हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)

Author : नरजित राई
Published on : October 17, 2014


  
नरजित राई
 नरजित राई
(क) मैले हङकङमा नेपाली साहित्यका यात्राहरू निक्कै नै फस्टाई रहेको महशुस गरि रहेको छु । यहाँ साहित्य सर्जकहरूको जमात पनि निकै बाक्लिरहेको छ । यो हङकङको नेपाली समाजमा, नेपाली साहित्य अनुरागिहरूको आकाश निकै उज्वल हुनेछ भन्ने बिश्वास पनि लिएको छु । म पनि यो जमातको सागरमा हेलिने चाहना एवम कोशिस गर्दा गर्दै ब्यस्त रोजिरोटिको दगुराईले साहित्य सृजनाबाट किनार तिर धकिलिएको छु । यस हङकङमा रोजिरोटिले जे चाहना लिन्छ हामिहरूले त्यसैको पछाडि लत्रक्क लुत्रक्क हुँदै पछ्याउनु पर्ने रहेछ । मलाई पनि यस पिडाले लेख-पढमा निकै नै आक्रान्त पारिरहेकोछ ।

मलाई गजलकार भाई बज्र कुमार राईले ��"पचारिक रुपमा बगैचा डट कम हङकङले ३१ अगस्त २०१४ का दिन आयोजना गरिरहेको साहित्यिक पानि जहाज यात्रामा सहभागिता जनाउने बारे के कसो बिचार छ दाई भनि १९ अगस्त २०१४ का दिन दिउसो २:०० बजे तिर फोन गर्नु भएको थियो । मैले भाईलाई तुरुन्तै सो दिन कामको ब्यस्तताले गर्दा उपस्थित हुन नस्कने जानकारि एकै श्वासमा गराएको थिए । यो मेरो चाहना बिरुध्दको बाध्यता थियो ।

बगैचा डट कम हङकङले आयोजना गरिरहेको अति रमाईलो साहित्यिक पानि जहाज यात्रा, हङकङका साहित्य ईतिहासमा अबिष्मरणिय पानामा लेखिने क्षणलाई संम्झिए । म निकै नै खिन्न तथा निरास पनि भएको थिए । म नै कुनै रमाइलो यात्रा पछि संम्झनाहरू लेख्न रुचाउने मानिसले यस्तो यात्राहरूमा सहभागि हुन नपाउनु निकै दु:खको बिषय नै हो । मैले थकथकि मान्नु बाहेक कुनै बिकल्प नै थिएन । म किच्रिकै हुँदै रमाईलो साहित्यिक पानि जहाज यात्रालाई संझिए मात्र ।

(ख) मैले हङकङ आगमन पछि पहिलो पटक १३ डिसेम्बर १९९८ का दिन किरात याक्थुम चुम्लुङ काउलुन क्षेत्रिय समितिले आयोजना गरेको साहित्य गोष्ठिमा भाग लिने मौका पाएको थिए । यो साहित्यिक कार्यक्रम मंकक स्थित फिलिपिनो क्लबमा कविता बिधा तर्फ प्रतिस्प्रधात्मक कार्यक्रमको तयारि गरिएको रहेछ । मेरो मित्र जीवन मयाङवो मार्फत नै सो कार्यक्रमको आयोजना हुने बारे थाहा पाएको थिए । मैले निर्माणधिन हङकङ अन्तरास्ट्रिय बिमानस्थलमा तातो घाम संग लाप्पा खेल्दै कार्यस्थलमा नै केही कविताहरू लेख्दै साथि भाईहरूलाई समय कटाउनका लागि सुनाइ रहन्थे । यहि भएर नै मित्र जीवन मयाङवो कै जिध्दिमा म किरात याक्थुम चुम्लुङको साहित्य गोष्ठिमा भाग लिन पुगेको थिए ।

मेरो पहिलो ईच्छा भनेको आफ्नो सृजनालाई वाचन गरेर सबै सहभागिहरूलाई सुनाउने मात्र थियो तर म पनि खेल-खेलमा नै लाप्पा खेल्ने शुरमा फसिसकेको थिए । मै्ले हङकङका कविहरू संग लाप्पा खेल्ने क्रममा सान्तवना पुरस्कार प्राप्त गर्ने मौका पाएको थिए । यो नै साहित्यिक कार्यक्रमहरूमा लाप्पा खेल्ने मेरो जीवनको पहिलो र अन्तिम प्रतिस्प्रधा हुन पुग्यो । मैले सो प्रतिस्प्रधात्मक प्रतियोगितामा "मेरो गाउँ कोक्रुवा" भन्ने शिर्षकको कबिता वाचन गरेको थिए ।

मेरो हङकङमा आगमन पछि यहि कार्यक्रमबाट नै साहित्यिक यात्रा शुरु गरि, हङकङका साहित्यिक अनुरागिहरूलाई चिन्ने मौका पाएको थिए । म खोटाङ जिल्लाको कोक्रुवा गाउँमा जन्मिएको थिए । मेरो शैसवकाल तथा यूवा अवस्थाका रमणिय क्षणहरू त झापा जिल्लामा नै बिताएको भए पनि "मेरो गाउँ कोक्रुवा" भन्ने संस्मरणात्मक कविता निर्माणधिन हङकङ अन्तरास्ट्रिय बिमानस्थलको कार्यक्षेत्रमा पसिना पुछ्दा पुस्दै लेखेको थिए । मलाई त्यसबेला पहाडको गाउँघर संझिएर नोस्टलजिया नै भएको थिए । आजकाल पनि कहिलेकही पुरानो डायरिहरू पल्टाउदा यो कविता भेट्छु र पढ्छु अनि आनन्दको अनुभूति लिदै जन्मस्थल लाई संम्झिन पुग्छु ।

(ग) मैले नेपालमा रहदा-बस्दा नै चिनजान भएको साथि क्रान्ति सुब्बाको हङकङ आगमन पछि कहिलेकहि भेटघाट हुँदा साहित्य, कला, संस्कार, संस्कृति बारे सामान्य छलफल चलाउथ्थौ । उहाँ कवि साहित्यकार पनि हुनु भएकाले हङकङबाट साहित्यिक प्रत्रिका प्रकाशन गर्ने बिचार मलाई ब्यक्त गर्नु भएको थियो । मलाई एकदिन क्रान्ति सुब्बाले फोन गरि साहित्यिक प्रत्रिकाको नाम अबिराम जुराईयो । तपाईले यसका लागि कुनै एउटा लेख लेख्दै गर्नु होला है भनि जानकारि गराउनु भएको थियो । हाम्रो बासस्थान हङकङ नै भएकाले हङकङ कै वातावरण, परिवेश, सेरोफेरोलाई समेटेर अबिराम प्रत्रिकाको लागि "लान तावोमा एकछिन" भन्ने शिर्षकको यात्रा संस्मरण लेखेको थिए ।

उहाँले अबिराम साहित्यिक प्रत्रिका पहिलो पटक अगस्त १९९८ मा त्रैमासिकको रुपमा हङकङबाट प्रकाशन गर्नु भएको थियो । मैले अबिराम प्रत्रिकाको प्रत्येक अंकहरूमा प्राय: लगातार लेखहरू लेख्ने मौका पाएको थिए । मलाई कवि साहित्यकार क्रान्ति सुब्बाले अबिराम साहित्यिक प्रत्रिका प्रकाशन गरेर लेख्नका लागि उत्साह एवम उत्प्रेरणा गर्नु भएको थियो । यो अविराम साहित्यिक प्रत्रिका केही बर्ष सम्म लगातार प्रकाशन भए पनि बिबिध कारणले गर्दा बन्द हुन पुगेको थियो ।

(घ) मैले हङकङमा बसेर लेखिएका लेख भन्दा नेपालमा लेखिएका केही लेखहरूलाई (कथा, संस्मरण, कविता, गीतहरू) पुन: करेक्शन गरि पहिलो पटक प्रकाशन गर्ने चाहना राखेको थिए । म हङकङबाट बिदामा खुसि हुँदै नेपाल पुगेर मेरा पुराना डायरिहरूको खोज तलास गर्दा त धमिराले डायरिलाई राम्रै संग मर्मत गरिसकेको रहेछ । मैले मेरा धुजा-धुजा भइसकेको डायरिलाई माया लागेर यता-उता पल्टाउदा -पल्टाउदै टुक्रा-टुक्रा भइ माटोमा बिलाएको देख्दा भावुक भई आँखाबाट आँशु समेत खसाल्न पुगेको थिए ।

मैले कहिलेकही कछुवा तालमा लेख्दा लेख्दै दुई वटा कृतिहरू "आकाश खोज्दै जादा" र "समुद्र माथिको शहर" पुस्तकको रुपमा प्रकाशन गर्न सफल भएको थिए । मैले नेपाली साहित्यिक फांटहरूमा मेरो कृतिहरू जे जस्तो भए पनि नेपाली पाठकहरू समक्ष मुल्याकंनका लागि छाडि दिएकोछु । मैले आफ्ना कृतिहरूलाई नेपाली साहित्यिक आकाशमा ल्याउनका लागि तत्कालिन हङकङबाट प्रकाशित हुने अबिराम, पूर्ब क्षितिज, एभरेष्ट साप्ताहिक, यलम्बर र बिभिन्न संध संस्थाहरूबाट प्रकाशित हुने पत्र-पत्रिकाहरू नै मेरा प्रेरणाका मुख्य श्रोतहरू थिए ।

मलाई बर्तमान र भबिष्य भन्दा बिगत नै अति मन पर्ने भएकाले प्राय: संझ्नात्मक बिषय बस्तुलाई मुख्य केन्द्र बिन्दु बनाई लेख्ने कोसिस गरेको थिए । मैले नेपाली साहित्यिक आकाशमा लेख्ने बिधा पनि यहि नै हो । म बिगतलाई संम्झिएर रमाउदै कहिलेकही त लेख्दा-लेख्दै आफ्नो जीवन प्रति पुलंकित पनि हुने गरेकोछु ।

मैले मेरा कृतिहरू प्रकाशन गरे पछि खोटाङ समाज हङकङबाट २८ अक्टुबर २००७ का दिन सम्मान स्वरुप प्रशंशा पत्र र नेपाली साहित्य प्रतिष्ठान हङकङबाट १३ फेब्रुवरि २०१० का दिन कदर प्रत्र समेत प्राप्त गर्न सफल भएको थिए । मलाई अझ लेख्नका लागि यि संस्थाहरूले प्रोत्साहान गर्नु भएको थियो । मैले मेरो जीवनमा यो क्षणलाई निकै सुखद एवम अविष्मरणिय घटनाको रुपमा दिमागमा लिपिबद्द गरेकोछु ।

(ङ) म आफूलाई कहिले पनि साहित्य लेख्ने मानिस हु जस्तो लाग्दैन । मैले जीवनमा कवि, गीतकार, संगीतकार, गायककार साहित्यकार,  पत्रकार हुनका लागि केही सृजना गर्नु पर्छ भन्ने सोच चाहि लिए तर लिप्टि कसेर लागि पर्न भने कहिलै सकिन ।

मैले प्राय: माथिका सबै बिधाहरूमा हात हालि सकेको छु तर बढि अल्छे र साधनामा डुब्न नसकेकाले कुनै पनि बिधामा पारङ्गत हुन भने सकिन । मैले कम से कम अहिले सम्म कुनै एक बिधालाई मात्रै पछ्याएर साधनामा लिप्त भएको भए शायद जीवनमा केही गर्न सक्थे होला जस्तो लाग्छ ।

(च) यस हङकङको आकाशमा नेपाली साहित्यिकको फाँटहरूलाई अझ मलजल गर्नका लागि नेपाली साहित्य प्रतिष्ठान,  सृजनाशिल साहित्य समाज जस्ता साहित्यिक संस्थाको स्थापना भएकोछ । मलाई हङकङका साहित्य प्रेमि साथिभाईहरूले पहिले-पहिले निकै पटक फोन गरि साहित्यिक कार्यक्रमहरूमा सहभागि हुनका लागि बोलाउनु हुन्थ्यो । मेरो कामको प्रकृतिले गर्दा कहिलै समय नमिल्नाले हङकङका कुनै पनि साहित्य गोष्ठिहरूमा चाहेर पनि प्राय: उपस्थित हुन सकिन । आजकाल त साथिभाईहरू पनि म देखि निक्कै दिक्क हुनु भएकाले कुनै पनि साहित्य गोष्ठि कार्यक्रममा बोलाउनु छोड्नु भएकोछ ।

आजकाल पनि हङकङमा प्रत्येक महिना जसो साहित्य गोष्ठिहरू भई नै रहेका छन । म अचेल यि कार्यक्रमहरू फेसबुक,  बिद्युतिय पत्र-पत्रिकाहरू र एभरेष्ट साप्ताहिक मार्फत मात्र थाहा पाउन थालेकोछु । मलाई हङकङको साहित्यिक संसारमा कमजोरि बनाउने मुख्य तत्व हङकङ कै रोजिरोटि नै हो भन्ने बुझेकोछु । यसैले नै मेरो साहित्यिक लेखनको भावनाहरूलाई,  साहित्य प्रेमिका संगतहरूलाई बिच्छेदन गरिरहेको छ ।

मैले कुनै पनि मानिसहरू कुनै बिधामा पारङ्गत हुनका लागि चाहिएको कुनै जमातहरूमा समाबिष्ठ हुनै पर्दछ नत्र एकालब्यको कुनै अस्तित्व नै हुँदैन भन्ने पनि बुझेकोछु । मैले यि कुराहरू बुझ्दा बुझ्दै पनि हङकङको साहित्यिक जमातहरूमा कारणवश सहभागिता जनाउन नसक्दा मलाई निकै दु:ख लाग्छ ।

 

२० अगस्त २०१४

तु क्वा वान,  हङकङ