मसंगै मर्नेछन् मेरा कविताहरु

Author : टोप बहादुर राई
Published on : December 26, 2014


  
टोप बहादुर राई

एक युगको एक दिन

मसंगै मर्ने छन्

मेरा कविताहरु

म घाटमा जलेर

धुवाँको मुस्लो संगै उडिरहँदा

मेरा कविताहरु पनि जलेर

अक्षर-अक्षर खरानीमा बाटिनेछन्

र उड्ने छन् म संगै

आकाश छुने अभिलाषा बोकेर,

 

सुकसुकाउँदै छुदिहुन्

मेरी प्रिया

मैले ओढेको कात्रो,

अन्तिम पटक बोक्दा हुन 

मेरा छोराहरु

म चढेको डोली,

१ मुठ्ठी माटो चढाउदा हुन

मेरा आफन्तजनहरु,

तर कोरा कागजमा लमतन्न

मेरा कविताहरु

बिना शुभचिन्तक

बिना आशु

लडिरहनेछन् म संगै घाटमा

र जल्नेछन् म संगै

श्वार्थी छिमेकीको मन जलेसरी,

 

बारीको कान्लामा थुपारिएका

दर्शन ढुङ्गा झै

टल्कन खोज्ने

बेकार ति मेरा शब्दहरु

यो कंक्रिटको शहरमा

घरजम बसाउन खोज्ने

विलाशी सपना झैं

बेकार ति मेरा भावनाहरु,

 

दिलबहादुर लिम्बु झैं

पार्कमा प्रहरीले गोली ठोकेर

देवकी लिम्बु झै

भान्सामै छोराले छुरा घोपेर

मारिने छु/मर्नेछु एक दिन

र मसंगै मर्ने छन्

मेरा कविताहरु

मसंगै मर्ने छन्

मेरा भावनाहरु ।