म बन्दुक

Author : जुनु राना
Published on : August 14, 2015


  
जुनु राना

रहर होईन मेरो

न बाध्यता हो मेरो

म बन्दुक

अफ्नो इच्छाले

म कहाँ पडकन्छु र !

बाध्यतामा चल्नु

मेरो बाध्यता हो

हो म बन्दुक हुँ,

 

म आफै केही होईन,

बारुद भर्नु मेरो काम होईन

कसैको सास खोस्ने

मेरो अधिकार होईन

कसैको सपना भाँच्नु

मेरो रहर होईन

म निष्क्रिय हुँ,

म स्वास बिनाको लास जस्तो

हो म बन्दुक हुँ,

 

न म तानाशाह,

न म हुँ सम्राट

न नेता हुँ

न अभिनेता नै

न बिछिटै छु सुन्दर

न कुरुप छु

कालिगडले दिएको

स्वरुप मै त हुन्छु

न धनी न गरिब म

हो म बन्दुक हुँ,

 

मेरो नाममा राजनीतिको

खेल खेलिइन्छन

डर देखाई

त्रासको जाल बिछ्याई

रगतको भेलमा

मलाई लत्पत पारी

आँसुले सागरमा डुबाई

मेरो अस्तित्वमा दाग लगाईन्छन

किनकि म बन्दुक हुँ

हो म बन्दुक हुँ

मेरो नाम बन्दुक

हो म बन्दुक हुँ