गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो

Author : नरजित राई
Published on : January 08, 2015


  
नरजित राई

संगीतबारे जिज्ञासा

गीत संगीत नसुन्ने र मन नपराउने मानिसहरू यो संसारमा कोहि छैन होला । मिठो गीत संगीत सुन्नाले मनमा आनन्द मात्र होईन यसले मानसिक पिडाहरूलाई समेत शान्त पार्ने औषधिको काम पनि गर्दछ भनिन्छ । कुनै-कुनै राष्ट्रहरूका अस्पतालहरूमा, संगीतलाई रोगको उपचारका लागि पनि प्रयोग गरिन्छ रे । बरिष्ठ संगीतकारहरू नै भन्छन " संगीतलाई परिभाषित गर्न सकिन्न किन कि यो अथाह सागर हो जस्लाई पौडिएर पार लगाउँन सकिन्न । " संगीत आकाशमा टिलपिल गरिरहने ताराहरू जस्तै हो जस्लाई गनेर गन्न सकिन्न । संगीत एउटा यस्तो रहस्य हो जस्ले बुझ्ने प्रयास गर्दा गर्दै संगीतकारहरूको अन्त्य हुन्छ रे । नेपालका बरिष्ठ संगीतकार, गायककार स्व: नातिकाजिले संगीत त भर्खर सिक्दैछु भनेका थिए रे । अर्का बरिष्ठ संगीतकार, गायककार अम्बर गुरुङले पनि आफू संगीतको बिधार्थी मात्र हुँ भनेका छन रे । यसले गर्दा गीत संगीतको निश्चित परिभाषा दिन निकै गाह्रो रहेछ भन्ने मेरो सानो दिमागले बुझ्न बाध्य भएकोछु ।

म पनि गीत संगीतमा सानै देखि नै निकै चाख राख्ने केटो थिए । म गाउँमा छँदा रेडियोबाट प्रसारण हुने कुनै पनि सांगितिक कार्यक्रमहरूलाई रिठ्ठो नबिराई अति चाख लिएर सुन्दथिए । म रेडियो नेपालका गायकहरूले मधुर गीतहरू गाएको सुन्दा मख्ख नै हुन्थें । मलाई त झन नारायण गोपाल, तारादेवी , अरूणा लामाका गीतहरू कतै बजेको सुने पनि उभिएर एकछिन भए पनि सुन्थें । यि गीत गाउँने मानिसहरू कस्ता हुन्छन होला  ?  रेडियोमा गीत बजाउने रेडियो स्टेशन कस्तो होला  ? त्यहाँ कस्ता मानिसहरूले मात्र बोल्छन होला ? संगीतकारका अनुहार कस्तो हुन्छ होला ? भन्ने सोचिरहन्थें । आफुलाई पनि काठमान्डौको रेडियो स्टेसनमा गई गीत गाउँनु पाए कस्तो हुन्थ्थो होला भन्ने पनि मनमनमा बिचार गर्द थिए । म गाउँको मान्छेले त्यस बेला काठमान्डौ पुग्नु नै चन्द्रमा पुग्नु सरह नै थियो भने रेडियो नेपालमा गएर गीत गाउँनु त मंगल ग्रहमा नै पुग्नु सरह थियो । म गीत, संगीतको अथाह सागरमा डुब्न नसकेता पनि त्यस पछिका दिनहरूमा कसरि संगीतमा झन प्रभावित भए भन्ने बारेमा मेरा संम्झनाका कोशेलिहरू तपाईहरूलाई सुनाउन चाहान्छु ।

 

गौरादहमा नयाँ सांगितिक कार्यक्रम

मैले सानै देखि झापा जिल्लाको जनता माध्यमिक बिधालय गौरादहमा नै पढें । म त्यस बेला कक्षा-९ मा अध्ययनरत थिएँ । त्यस बखत जनताको गीत गाउँनु पर्दछ मायाको गीत हैन भन्ने शब्द झापा तिर निकै चल्न थालेको थियो । मलाई जनताको गीत कस्तो हुन्छ भन्ने थाहा नै थिएन । मैले गीत सुनेको भनेको नै रेडियो नेपालबाट प्रसारण हुने गीतहरू थिए । एक पटक बिधालयको प्राङगनमा एउटा नयाँ किसिमको सांगितिक, कार्यक्रम समपन्न हुने कुरा सुनियो । मैले पनि बुझि-नबुझि साथिहरूको लहै-लहमा लागेर स्टेजहरू सजाउन सहयोग गरेको थिए । हामीहरूलाई गीत सुनाउनका लागि कहिलै नदेखेका, कहिलै नाम नसुनेका नयाँ कलाकारहरू गौरादहमा आएका थिए । उनिहरूले मादल, बाँसुरी र साराङगिका साथै काँधमा ढा्य्रोमा तारहरू भएका गीतार भिरेर स्टेजमा आए । उनिहरूले गीतहरूको भूमिका बाध्दै थूप्रै मन छुने गीतहरू गाएका थिए । उनिहरूको दिएका शन्देस, गीतको शब्द, संगीत र मिठो स्वर सुनेर दर्शकहरूलाई जुरुक-जुरुक उचालि रहेका थिए । म पनि ति दर्शकहरू माझ उनिहरूको मिठो गीतहरू सुनेर एकोहोरिदै बुरुक-बुरुक उफ्रिरहेको थिए । ति नयाँ कलाकारहरूले तलका गीतहरू जस्तै थुप्रै गीतहरू गाएका थिए-

मर्नै पर्छ एकदिन सबैले, हामी पनि मर्छौ,

हामी मर्दा जनताको शिर उठाई मर्छौ ।

संघर्ष हो जीवन, जीवन संधर्ष हो । जीवन देखि हारेर मर्छु नभन ।

आमा दिदि बहिनि हौ, कति बस्छौ दासि भई

मानिस छुत अछुत हुन्छ, मभन्दै भन्दिन ।

 

मलाई यि गीतहरूका लय र शब्दहरूले निकै प्रभाव पारिरहेको थियो । म उनिहरूले काँधमा भिरेका गीतार देखि त झन अति नै प्रभावित भइसकेको थिए । म पनि यसरि नै एकदिन काधमा गीतार भिरेर स्टेजमा गीत गाएर नै छाड्छु भन्ने मनमनै संकल्प पनि गरे । मैले पछि साथिहरूबाट ति कलाकारहरूको नाम जान्न खोज्दा शम्भू राई, जे बि टुहुरे, चेत नारायण राई मंजुल आदि भएको थाहा पाएको थिएँ । पहिले-पहिले पनि बिधालयको तर्फबाट सांस्कृतिक कार्यक्रमहरू त भई नै रहन्थे तर यस्तो मानिसहरूको मनलाई जर्याक-जुरुक्क उचालेर नबिन सोच तिर डोर्याउने कार्यक्रम गौरादहमा कहिलै भएको थिएन । यो कार्यक्रम गौरादहका लागि नयाँ र आँधि हुरि सरह नै भएको थियो । त्यो कार्यक्रम भन्दा पहिले बिसाल मानिसहरूको उपस्थिति कहिलै देखेको थिइन । त्यत्रो बिशाल बिधालयको पुरै चौरमा मानिसहरू टनाटन बरिएका थिए ।

यि गीत गाउँनेहरू कम्यूनिष्टहरू हुन । यिनिहरू कम्यूनिष्ट पार्टिका प्रचार-प्रसारका लागि आएका हुन भनि कोहि भन्ने गर्थे । हाम्रा दुख: सुखका गीतहरू पनि हुँदा रहेछन भन्ने पनि मैले भेटें । म र मेरा साथिहरू उनिहरूले गाएका गीतहरूबाट निकै नै प्रभावित भएका थियौं । हामीहरूले उनिहरूको गीत सुनेपछि नजानिदो पाराले कम्यूनिष्ट बिचारधारालाई अंगाल्न थालिसकेको थियौं । हाम्रो गाउँघरमा नयाँ मानिसहरू संग चिनजान पनि हुन थालि सकेको थियो । हामीहरू तत्कालिन नेकपा (माले) पार्टिका साधरण कार्यकर्ताहरू पनि भइसकेका रहेछौं । मैले जनताका गीतहरू सुने देखि मनमा गीत संगीत प्रति तृष्णा जाग्न थाल्यो । हामीहरू गाउँमा राति एक ठाउँमा जम्मा भई क्यासेट प्लेयरको माध्यमद्वारा नयाँ-नयाँ जनताका गीतहरू पनि सुन्न थालेका थियौं । हामीहरू झन सिध्दान्त नै नबुझि कट्टर कम्यूनिष्ट भएर निस्किएका थियौं ।

 

गितार बजाउने चाहना

मलाई गितार कसरि बजाउने होला ? कहाँ सिक्ने होला ? भन्ने दिमागमा चक्कर हुन थाल्यो । मेरो मनले गितारै-गितार मात्र सोच्न थाल्यो । म बाटोमा हिड्दै गर्दा होस या आलिमा, बजार जाँदै गर्दा होस या स्कूलमा, बाँया हातले गितारको कर्ड चाले जस्तो गरि दाँया हातले पेटलाई नै स्ट्रिङ संम्झि हावामा, मनले धुन निकालि-निकालि बजाए जस्तो गर्न थालें । मैले गितार बजाएर गीत गाएको सपनामा पनि देख्न थालें । म संग पनि एउटा गितार भइ दिएका भए शम्भू राईले झै गितार बजाउदै जनता गीतहरू गाउँथे होला भनेर सोचिरहन्थें । म संग बास्तबिक गितार नभए पनि मनको गितारलाई संम्झि हावामा हात चलाउन भने कहिलै छाडिनँ । मैले पहिले-पहिले समला तालमा र पछि अन्य तालहरूको पनि हावामा हात चलाएर मुखले आवाज निकाल्दै अभ्यास गरि नै रहें ।

मैले मेरो गाउँका साथिहरू संग गितार किन्ने बारे प्रस्ताव निकै पटक राखेको थिए । हामीहरू संग गितार किन्ने पैसा नै नभएकाले कुनै उपाय निकाल्नै पर्ने थियो । हामीहरूको सोचाईमा पैसा जम्मा गर्ने मूल श्रोत नै देउसी देखियो । हामीहरूले दीपावलिको अवसरमा देउसी खेल्ने निश्चित गरियो । हामीहरूले देउसी खेल्नुको मुख्य उदेश्यहरू २ वटा भएका थिए । (१) आफ्नो पार्टि नेकपा (माले) लाई आर्थिक सहयोग गर्नु (२) नयाँ गितारको खरिद गरि हाम्रो मनको लक्ष्य पुरा गर्नु । हामीहरू गाँउका त्यसबेलाका चल्ता पुर्जामा म लगाएत धर्म भट्टराई, डिल्लिराम भट्टराई, डिल्लि सेर राई, बलराम भट्टराई, बिष्णु पोख्रेल, आदिका साथै पंडित परिवार सम्पुर्ण सदस्यहरू थिए । हामीहरूले दीपावलिको उपलक्ष्यमा हाम्रो वडा नम्बर छ मा पर्ने बर्लमभिट्टा, हाँस्खोरा, लोदाबारि, दहलु, मादलडागा गाउँहरूमा मा ३ दिन ३ रात प्राय: प्रत्येक घरमा रिठ्ठो नबिराई लगातार देउसी खेलेका थियौं ।

हामीहरूले हारमोनियम र मादलको तालमा जनताका गीतहरू नै गाएर देउसी खेलेका थियौं । त्यति बेला सम्म संकल्प परिवारद्दारा प्रकाशित संगालो  "जनताका गीतहरू" भन्ने पुस्तक प्राप्त गरिसकेका थियौं । हामीहरूलाई त्यो पुस्तकले गीत गाउँनुमा निकै मदत गरेको थियो । हामीहरूले देउसी मात्र होईन, गीतको माध्यमाबाट गाउँघरमा चेतनाको बिकुल फुक्ने काम पनि गरेका थियौं । हामीहरूले दिन- रात निकै मेहनत गरेर खेलेको देउसीबाट सोचे भन्दा बढि नै गाउँघरबाट दान दान्तब्यहरू उठेको थियो । हामीहरूको लगनशिलता, मेहनत, जागरुकताको फल राम्रै पाउन सकेकोमा सबै सदस्यहरू हर्षले गदगद भएका थियौं । हाम्रो गाउँमा गितार भित्रिने निश्चित भएकोमा म झन खुसिले खितखिताई रहेको थिए ।

 

गितार किन्दाको घटना

हामीहरूले देउसीबाट उठेको केही रकम पार्टिलाई बुझाई बाँकि रहेको रकमले गितार किन्ने शुरुको योजना नै थियो । म एकदिन बिहानै घरबाट एक्लै रकमलाई गोजिमा हालि भारतको शिलिगढि बजार तिर गितार किन्न हिडें । हामीहरूले शिलिगढिमा गितार किन्न पाईन्छ भन्ने सुनेका थियौं । म मेरो कान्छा मामाको घर धुलाबारि जाँदा २-३ पटक शिलिगढि बजारलाई परिक्रम गरिसकेकाले त्यस ठाँउको अनुभवि नै थिए । यसैले नै होला साथिहरूले मलाई एक्लै गितार किन्नका लागि शिलिगढि पठाउनु भएको थियो । मलाई पनि कति खेर गितार किनेर बजाउ-बजाउ भइरहेको अवस्थामा थिए ।

म गौरादहबाट हिड्दै दमक पुगि बस चढेर काकरभिट्टा पुगें । म त्यहाबाट रिक्सामा चढि मेचि पुल पार गरेर भारतको पानिट्यांकिबाट बस चढि नक्सालबाढि हुँदै सिलिगुढी बजार पुगे ।  मैले २-३ वटा म्यूजिकल सपमा गई गितार बजाउदै छान्न थाले । मलाई कुन गितार राम्रो हुन्छ भन्ने बास्तबमा थाहा नै थिएन । मैले यस भन्दा अगाडि हावामा गितार बजाएको अनुभव बाहेक अन्य अनुबव नै थिएन । मैले अन्तिममा अलिक ठूलो, चिल्लो, बजाउदा गहकिलो आवाज आउने गितार छानेर किनेको थिए । मेरो साथमा गितार आए पछि गमक्क फुल्दै  काँधमा गितारलाई बोकें । मैले गितार सिकेर भबिष्यमा राम्रो गायक र संगीतकार बन्ने  योजनाहरू पनि मनमनै बनाएको थिएँ । म सिलिगुढिबाट बस चढि उत्साह, उमङ्का साथ काँधमा गितार भिरेर पुन: पानिट्यांकिमा ओर्लिएको थिए ।

म पानिट्यांकिबाट काँधमा गितार भिरेर ठक-ठक काकडभिट्टा तिर हिडिरहेको थिए । मलाई एकजना मानिसले मेरो नजिक आई बाटो छेक्यो अनि भन्यो यो समान नेपाल लान पाउदैनस ।  मलाई यो सामन दे । म पुलिस हुँ ।

किन  ? के भयो र  ? मैले मेरो सामन नेपाल लान पाउदिनँ उसलाई उल्टै सोधें ।

यो समान इल्लिगल हो । भारतको सामन नेपाल लान पाउदैनस । उसले मलाई हप्काउने शैलिमा निकै रवाफ देखाउदै भन्यो ।

म संग समान किनेको पसलको रसिद छ । यो थोरा चोरिको समान हो र  ? यत्रो दुख: गरेर किनेको गितार लान पाउदैनस भन्दा मलाई पनि सनक्कै रिस ऊठिसकेको थियो ।

यदि यो नेपाल लाने नै हो भने मलाई केही रकम कमिशन दिनु पर्छ । नत्र यो सामन लान पाउदैनस भन्दै मेरो गितार तान्न थाल्यो । मैले मरिगए गितारलाई छाडिन । मैले बुझि हाले यो ठग हो र यसले मलाई ठग्न खोजिरहेकोछ ।

मैले भनि हाले- म तिमिलाई पैसा दिन सक्दिनँ । यदि मैले पैसा दिनु नै पर्छ भने हिड कस्टम अफिसमा । मेरो गितार तान्ने कोशिस नगर । मैले पनि निकै कडकिदै उसलाई भने । मलाई त्यो ब्यक्तिले निकै डर, त्रास पनि देखाइ रहेको थियो । मलाई लुट्न एकान्त ठाँउ तिर पनि लान खोज्दै थियो । म सानै जिलिगाण्टे भए पनि डराइन त्यसले ईसारा गरेको ठांउतिर मरि गए गइनँ ।

मैले उल्टै पुलिस अफिसमा हिड भनेर डर देखाएँ । त्यो संग बादबिबाद गर्दे गर्दा अचानक एउटा पुलिस पनि परबाट आउदै गरेको देखें । मैले कराएर पुलिसलाई बोलाए । त्यो ठग मानिस पुलिस देख्ने बित्तिक्कै मलाई गालि गर्दै एका पट्टि चम्पट ठोकेको थियो । मैले त्यो ठग भागेकोमा खुसि हुँदै ठग संग गितार बचाएकोमा लामो श्वास तानेर आँखा चिम्म गरे । मैले गितारलाई अझ दह्रो समाति पानिट्यांकिबाट हतार-हतार रिक्सा चढि काकडभिट्टा आएको थिए ।

म सरासर नेपालको भन्सार कार्यलयमा पनि गए । यो गितार गाउँको क्लबका लागि किनेर ल्याएको हो भनि रसिद देखाए । नेपालका भन्सार कर्मचारिले पनि रसिद हेरि केही नभनि छोडि दिएकाले खुसिले ३ बित्ता पनि उफ्रिए । मलाई नेपाल भंसारले पनि गितार नेपाल लानका लागि दुख: दिन सक्थ्थो । मेरो अब भने गितार बजाउने चाहना र ईच्छाहरू पुर्ण हुने भएकाले गदगद हुदै बस चडि गाउँतिर लागेको थिए । थियो । हाम्रो गाउँमा एउटा नयाँ गितार भित्रिएको थियो । मैले गितार किन्न जाँदाको सबै घटनाहरू साथिहरूलाई सुनाएको थिए । समान किन्न एक्लै जानु हुदैन थियो भन्ने निष्कर्ष पनि निकाल्यौं तर जे हुनु थियो भईसकेको थियो ।

मैले हावामा गितार बजाएर गरेको अभ्यासले मलाई निकै सजिलो बनाएको थियो । मैले गितारको तारहरू मिलाउने देखि, मेजर, माईनर कर्डसहरूका बारेमा गितार बजाउन जान्ने साथिहरू संग चाडै नै सिकेको थिए । म समय पाउन साथ गीत गाउँदै गितारमा स्वरहरू मिलाउदै बाँया हातले कर्डसहरू चाल्नका लागि अभ्यास गर्न थाले । म चाडै नै सामान्यता जुनसुकै गीतहरूमा पनि स्वर सुनेर मेजर, माईनर कर्डसहरू नहेरि चाल्नमा पोख्त भइसकेको थिए । हामीहरू स्थानिय कलाकारहरू मिलेर गितार बजाउदै मेरो गाउँको प्राथामिक स्कूलको प्राङगणमा प्रगतिशिल  गीतहरू गाएका थियौं । जुन कार्यक्रम पहिलो र अन्तिम पनि भएको आज पनि संझन्छु । मैले गितारको कर्डस संगै मेरो गला (स्वर) पनि तिखारि रहेको थिए । मैले गीतहरू गाएको सुनि साथिहरूले तिम्रो त मिठो स्वर छ भनि खुब फुर्काउथे । म पनि खुसिले निकै फुरुक्क नै हुन्थे । म आफ्नो स्वर निकै राम्रो भएकाले भबिष्यमा गायक बन्न सक्ने रहेछु भन्ने कल्पना पनि गर्दथें ।

 

कलेजमा गायककार नै भईयो

मैले २०३६/३७ सालमा एस.एल.सि पास गरे पछि हात्तिसार क्यामपस धरानमा भर्ना भइ अध्ययन गर्न थालें । मेरो पढनुको मुख्य उदेश्य र लक्ष्य भनेको नै राम्रो पढेर डाक्टर वा ईन्जिनियर हुनु भन्ने थियो । मैले क्यामपसमा पढन थाले पछि झापाबाट ट्रान्फर पार्टि कन्ट्याक्ट पनि चाडै नै पाएको थिए । मैले प्रगतिशिल पक्षका विद्यार्थी नेता तथा पार्टिका भूमिगत नेताहरूलाई धरानमा पनि चाडै नै चिन्ने मौका पाएको थिए । मेरो पढाई बाहेक गीत संगीत प्रति चाख भएकाले, मलाई सांस्कृतिक बिभागमा काम गर्न खटाईयो । हामीहरूले क्यामपसमा एउटा सांस्कृतिक टिम नै बनायौं । हामीहरू म लगाएत खगेन्द्र श्रेष्ठ, कृष्ण लावति, टंक काफ्ले, हेमन्त सुबेदी, (अन्य साथिहरूको नाम बिर्सिएँ) आदि कलाकारहरू थियौं । हामीहरूलाई कहिलेकहि क्यामपसमा मंजुल र शम्भु राई आएर साँगितिक प्रशिक्षण पनि दिने गर्नु हुन्थ्थो । म यसबाट गीत गाउँनु र बजाउनुमा झन खारिइरहेको थिए । म गितार बजाउनु मात्र होईन गायन कलामा पनि निकै पोख्त भइसकेको थिए । हामीहरू क्यामपस तथा अन्तर क्यामपसहरूको सांस्कृतिक कार्यक्रमहरूमा पनि भाग लिन्थ्थौं । हामीहरू जमेर नै जनताका गीतहरू गाउँथ्थौं ।

म आफै गीत लेख्ने, गाउँने र संगीत गर्ने पनि भइसकेको थिए । मैले प्राय: गीत संगीतका आधरभूत नलेजहरू जानिसकेको थिए । हामीहरूले महेन्द्र क्यामपस र हात्तिसार क्यामपसका कलाकारहरू मिलेर गीत रेकर्ड गरेर एलबम समेत निकालेका थियौं । मैले आफै लेखेर, संगीत गरेर गाएको गीत पनि रेकर्ड गराएको थिए । जुन एक लाईन अझै पनि संझिरहेकोछु-

कल्पना नै कल्पनामा डुबेर के गर्ने

बास्ताबिकता छैन भने

माया प्रितिका गीतहरू गाएर के गर्ने

जनताको मन छुदैन भने ।

 

गीत संगीत देखि टाढा भए

हामीहरूले रेकर्ड गरेको चक्का म संग पछि सम्म पनि एक प्रति थियो । मेरो दाई डा. बिष्णु राई को काठमान्डौ स्थित बुध्दनगरको घरमा चोरि भए संगसंगै मेरो गीत भएको चक्का पनि चोरि भएको थियो । हामीहरूले देउसी खेलेर किनेको गिटार गाउँमा कसैले नचलाएकोले काठमान्डौमा नै  लिएर आएको थिए । त्यो गितार निकै बुढो भएकाले आफै मक्किएर झ्रयामझुरुम भएकाले माया लाग्दा लाग्दै फालिदिए । म मेरो बाल्य जिज्ञासाको तृष्णालाई मेटाउन रेडियो नेपाल पनि पुगेको थिए । मैले काठमान्डौ आए पछि गीत संगीत भन्दा पनि पढाई र जागिरलाई पहिलो प्राथामिकता दिन थाले । यसले गर्दा गायन क्षेत्रमा लागे पछि चाहिने मुख्य काम साधानामा लिप्त हुन सकिन ।

कुनै पनि गायक वा संगीतकारहरूले साधनामा ध्यान दिन सकेन भने उसले संगीतको सृजना गर्न सक्दैन । मैले गीत संगीत अथाह सागर नै हो भन्ने बुझेको थिए । मैले सांगितिक सागरको एक किनारमा मात्र ऊभिने कोशिस गरे तर पौडिने कोशिसबाट पछि हटेको थिए । मैले सांगितिक सागरको गहिराईमा डुब्न भन्दा किताब रुपि सागरमा डुब्न मन पराएकाले सांगितिक यात्रालाई बिचैमा छोडि दिएको थिए । मैले पनि गीत संगीतलाई केही समय दिन चाहेको भए केही प्रगति गर्थे होला कि भनि अहिले सम्झन्छु  । अहिले पनि गीत संगीत र गायन प्रति मेरो मोह मरेको छैन । आजकाल मेरो लागि गीत संगीत र गायन मृगतृष्णा जस्तै भएकोछ ।

 

९ अक्टोबर २०१४

तु क्वा वान, हङकङ