प्रसङ्ग र अनुभूतिहरू

Author : नरेश ठूले
Published on : January 15, 2009


  
नरेश ठूले

          ३१ डिसेम्बर २००७ म ह्यापिभ्याली रेसकोर्सभन्दा केही किलोमिटर माथि जागिरको निम्ति खटिएको थिएँ, साँझ ७ बजेदेखि बिहान ७ बजे सम्मका लागि । यो सालभरिको अन्तिम दिन र सायद सबैभन्दा कम तापक्रम भएको पनि तै दिन हुनुपर्छ साँझ जति छिप्पिदै गयो तै अनुपातमा जाडो पनि छिप्पिदै गएको भान हुन्थ्यो । राति ११:३० बज्दा तापक्रम १० डिग्री भैसकेको थियो र आद्रता ३० देखि घट्दै १३ सम्ममा आईपुग्दा हावाको वेग १७ कि.मी. भन्दा माथि नै थियो । नाक, कान र गाला चिसिनु स्वभाविक हो तर जुत्ता र जुरापले बेरिएर पनि खुट्टा झन् चिसो भएको थियो । २००७ ले अन्तिम सास फेरी रहँदा मान्छेहरू जाडोलाई जाँडको नशाले तताएर जाने वर्षलाई विदाई र नयाँ वर्षको आगमनलाई स्वागत गर्न व्यस्त र व्यग्र थिए । म लोबिबाट बाहिर निस्केँ, त्यो ठाउँमा गएर म उभिएँ जहाँबाट स्टारफेरीबाट आकाशतिर फालिएको आतिसबाजी विविध रङ्ग र आकारमा देखा पर्दै बिलाउँदै थिए र प्रकाशका बिम्बहरू नाची राखेका थिए । म गह्रौं मन लिएर रमिता हेरी रहेको थिएँ । राम्ररी नियालेर हेरेँ साँच्चै सुन्दर थिए ती मानव निर्मित रङ्गीन पटेकाका चमकहरू । प्रकाश र धुवाँ छोड्दै उठ्थे भूंईबाट र केही मिटर माथि पुगेर पड्किन्थे र विविध आकार बनेर प्रकाशका झिल्काहरू बिलाउँथे । मैले ती पटेकाका झिल्का र प्रकाशलाई जीवनसँग तुलना गरेँ र त्यो बल्ने झिल्कोलाई भन्दा बिलाउँदै जाने पक्रियालाई व्यग्र भएर हेरी रहेको थिएँ । मैले विगतको ३१ डिसम्बर सम्झेV, मेरो मन भत्क्यो एक पटक नराम्ररी ।

    (गत वर्ष यही दिन र समयमा यसरी नै जागिरमा नै थिएँ तर स्थान अन्तै थियो । मलाई नेपालदेखि एसएमएस आएको थियो "दाई तु नेपाल फोन गर्नु" म तरङ् तर्सिए कतै....... ? ड्युटिमा खटिएको मान्छे हत्त न पत्त समय मिलाएर एउटा कुना पसेर नम्बर डायल गरेँ । जो मान्छेले एसएमएस पठाएको थियो उसैले फोन उठायो हेलो...., सोधेँ को बोलेको ? जवाफ- म कुलदीप बोलेको, फेरी सोधे- केही अर्जेन्ट छ, तु फोन गर्नु भनेर खबर पाएँ के छ त्यस्तो ? उस्ले भन्यो- खासै नौलो र ताजा त केही छैन, वर्षको अन्तिम दिन, वर्षभरिका दुःख सुखको कुराकानी गरौं भनेर र केही सरसल्लाह गरौं भनेर अनि आज त मेरो जन्म दिन पनि... मलाई शुभकामना पनि दिनुहुन्छ कि भनेर । हो त नी, मैले जन्मदिन र नयाँवर्ष दुईटैको शुभकामना दिएँ उसलाई । हाँस्दै भन्यो धन्यवाद... । त्यसपछि उसले भन्यो- दाई मेरो डिग्रीको परिक्षा पनि भरखरै सकियो परिक्षा राम्रै भएको छ, अब थेसिस (सोधपत्र) को बारेमा सोच्नु पर्नेछ- वि.पि.को सुम्निमा उपन्यासमा लेख्ने विचार गरेको छु, यसमा किरातीहरूको आदर्श जो सुम्निमा हुन् उनलाई बदनाम गरेर सिङ्गो किरातीको अपमान भएको पाएको छु, त्यसैले यसैलाई सोधपत्रमा उतार्ने विचारमा छु कसो होला ? अति राम्रो, यो नगरी नहुने काम थियो तिमीले गर्ने सोच बनाएछौ, गर तिमीलाई अग्रीम शुभकामना...। ऊ झन् हौसिदै थियो र भन्दै थियो दाई अब म जागिर पनि खाने विचारमा छु कसो होला ? हालमा तिम्रो मूल कुरा पढाई नै हो पढाईलाई बाधा पुग्दैन भने र तिमीलाई आत्मविश्वास छ भने जागिर गरे पनि हुन्छ...। यतिकैमा मेरो काममा जानु पर्ने भयो बिदा भयौं, पछि फोन गर्ने शर्तमा ।)

          यस्तै विगतको कुरा सम्झिदै जीवनको अर्थ बारेमा सोँच्दै घडी हेर्दै थिएँ, समय रातको ११:३० बजी सकेको थियो । वर्ष बित्न तीस मिनेट मात्र बाँकी थियो । मेरो कम्मरमा टाँसीएको फोन सेट बज्न थाल्यो मेरो तन्द्रा भंग भयो । हेरेँ अन्नाउन कल थियो फेरी झस्के को होला फोन गर्ने...... ? सायद कतै बाहिरबाटै आएको हुनुपर्छ । फोन उठाएँ सुनियो उही चिरपरित स्वर। लामो समयपछि सुनियो त्यो स्वर उही जिन्दगीलाई राईफलको नालबाट नियाल्ने अनि त्यही राईफललाई जिन्दगी फलाक्न लगाउने श्रष्टा गणेश राईको रहेछ । उहाँले युकेदेखि फोन गर्नु भएको रहेछ । उहाँले कुराको प्रशङ्ग निकाल्नु भयो र प्रश्न गर्नु भो- नरेशजी नेपाल डट एचके मा तपाईको कविता पढेँ भरखरै, कस्तो कविता लेख्नु भो नरेशजी ? म त खप्नै सकिना अनि तुरून्तै तपाईलाई फोन गरें । के यो साँचो हो ? कुलदीप भाई ....? हो दाई यो वास्तविक घटना हो भनी उहाँको आन्यौललाई पुष्टी गरिदिएँ । अनि आश्चर्य प्रकट गर्दै उहाँले आफ्नो कवि भावले जीवनप्रति अनुत्तरित धेरै प्रश्न गर्नु भयो र मलाई सहानभूति दिनु भयो । उहाँले गतवर्षको स्मरण गर्नु भो । गतवर्ष 'हङकङमा कविता' को सार्वजनिकरण तथा अन्तर्विमर्श कार्यक्रममा मात्र 'इडिपस'सँग परिचय भएको थियो । भन्दै हुनुहुथ्यो- पोहोर यसैबेला हामी हङकङमा कविताको बारेमा तातो बहस र चर्चामा व्यस्त थियौं । ठिक एक वर्षपछि कुलदीप भाईको यस्तो दुःखद घटना भयो भोली हामी यसरी बोल्न नपाउन पनि सक्छौं होला, जीवन कस्तो रहेछ नरेशजी ? तपाईको कविताप्रति मेरो पूर्ण सहमति छ किनकी यस घटनाले मेरो पनि सपना भाँच्चिएको छ, कुलदीप भाईसँग मेरो पनि सपना जोडिएको थियो । मेरो कृतिलाई अंग्रेजीबाट रिभ्यु गरिदिन्छु भनेर वचन दिई सक्नु भएको थियो कुलदीप भाईले । उहाँ जस्तो विद्वान व्यक्तित्वलाई गुमाउनु भनेको हामीलाई मात्र होइन समाज र देशलाई नै क्षति हुनु हो म अति नै दुःखी छु । अनि भन्दै हुनुहुन्थ्यो कुलदीप भाईको नाममा स्मारिकाहरू निकाल्नु हुन्छ होला नरेशजी मलाई पनि भन्नु होला म पनि केही शब्द लेख्छु । मैले भने हुन्छ दाई लेख्न थाल्नुहोस् र मलाई मेल गरेर पठाउनुहोस् .... । आदि ईत्यादि वार्ता गरेर हामी बिदा भयौं । तर उता नयाँवर्षको रमझम र आतिसबाजी अझै सकिएको थिएन रकेटको झिल्कासँगै मेरो आँखाबाट पनि मोतिका दानहरू झर्दै थिए ।

          यस्तै के सोँच्दै आफ्नो ड्युटीमा म तल्लीन थिएँ । फेरी अर्को रिङ बज्यो मोबाईल सेटमा । यसो हेरेको परिचित नम्बर रहेछ । ६७६८३२९५ बाट कवि हाङयुग अज्ञातजीले गर्नु भएको रहेछ । यो दिन हङकङका साहित्यकारहरूको लागि एउटा खुशीको दिन रहेछ । छोटो अवधिमा हङकङ नेपाली साहित्यलाई उल्लेखनीय योगदान पुर्याउनु भएकोमा हङकङ नेपाली महासंघले सृजनशील साहित्य समाजका अध्यक्ष तथा कवि हाङयुग अज्ञातलाई हङकङ डलर ५ हजार राशीको नेपाली पुरस्कार प्रदान गरेछ । यो खुशीको खबरले केहिछिन अगाडिको मेरो दुःख र वेदनाको तुावालोलाई एकै छिन भए पनि हटाइ दिएको थियो । यस्तो स्वागतयोग्य महान् कार्यको थालनी गरेकोमा महासंघ र यसको मूल्यांकन समितिलाई मनमनै हार्दिक धन्यवाद प्रकट गरे र कविजीसँग बधाई र शुभकामना साटासाट गर्ने काम भयो । यस्तो महत्वपूर्ण समारोहमा मलाई पनि निम्तो आएको थियो तर काममा छुट्टी मिलाउन नसकेको कारणले सहभागिता हुनबाट वन्चित हुनु परेको थियो । यी भए विगत बर्षका कुरा ।

यसवर्ष यानी २००८ को डिसेम्बर ११ तदनुसार मंसिर २६ गते स्व. कुलदीपको वाषिर्क पुण्य तिथि परेकोले सो पुन्यतिथिको कार्यक्रममा सहभागि हुन डिसेम्वर ९ तारिक म नेपाल गएको थिए । स्व. कुलदीपको नाममा स्थपित स्व. कुलदीप सुनुवार स्मृति कोषले कुलदीपको वाषिर्क पुन्यतितिको अवसरमा स्व. कुलदीप सुनुवार राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरेको थियो । डिसेम्वर १० र ११ दुई दिन गरी उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरियो । प्रत्येक वर्ष आयोजना गरिने यस कार्यक्रममा अगामी वर्ष गीत संगीतलाई समेटीने कुरा ट्रष्टसाग सम्वन्धित पदाधिकारीहरूबाट संकेत मिलेको छ । कुलदीप ट्रष्टको यो महान कार्यमा सहभागी हुने मेरो मूल लक्ष्य रहेता पनि अरु महत्वपूर्ण कार्यक्रमहरूमा पनि सहभागी हुने अवसर पाएँ । किरातहरूको साकेला, षाँदर, धाननाच जस्तो महान चाडमा सहभागी जनाउन पाएँ । साथै नेल्टाको आयोजनामा एकल कविता वाचनमा भाग लिने अवसर पाएँ । मलाई लागी रहेको छ बिना पूर्व तयारि र योजना बावजुध अचानक यस्तो मौका पाउनु मेरो लागि ठूलो सौभाग्य र यो जीवनको एउटा अविस्मरणीय दिनको रुपमा सम्झिरहने छु यसलाई । यस्तो महत्वपूर्ण मौका जुराई दिनुहुने नेल्टा र नेल्टाका अध्यक्ष डा. गोविन्दाराज भट्टराई, सृजनशील अराजक कवि राजन मुकाररुङ, कवि उपेन्द्र सुब्बा, रङगवादका प्रवर्तक कवि धर्मेन्द्र विक्रम नेम्बाङ र सृजनशील साहित्य समाज नेपालका संयोजक कवि प्रकाश थाम्सुहाङ धन्यवादका महान पात्रहरू हुनुहुन्छ । यस कार्यक्रमबाट नेपालका अग्रज, समकालिन र नव स्रष्टा साहित्यकारहरूसँग प्रत्यक्ष कविता सम्वाद गर्ने अवसर पाएँ । यस्तो कार्य अगामी दिनहरूमा निरन्तर गरिरहने प्रतिबद्घता आयोजक पक्षबाट जाहेर भएको छ । यो विदेशमा रहेका स्रष्टा साहित्यकारको लागि खुशीको कुरा हो र समग्र नेपाली साहित्यको विकास र बृहत्तरताको लक्षण हो । लाग्दथ्यो केन्द्र र मूलधारका ठानिने साहित्य सर्जकहरूले मोफसल र विदेशमा रहेर साहित्य लेख्ने गर्नेहरूलाई रहरले गरेको ठान्ने चलन जो छ त्यसमा थोरै भएपनि केही सोँचमा परिवर्तन भएको हो कि जस्तो भान भएको छ । आफूलाई लागेको कुरा भन्नु पर्दा कार्यक्रममा उपस्थितिको संख्यालाई हेर्ने हो भने उल्लेखनीय नै माने हुन्छ तर चिरपरिचित कतिपय साहित्यकार स्रष्टाहरूलाई त्यस मन्चमा देख्न भेट्न र कविता सुनाउन नपाउँदा केही कमीको महसुश भयो ।

          यिनै कुराको सन्देश बोकेर म २५ डिसेम्बरका दिन कर्मथलो हङकङ आई पुगे । यता हङकङमा पनि यायोख्खाले आयोजना गरेको साकेला, खोटाङ समाजको ११ ��"ं वाषिर्कोत्सव, आदिवासी गीतकार समाज हङकङको पहिलो प्रस्तुती आदिवासी एल्वमको सर्वजनिकी कार्याक्रम र यसले ल्याएको तरङ उता राजधानी काठमाडौंसम्म पुगेको थियो । त्यस्तै याक्थुम चुम्लुङले आयोजना गरेको चासोक तङनाम, नेपाली कला मन्दिरको नेपाली सप्ताह भरखरै समापन भएका थिए । यी यावत कुराहरूको अनुभुतिका रौनकहरू आलो छँदै फेरी यस वर्ष २००८ को ३१ डिसेम्बर नजिकै आईसकेको थियो नयाँ बर्ष २००९ लिएर र यसै दिनमा नेपाली महासंघको चर्चित कार्यक्रम १० ��"ं बाषिर्क उत्सवको दिन पनि थियो । महासंघले गरेको यस कार्यलाई हामीले हृदयदेखि प्रशंसा गर्नुपर्छ । काम गर्दै जादाँ कमी कमजोरीहरू हुन सक्छन् । यसमा आयोजक पक्षले सजग हुनुको साथै कमजोरीलाई स्वीकार्नु पर्छ र आगामी दिनमा गल्ती दोहोर्याउनु हुन्न । गल्ति र कमी कमजोरीलाई ��"ंल्याउने स्वतन्त्रता सबैलाई छ । विरोध गर्नेहरूले पनि राम्रो कुरा बुझेर मात्र विरोध गर्दा सार्थक हुन्छ तर कुरा नबुझी केवल विरोधको नाममा विरोध गर्नु र अनावश्यक हल्ला फिँजाउनु राम्रो कुरा होइन । अन्तमा पुरस्कृत हुनेहरू सबैलाई वधाई र महासंघलाई धेरैधेरै धन्यवाद र अगामि दिनहरूमा अझ महत्वपूर्ण कार्य गर्दै जावस् भन्दै २००९ सबैको लागि शुभवर्ष बनोस् । शुभकामना ।