देश नियाल्दा

Author : रावत
Published on : December 17, 2008


  
रावत
ऊ त्यो,
सिम्रिकको बस्तीमा
मेरी आमाको टिकुली झैं टल्किरहेको
मेरो घरको छानो हो
त्यहि छानोमुनी बसेर
च्याउ जस्ता बग्रेल्ती भुराहरू
घोकिरहेकाछन्-पसिनाको अक्षर
अलि तल
मेरा बाजे झैँ
मुक्त हाँसो हाँसिरहेको मेरो गोठ हो
जहाँ हलो र जुहाहरूले पढाइरहेका छन्
डोको, डालो र भकारीलाई अन्नको पाठ
अनि त्यो पृथ्वी जस्तै गोलो मेरो आागन हो
जहाँ परेड खेलिरहेकाछन् जूनका तन्नेरी झिल्काहरू
र, गाइरहेछन राष्ट्रियगान
हो, यतिखेर मेरो देश
पाठशाला भएको छ,

भर्खर एक हूल तुफानी बतास आएर
मलाई दौडिन सिकाएर गयो
भर्खर वसन्तले मलाई
कुटो, कोदालो र कलम थमाएर गयो
पग्लिएको हिमाल
चर्किएको पहाड
र, च्यातिएको तराईलाई
स्यूँदै स्यूँदै सप्तरङ्गी धागोले
मेरै धुरीसम्म ल्याइपुर्याएको छ घाम
हो, यतिखेर मेरो देश
विहानी डाक्ने भाले भएको छ,

पुरानो रानीपोखरी
जहाँबाट उफ्रीउफ्री माछाहरू
नाँघिरहेछन् घण्टाघर
मन्दिर, मस्जिद र गुफाहरूमा
भिखारी, पुजारी र भगवान हैन
मानिसहरू हिँडिरहेछन्
अग्लो, होचो र मसिनो देखेर नझुक्किनु
माटोमा उभिएका हरेक गोडाहरू
मेरो देशका सिपाहीहरू हुन्
हो, यतिखेर मेरो देश
नेपालीको काँधमा चढेर नेपाल भएको छ ।

द्वितिय - कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५