यात्रा अनुभूति र सम्झनाका लहरहरू (भाग १)

Author : किराँती भोगेन एक्ले
Published on : January 10, 2009


  
किराँती भोगेन एक्ले

          म सानै छादा मुग्लान याने कि कोइलाखाँद पसेका मेरा धेरै गाउँले काकाबाउ, दाजुभाइहरू फेरि गाउँ फिरेनन् । त्यतिबेला भासिएकाहरू सुन्छु अझ पनि उतै छन् रे । त्यसरी भासिनेमध्ये कतिले गर्भमै छोडेर गएका आफ्नो सन्तानको आज छोराछोरी भैसकेका छन् भने कतिका श्रीमतीहरू खसम नर्फकने टुङ्गोमा पुगेपछि अर्कै घरजम जोडेर बजु भैसकेका छन् । अब त दुःखद मिथक बनिसकेका तिनीहरू चाहेरै पनि गाउँ फिर्न नसकिरहेका होलान् । यस्तै मर्म, पीडाहरूलाई नजिकबाट छामेर मैले कुनै जमानामा आफ्नै पारामा लेखेको अर्ध गीति नाटक, चित्राले स्टेज बारी नाटकका पात्रहरू नै बस्ने गाउँ बस्तीहरूमा मञ्चन गरेको थिएँ । जीवनको कटु यथार्थ पनि कस्तो बेस्वादिलो हुँदोरहेछ ! हिजो उक्त नाटकमा मैले निभाएको मुग्लानेको भूमिका आज यथार्थमा खुद भोगिरहेको छु । यो भन्दा उच्चतम संयोग अरू के होला ? यसैले लाग्छ, यो दुनियाँ एउटा खुल्ला रंगमञ्च हो र हामी यसका रंगकर्मी हौं भन्ने 'भनाइ' भनाइ नभई साश्वत भोगाइ हो ।

          झन्डै झन्डै यतै बिलाउन लागेको म यो वर्ष छोटै समयको लागि भए पनि मेरो देश नेपाल पुगेा । उता कोइला खाँदकाहरूझैं अर्को साल जान्छु, फेरि अर्को साल जान्छु भन्दा भन्दै गोडा छ-एक वर्षहरू फगत योजनामै वितेपछि यो साल मुस्किलले बीस दिनको लागि साइत जुरेको थियो । यो छोटो नेपाल बसाइमा धेरै आफन्तजन, मित्र मन्डलीसाग भेटघाट र धेरै अविस्मरणीय सम्झनाहरू सागाल्न पाए पनि त्यो मेरो जन्मथलो, पुर्खाहरूको पार्थिव शरीरले सुवासित माटो टेक्न नपाइकनै र्फकनु पर्दा आफ्ना बालसखाहरू, युगौँदेखि फुस्फुसाइरहेका ती फुसका छानोहरू, साँच्चैका छिमेकीजस्ता छिमेकी सिरानघरे, धाराघरे, माझाघरेहरू, त्यो लमतन्न अल्ले डाँडा, काहालीलाग्दो गीद्घे भिर, मेरो शिरको टोपीजस्तो त्यो ट्याम्के चुचुरो, छातीजस्तो चौंडा रूपाकोट, वरिपरि गुराँस र चिमलहरूको पगरी गुथी हजारौं चौंरी र भेडाबाख्राको गोठाल्नी बनेर युगौँ युगौँदेखि हुस्सु र कुहिरोहरूसँग लुकामारी खेल्दै बुकीफूलको वास्नामा सदा मुस्कुराइरहने विशाल चौर मयौं, मैले थुप्रै दुवाली मारेको, बल्सी खेलेको साप्सु, मेवा, रावा खोला र यस्ता असंख्य अमिट सम्झना मेरो मनमा खोप्ने धेरै धेरैलाई देख्न नपाई भेट्न नपाई नै फिर्नु पर्दा नेपाल पुगेर पनि नपुगी नै फर्किएँ जस्तो लागिरहेको छ कतै मनको एउटा कुनमा नमीठो गरी गहिरोसाग । यस्तै अमिलो मन लिएर आफ्नो छोटो नेपाल बसाइको केही तीतामीठा अनुभूतिहरू कोर्ने जमर्को गर्दैछु अहिले ।

 

हङकङदेखि काठमाण्डौ

 

          वर्षौंपछिको फिर्ति, त्यसै पनि उत्साहित नै थियो मन । हङकङको वाध्यता, आधा परिवार यता आधा उता, उता रहेकाहरूलाई भेट्न पाइने स्मरणले पनि रोमाञ्चित थिएँ जहाज चढ्न इयरपोर्ट पुग्दा । भित्र छिर्ने बेला सानो अढाइ वर्षे छोराले पछ्याउन खोजेर भाँडभैलो मच्याउदा भने मनै खिन्न भएको थियो । भित्रभित्रै दृढता व्यक्त गरेको थिएँ त्यो बेला, चाँडै प्रवाशको किलो उखेलेर सदाकोलागि गोठ नेपाल सार्नेछु भनेर । पुलुक्क चिहाउदा छोराको रुवाइले होला सायद आमाको अनुहार पनि थोरै मलिन देखेको थिएँ । म छुट्ने बेला आफन्तको अनुहार हत्तपत्त हेर्दिना, खै कस्तो वानी हो आफैँलाई अचम्म लाग्छ ।

हवाईजहाज काठमाण्डौ भित्रियो । रातिको समय परेकोले उत्तरी सुन्दर हिमश्रृङ्खला र काठमाण्डौंलाई घेरेर बसेका वरिपरिका डाँडाहरू नदेखिए पनि सहर भने छारा छिम्टे उज्यालोमा कतै अध्यारो त कतै उज्यालो देखियो । मनले च्वास्सै बोलिहाल्यो, जलश्रोतको धनी देश तर लोडसेडिङ । कस्तो विसंगति, कस्तो विडम्बना । कच्याक्क कुच्याउन मनलाग्छ, देशको पुस्तौंपुस्ताको कुहिगन्धे राजनीतिलाई । राजदरबारलाई त जनताको बाढीले बगाइ नै सक्यो । मलाईचाहिँ अब सिँहदरबार एकै लात्तले भ्वाक्क भत्काइदिने झोँक चल्छ कहिलेकाहीँ । तर हानी हाल्न मिलेको छैन र मात्र, किनभने हिजोको वनवासी भर्खरै आज घर पसेको छ । हेरौँ कतिको देख्दो रहेछ चुहिएको छानो र भत्केको भित्तो । पर्ख र हेरको नीति लिनु उत्तम हुन्छ भन्दै छ मन । चालै पाइना, जहाजले अघि नै धावनमार्ग टेकिसकेछ । मनलाई थुम्थुमाउदै ��"र्लने तरखरमा लाग्दा अर्को त्रासले समातेको थियो फेरि । अध्यागमनका कर्मचारी भनाउदा कहिलै नअघाउने गिद्घहरू सिनु रुङरिहेका होलान् । यस्तो ख्याल किन आएको थियो भने, छ वर्ष पहिले आउँदा, एउटा गिद्घले राहदानी लिएर अघि नै दश किलो चाँदी चढाइदिएको रहेछ राहदानीको भित्री पानामा पछिमात्र चाल पाएँ । त्यो पनि त्यहीँको अली निम्छरो गिद्घबाट । सायद झम्टा झम्टीमा अलिक पछि परेको झोँकमा होला खुसुक्कै फुकिहाल्यो नत्र किन पो फुक्थ्यो म सिनोको कानमा । त्यो मेरो राहदानी लिने तिघ्रे गिद्घसँग गएर जंगिएँ । अलि हच्किएर खुसुक्क देखाइदियो चाँदीवाल सेठलाई । ठाडै निल्नु पर्यो भनेर त्यसको छेउ पुगेको यत्रो बिट्टाबाट दश��"टा हात्ती निकालेर तेस्र्याइदियो । कुरा बुझेँ र पनि सोधेँ- के हो योके हुनु, बोक्नेको रेट किलोको एउटा हो दश किलोको दश��"टा । सिधा जवाफ पाएपछि चुपचाप त्यो समाउनुभन्दा अर्को कुनै उपाए थिएन । समाएर पछाडि यसो फर्केको अघिको त्यो सुराकी गिद्ध ङिच्च थुतुनो बनाएर मेरो नजिकै उभिएर मलाई नै हेरिरहेको, ... तेरो चाल त यो पो, भनेझैँ लाग्यो तर जे भए पनि आखिर श्रोत त तैं होस् नत्र त पछि पास्पोर्ट हेरेर दङ खानु सिवाय अर्को चारा थिएन भन्ने लागेर तीन��"टा थमाइदिएं । यसरी हाकाहाकी सरकारी राजश्व छलिन्थ्यो त्यहाँ । अध्यागमन हैन कुनै ठूलो मेलाजस्तो महसुस हुने त्यो स्थलमा होहल्ला र गञ्जागोलबीच यात्रुहरूको झोला त के स्वयं यात्रुलाई नै खसी बजारमा खसी छान्दा ढाड, फिला, गर्धन, राजखानी छामेजस्तै जताततै छामछाम छुमछुम पारेर हुर्मत लिन्थे । त्यो अध्यागमन पार गर्दा मलाई ठूलो मानसिक कष्टबाट छुट्कारा पाएजस्तो अनुभूति भएको थियो त्यो बेला । त्यही पीडा बल्झने पीरले हतास मानसिकतामा म हाम्रो एकमात्र अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमा पुगेको थिएँ । तर सुखद आश्चर्य यो पाली त्यस्तो कुनै पनि हैरानी भोग्नु परेन । सटासट छिटो छरितोसाग सजिलै बाहिर निस्कनु पाइएकोमा अत्यन्त खुशी लाग्यो । हाम्रोमा पनि केही राम्रो थिति बसेछ । कामना गर्दछु, यो मेरो भ्रम नठहरियोस् ।

           दशै अष्ठमीको रात पुगेको थिएँ म काठमाण्डौं । वर्षौंपछिको आमासागको भेट अत्यन्त सुखद लागिरहेको थियो । नवमी बिहानै पशुपतिको श्लेष्मान्तक वन पुगें । यो छ वर्षबीचमा जिन्दगीमा फेरि नभेट्ने गरेर छुटेकाहरूमध्ये मेरो कोकुको पार्थिव शरीरले चार वर्षअगाडी वास पाएको थियो त्यहाँ । आप्नो परम्परालाई पूरा गर्दै तीन मुठी माटो चढाएं हातले र मनले उहांको आत्माको चीर शान्तिको कामना गरें । भोलिपल्ट दशमी टीकाको दिन । विषय वा सन्दर्भ जे भए पनि म आफ्नो जन्मदाता, लालनपालनकर्ता पापा मामालाई विचारको सुइरोले घोचेर हायल कायल पार्न बुद्धिमत्ता ठान्दिना । चुपचाप आनन्दले आमाको हातको टीका, जमरा लगाएं र श्रद्धाले मातारीको पाउ छोएं शिरले अनि सदाझैं शुभआशिर्वाद लिएं ।

 

धरान र सेरोफेरो

 

         हामी हङकङवासी नेपालीहरूको एउटा सामूहिक दुःखद भोगाइ के हो भने हामी अधिकांश परिवार नेपाल र हङकङमा बांडिएका छौं । यो अरबी मरभूमिहरूलगायतका अन्य धेरै प्रवाशमा सम्पूर्ण परिवारलाई नेपालमा छोडेर फगत एक्लो जीवन बांचिरहेकाहरूकोभन्दा त असहज नहोला तर त्यस्तो सहज पनि छैन । मेरो मन त काठमाण्डौ इयरपोर्टमा ��"र्लनासाथ पुगिसकेकै थियो धरान । तर पांचौ दिनको बेलुकीमात्र शरीर भने पुर्याउन सकेँ । मेरो आगमनको व्यग्र प्रतिक्षामा रहेकी मेरी सातवर्षे सानी छोरीले पुग्नासाथ हतार झोला खोदाल्न थाली । म पनि हतारमै थिएँ, उसलाई उसको आमाले पठाइदिएको मायाको चिनोहरू हातमा लगाइदिन । सासुससुरालगायत घरमा भएकाहरूसाग ढोगभेट चल्यो, टिकाटालो भयो । दक्षिणा ससुराबाले दशै रुपैयाँ मात्र दिए । छोरी बसी मेरो हातको टीका थाप्न । आशिर्वादमा उसले बाजेको जस्तै गीत मागी । मलाई 'आयु द्रोणसूते...' नआउने, कुन गीत गाउँदै टीका लगाइदिने आपत पर्यो । झटै मनमा उसैले मलाई सानैदेखि सुनाउदै आएको गीत 'सपनीमा छुनु र मुनु छ, विपनीमा सम्झेर रुनुछ.....' लाई सकेसम्म उसैले गाएजसरी गाउँदै टीका लगाइदिएँ । दक्षिणा लिनेबेला उसका मसिना आँखाहरू पैसामा एकटक गाढिएको देखेर मलाई भने आफ्नै बाल्यकालको सम्झनाले रोमाञ्चित बनायो ।

           छोटो धरान बसाइको क्रममा, प्रातः कालीन भ्रमणको बहाना कहिले कता कहिले कता गर्दै प्रायः सबैतिर डुलेँ । कुनै एक समय भित्तीहरू मौलाएको सहर, गेडागुडी र मृत्यु ट्रोनिकहरूले छताछुल्ल भएको सहर भनेर दुर्नाम हुनखोजेको धरानको कायापलट भएछ । साँझपख मात्र उभिएर त्रासमूक्त एक लामो सास फेर्न गाह्रो पर्ने सहरका चोकहरू अब ढुक्कले घण्टौं बसेर सुस्ताउन सकिने बनेछ । एकाबिहानैतिर लर्खराएका युवा पाईलाहरू भेटिने बाटाहरूमा अहिले स्वास्थ फुर्तिला गोडाहरू ग्वार्ग्वार्ती डौडन थालेछन् । भानुको प्रतिमा त छादै थियो, अहिले यलम्बर, वीर गोर्खाको प्रतिमाहरूले पनि सहर चोकहरूमा आफ्नो उचित स्थान जमाएछ । लाहुरेहरूले विदेशमा टेकेर गएका बाटाहरू जस्तै थुप्रै चिल्ला बाटाहरू बनेछन् जताततै त्यो लाहुरेको सघन वस्तिमा । संचारको विकासमा नेपाल पनि अब धेरैपछि छैन भन्ने त यतै प्रवाशमै बसेर पनि बुझेकै थिएँ । पछिल्लो समयमा गाउघरका आफ्नै दाजुभाइहरूले मोबाइल सेट पठाइमाग्दा त्यसको पहुँचको पनि ज्ञान भएकै थियो तर धरानका साधरण रिक्सा चालकहरूले यात्रुकोलागि मोबाइलबाट आफ्ना साथीहरूलाई सम्पर्क गरी थप रिक्सा बोलाएको देख्दा भने बेग्लै सुखानुभूतिकोसाथ एउटा यथार्थ ज्ञात भयो कि साँच्चै नै अब सर्वसाधरणहरूको पनि अत्याधुनिक संचारसम्म राम्रै पहुँच पुगेछ । मेरालागि अर्को नौलो दृश्य रहृयो घण्टाघर, हङकङबासी धरानेहरूको प्रयासमा निमार्ण भएको घण्टाघरले त्यो ठाउँकोमात्र होइन पूरै धरानकोनै शोभा निक्कै बढाएछ । आज त्यो ठाउँलाई भानुको मूर्तिलेभन्दा नवनिर्मित घण्टाघरले सुहाएको देखेँ, नेपाललाई संघीय लोकतन्त्रिक गणतन्त्र नामले सुहाएजस्तै । त्यसैले म त आदरणीय धरानबासीहरूलाई सुझाव दिन चाहन्छु कि त्यो चोकको नाम अव परिवर्तन गरेर घण्टाघर चोक राख्नुहोस् । मलाई खट्किएको एउटा कुरा उक्त घण्टाघरको दृश्य अवलोकन गर्ने ठाउँको चारैतिरको रेलिङ्मा भने सुधार ल्याउन जरुरी छ । कारण अग्लोगरी सिमेन्टको पर्खालबाट बनाइएको उक्त रेलिङ्बाट बालबच्चा तथा बृद्धहरूले सजिलैसँग वरिपरिका दृश्य हेर्न सक्दैनन् । तसर्थ सम्बन्धित पक्षले त्यो मनन् गरी त्यसमा सुधार ल्याउन रेलिङ्को तल्लो भागमा फलामे ग्रीलको प्रयोग गरी बाहिरी दृश्य अवलोकन गर्न सकिने तुल्याइयोस् । यो धरानेहरूले चाहेमा सुधार्न सक्छ तर अर्को उनीहरूले चाहेर पनि सुधार्न नसक्ने गरी बिगि्रएको भने त्यहाँको बजार भाउ रहेछ । हुन त यो आम्दानी बेगरको बजारभाउ वृद्धिले धरानेमात्र होइन सारा नेपालीहरूलाई पिरोलेको छ । दैनिक उपभोग्य वस्तुको भाउवृद्धिले ढाड सेकिनेमा सारो गरी निम्छरो वर्ग नै पर्छन् । जागिरेको त तलब वृद्धी हुन्छ । अस्ति भर्खरै नेपाल सरकारले कर्मचारीहरूको तलबमा वृद्धि गर्यो, त्यसले उनीहरूलाई पक्कै पनि केही न केही राहत त मील्यो नै, तर ज्यालादारी काम गर्ने कुल्लीहरूको, रिक्सा चलाउने, ठेला ठेल्नेहरूजस्ताको केही पनि बढेको छैन, बढे नै पनि हात्तीको मुखमा जीरा बराबर । बेरोजगारको त कुरै छाडौँ तर पेट उसको पनि छ । धरानमा पनि अचाक्ली वृद्धि भएछ हरेक चिजबिजको भाउ । त्यसमा पनि स्थानीय उत्पादनहरूको भाउ मलाई दोब्बरैले बढेझैँ महसुस भयो । स्थानीय उत्पादन भन्नाले, विशेष गरी यहाँ वरिपरिका पहाडी भूभाग र छिमेकी धन्कुटाबाट भित्रिने कृषि उत्पादन हुन् । मुठीभरको एकमुठा सागलाई दश रुपैयाँ । खै यो वृद्धि उपभोक्तामा मात्रै हो कि वास्तविक उत्पादकसम्मै हो । हामीले तिर्ने मूल्यमध्ये उत्पादकसम्म कति पुग्छ । के फेद टुप्पा सुकाएर बीच मात्र मोटाइरहेको त छैन ? यसको उचित अनुगमन र व्यवस्थापन कहिले, कसले गर्ला ? उपभोक्ताहरू त व्यापारीले बजाउने डम्फु नै भइहाले । तर कृषि प्रधान देशमा कृषकहरू मारमा परेका परेकै छन् । वर्ष्याउनी भाउवृद्धि भएर ल्वाङ, सुकुमेल, जीरा, मरिचजस्ता मसलाहरू नेपाल भित्रिरहादा, पूर्वी नेपालको आफ्नो उत्पादन अलैँचीचाहिं उचित भाउ नपाएर टनका टन उत्पादककै घरमा सडिन्दै गरेको समाचार आइरहेको छ । पश्चिम नेपालका स्याउहरू बजार पुग्न नपाएर कुहेका कुहेकै छन् तर बजारमा भने उपभोक्ताले फोस्के कस्मिरी स्याउलाई महङ्गो मोल तिरेर किन्नु परेको छ । यो अवस्था कहिलेसम्म रहला नेपालमा ? अब त त्यही अलैंचीघारीमा लुकेर छापामार युद्ध लड्नेहरू त्यहीं स्याउले आँत रसाउँदै मोर्चा कसेर बस्नेहरू सरकारमा विराजमान छन् । देशका प्रधान मन्त्रीले पनि जनताका नाममा कसम खाएका छन् । आशा गरौँ यी र यस्ता समस्याहरूको पूर्णरूपमा समाधान खोजिने छ । परिश्रमी हात बोकेका जनताका मनहरूले निराश हुनु पर्ने छैन आउँदा दिनहरूमा ।

          आज पूर्णे । मुस्लिमबन्धुहरूको महान चाँड रमादानको पूर्व सन्ध्यामा विराटनगर मस्जिदमा ज्यान जानेगरी गरिएको हमलाको विरुद्धमा गरिएको आन्दोलनलाई हिन्दुहरूको महान चाँड दशैंसम्मलाई जो स्थगन गरिएको थियो, हो त्यसैको निरन्तरता स्वरुप भोलिबाट अनिश्चितकालीन विराटनगर बन्द सुरुहुने वाला थियो । भोलिबाटै बन्द शुरु, भोलि नै पहाडबाट झर्दै थियो दाइ माधव विराटनगर । एक्लै कतै अप्ठेरोमा पर्ला भनेर लिनजाने विचार गरेँ । भोलि गाडी छिर्न देला नदेला बरु आजै गएर विराटनगर नै बास बस्छु र भोलि बिहानै इयरपोर्ट छिर्नुपर्ला भन्ने विचारले अघिल्लै दिन उता हानिएँ । आजको बिहान हिजो सोचेजस्तो भएन । बिहानै महेन्द्र चोकमा गाडीहरू तोडफोड भएको खबर सुनियो । इयरपोर्ट जान सम्भव नभएपछि, मोबाइलमा सम्पर्क भएको दाइलाई रिक्सा लिई म बसेको हाम्रो नानाको घरसम्म आउनु भनेँ । खिरिरि रिक्सामा दाजै  आइपुगे । इयरपोर्टबाट पिच्रासम्मको लोकल भाडा पचास, त्यो दिन एक्सप्रेस भाडा ठटायो रिक्सावालाले ठ्याक्कै चार सय । भैयाले मौकामा दह्रो चौका हानेको देखेर मैले लिएर गएको भेन मलाई हेर्दै मुसुमुसु हाासिमात्र रहृयो । मलाई भने पचासको ठाउँमा चार सय तिर्नु पर्दाको झोँकमा त्यही भेनलाई एक लात मारौँ कि जस्तो लागिरहेको थियो । के गर्नु सौताको रिसले पोइको काख मुतेजस्तो हुने । जे होस् अब आज धरान कसरी जाने भन्ने जुक्ति खोज्न थाल्यौँ । हामीसँग गाडी थियो तर बाटो थिएन । भेनको गुरू बडो बाठो, आखिर व्यवसायिक न परे । यस्तो बन्द त कति तोडे तोडे उनले । के गरोस् नतोडेर ? नेपालमा हुनेजति सबै बन्दमा उसले गाडी थन्काउने हो भने त उसको जीवनको गाडी पनि त थन्किन्छ । बालबच्चाको स्कुले झोला थन्किन्छ । भाँडाकुँडाले आगो ताप्न पाउदैन चिसै आल्मारीमा थन्किन्छ । अरु धेरै के के थन्किन्छ थन्किन्छ । त्यसैले उसले बाटो खोज्नै पर्छ । त्यो दिन पनि खोजी छाड्यो । भन्यो- अहिले दिउँसो बन्दकारी उग्र हुन्छ । भरै साँझतिर निस्केर मुलबाटो नगइ चोरबाटो लाग्नु पर्छ । हामी सबैले मान्यौँ उसको कुरा, अर्को कुनै चारा पनि त थिएन । अब हाम्रो साँझ कुर्ने काम सुरू भयो । भखरै पहाडबाट आइपुगेको मेरो पि्रय पेय पदार्थ विसुद्ध नङ्ग्रे कोदोको मात्र तीन पाने आराखासाग च्वाँचेको चोक्टाले मुख रसाउन थाल्यौँ । खाँदाखाँदै दाइ केही सम्झिएर झस्किन्दै बोले- आहा... जहाजमा पस्ने बेला जिउँदो हाल्न दिएन र मारेको, गनाइ पो सक्यो होला नि । पेरूङ्गोबाट कालो ख्यालटोपा भाले बाहिर निकाले । निकाल्दा त मारेको भाले जिउँदै रहेछ । पानी खुवाएको त मातेको मान्छेको स्टायलमा लर्खराउदै हिड्न पो थाल्यो । एकैछिनपछि त पूरा तंगि्रएर भाले त बास्छ बा लामो स्वर तानेर उसैउसै, पूरा सद्धे । छक्कै पर्यौँ सबै, दाइ झन तीन छक्क पर्नुभयो । हैन, मेरै हातले तीन फन्को मुण्टो बटारेर त्यसको ढाडमा चार पाँच कराँते ठोकेको ठहरै भाको थियो ! दाइ आश्चर्य पोख्दै थियो भाले फेरि एकपल्ट अलिक अप्ठेरोगरी पखेटा फट्फटाएर मज्जाले बास्दै हिड्यो फूलबारीतिर डुल्न । सबै भन्दै थिए- मर्छ होला बिराम भएरपछि, बरू अहिलै काटे राम्रो । के को मर्छ । यस्तो मर्यो भनेको कति बाँचेको छ कति ��"खलढुङ्गाको गोपाल राईलाई मारेर फालेको होइन ? के मरे उनी ? के को मर्नु मन्त्री भएका थिए नेपालको । पोर दुर्घट्नामा अभर परेर मात्र अचानक गए उनी । गच्छेदार नि ! लाशै बनाएर फ्याकिदिएको हैन र उसलाई ? मर्नु त हैन बाँचेर यो देशको मन्त्री नाथु त कति पल्ट भए भए । अझै पनि कालो चस्मा ढल्काएर यो डाली र उ डाली गर्दै भाषण ठोक्दै हिड्दैछ । गोपाल, गच्छेदार त प्रतिनिधि पात्र मात्र हुन्, यस्ता उदाहरण त कति छन् कति । यो भाले पनि मर्दैन । बरू अर्को पल्टको आम चुनावमा उठाउनु पर्छ । यसले चुनाव जीत्छ जित्छ । जनतामा फुक्नु पर्छ कि यो जिउँदो सहिद हो । अनि कसले भोट दिदैन । यो माननीय मात्र होइन दाउ पर्यो भने मन्त्री नै बन्छ । बरू कुन पार्टीबाट उठाउने त्यो सोचौँ न । मेरो कुरा सुनेर सबै हाँसेका थिए मज्जाले । मैले पनि त्यही आनन्दमा स्वाटै पारेँ एक गिलास ।

          गुरूजीको योजना मुताविक छ बजेतिर बाटो लागियो धरानको । उसले गाडी महेन्द्रचोकभन्दा तलतिरबाट थोरै पूर्व घुसाएर उत्तर मोडी चोर बाटो पछ्याउदै हुइकाए गान्द्राङ र गुन्द्रुङ । म अगाडीको सिटमा, नाना र दाइ पछाडिको सिटमा । गुरूसँग जम्मा चार जना थियौा यात्री । अलिकमाथि पुगेपछि पिपलको गाछीमुनि आठ दश जना मान्छे देखिए टाढैबाट । सशंकित हुँदै अघि बढ्यौँ । जसै उनीहरूलाई क्रसमात्र के गरेका थियौँ, चर्को स्वरमा कसैले पछाडिबाट सुइत्त पारेर मुखले सिठ्ठी फुकेको आवाज आयो । त्यो सुनेर गुरूजीले एकाएक यसरी गाडीको एस्कुलेटर थिचे कि गाडी जोडसँग अगाडि भाग्दा हामी हृवात्त पछाडि हुतिन्न पुग्यौँ । त्यो सुइत्त सुइत्तको आवाज उसरीनै दोहोरी रहृयो । मैले झ्यालबाट पछाडि हेरेँ, त्यो पिपलको बोट र मान्छेहरू त धेरैपछि छुटिसकेका थिए, अनि यो सिठ्ठीको आवाजचाहीँ कता बाट त ? तब पछाडि बसेको दाइ मोबाइल गोजीबाट निकाल्दै मुसुमुसु हाँसेर बोल्छ- मेरो मोबाइलको रिङटोन बजेको हौ किन तर्सेको ? उहाँको रिङटोनले जोडसाग मुखले सुइत्त सिठ्ठी फुक्दै 'ट्याक्सी' भन्दो रहेछ । गाडीको आवाजले त्यो मलो सानो स्वरको 'ट्याक्सी' चाहिँ राम्ररी नसुनिने भएकोले हामी खाली कडा आवाजले बजेको सिठ्ठी मात्र सुन्दा रहेछौँ । त्यो हाँसोउठ्दो घट्नाले, करिब तीस चालीस सेकेण्ड भए पनि सात्तो उडायो मोबाइलवाला बाहेक हाम्रो । मलाई सारै चित्त बुझेन । किन यस्तो अत्तो न पत्तोको रिङटोन राखेको होला ! दाइलाई बेस्सरी झपारेँ एकपल्ट । मनमनै गमेँ, यस्तो रिङटोनले के सिकाउँछ ? कस्तो संस्कारलाई प्रसय दिन्छ ? के हाम्रो सभ्यतामा कुनै पनि सभ्य मान्छेले ट्याक्सी बोलाउँदा वा रोक्दा के यसरी नै जोड्ले सिठ्ठी फुक्दै बोलाउँछ, रोक्छ ? पछिपछि पनि जब दाइको फोन आयो मलाई झर्को र झोँक एकैचोटि चल्ने । अनि भनें दाइलाई- ठीकैछ दाइ, यदि तपाईं ट्याक्सी बोलाउँदा यसरी नै बोलाउनु हुन्छ भने मेरो भन्नु केही छैन होइन भने चाहिँ यो टोन हटाउनुस् । त्यसपछि उनले रिङटोन फेरे तर के एकाध जना उपभोक्ताले यसलाई प्रयोग नगर्दैमा निर्मूल हुन सक्छ र ? उत्पादक जिम्मेवार बन्ने कि नबन्ने ? जसले संसारभर छरेका छन् यी र यस्ता विकृतिहरू ।

          धरान आएपछि तीन दिन कतै चल्न सकिएन । छोटो समयमा गर्नु पर्ने मेरो थुप्रै कामहरू बाँकी नै थिए । सिलिगुडी जानु थियो, जोगवनी, फर्मेसगञ्ज पुग्नु थियो । एकदिन कन्यामतिर चियाबारी घुम्न गएर पुरानो सम्झनालाई ताजा बनाउनु पनि थियो । तर तीन दिन इटहरीसम्मै भएको ठप्पले जम्मै योजना, योजनामै मात्र सीमित रहे । दोष कसलाई दिने, बन्द गर्नेलाई कि बन्द नखोल्नेलाई । यदि माग सही थियो भने र तीन चार दिनको बन्दपछि पूरा गर्नै पथ्र्यो भने, सम्बन्धित पक्षले अगाडि नै माग कर्तासँग भन्नु सक्थ्यो होला नि कि तिमीहरूको आन्दोलन यतिदिनसम्मलाई स्थगित गर हामी तिमीहरूको माग पूरा गर्नेछौँ । तर यो देशमा किन हुन्थ्यो त्यस्तो । मा��"वादीले आफ्नो मागकोलागि दश वर्ष वनवास बस्नु पर्यो । उनीहरूलाई भुसुनो बराबर पनि नठान्दाको मूल्य देशले नराम्रोसँग चुकाइसकेको छ । एक दुई लाख जनतालाई नटेरेर मै हूँ भन्ने दुस्साहसीको सातो र सत्ता दुवै उडाउन दशौं लाख जनता सडकमा ��"र्लनु पर्यो । दु-दुई पटक सरेर मात्र संविधानसभाको चुनाव सम्पन्न भएको छ देशमा । आज तैँले गर्दा संविधान बन्न नसक्ने भो भनेर एकापसमा सक्दो दोषारोपण गर्दै छन् । यसमा पनि समयमा नै बुद्धि फिर्ने छाँट देखिन्न दुवैतिरको । आन्दोलन, बन्द, हड्ताल गर्नेको त के कुरा गराइ भयो, रत्नपार्कको आकाशे पुलमुनि बस्ने एउटा पागलले, राज्यले मलाई अब सद्धे घोषित गर्नु पर्यो भन्ने माग राख्दै बन्द आयोजना गर्यो भने पनि बन्द पूर्ण सफल हुन्छ । किनकि हामी अब  टाएरफोबिया, तोड्फोडफोबिया, हुलदङ्गाफोबिया जस्ता फोबियाहरूबाट पूर्ण ग्रस्त भइसकेका छौा । यो बाट मुक्त हुने एउटै उपाय हो, राज्य विधिको शासनबाट चल्नु । विधिको शासनको मुख्य आधार हो संविधान । संविधान बनाउने संविधानसभाले हो । संविधानसभा भनेको हामीले चुनेर पठाएका सभासदहरू हुन् । भने अब संविधान बन्नमा समस्या आउँछ भने अबको आन्दोलन, बन्द र हड्ताल सभासदहरूले गर्नु पर्छ । उनीहरूको प्रमुख दायित्व संविधान बनाउनु हो न कि सरकारमा बसेकाहरूको अरौटे भरौटे हुनु । न त प्रतिपक्ष हूँ भन्नेहरूको लहैलहैमा लाग्नु नै हो । तसर्थ संविधान बनाउन पक्ष प्रतिपक्षहरूको खेलले रोक्छ भने त्योबाट माथि उठ्नु पर्छ सभासदहरू । यसको नेतृत्व गर्नु पर्दछ संविधानसभाको सभामुखले र राष्ट्रपति यदि साँच्चिकै राष्ट्रपति हुन् भने यो संविधान बन्नु पर्छ भन्ने आन्दोलनको अग्र पंतिमा नेपालको झण्डा समाएर हिड्नु पर्छ सडकमा ।

                                                                                      क्रमश ..........