कविता

Author : केशर थुलुङ
Published on : February 14, 2016


  
केशर थुलुङ

कलमको निवबाट तप्प झरेर

खाली कागजको पानामा पोतिन खोज्ने

एक्लो-एक्लो अक्षरहरु उठेर सधैं जिस्काउँछन्

महोदय ! कविता कस्तो हुन्छ-

 

प्रतिउत्तर छैन मसँग

म मौन रहन्छु- केहीबेर

एकोहोरो सोच्छु-सोच्छु

र एउटा निष्कर्षमा पुग्छु,

 

रहरहरुको, सपनाहरुको,

कल्पनाहरुको एउटा चाङ

हिमालहरुको उचाई

लम्पसार पल्टिरहेको पाखाहरुको गथा

यो निलो आकाश र गडगडाहड

जुन-ताराहरुको झिलिमिली

जुनकिरीहरुको पिल्पिलाउने पुच्छर

सूर्यको आफ्नै महत्वको कथा

बादलको लुकामारी खेल

प्रकृतिको सुन्दरताको वर्णन

सबैलाई समेट्न सक्ने

ग्रन्थजस्तै लाग्छ- कविता,

 

तिमी हाँस्दा हाँस्छ

र रुदाँ रुन्छ कविता

हामी जे गर्छौं त्यही गर्छ

हामी जता जान्छौँ त्यतै जान्छ कविता

कहिलेकाही सम्बन्धमा भावुक बन्छ

र उमङ्गको उडान पनि भर्छ कविताले एक्कासि,

 

अतितका स्मृतिहरु

ऐनामाजस्तै/पानीभित्र देखिने विम्वजस्तै

उतारिदिन्छ र्छलङ्ग

फूल र काँडाको सम्बन्धमा

उत्रिन्छ अलग-अलग तर्क बोकेर

देख्न रुचाउदैन विभत्स हत्याहरु

बन्छ तरवारजस्तै धारिलो

आगोजस्तै रापिलो,

 

साँच्चै कविता - - -

 

तिमीजस्तो नदेखिने

मजस्तो नदेखिने

कुनै पनि वस्तुजस्तो नदेखिने

तर हामी र हाम्रो सम्बन्धमा

हामी र जगतको सम्बन्धमा

सत्यको प्रचण्ड भर्ने

रङजस्तै लाग्छ कविता

संगीतको धुनजस्तै झङकृत हुने

तरङ्ग लाग्छ कविता ।

 

पाथेका-, खोटाङ