भूपीलाई खबर

Author : भूपेन्द्र चेम्जोङ
Published on : January 15, 2009


  
भूपेन्द्र चेम्जोङ

भूपी तिमी गएपछि

तिम्रो शहरमा तितौरा, वट्टाई राँगो निक्कै महँगो भएको

सम्झाई राख्नु नपर्ला

आउने जानेहरूले अवगत गराएकै होलान्

नव मानवहरूले वर्खामासको गोरू झैं महला लाएर शहर घुमेको पनि

सम्झाई रहनु नपर्ला

तिमीले वैशाखको घाममा साउना गरेको सुन्धारा तिर्खाले

व्याकुल भएको पनि सायद नयाँ खवर होइन,

तिम्रा घुम्ने मेचमा छिमेकी वसेर उठ्नै नमानेको खवर पनि सुनेकै हुनुपर्दछ हालसालै

तिम्रा एक मात्र विमान स्थल

मानव निर्यात गर्ने वन्दरगाह वनेकोछ

जहाँबाट पन्ध्रौ शताब्दीका काला जातिलाई

अफ्रिकाबाट दास वनाएर

युरोप तथा अमेरिकाका फ्याक्ट्रीहरूमा भित्र्याए झैं

कौडीमा धमाधम निर्यातिदोछन् खाडी, मलेशिया र समुद्रपारका मुलुकहरूमा

यी यावत खवरहरूबाट तिमी अनभिज्ञ नहुनुपर्दछ

तर तिमीलाई थाहा नभएको केही खवरहरू भन्न मन लाग्छ 

तिम्रो शहरमा

तिम्रो मुस्ताङमा

तिम्रो सगरमाथामा,

 

तिमीलाई थाहा ?

एकलव्यलाई शिक्षा दिन इन्कार गर्ने

द्रोणाचार्यहरू जंगलको वास लागेकाछन्

तिमीलाई ��"ला कटाउने द्रोणाचार्यहरूबाट

आज क्षतिपूर्ति मागिदैछ

द्रोणाचार्यको मूर्तिहरू धमाधम भत्काइदैछन्

त्यहाँ वुद्धका,लखनका शालिकहरू

श्रीजंगाका मूर्तिहरू पुनस्थापित हुँदैछन्

तिमीलाई दौड जिताउने पैतालालाई

सुनको जुत्ता मागिदैछ,

 

अव क्यारेम वोर्डको गोटिहरू

स्ट्राइकरमा परिणत हुँदैछन्

हामी वीर पनि छौं

वुद्धिमानी पनि हुादैछौं

वुद्धिमानी भएर वीर हुँदैछौ,

 

तर

स्वतन्त्र आमाहरूले

लाहुरे जन्माउन छोडेका छैनन्

महाकविहरूको पलायन हुने

काम भने वढदो

स्वतन्त्र आमाहरूले लाहुरे छोराहरू

जन्माउन नछोड्ने हो भने

महाकविहरू पलायन हुन नछाड्ने हो भने

कुनै दिन तिम्रा झुपडीहरू

तिमीले कुल्चेका पाइलाहरू

इतिहासमा परिणत हुनेछन्

मानव शास्त्रीहरूले पूर्खाको चिहान उत्खनन् गर्नुपर्ने

तिम्रो पहिचानको लागि

तिम्रा वीरहरू खोज्न

पोखरा धरानका क्याम्पहरूमा होइन

वेलायतको गल्लीमा चाहार्नु पर्नेछ

हङकङको सडकहरूमा, लान्ताउको सुधार केन्द्रहरूमा चियाउनु पर्नेछ