गजल

Author : महेश घृतकौशीक
Published on : January 16, 2015


  
महेश घृतकौशीक
      

एकै क्षणलाई मुटु रेट्ने मस्काई नजाती,

आँखा छोप्दा एकान्तमा झस्काई नजाती ।

 

ठुस्किएर कहिलेकाहीँ दोबाटोमै छुट्थ्यौ तिमी,

त्यही रिस, त्यही प्रितको ठस्काई नजाती ।

 

कहिले हुन्थ्यो माया गर्ने कहिले रिसाउने,

कहिले चाहीँ छायाँ देख्दै हच्काई नजाती ।

 

मुस्कान त्यो अधरको घटा सरी केश काला,

मातै लाग्ने नयनको पस्काई नजाती ।

 

      

     गजल २

तिम्रै निम्ति दुइ शेर गजल लेखुँ कि म आज,

तिमि अड्ने धरातलमै टेकुँ कि म आज ।

 

दिवारहरु जहिँतहिँ उभिरहे गोरेटोमा,

तिमि हिँड्ने बाटोहरु छेकु कि म आज ।

 

पिडाले मन अत्तालीँदा छट्पटिले पिरोलेथ्यो,

दुखेको मन त्यो हातले सेकुँ कि म आज ।

 

हेर्दा हेर्दै थाकीसकेँ उदासीझैं मुहार त्यो,

चेहरामा नटखटपना देखुँ कि म आज ।

 

     गजल ३

सोध्दैछ्यौ रे के गर्दैछ, चिन्ताभित्रै जलेको छु,

दुखाई पिडा सोध्छ्यौ भने भुङ्ग्रोमाथी बलेको छु ।

 

पाईतालामा काँडा रोप्यौ, हिँड्नै बन्द होला भनी,

हिँड्न करै पर्यो तर जिवनसँगै गलेको छु ।

 

सोध्छ्यौ अरे दुनियाँलाई जिउँदै छ या मरिसक्यो,

मूर्दा शरिर लिएर यो मृत्युलाई छलेको छु ।

 

हात फिजाई साथ माग्दा लल्कारेर गईगयौ,

बाँच्नै पर्यो संसार हेर्न दुखसँगै चलेको छु ।

 

     गजल ४

रात ढलेको थियो अचानक,

निभ्यो बलेको दियो अचानक ।

जोत्दा जोत्दै मनका पाटा,

टुट्यो मिलेको मियो अचानक ।

 

मात्तिएको रात थियो भड्किएथ्यो जुन पनि,

आकाशले मदिराका घुट्काहरु पियो अचानक ।

 

सुस्ताएका चाहना सब आत्तीएर ब्युँझेका थे,

निदाएको आत्मा पनि निमेषमै जियो अचानक ।

 

रोक्दा रोक्दै आवेग सारा सिउँदै थिएँ उत्तेजना,

तुन्दा तुन्दै मनको तिर्खा झर्यो खिलेको सियो अचानक ।

 

     गजल ५

केवल एउटै हाँसोभित्र मप्रतिको प्यार देख्छु,

तिम्रो न्यानो र्स्पर्शमा निमेषमै संसार देख्छु ।

 

गल्छेडामा बात मारी हिँड्दाहिँड्दै प्रित बस्यो,

त्यही प्रित त्यही प्यारमा मायाको आधार देख्छु ।

 

सुस्ताएका कल्पना र निदाएका सपना थे,

कल्पना र सपनामै जिन्दगीको सार देख्छु ।

 

विजय नै जिवन भए जित्नुपर्छ तिमि मलाई,

तिम्रो सामु मेरो जितमा म सधैँनै हार देख्छु ।

 

     गजल ६

हिजो आज त्यसैत्यसै छेलीएर बसेको छु,

यताबाट उताबाट पेलीएर बसेकेा छु ।

 

कहिलेकाहीँ लहरामा कहिले रसिकामा,

अहिलेचाहीँ काँडेतारमा जेलीएर बसेको छु ।

 

आफन्तका मुटुहरु बिछोडीए हिजोआज,

आफ्नै गृह आफ्नै ठाउँमा हेलीएर बसेको छु ।

 

स्थिरता छ जिन्दगिमा संकिर्ण बाँधीएको,

मिथ्या अनि झुटा भित्र ठेलीएर बसेको छु ।

 

खेल हो यो जिवन सारा खेल्ने अनि खेलाउने,

तमासा र रँडाकोमा खेलीएर बसेको छु ।

 

     गजल ७

 

हामी दुर्इको जातमाथी भेद हुनेछैन अब,

त्रि्रो मेरो सम्बन्धमा छेद हुनेछैन अब ।

 

म लेखुँला नयाँ पुराण, नयाँ गिता नयाँ रीति,

तिम्ले पढ्नै नहुने त्यो वेद हुने छैन अब ।

 

नविन समाज बनाउँला सुसज्जित र हराभरा,

जहाँ हाम्रो सम्बन्धमा खेद हुनेछैन अब ।

 

सुन्दर महल, दुइ मुटुकोर् इँटा जोडी ठड्याउँला,

जहाँ पस्न तिमिलाई निषेध हुनेछैन अब ।