सम्बोधन

Author : रोशन यक्सो
Published on : February 21, 2015


  
रोशन यक्सो

फुच्ची भनेर सम्बोधन गरे तिमीलाई

सबैले ठाने तिमी फुच्छी छौ

बिल्कुल फुच्छी र नासमझ ।

 

सुम्निमा सम्बोधन गरे

कसैको बल्ढेङग्रे आँखाले

तिमीलाई एकदम जङगली

अनपढ र कामोतेजक देखे

जङगल-जङगल डुल्ने घुमन्ते

र देख्दा देख्दै , देख्न भ्याए

सोमदत्तसँग  सम्भोगरत !!

 

यो समाज

जो आफुलाई सभ्य भन्न रुचाउछ

आफुलाई पठित र अरुलाई

गवार देख्ने गर्दछ

सदैब

होची, डल्ली र चिम्सीहरुलाई

यस्तै देख्ने गर्छ -

अनपढ, नासमाज र बेसरम !!

 

ओ  मैच्याङ !

अब देखी

तिमीलाई सम्बोधन गर्नेछु- म्हेन्दो !!

हेर्नुछ,

यो समाजले तिमीलाई कस्तो देख्ने छ ?