ए तथाकथित् (मान्छे)

Author : सामा श्री
Published on : May 06, 2015


  
सामा श्री

मान्छे हौ भने त !

मान्छे  जब बोल्दछ

तब

कसैलाई सम्बोधन गर्छ

कोही सम्बोधित हुन्छ

बिचार बाँडिन्छ, दुःखसुख बाँडिन्छ

चिरा परेका हृदयमा

वाणी स्नेह-मल्हम बन्दछ

आँसु पुछ्दै

अधरमा हाँसो फुटाउँछ

तर खै !

 

तिम्रो गर्जन

कानलाई कहिल्यै

श्रुतिमधुर भएन

मस्तिष्कलाई कहिल्यै

उदेकपूर्ण भएन

हृदयलाई कहिल्यै

तरङ्गित गर्ने भएन

तिम्रो गर्जन

फलाङ हानेर

पहरा छुँदै फर्किन्छ

र तिम्रै वरिपरि

प्रतिध्वनीत भएर

गुञ्जिरहन्छ भने

कसरी भनु

तिमीलाई मान्छे !

 

ए तथाकथित् (मान्छे)

उँचाई पहाडको मात्र हुँदैन

उँचाई बाँसको मात्र पनि हुँदैन

उँचाई समतल मैदानको पनि हुन्छ

उँचाई टुसाउँदा घाँसको पनि हुन्छ

तिमी

उतुङ्ग टाकुराका शिरमा उभिएर

समदृष्टिमा

जब कोही पाउँदैनौ

 

तब

तिमीलाई निहुरिनै पर्छ

आफ्नो उँचाई देखाउन

तिमी निहुरिन्छौ

तिमीले तल हेर्दा

हामी लघु देखिन्छौँ

दृष्टिभ्रम

हामीलाई पनि उस्तै हुन्छ

हे शैल विजेता !

 

तलबाट

हामी पनि तिमीलाई हेर्छौँ

हाम्रो दृष्टिमा

जब तिमीलाई

लघुतम् देख्दछौँ भने

कसरी भनु

तिमीलाई मान्छे !

ए तथाकथित (मान्छे)

तिम्रो आवाजको अर्थ के  ?

तिम्रो वचनको आवश्यकता के  ?

तिम्रो गर्जनको उदेश्य के  ?

 

दम्भले

भित्रको खोक्रो ठाउँ पुरिदैन

चर्को आवाजमा

कहिल्यै प्रेम हुँदैन

शैल टाकुरामा उभिँदैमा

उँचाइ पटक्कै बढदैन्

ए तथाकथित् (मान्छे)

कतै मान्छेको आवरणमा

तिमी एलियन त हैनौ !

 

कतै तिम्रो रगतको रङ्ग

हाम्रो भन्दा फरक त छैन

हामी धर्धरी रगत बगाउँदा

तिम्रा शरीरबाट कहिल्यै

पसिना समेत बगेन

मानिसको रूपमा

मानिसलाई नै भक्षण गरेर

विजेता बन्न आएका हौ भने

कसरी भनु

तिमीलाई मान्छे !


काठमाडौं

हाल : ईज्रायल