कमरेड प्रचण्डलाई खुला पत्र

Author : टोप बहादुर राई
Published on : February 25, 2015


  
टोप बहादुर राई

कमरेड लाल सलाम !

खै कहाँ छन् आजकल

तिम्रा टाउँकाको

मुल्य तोक्नेहरु ?

खै के गर्दै छन् आजकल

हामीलाई आतंककारीको

बिल्ला भिराउँनेहरु ?

खै कुन शक्तिको

एम्बुसमा फस्यो

हाम्रा सपनाहरु ?

खै कुन प्रतिगमनकारीको

चलखेलमा अल्मलियो

हाम्रा भविष्यहरु ?

कि कतै दशहजार बलिका

एकमुष्ठ सगुन पिएर

निगुरो झै झुक्यो

पेरिसदरबारमा गाडिएका

क्रान्तिका ति लाल झण्डाहरु ?

 

कमरेड लाल सलाम !

बोकेर स्वप्न युद्ध

घन्काउँदै रक्तिम गीतहरु

भीर, पहरा

रुख, लहरा

खेतबारी भैसी गोठहरुमा

उभिन्थे मसाल बालेर बिद्रोहहरु

पहाड जत्रो दुःखको भारी बोकेर

बम गोलाको फूल संगै खेल्दै

पूर्वी पश्चिमी कमाण्ड सम्हाल्दै

लड्ने हजारौं योद्धाहरु

खै कुन तक्माले विभुषित भए ?

कि कतै दलालले भिडाइदिएको

झुटो विवरण,

राज्यले थमाएको

हरियो पासपोर्ट,

श्रम विभागले श्वीकृत गरेको

मृत्युपत्र बोकेर

जस्तै यो चिनाको टापुमा

गड्यौंला बनेर

समुन्द्र मुनि सुरुङ्ग खन्दै

कमरेड चट्याङ्ग जस्तै खाडिमा

खजुरकोको बोट मुनि रात कटाउँदै

ऊटको भकारो सोहोर्नमै खुसि सुखि छन्

 

कमरेड लाल सलाम !

खै कसको डायरी कोर्दैछिन्

कमरेड तारा राईहरु ?

खै कुन देशको क्षेत्रफल नाप्दैछिन्

कमरेड मिरा राईहरु ?

खै कुन क्रान्तिका शब्दहरु खिप्दैछन्

कमरेड कृष्ण सेनका सपनाहरु ?

खै कुन युगमा हाँस्लान्

थवाङ दोरम्बाहरु ?

मेरो आप्पाको कसम कमरेड

सिंहदरबार पसे दिखिन्

तिमीले पहिरिएका कोटबाट

अझै आइरहेछ

शाहदत कमरेडहरुको

रगत पसिनाको गन्ध,

तिमीले खाने

बास्मती चामलबाट

अझै आइरहेछ

भोका शहिद परिवारहरुको

अमिलो डकारको गन्ध,

तिमीले लगाएका

पावरवाला चस्माबाट

अझै देखिरहेछ

लाखौं उत्पिडित सर्बहारा वर्गका

नाङ्गा गुप्ताङ्ग,

तिमीले पिउँने

हृवीस्कि ब्राण्डीको बोतलबाट

अझै बगिरहेछ

विधुवी भाउजुको

सिउँदोको सिंदुर

पखालिएको आशु

 

नोटः-    

चिना- चलनचल्तीको भाषामा चाइनिजलाई चिना पनि भन्ने गरिन्छ

आप्पा-  याख्खा भाषामा बाबा

थवाङ- रोप्ला जिल्लामा पर्ने माओवादी जनयुद्धको उद्धगमस्थल

दोरम्बा- दोस्रो शान्तिवार्ताको क्रममा नेपाली सेनाद्धारा तत्कालिन बिद्रोहि माओवादीका दर्जन भन्दा बढि उच्च तहका कमाण्डरहरुलाई पक्राउ पश्चात सामुहिक हत्या गरिएको स्थल


(हङकङ तेह्रथुम मन्च हङकङको १०औं बार्षिकोत्सवको उपलक्षमा स्व. तिलक सिं थाङदेन अक्षयकोषद्रावा उहाँको स्मृतिमा आयोजित कविता प्रतियोगिताको प्रथम कविता)