तिमी हिवा म तावा

Author : दीपा राई पुन
Published on : November 16, 2014


  
दीपा राई पुन
      

तिमी छहरा टेकेर आयौ

म पहरा नाघेर आए

जीवन यात्रामा

कयौ जूनी काटेर

साँघुरी भन्ज्याड्गनेर

हामी भेटियौ,

 

जीवनलाई उकालै लखेटे

होस सम्हालेबाट

कर्तब्यले धकेल्यो पछाडिबाट

बिहान हुन नपाई उज्यालोले

गल्छेडाहरू हुँदै दु:खले

लखेटिरहयो बतास झै आफ्नै श्वासले

म यहाँ आई पुग्नु

तिमीलाई भेटनु रहेछ,

 

थन्काए सबै पीडाका भारीहरू

पोखें बर्षादको भेल जस्तो आँसु पनि

सुटुक्क निस्के ब्याख्याहरूबाट

निस्के आफ्नै पछुतो अतितबाट

तिमीलाई हेरेर पहाड़ जस्तो

सुसेल्दै जीवनका कष्टपूर्ण लयहरू

गाउँदैथ्यौ मलाई संझेर

तिमी थियौ नसा नसामा

हिडे त अप्ठ्यारा उकालाहरू,

 

यहाँ सम्मको यात्रामा

हामी साथै थियौं

आदिम कालबाट

-आफ्नै उत्तरदायित्वको

पसिनाले रूझेर

तिमी हिवानागी

म तावानागी

अजर बाँचेको छौं मायाले,

 

घामको पहिलो झुल्काले

चुम्छ हामीलाई

जूनको शितलताले

छुन्छ हामीलाई

हिउँले लपक्कै छोपिएर

मुटु सम्मै ठिहिर्याउछ कहिले

समुन्द्र झै निलो आँखाले हेर्दा हेर्दै

सारा यौवन धुन्छ

जीवनकै उज्यालोले,

 

निस्शब्द, मौनता सलबलाएको छ

अन्तरा-अन्तरा यी मुटु पर्वत

जीवन थोत्रो भइसक्दा पनि

हरियै छन् स्पन्दनका रागहरू

बादल, बतास र बर्षाले

तिम्रो ढुकढुकी बोकेर ल्याउँछ

मलाई प्राण भरेर भन्छ

युगान्तर बाँचौ पहाड बनेर ।

 

बोस्टन अमेरिका