अन्धा जनता

Author : सरण राई
Published on : January 17, 2016


  
सरण राई
      

लघु कथा

“....सम्पूर्ण दुःखको मुहान आँखा हो । यसलाई चिम्म पारेर केही बेर मोक्ष अनुभव गर्नुभन्दा आँखालाई फुटाई नै दियो भने सधैंका लागि मोक्ष प्राप्त हुन्छ । हो कि होईन ?”

नेता आफ्ना पिछलग्गु कार्यकर्ता र जनताहरुलाई सोध्छन् ।

हो ,हो । भिजिलान्तेहरू कराउछन् ।

हो ,हो । एकोहोरिएका पिछलग्गु कार्यकर्ता र जनताहरू पनि कराउछन् ।

हो, आँखाले देखेर त लोभ लालच पलाउँछ । प्राप्तिको इच्छा जाग्छ र प्राप्त गर्न नसक्ता दुःख जन्मन्छ । आँखै नभएपछि दुःख स्वतः समाप्त हुन्छ भन्ने सोचेर पिछलग्गु कार्यकर्ता र जनताहरू आफ्ना आँखा फुटाउन राजी हुन्छन् ।

उनीहरूका आँखा निर्दयतापूर्वक फुटाइन्छ । आँखा गुमिसकेपछि पो आँखाको महत्व उनीहरूलाई थाहा हुन्छ । आँखा त राम्रो-नराम्रो , सुख-दुःख, शोषण, अन्याय, प्रेम, घृणा, सत्य-असत्य, विविध रङग, रमाइलो संसार आदि छुट्याउने चेतना पो रहेछ ।

फुटाइसकेको आँखा फेरि बन्न सक्तैन । म तिमीहरूलाई मानिसहरूको भीड हुने ठाँउहरू दोबाटो, बसपार्क, हटियामेला, रेल्वेस्टेसन आदी स्थानहरूमा पुर्याउछु । भीख माग्नु । भीखबाट उठेको सबै रकम मेरो हुनेछ । भीख मागेर कमाइन्जेल म तिमीहरूलाई दया गरेर आधि पेट खान दिइरहनेछु ।

नेता अट्टहाँस गर्छ । नेताको लहैलहैमा लागेर अन्धा भइसकेका पिछलग्गु कार्यकर्ता र जनताहरू नेताका नीजि सम्पत्ति भइसकेका हुन्छन् । र, विवश उनीहरू पूर्णतया नेतामाथि आस्रित हुन्छन् ।