मोहम्मद आलमको कविता

Author : हाङयुग अज्ञात
Published on : June 26, 2014


  
हाङयुग अज्ञात
Author

म बसेको नौतलामुनि

सडकपेटीमा मोहम्मद आलम

हात फैलाएर माग्न बसेको छ

यो हेनेस्सी रोडमा

जाडो भर्खरै शुरू भएको छ

जसलाई छेक्ने प्रयत्नमा ऊ

पोस्टबक्सको आड लिइरहेको छ

कज्वेबेबाट चिसो बतास

कमर सुम्सुम्याउँदै शरीरभित्र घुसिरहेको छ

ऊ बाक्लो ज्याकेटभित्र

लामो आङ मिलाइरहेको छ,

 

उसका चाउरिएका खोपिल्टे हत्केलामा

सायद कुनै चिनियाँ सिनियर सिटिजनले

राखिदिएको हुनुपर्छ एक डलर

जसलाई घरि ऊ दाहिने हत्केलामा र्सार्छ

घरि देबे्र हत्केलामा र्सार्छ

र खेलिरहन्छ समयसित

सायद यसरी समयसित खेल्दाखेल्दै

यो आलम ७० वर्षपुगेको हुनपर्छ

अथवा त्यो एक डलर

कुनै युरोपियन पर्यटकले दिएको हुनुपर्छ

अथवा त्यो एक डलर

कुनै अफ्रिकन पर्यटकले थमाएको हुनपर्छ

कि ग्रहदशा मन्तरेर

हिजो राति कामबाट फिर्दा

म आफैले राखेको हुनसक्छु

त्यसको रोगी हातमा एक डलर !

 

४० वर्षभएछ

राउलपिन्डीलाई यो सहरमा ल्याएको !

सारै नमीठो गरी खुइः काढ्छ ऊ

पोहोर साल एक क्यान छिङ्ताओ दिएको

तिहाँदेखि मलाई देख्यो कि

भुइँबाट उठेर मेरो बाटो रोक्दै भन्छ उसले

चलो जी भइया,

सेभेनलेभेन चलते हेँ

कुच गप्पे मारते हेँ !

 

सेभेनइलेभनमा एक क्यान सुँघेपछि

ऊ फ्लैसब्याकमा जान्छ

मैले चुपचाप उसको कथा सुनिदिनुपर्छ

नत्र पसलभित्र बबाल गर्छ उसले,

 

उसलाई

अङ्ग्रेजहरूले भर्ति गरेर हङकङ ल्याएको रहेछ

सेनाबाट पेन्सन पकाएछ र फर्केछ राउलपिन्डी

उता दुइ बेगम

तीन छोरा, चार छोरी पाल्न मुस्किल परेछ

र हङकङ आएछ लालबुक च्यापेर सन् १९९० मा

कन्सट्रक्सन, सेक्युरिटी, रेस्टुरेन्ट र सैलुन

प्राय सप्पै क्षेत्रमा काम गरिसकेको रहेछ

यसोरी नै यहीँबाट घर राम्रोसित चलाएको रहेछ

अङ्ग्रेजहरूले हङकङ छोड्न अगाडि नै

तीनैजना छोराहरूलाई डिपेन्डेन्टमा बोलाएछ

स्वास्नीहरूलाई उतैको घरव्यवहार सम्हाल्नु भनेछ

तीन छोराहरू -युसूफ, इकबाल र सलीम)ले पनि

-आफ्ना बेगमहरू बोलाएछन्

नाति-नातिना भएछन् आलमको

उनीहरूलाई हुर्काउने काम पाएछ उसले

यसरी यौटा परिवार बनाएछ उसले

यहाँ, यो वान्चाइको हेनेस्सी रोडमा

राउलपिन्डी बनाएछ उसले

तर..तर..

'मगर दोस्त, तु क्या सम्झे इस दिलका दर्द !'

भन्दै एकै सासमा किङ्ग साइज स्वाट्टै पार्छ

ठूटे हिन्दी र ब्रोकन अङ्ग्रेजीमा

हाम्रो सम्वाद हुन्छ

सम्वाद त के हुन्छ भन्नु

आलमले मात्रै आफ्नो कुरा राख्छ

तेसैले उसको कथा सुनिदिनु

र उसलाई बियर ख्वाउनु मेरो काम,

 

किनभने उसको दारी र कलाप फुलेको छ

उता उसका बेगमहरूको मकबरा बनिसकेका छन्

उता उसको यौटा छोरी बम विस्फोटमा परेर अपाङ छ

उता तीन छोरीहरू बिहे गरेर गएपछि कता छन् कता छन्

उसलाई यो सहरमा छोराबुहारीले घरबाट निकालेको छ

ऊ मान्छेहरूको खुट्टा गन्दै

हेनेस्सी रोडमा सिङ्गो पाकिस्तान फिँजाएर माग्न बसेको छ

ऊ बिहानैदेखि भोको छ

उसका कुरा सुन्नेहरू यो सहरमा थोरै छन्

ऊ हाम्रो छिमेकी हो

ऊ बेनजिर भुट्टोको देशबाट आएको हो

ऊ रोटीसित बारूद साट्ने देशबाट आएको हो

ऊ मुस्सरफको मान्छे हो

मैले उसको कथा सुनिदिनु

र क्यानका क्यान बियर ख्वाउनुको पछाडि

लुकेको सप्पैभन्दा शक्तिशाली तर्क भनेको

ऊ हिन्दुस्तानको जन्मजात शत्रु हो

तर योभन्दा पनि सुन्दर तर्क भनेको चाहिँ

ऊ र म, दुवैजना मान्छे हौं

ऊ मेरो बाऊजस्तो छ

र म उसको छोराजस्तो छु !

 

हो, म उसको छोरा इकबालजस्तो छु

हो, म उसको छोरा युसूफजस्तो छु

हो, म उसको छोरा सलीमजस्तो छु !

र मलाई थाहा छ यो सहरमा

एकदिन मैले पनि

मोहम्मद आलमकै नियति भोग्नर्ुपर्छ

यही हेनेस्सी रोड, जकीकल्बको छेवैमा

आफन्तहरूबाट तिरस्कृत भएर

हत्केलामा काठमाडौं राखेर

फुटपाथभरि नेपाल फिँजाएर

हो, यही हेनेस्सी रोडको व्यस्ततामा

मैले पनि

यो मोहम्मद आलमकै विवशता बेहोर्नुपर्छ

जब यौटा क्युरियो सामान सोच्दै

न्युजिलैन्डबाट हङकङ घुम्न आएको

कुनै पर्यटकले 'ओ तेन्जिङ !' भन्दै

थमाउनेछ एक डलर

तब धेरै ढिलो भइसकेको हुनेछ

तब साँच्चैसाँच्चै नै ढिलो भइसकेको हुनेछ !

 

मेरो बुवा र मेरो देश

मेरो आमा र मेरो भान्साघर

मेरा दिदीहरू र मेरो फूलबारी

मेरो दाइ र मेरो सुन्तोलाबारी

मेरो भाइ र मेरो कविता

सप्पैसप्पैसित मेरो सम्बन्ध टुटिसकेको हुनेछ

र मेरो प्रिय स्वास्नी पनि र्स्वर्ग पुगीवरि

खाना पकाइसकेर मलाई पर्खिरहेकी हुनेछिन्

मेरा छोराछोरीहरूले मलाई वृद्घाश्रममा पुर्याउनेछन्

म तिहाँबाट भागेर

यही हेनेस्सी रोड, जकिकल्बको छेवैमा

त्यो मोहम्मद आलमजस्तै

माग्न बस्नेछु माग्न बस्नेछु

माग्न बस्नेछु मान्छेहरूको माया ।