यमराजको अदालतमा ल्हाक्पा तामाङको बयान

Author : मौलश्री लिम्बू
Published on : September 01, 2014


  
मौलश्री लिम्बू

यमलोकका ख्वामित !

मृत्युपछि स्वर्ग र नर्कको फैसला गर्नु हुने

यस अदालतका प्रधानन्यायाधीश

यमराज ज्यू !

 

श्रीमान !

म- ल्हाक्पा तामाङ

ठेगाना- सिम्जुङ-छ, गोरखा, नेपाल

उमेर- ६२ वर्षीय

राष्ट्रियता- धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपाल

अभियोग- गोरु काटेर खाएको

सजाय- प्रहरीद्वारा गोलि ठोकि मृत्युदण्ड

 

श्रीमान !

मेरो शारीरिक बनावटलाई

एक पटक राम्ररी नियाली��"स्

नाक थेप्चो छ, आँखा चिम्रो छ, अनुहार गोलो छ

मेरो नामलाई उच्चारण गर्नु होस्

तपाईंको जिब्रो लर्बरिने छ

र पनि शुद्ध उच्चारण गर्न सक्नु हुने छैन

मतलव, अझ भनौ

यहाँ विराजमान हजुरका भारदार, सिपाही, समुदायहरु भन्दा

म धेरै नै भिन्न देखिएको छु

तपाइले अनुमान लगाई सक्नु भएको होला

म- तपाईहरु हुँदै होईन

तपाईहरु- म हुँदै होईन

सायद, कुनै समुदायको गुप्तचर सम्झी रहनुभएको छ होला ?

तर नडराउनु होस्

म कुनै गुप्तचर होईन

न त तपाईको समुदायको हिस्सा नै हुँ

 

श्रीमान !

मेरो परम्पराको बारेमा संक्षिप्त विवरण पेश गर्दछु-

मेरो पितापुर्खाहरु

सदियौंदेखि नेपालको पहाडी इलाकाहरुमा

बसोबास र भोगचलन गर्दै आएका छौ

हाम्रो आफ्नै मौलिक संस्कार, परम्परा, चालचलन चलिआएको छ

त्यो बेला

पशु-पंक्षी,जनावरहरुको शिकार गर्ने गरेका थिए

परापूर्वकालमा यसरि नै जीविकोपार्जन गर्दै आए

मैले मान्ने सृष्टिकर्ता, भगवान, कुलदेवताहरुले

यी सबै प्राणीहरु, वनस्पतिहरु

मान्छेले आफु अनुकुल उपभोग गरोस् भनि सृष्टि गरेका हुन्

यसर्थ

मेरो पितापुर्खाहरुले

पशु-पंक्षी मारेर खाए मैले पनि खादै आएँ

काटेर खाएँ गाई, गोरु, राँगा, बाख्रा, परेवा आदि

खाई नै रहेकाछन् मेरो अधिकांश समुदायहरुले

 

श्रीमान !

मेरो पितापुर्खाहरुलाई समायोजन गरेर

भाषा, धर्म, परम्परा, चालचलनलाई खलल नपुर्याउने भनि

मेरो अघिल्ला पुस्ताहरुलाई

नेपालको नागरिक बनाईएको हो

नेपाल बनाउनेहरुले नेपाली बनाएका हुन्

र म पनि नेपाली कहलिएँ

तर मैले मान्दै आएका

अनि मान्नै पर्ने धर्म,संस्कार,परम्परालाई

म कसरि लत्याउन सक्छु ?

र बनुँ म कसरि उनीहरुले लाद्याउन खोजेको

नेपाली नागरिक ?

 

श्रीमान !

मेरो आत्माले दिएन

मेरो स्वाभिमानले दिंदैन

 

श्रीमान !

मैले गोरु छिनालेर खाएकै हो

पहिलो पटक होईन अनेकौ पटक

हिजो एक झुण्ड समाजदेश परिवर्तन गर्छु भन्दै

मेरो गाउँघर पसेका थिए

आफ्नै समुदाय, धर्म, संस्कारको बागी बन्छु भन्दै

अनगिन्ति गाई-गोरु काटेर खाए

पछि ति झुण्डहरु सरकारमा पुगे

अझै पनि पहुज मै छन्

 

अहँ !

ति झुण्डहरुलाई न हिजो न आज

गाई-गोरु काटेर खाएकोमा अभियोग लागेको छ

न त कसैलाई सजाय भएको छ

किन कि ति झुण्डहरुसंग बन्दुक थियो

आईलाग्नेसंग जाईलाग्ने अस्त्र थियो

त्यसैले मनपरी भोज खाए

गाई-गोरु कति हो कति छिनाले

विडम्बना

,छुट्टै जाती,धर्म र संस्कार भएको मान्छेलाई

तपाईहरुको संस्कार, मान्यतालाई नमानेको आरोपमा

धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपालका प्रहरीले

२०७१ साउन २९ गते सोमबार

सिधै गोलि ठोकियो

सजाय- मृत्यु

कारण- मैले गोरु छिनालेर खाएँ

 

श्रीमान !

म नि:शस्त्र

मेरो समुदाय नि:शस्त्र

 

श्रीमान !

तपाईको सामुन्ने उभिएको चित्रगुप्त

जसले तपाईहरुको समुदायको लेखा-जोखा राख्ने गर्छ

मेरो कर्मकाण्डको नालीबेली खोजि सकेको होला

तर ऊ नतमस्तक भई उभिएको छ

किनकि

उसले तयार पार्ने पुस्तिकामा

न त मेरो नाम छ न त मेरो समुदायको नै

 

ए चित्रगुप्त !

यस लोकमा इन्टरनेटको व्यवस्था गर

अनि गूगल, फेसबूक, ट्विटरको आईडी बनाऊ

र खोज म, मेरो समुदायलाई

सक्छौ/मिल्छ भने राख तिम्रो पुस्तिकामा

तर

मैले आफ्नो संस्कार-चालचलनलाई मान्न पाउनु पर्छ

 

होशियार है !

यतिबेला मेरो समुदायहरु

बिच्किएका छन्,आक्रोशित छन्

तर नि:शस्त्र छन्

 

श्रीमान !

म मरेपछि या मेरो समुदाय मरे पछि

हजुरको कठघरामा हाजिर हुने चलन छैन

मैले मान्ने कुलदेवताहरुले

तपाईको नाम र लोकको वर्णन गरेकै छैन

म यहाँ कसरि आईपुगें

कारण तपाईलाई स्पष्ट भैसक्यो होला

 

म यहाँ आईपुग्दा

कागको हुलमा बकुल्ला बनेर आएको हुँ

बीच बाटोमा हजुरको बारेमा खुब सुनेर आएको छु

अब मलाई हजुरले फैसला गरेर

तपाईको समुदायहरुलाई जसरि 

 

स्वर्ग या नर्क पठाउनु हुन्छ होला !

 

श्रीमान !

म- तपाईहरु हुँदै होईन

तपाईहरु- म हुँदै होईन

यसर्थ,

अब मलाई कहाँ पठाउनु हुन्छ ?

 

झापा, हाल- पेराक, मलेसिया