर्यो हाला नि । मुसुमुसु हाँसोमा सोच्दै थिएँ, तीन पानेको राम्रो गुनले भुसुकै भएँ छु ।
                                                                                                     क्रकश......