महाभूकम्प र सुअवसर

Author : सरण राई
Published on : May 06, 2015


  
सरण राई

     संकटले नै महान् मानिसहरुको परीक्षा लिन्छ | यस्तो परीक्षामा हाम्रा अधिकांस नेताहरु परीक्षाभन्दा पहिला नै फेल भैसकेका छन् |अहिले उनीहरुको नजर विदेशबाट भूकम्प पीडितका लागि आउने रकममा केन्द्रित रहेकोले उनीहरुका कार्यकर्ताहरु पार्टीको झण्डा लिएर चन्दा संकलनमा सडकमा,सहरमा र गाउँ घरमा निस्किएका छैनन् | भूकम्प पीडितका लागि आउने रकम कसरी बढीभन्दा बढी कुम्ल्याउन सकिन्छ भन्ने कुरामा भ्रष्ट नेताहरु केन्द्रित छन् |यसको उदाहरण सिराहाको नेताले रोगले मरेका दुइ मानिसहरुको नाम पनि भूकम्पले मरेका मानिसहरुको सुचिमा राख्न प्रहरीलाई दवाव दिनु हो (कान्तिपुरमा प्रकाशित समाचार अनुसार)|

अब जनता सचेत हुने बेला भएको छ | सरकारको कामकारवाही चनाखो भएर अवलोकन गर्नु पर्ने भएको छ | राजनैतिक कार्यकर्ताले नेताको अन्धभक्त नभएर सहि राजनीति कस्तो हुन्छ बुझ्नु पर्ने बेला भएको छ | जनता /नागरिक नेता र दलहरुका दास होइनन भन्ने प्रमाणित गर्ने अवसर यो विनासकारी महाभूकम्पले प्रदान गरेको छ | सरकार, दल र नेताहरुको परीक्षा यो महाभूकम्पको संकटले लिइरहेको छ | उनीहरुको नैतिकताको परीक्षा भईरहेको छ | यो परिक्षामा फेल हुने नेता र दल सधैको लागि फेल हुनेछ |

यो महाभूकम्पको संकटले जनता/ सर्वसाधारण आम मान्छे सबै बुध्दिजिवी, ब्यापारी, राजनैतिक कार्यकर्ता आदि सबैको परीक्षा लिईरहेको छ | को कति नैतिकवान, धैर्यवान र इमानदार छ ? जांची रहेको छ | यो घडीमा हामी सबै नेपालीहरुले नैतिकवान, धैर्यवान र इमानदार भएर राजनीति, जातजाति, धर्म र निजि स्वार्थभन्दा माथि उठेर अभूतपूर्व एकता प्रदर्शन गर्दै यो संकटको सामना गर्न सक्यो भने मात्र हामी परिक्षामा उतिर्ण हुनेछौ |

यो पुस्ताले अनेकौ संकटको सामना गर्दै युग परिवर्तनको दायित्व पनि वहन गरी सकेको छ | अहिले त हामी एक्लै छैनौं, विश्वले साथ दिईरहेको छ | हामीले निर्वाह गर्नुपर्ने दायीत्व हामी सहजताका साथ पुरा गर्ने छौं | त्यसका लागि हामीले भ्रष्टहरुलाई चिनेर सधैंका लागि पाखा लाउने यो एउटा सुनौलो अवसर हो | महाविपत्तिलाई शुसासन, सुव्यवस्था र कल्याणकारी राज्यको उदय र समग्र बिकाशको अवसरमा बदल्न सक्यौं भने हामीले भूकम्पलाई जित्ने छौं, भूकम्प हार्ने छ | सधैंको लागि जित हाम्रो हुनेछ !