बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा

Author : रविन राई
Published on : December 26, 2014


  
रविन राई

पार्ट १

"सानो छँदा भोलि पिकनिक छ भनेपछि रातभरि निंद्रा लाग्दैन नि, अनि भोलिपल्ट पनि सब से पहिले उठिन्छ नि, त्यस्तै होला तिमीहरुलाई भोलि", जगिङको समय ज्ञान दाइ भन्दै थिए । त्यसो भन्दा हाँसे म, र संझेँ सानोको कुरा : घरमा घुर्क्याएर पिकनिक जाने पैसा मागेर इच्छा दिदी, अशोक दाइ र म बरगाछी मुनिको डेटु दाइकोमा रकम बुझाउन गएको स्मृति । खै, ११ वर्ष भइसक्यो इच्छा दिदी बितेर गइसकिन्, अशोक दाइ पनि भर्खरै बितेर गए, रकम बुझ्ने डेटु मगर दाइ कहाँ छन् खै? म भने रकम बुझाउन बाँचिरहेकैछु ।

बगैचाको जलयात्राको कुरा लेखूँ भन्दा खै के पो लेख्न थालेछु, फोकस्, अँ, ज्ञान दाइले भने जस्तै त अलिक भएन । राति चाँडै सुतियो साबिक भन्दा, अनि चाँडै पनि उठियो । मेरो एङग्री बर्ड ब्यागमा बोकेँ टिबि को पुस्तक, बज्रको पुस्तक, उपेन्द्र सुब्बाको पुस्तक, र रबिन शर्माको परेलीको आकाश । भरे कार्यक्रममा कसैले केही प्रस्तुती दिएनन् र समय उब्रियो भने यिनैबाट केही वाचन गर्नुपर्यो भन्ने मेरो सोँच थियो, किनकि मुटु सम्मेलन - ४ को अभिभारा मेरो थियो । सानोको पिकनिक छँदैको कुरा संझदै म स्टार फेरि पुगेँ, समुद्रबाट आएको बिहानी हावाले मीठो अनुभूति दिइरहेको हो कि मन नै मीठो भइरहेको हो । चिम सा चुइको घन्टाघरमुनि पुग्दा बज्रजी, सानु भाउजू र मगेन दाइ बन्दोबस्तीका सामान कुरेर बसिरहनुभएको रहेछ । "चार बोतलमध्ये एक बोतल त झिरिप्पै भयो नि", बज्रजीले दुखेसो पोखे,"राम्रै भयो, यसले अरु समस्या निम्त्याउन सक्छ", कोकबाज मगेनदाइले भने ।

केही समयपछि सुब्बा साप ब्याग प्याक कसेर हाफ पेन्टमा ठाँटिएर आए, कवि भन्न त अलिक नसुहाउने । कवि भने पछि त यस्सो मरन्च्च्याँसे खिङ्ग्रिङ्ग परेको, जर्खरिएको कपाल, मैलो लुगा हुनुपर्ने, स्टेरियोटाइप सोँच । तर यी कवि बडो खातापिता रेस्लर जस्ता, आधुनिक कवि स्वरुप । हुन पनि कविता भनेर कार चढ्ने तुलसी दिवसका चेला, चेला त उनी नरेन्द्रराज प्रसाईंका पनि रहेछन्, खै गुरु पनि कति धेरै हुन् यिनका ? नेपालबाट आएको "पाण्डुलिपि" थम्याइदिए निशुल्क, यो अहिलेको बहुचर्चित साहित्यिक पत्रिका, त्यो पनि फ्री मा, सुब्बासाप की जय हो ।

सबै सहभागीहरुको हाजिरी लिन मैले नरेश दाइलाई सघाएँ, साथीहरुले सामान बोर्डिङ स्थान सम्म लान सघाए ।

"खै त शरण सुब्बा दाइ?", नरेशदाइले फोन लगाइहेरे लागेन ।

"शशीमदन दाइ?" मैले सोधेँ ।

"उनी आइसके, सबै सामान उनकै दोकान बाट ढुवानी गरिएको हो", नरेश दाइले ढुक्कसाथ भने । ३७ जनाको उपस्थिति थियो, ३ जना अनुपस्थित रहे ।

करीब १० बजे बोट आयो, हामीले तातो आलु खेलेर सामान बोटमा राख्यौं । सबै जना उत्साहित् भएर बोट चढ्यौं, चिनाले बोट चलाइ पनि हाल्यो । "खै त शशीमदन?" अब खैलाबैला भयो ।

"बिचरा सप्पै सामान ल्याए, आफै छोडिँदा त रुनु मन लाग्छ होला नि हगि, किनारामा उभेर ? चित्रकार दिपेन राईले, सहानुभूति दर्शाए ।

"अब उनी पौडेर आउँछन्", कसैले भन्यो । हाँसो र कोलाहलबीच बोट किनारातर्फ मोडियो ।

"यता आउनू, यता आउनू", शशीमदनदाइलाई कसैले चिच्यायो,

"कसरी आउनू होउ पानीमा?" कसैले भन्यो, फेरि हाँसो ।

"शशी दाइ त डुब्दैनन् पनि होउ", उनको मोटोपनमा कसैको जोक् अनि फेरि हाँसो ।

"यो चिप्सले लिनु गएकोले नि", शशीमदन चिप्सको माला लिएर चढे ।

बोट चिमसा चुइबाट साइकुङ तर्फ हान्नियो, सबै आ-आफ्नो सुरमा गफिन थाले । समर दाइले जोक् भन्न थाले, हामी हाँस्न थाल्यौं । मगेन दाइ, जुनकीरी दाइ, टि बि जी, बगैचाका श्याम दाइ लामा लामा लेन्सले सिनारियो क्याप्चर गर्न लागे । पारी होङ्कोङ र वारी काउलुनको बीचैबीच समुद्रमा हाम्रो सृजनशील जलयात्रा चल्दै थियो, घरिघरि नजिकैको अर्को बोटको छालले नराम्ररी बोट हल्लाउँदथ्यो र हामी ठूलो हल्ला गर्थ्यौं ।

"हमजायेगा एकचोटि चुँडेलले तर्साउने जंगलको बाटो मध्यराति ट्याक्सी चलाउँदै फर्किनुपरेछ,साथी माग्दा पनि कसैले साथ दिएनछ । डराउँदै डराउँदै गाडी चलाउँदा उसले जंगलको बीचको त्यो बाटोमा एक सुन्दरी देखेछ । सुन्दरीलाई देखेर मख्ख परेर उसले गाडी रोकेछ, अनि 'बैनी के गरेको राति यस्तो जंगलको बीचमा, तिमीलाई थाह छैन, यहाँ चुडेल लाग्छ भनेर?'भनेछ,

त्यसले भनिछ ,'दाजु, मै त हो नि चुँडेल',

'ठट्टा नगर न, चुँडेल भए तर्साऊ त',

'हाऊ' चुँडेलले तर्साइछे,

'अबुइ! हो त रहेछ, ल गएँ ल' भनेर आफ्नो बाटो लागेछ"

समर दाइको अभिनय सहितको जोक् हेर्दै सुन्न रमाइलो हुन्छ, कुनै समयका रंगमञ्च अभिनेता पनि हुन् ।

"एकचोटि छोरालाई लिएर म भूत घर गएको, हाम्रो अगाडि एक जोर चिनाहरु थिए, भुत निक्लेर 'हाऊ' गर्दा डरले उनीहरुको सातोपुत्लो उड्यो । म चाहिँ लुकेर त्यो भुतको पछाडिबाट गएर 'हाऊ' गर्देको भुत कम्ति ता तर्सेन, मेरो छोरा बेस्सरी हाँस्यो । आजसम्म त्यो कुरा गरिरहन्छ", भुतमै निरज दाइले आफ्नो किस्सा जोडे ।

"रबिन सर, हाम्रो सिडी छ नि, होइन? एउटा बजाऊँ न, यिनीहरुले त हिन्दी पो बजाइरहेका रहेछन्" नरेश दाइले भने । मैले रबिन शर्माको सिडी दिएँ,संगीत गुञ्जियो,

"दुख्दा पनि त आनन्द दिने प्रीतको घाऊ भयौ तिमी

धमिलो पानीको भेलमा अल्झेको नाऊ भयौ तिमी

म माझी बनेर हेलिनु कि, मायाको जालमा जेलिनु कि?"

नीलो आकाश मुनि, नीलो समुद्रमाथि, सेता बादलहरुको छायाँमा, हाम्रो सेतो जहाज, नीलो पानीलाई चिर्दै सेता छालहरु बनाउँदै तैरिरहेको थियो, जोर्डनको कोलाहल देखि विश्राम लिन केही क्षणलाई सहि !

"ल एकछिन सबैजना भित्र आउनुपर्यो, यो यात्रा र अपनाउनुपर्ने सुरक्षा सम्बन्धि जानकारी को लागि" सुबास दाइले उद्घोषण गरे ।

 

 

पार्ट २

"आज मेरो बूढीले बिहानै ,'आज तेरो छुट्टी रहेछ, छोरीलाई टाइम दिन्छस् होला नि ?' भन्दै थियो, म जलयात्रा हिंडदिएँ । अब घर जाँदा पक्कै आगो भइरहेको हुन्छ, म पनि झ्याम् झ्याम् दिन्छु, पानीले । ऊ आगो भएपछि आफू पानी हुनुपर्यो नि, हैन त?"

गलल्ल हाम्रो हाँसो । जलयात्रा पछि हामी दुमकुलुमा सुस्ताइरहेका थियौं, बियरले हो कि बोटले मथिंगल दिग्मिगाइरहेको थियो मेरो, समर दाइ र जुनकीरी दाइको वान् अन वान् जाँदै थियो ।

"कहिलेकाहिँ मैले पनि आफ्नो जीवन बाँच्नु परेन ?" समर दाइको प्रश्न । समर दाइले चिनियाँ पत्नी विवाह गरेका हुन् र उनकी १०-१२ वर्षीया छोरी छिन् । समर दाइ भावना पूरै घोलेर आफ्नो सानो मोबाइलको स्क्रिनमा बडो कष्ट साधेर कविता लेख्छन् तर उनकी छोरीले नेपाली बुझ्दिनन्, उनको गोर्खाल्यान्डको सपना उनीसँगै यो होङकोङमा विलय हुनेछ । एक दिन भए पनि आफ्नो भावना अनुरुपका साथीभाइसँग जीवन जिउन जलयात्रामा उनी जसरी पनि सामेल भए ।

मैले लेखेका यी उनका यी वैयक्तिक जीनवका कुराहरु समर दाइले नपढून् भन्ने मेरो चाहना तर उनी पढ्ने छन् । साहित्यकार,कलाकारको नीजि जीवन र सार्वजनिक जीवनको सीमा कहाँ सकिन्छ थाह छैन, सायद उनको नीजि जीवन मैले यहाँ छताछुल्ल नलेख्नु थियो । तर मनपरेको ब्यक्तिको मात्रै कथा लेख्न सकिने रहेछ, आई बि राईले भने जस्तै ।

यो जलयात्रा पनि समर दाइले चाहे जस्तो वैयक्तिक सुखको लागि मात्रै थिएन, सुब्बा सापले चाउचाउ साहित्यको प्रस्तावना पेश गर्ने कार्यक्रम थियो, त्यसैले कतिले रुचाएर या नरुचाएर भए पनि यसलाई नियाली नै रहेका थिए, "सुनकोशीमा बाढी आउँदा तिमेरु जलयात्रामा मनोरञ्जन गर्ने?" यसरी नरुचाउने मध्येका एक मित्रले फेसबुकमा प्रहार गरेको देखेँ, मलाई मुख फर्काउनु मन थियो ।

"सुनकोशीमा बाढी आउँदा हाम्रो पनि मनमा पहिरो आएको छ, मित्र । करोडौं पैसा राहत कोषमा जम्मा हुँदा पनि त्यसको परिचालन हुन नसकेको, जनजीवन अस्तब्यस्त बन्दा नेताहरू चरीको शोकमा पागल भइरहेको, मृत्यु पश्चात् मात्रै जनताहरुको मनमा श्रीकृष्ण श्रेष्ठप्रति अपार स्नेहको बाढी आएको र उनको चलचित्र हेरेर सच्चा (?) श्रध्दाञ्जली दिइरहेको, यी सबै कुरादेखि अवगत छौँ ,मित्र ।

तर भर्खरै हाम्रो होङ्कोङ्मा देवकी लिम्बूको हत्या उनकै छोराले वीभत्स ढंगले घाँटी रेटी रेटी गरे, के हजुरलाई थाहा छ? हामी कुन विषम परिस्थितिमा जिएर देशको लागि रेमिट्यान्स र सहयोग पैठारी गरिरहेका छौँ, हजुरलाई हेक्का छ? १६ घन्टा x ३० दिन सुरुङमा जोखिमपूर्ण काम गरेर हजुरहरु जस्तै हाम्रा आफन्तलाई पसीना र रगत लतपतेको डलर पठाइरहेका छौँ, कहिले बिरामीको सहयोग, कहिले बाटो खन्न, कहिले एयरपोर्ट बनाउन, कहिले पुल, कहिले खेलकुद मैदान, कहिले अस्पताल, कहिले के, कहिले के ।

देश फर्किने सपना देख्दादेख्दै झ्याल नभएका, अस्वस्थकर कोठाहरुमा सुतेका सुतेकै भएका छौँ । पारिको सेन्ट्रलको फोटो हेरेर होङ्कोङ् बुझ्ने हजुरलाई थाहा छ वारीको जोर्डनमा हाम्रो बसोबास कस्तो छ ? साँस्कृतिक संकटमा जन्मेका हाम्रा सन्तानहरुको भविष्यबारे कसैले चासो लिएको छ? हामी पनि नेपाली हौँ भनेर सरकारले केही चासो दिनुको सट्टा जबर्जस्ती एन आर एन बनाएको छ रे, हाम्रा अधिकार कुण्ठित गरिएको छ रे । के सरकारले हाम्रो बारेमा सोँचेको छ, के हजूरले हाम्रो बारेमा पीर गर्नु भएको छ ?

अब एकदिन हामीले खुसी हुन जलयात्रा गरेर हाम्रो होङ्कोङ्को साहित्य कस्तो हुनुपर्ने हो भनेर विमर्श गर्दा हजुरहरु किन सुनकोसीको बाढीको कुरा निकाल्नु हुन्छ ?

सुनकोशीको बाढी पीडितको नाउँमा हजुरले एक छाक कटौति गर्नु भएको छ? किन हामीले नै सबै मुध्दामा छाक काट्नु पर्ने? के हामी सरकार हौँ ? के हामी भगवान हौं ? "

कमेन्ट् दिउँला भनेको कमेन्ट नै डिलिट भएछ ।

"बगैंचा डट कमको आयोजनामा गरिएको यो जलयात्रामा यहाँहरुलाई स्वागत छ, म सुबास राई । आजको हाम्रो कार्यक्रम तालिका यस्तो छ" ,सुबास दाइले बोटको भित्री कक्षमा हामीलाई राखेर सुनाए ।

"हामी पानीमाथि छौं र सुरक्षा सर्वाधिक महत्वपूर्ण कुरा हो । हामी मनोरञ्जन गरौं तर कृपया यथोचित सुरक्षा पनि अपनाउँ । उ त्यहाँ लाइफ ज्याकेट देख्न सक्नुहुन्छ, आवश्यक परेमा प्रयोग गर्नुहोला ।"

"चार ��"टा मात्रै छ त?" जनुकीरीले मेरो कानमा फुसफुसाए, म हाँसें । केही समय पहिले नयाँ वर्षको आतिशबाजी हेर्न भाडा लिइएका दुई बोट टकराएर थुप्रै जनधनको क्षति होङकोङको यो समुद्रमा भएकै हो । आफूलाई पौडिन पनि आउँदैन । साँच्चै, चार ��"टा मात्रै हो त? यसो हेरेँ, होइन, झोलामा थुप्रै थिए, बाहिर ४ वटा लडिरहेका रहेछन् ।

"अब ब्रेकफास्ट गरौं अनि हाम्रो ��"पचारिक कार्यक्रम शुरु गरौंला", सुबास दाइले टुंग्याए ।

"वार्ता असफल!" हेम दाइ आए ,

"के भो? कस्तो वार्ता?" मैले उत्सुकता देखाएँ ,

"आज दिनभरि यो पानीमाथि नै राख्ने भए, बाहिर जमिनमा पनि निकाल बरु के कति रकम थप लाग्छ, थपौंला, भनेको आयोजकहरु मानेनन् । वार्ता असफल ! ",

अब कार्यक्रम कसरी बढ्ला त, उदघोषक बज्रकुमार थुलुङ टाउको समातेर घोप्टो परेका छन्, उनका ठूल्ठूला आँखा राता र रसिला देखिन्छन् ।

 

 

पार्ट ३

"सुरेशकुमार त खुशी भए होलान् ,हगि?" भर्खरै सम्पन्न मेलोडी नाइटका आयोजक अन्तिमजीलाई सोधेँ,

"खुशी भए, आर्थिक रुपले यो भ्रमण लाभदायक भयो बुढोलाई, छोरोलाई वैदेशिक रोजगारमा पठाउने रकम संकलन भयो । आफ्नो सांगीतिक करियर सकिएको भन्ठानेर गीत गाउनै छोडिसकेका रहेछन बुढो । तर यो कार्यक्रम पश्चात् उनको सांगीतिक सक्रियता बढेको छ, दुबइ जान लागेका छन् ।" अन्तिमजीले भने ।

अब खाजा खान लागियो, थरि थरिका स्यान्डविच्, ससेज्, ब्रेड, सँगै गुन्द्रुकको अचार पनि दिदीहरुले निकाल्नुभयो ।

"यो गुन्द्रुकको अचार कसले बनायो?" समर दाइले सोधे,

"मैले" माया दिदीले भनिन्,

"तपाईंको त नि, हात काटिदिनु पर्ने । यस्तो मीठो अरु कहिँ नबनोस् भनेर ", आँखा झिम्झिम्याउँदै उनले भने, माया दिदीले बुझिन् कि बुझिनन् उनको ठट्टा, हाँसिनन् । समर दाइ र मैले बियरको उद्घाटन गर्यौं ।

 

चिना क्याप्टेन आएर, हाम्रा पेयहरु एक फ्रिजरबाट निकालेर अर्कोमा सार्न थाल्यो । चिना भाषामा कवि टि बि याक्खालाई लक्षित गरेर, निक्कै लामै गनगन गरे, याक्खा सरले टाउको हल्लाए ।

गएपछि मैले सोधेँ,"सर, के भनेको त्यसले ?"

याक्खा सर, "खै?" भन्दै कुम हल्लाए,

"यहाँ राख्यो भने पैसा लाग्छ भने जस्तो लाग्यो मलाई, उसको बडी ल्याङ्ग्वेज् अनुसार", जुनकीरीले अनुमान लगाए ,

"त्यति मात्रै होला र ? निक्कै लामो बोलेका थिए त !", मैले सोधेँ, सबैजना हाँस्यौं। चिना भाषा राम्ररी बोल्न सक्ने माया दिदी मात्रै रहिछन् क्यारे, उनैले चिनाहरुसँग सहजकर्ताको भूमिका निर्वाह गरिरहेकी थिइन् ।

साथीहरुलाई बोट लाग्न थालिसकेको थियो, गायक अन्तिमजीको वाक्यबन्द भइसकेको थियो, मनुजी,कविता दिदी, सरला दिदी, पवित्रा दिदी र कला बहिनी पनि आँखा चिम्म गर्न थालिसकेका थिए ।

"बज्र सर, एक लिनुहोस् ",टाउको टेबलमा राखेर सुतेका बज्रसरलाई मैले उक्साएँ ।

"हो, लिनै पर्यो", उनले बियर लिए ।

खाजा खाइसकेपछि ��"पचारिक कार्यक्रम भनेर आयोजकले फेरि भित्र डाके, बज्रजी चंखो भइसकेछन् । बगैंचाका प्रधान सम्पादक नरेश सुनुवार दाइको अध्यक्षतामा, दिनेश दाइलाई मुख्य अतिथि बनाई बगैंचा डट कम को रातो टि सर्ट सार्वजनिक भयो । कार्यक्रम मुख्य आकर्षण रहेको चाउचाउ साहित्यको प्रस्तावना प्रस्तुत गर्न सुब्बा साप उर्फ हाङयुग अज्ञातलाई डाकियो । सृजनशील अराजकतावादका विचारक हाङयुग अ्ज्ञात निश्चय नै कुशल विचारक हुन्, उनले सुब्बा साप बनेर ठट्टै ठट्टामा दिएको चाउचाउ साहित्यको अवधारणा यति गहन बन्न पुग्छ भन्ने सायदै कसैले अनुमान गरेको थियो ।

प्रस्तावनाको सारांश पेश गर्दै उनले भने,"आजसम्मका हाम्रा प्रकाशित कृति र विचारहरूले के साँच्चिकै हङकङको हाम्रो जीवनलाई बोकेको छ त ? यदि बोकेको छ भने कहाँ र कसरी बोकेको छ ? यदि बोकेको छ भने हङकङका हाम्रा प्रिय पाठकहरू हामीले लेखेको साहित्यसँग किन भाग्छन् ? यदि बोकेको छ भने नेपाली साहित्यको मूलप्रवाहमा हाम्रो हङकङको नेपाली साहित्य कहाँ छ ? यदि हामीले लेखिरहेको नेपाली साहित्यमा हङकङको नेपाली जीवन लेखिएको छैन भने किन लेखिएन ? यी यस्ता प्रश्नहरूको उत्तरहरू हङकङका हामी जिम्मेवार कविलेखकहरूले इमानदारीपूर्वक दिनुपर्नेछ" । अबका दिनमा 'हाम्रो होङकोङको जीवन र जगत लेखौं' भन्ने आग्रहका साथ 'चाउचाउ साहित्य'को प्रस्तावना अघि सार्दै बुँदाहरु प्रस्तुत गर्न लागे, हरेक बुँदामा उपस्थितहरुले जोड तोडले ताली ठोकी समर्थन ब्यक्त गरिरहेका थिए,

".....

घ. आमपाठकहरूलाई दिग्भ्रमित पार्ने लेखन र असाहित्यिक गतिविधिहरू वर्जित गरौं ।

ङ .नेपाली साहित्यका भ्रष्ट र प्रतिगामी तत्वहरूको चाकरी र चाप्लुसी गर्ने प्रवृत्ति र नेपालका समिक्षकलाई पैसा दिएर आफ्नो बारेमा लेखाउने परम्पराले हङकङको नेपाली साहित्य दिनानुदिन बदनाम हुँदै गएको छ । यो पीत

साहित्यकारितालाई हाम्रो होङकोङबाट उन्मूलन गरौं । ..........."

सबैभन्दा ताली यी बुँदामा बजे, सबैले देखेका, महशुस गरेका भावना यी बुँदामा भेटिएर होला ।

कतिले चाउचाउ जस्तो जंक फुड आदि, इत्यादि तर्क दिएको चाउचाउ साहित्यले आज "चाउ माने टापु, होङकोङका टापुहरुबाट लेखिएको साहित्य जहाँ हाम्रो मन दिनानुदिन सबैतिरबाट छुट्टिएर टापु जस्तै एक्लो बनिरहेको छ" यस्तो अर्थ बोक्न सफल भएको छ । म संझिन्छु, यसरी नामको अर्थ लाइदिन डा. पुष्कर पराजुलीको भूमिका रहेको छ ।

सुब्बा सापको ब्याख्याले चाउचाउ साहित्यलाई गरिमा प्रदान गरेको छ र भोलिको दिनमा यसको विशेष महत्व रहनेछ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौं। हाम्रो जीवनयापनको शैलीले चाउचाउ साहित्यमा नआइकन सुखै छैन, लेखकलाई र पाठकलाई ।

त्यसैले, बगैंचा डट कमले आयोजना गरेको जलयात्रा यो प्रस्तावना सँगै भब्य सफल भयो र भोलिको कालखण्डमा ऐेतिहासिक मानिएला ।

प्रमुख अतिथि दिनेश दाइले उल्लेख्य केही बोलेनन्, नरेश सुनुवार दाइले अरुले कार्यक्रम जुधाएको आरोप लगाएको खण्डन गर्दै भने," बगैंचाले पहिले कार्यक्रम घोषणा गरेकोले, बगैंचाले होइन अरुले बगैंचासँग कार्यक्रम जुधाएको हो ।"

��"जपूर्ण वक्तब्यहरुले लागेका रिङ्टाहरु बिर्साइदिएको थियो तर ��"पचारिक कार्यक्रम समापन भयो अब फेरि बोट लाग्ने भयो भन्दै थियौं ।

 

"मलाई धेरै धेरै माया चाहिन्छ किन सोध न

तिम्लाई धेरै धेरै माया साँचेको छु भन न

अब जिउन देऊ मलाई

साँचेको माया देऊ मलाई"

हिमालयन ब्यान्डको गीत गिटारमा घन्किन थालेको थियो, ज्ञान दाइको अनुपस्थितिमा जर्सी नम्बर १० लाएर गायक टिमको मोर्चा सम्हालेका निरज दाइले आफ्नो कौशल देखाउन थालेका थिए । नुन खाएर झोक्राएका कुखुरा झैं झोक्राएका कविता मेडम,मनुजी,सरला दिदी, बज्रजी सबै जना स्वर खाप्न पुगिसकेका थिए ।

"मुसुमुस हाँसिदेऊ न लै लै", "लेकाली ��" चोयाको डोको", कड्के आँखाले झुक्यायो मलाई सान्नानी हो कि भनेर","चरी मर्यो सिसैको गोलीले", आदि हिट र सदाबहार नम्बर एक पछि अर्को गइरहेको थियो ।

" लर्बरिन्छन् यी पाइलाहरु तिमीले हेरिदिँदा

बिजुली चल्छ अंग अंगमा तिमीले अंगालेको बेला"

इन्दु स्याङ्बोको यो गीत उनले के गाएका थिए, समर दाइ सेलेक्कै भइहाले, पुरानो परिचय रहेछ गायिकासँग ।

"के हो, दामी जमाउनुभयो त दाइले!" भनेर मैले निरजदाइलाई धाप मारेँ,

"उहिले देउसी खेल्दाको गीतहरु हो नि", उनले आँखा झिम्क्याए । अन्तिमजी पूर्वै

जाने रेल भने गुडेन, उनी इन्जर्ड खेलाडी बनेरै लडिरहे ।

 

 

पार्ट ४, अन्तिम भाग

"सुब्बा त फोनमै कति छिटो टाइप गर्दो रहेछ, मेरो कविता एकैछिनमा उभिएरै टाइप गरेर पनि फेसबुकमा पोस्ट गर्यो !"

दिनेश दाइ हामीलाई खोज्दै जलयात्रापछि साँझ दुमकुलुमा आइपुगे ।

सामुहिक फोटो खिचाएपछि, शौच गर्न दिपेन दाइ, जुनकीरी,समर दाइ र म चिम सा चुइको कन्सर्ट हल तिर लाग्यौँ । "यो चिमसा चुइको स्टार फेरी त मेरो दोस्रो घर जस्तो लाग्छ, उ त्यहाँनेर म मानिसहरुको पोट्रेट् कोर्न बस्थेँ नि, रबिन भाइ", दिपेन दाइ सुनाउँदै थिए ।

"आम्दानी कस्तो हुन्थ्यो?",

"आम्दानी त त्यस्तै हो, तर थरिथरि मान्छे भेटिने, काम धेरै सिकेँ मैले", दिपने दाइले भने ।

जुनकिरीको पनि यही स्टारफेरिमा टुर बसको टिकट बेचेर १-२ वर्ष बसेको अनुभव रहेछ, "थरिथरि मान्छे देखिन्छ नि, यहाँ । एकापसमा लड्ने लडाकूहरु, समुद्रमा हाम्फाल्नेहरु" ।

"मुत्रथैली माटोको भएको भए मेरो त फुटिसक्थ्यो, छिटो जाउँ", समर दाइलाई हतारो । म कल्पना गर्छु माटाको मुत्रथैली कस्तो हुन्छ ।

दिनेश दाइले शौचालाय गएर यहीँ आऊ है भनेकाले, सुब्बा सापसँग छोडेर गएका थियौँ । सुब्बा साप टाइप गर्दैथिए,

"थरिथरिका पाठकबाट थरिथरि सन्दर्भका कविता लेख्न आग्रह हुन्छ " सुब्बा सापले भन्दा उनलाई अनलाइन कविता पसल खोल्न सुझाव दिएको थिएँ । हामी शौचालयबाट फर्किँदा मेला उठिसकेको थियो, कोही कतै देखिएन । युनलोङ बस्ने दिपेन दाइ छुट्टिसकेका थिए, हामी दुमकुलुतिर हान्नियौं, एघार नम्बरको गाडीमा । मस्तिष्क दिगमिग भइरहेको थियो, मन भने भरिएको थिएन । दिउँसो बोटमा लन्च गरियो, लन्च पनि चाइनिज शैलीको बोटमै प्रबन्ध गरिएको रहेछ, खुबै स्वादिष्ट थियो । लन्च पछि भने कतिको अवस्था बडो नाजुक भएको थियो, साइ कुङमामा अडाइएको बोटमा, कोही फोटो सेसन गर्दै थिए, कोही गफिँदै पिउँदै थिए, धेरै भने एकान्त खोज्दै वाकेर हैरान भइरहेका थिए ।

माया दिदीको कुरा अनुसार हामीलाई स्थलमा अवतरण गराइनेछ भने पनि अवतरणको मौका मिलेन । हाम्रो जस्तो अरु बोटका हरु भने पौडिँदै थिए, माछा जतिकै कलाहरु देखाइरहेका थिए। हामी भूपरिवेष्टित् देशका नागरिकहरुको जलयात्रा भने बोटको परिधि नाघ्न सकेन । कोही पौडीबाज त थिए होलान् समूहमा तर उनीहरुले पानीमा हाम्फालनेन् ।

"लु रबिन सर, अब मुटु सम्मेलन गरौं", नरेश दाइले प्रस्ताव गरे ।

"गरौं भने गरौं", म तैयार भएँ ।

सबैजना फेरि सभाकक्षमा भेला भयौं,

"मुटु सम्मेलन केही होइन, तपाईं हामी जस्ता मन मुटु मिल्ने बस्ने, गफ गर्ने, रमाउने मौका हो । यान्त्रिक जीवनबाट केही छिन भए पनि साहित्य -संगीतमा रमाउने, हाँस्ने अनि हँसाउने यो अनौपचारिक कार्यक्रममा सबैको सहभागिता अनिवार्य हुनुपर्नेछ", मुटु सम्मेलन -४ को परिचय दिएँ । टिबि याक्खा,दिनेश सुब्बा,कविता राई, मनु कन्दङवा, मगेन्द्र राई,प्रताप कोयु, नरेश सुनुवार, समर गुरुङ, नेत्र जुनकिरी, हाङयुग अज्ञातले कविता वाचन गरे ।

सैनिक कवि टिबि याक्खाले भने "मसँगै मर्नेछन् मेरा कविता" । मगेन्द्र राई अंग तस्करीको शिकार चिनियाँ बालकको सत्य घटनामा आधारित हृदयविदारक गो बिन को कविताले सबैलाई रुवायो भने मनु कन्दङवाको मामाको सन्डे कि सन्डेको मामाको चर्तिकला चित्रित कविताले सबैलाई हँसायो । बज्र थुलुङको गजलले रोमान्स भर्यो भने प्रताप कोयुले पलेटी जमाएर "नाङ्गो संसार" शीर्षकको वाचन गरेर सबै नाङ्गै रहेको उर्दी जारी गरे, उनको कविताले उनी एक सिध्दहस्त कवि हुन् भन्ने बुझायो ।

जुनकीरी र समर गुरुङले चियाबारीको ब्यथा सुसेले, कविता राई मोबाइल फोन फ्याँकेर गमलामा फूल स्याहार्न तम्सिन्, अज्ञातले शरणार्थीको कथा उतारे भने नरेश सुनुवारले बेलुन प्रतियोगिता भनेर हालसालै सम्पन्न भानुभक्त स्वर्ण पदक वितरणको धज्जी उडाए ।

यता संगीत तर्फ भने कुनै समयको प्रख्यात गीत "मुटुको ढोका खोलेर राख्छु" दिप श्रेष्ठसँग रेडियो नेपालमा सहगायन गरेकी गायिका सरला गुरुङले कला चेम्जोङका साथ सदाबहार गीत "मायालुले संझे कि कसो" गाइन् । कलाले आफ्नै नयाँ गीत पनि सुनाइन्, "मलाई हाँस्न सिकायौ तर तिमी आफैं रोयौ" बोलको । चित्रकार दिपेन्द्र राईले र बज्रजीकी श्रीमती सानु राईले पनि गाएर सहभागिता जनाए भने, यता हरिचन्द्र राईले गाउनै छोडेका रहेछन्, आफ्नै आवाजमा रेकर्ड गरिएको "पहराको बीच फूल्यो सुन्दर सुनाखरी" गाउने प्रयास उनले गरे । जनवादी गीत गाउन रुचाउने गायिका पवित्रा राईले कुनै समय होङकोङमै रहेर काम गरेका गणेश इजमको गीत "अविरल जीवनका यात्रारुबीच आँधी र हुरी मडारिन सक्छन्" मीठो गरी पस्किन तर सर्वश्रेष्ठ गायन भने निरज राईको रह्यो जसले भक्तराजको " जहाँ छन् बुध्दका आँखा" र दिप श्रेष्ठको "झस्किएछ मन मेरो" सुन्दर ढंगले प्रस्तुत गरे, सबैको वाहवाही लुटे ।

सबै सहभागीहरुको प्रस्तुतिको बारेमा विस्तारमा लेख्न थालेँ भनेँ अर्को ४ श्रृंखला सम्म मेरो गन्थन जानेछ, छोटकरीमा भन्दा संगीत, चुटकिला र कविताको सम्मिश्रण यो कार्यक्रम आपसी संवाद गर्दै अघि बढ्यो । कार्यक्रमको अन्त्यमा कवियत्री मनु कङदङवालाई 'जलपरी', गायक निरज राईलाई 'जलदेवता', कवि प्रताप राईलाई 'जलयात्रा विशेष'को मुकुट अग्रज समर गुरुङद्वारा पहिर्याई रमाइलो सम्मान गरिएको थियो ।

कुनै बेला नेपालमा कानुनका विद्यार्थी, चलचित्र निर्माण संयोजक र अचेलका हाम्रा गीतकार हेम लावती दाइले गीत गाउँदा "घुम्तीमा नआऊ है को स्थाई स्केल लिँदा सक्काएर एक अन्तरा सुनाए, जसले गर्दा गीत शीर र पाऊ बिनाको अधकल्चो भयो" भनेर दिनेश दाइले प्रतिक्रिया दिए । उनले गीत गाएर मनोरञ्जन त दिए नै, हरेक प्रस्तुतिको छलफलको क्रममा कुनै पनि विषयलाई बुजो लाउनलाई "यति भनेपछि सक्किsS गो!" भनेर बारम्बार भनिरहेकाले उनको थेगो सप्पैले अनुकरण गरे । फेसबुकमार्फत् यो थेगो भाइरल भइरहँदा विश्व खुम्चेर विश्वग्राम भएको रहेछ भन्ने साबित भयो । फेरि कुनै कुरालाई बिर्को लाउन सजिलो रहेछ यो थेगो त्यसैले पनि जहाँ पनि फिट भइरहेको छ ।

समर दाइको भाषामा यसरी सुन्दर मुटुवाहकहरुले मुटु सम्मेलनमा भुँइभरि मुटुहरु छरपस्ट पारे, मुटु सम्मेलन पश्चात् भने बोटले मात्ने क्रम जारी रह्यो । कवयित्री कविता राई एकातिर लखतरान भने गायिका सरला गुरुङ अर्को तिर सिकिस्त । गायक अन्तिम राईको त आयोजकले पैसा फिर्ता गरी विशेष ट्रिट् नै दिनुपर्ने देखियो । समग्रमा, कार्यक्रम नौलो र ऐतिहासिक रह्यो । ६ घन्टाको स्वच्छन्दता सिध्याई सबै दिनेश सुब्बा दाइको कविताको सारङ्गी जस्तै जोर्डनको घरको एउटा किलोमा झुन्डेर आत्मदाह गर्न ��"र्ल्यौं चिमसा चुई स्टार फेरी मा ।

"सुब्बाले मेरो कविताको पेज त राख्यो नि, २० वर्षपछि यसको ठूलो मोल हुन्छ भन्छ मोरोले । २० होइन ३० भन न होउ भनेको नि", ५० मा हिंडिरहेका दिनेश दाइले दुमकुलुमा भने ।

"अहो, राम्रो आइडिया हो, मसँग पनि दाइका हस्ताक्षरका केही पानाहरु छन्, खोजेर ल्यामिनेशन् गर्नु पर्यो ", मैले भनेँ, हाँसोमय भयो फेरि । मृत्यु त शाश्वत हो र पीडादायी छँदैछ, यसलाई हाँसोमा परिणत गर्ने अवसर बिरलै मिल्छ, अवसर हामीले छोडेनौं । तर मलाई थाह छ दिनेश दाइ मभन्दा धेरै बाँच्ने छन्, र उनी बाँच्नु पनि पर्छ, केही हस्त लेखन कागजहरु बरु उनको लागि पो छोडौं कि ? तर आजकाल सबै काम कम्प्युटरमै टाइपिङ गरिन्छ र पो ;)

गायकी छोडी मुटु सम्मेलनमा कवि भएका दिनेश दाइको कविता जस्तै अब जलयात्राको केवल मीठो संझना बोकेर-

किलामा झुन्डेर

आत्महत्या गर्ने त्यो सारंगी जस्तै

फर्कियौं शहरको कोलाहलमा, जोर्डनको कोलाहलमा :

"मेरो सारङ्गी आज खुलेको छ

जोर्डनको कोलाहलमा लुकेको धुन

आज यहाँ फुकेको छ

यसको धुनसितै यो डाँडा यो पहरा यो रुख यो फूल

सम्मानले झुकेको छ,

उ: तल समुन्द्री लहरहरूले

मेरो धुनलाई कोरस गाइरहेको छ

आज बतासे डाँडाका चट्टानहरू

पुलंकित छन् मेरो आगमनमा

मेरा ठेसहरू उनले चिनेको छ

र नै उनले छातीमै चौतारी बस्न दिएको छ ।

बतासे डाँडाको बतासले

मेरा धुनहरू इतिहास बनाइसकेको छ

अब मेरो मनको सारङ्गी

कुण्ठित मनमा पोको पारेर

फेरि तेही बन्दी कोठामा जानु छ

जहाँ मेरो सारङ्गीले

सानो कोठामा काँटीमा झुन्डिएर

आत्महत्या गर्नेछ ।