प्रेम गर्दिन

Author : कल्पना राई "खुशी"
Published on : May 08, 2014


  
कल्पना राई "खुशी"

माफ गर्नुहोला !

स्वीकार छैन तपाईको प्रेम,………

 

प्रेमले संसार अडिएको छ रे

प्रेमले संसार चलेको छ रे

प्रेमले सृष्टि सुन्दर भएको छ रे

तर,

कतै सुन्दरता देख्दिन म,

कतै शान्ति पाउदिन म,

कतै अडिदैन मन,

के,म भित्रको प्रेम मरेको हो र ?

तर,

प्रेम कहिले मर्दैन पनि सुनेकी छु,

प्रेम सदा-सदा अमर हुन्छ रे

घाम र जून जस्तो

आकाश धर्ती जस्तो………

म भन्छु

मिथ्या पनि हुन सक्छ,

 

हिजो अस्ति सिकिस्त थिएँ

रोगले होईन प्रेमले,

फूल झैँ फक्रेकी थिएँ

बसन्तले होईन आशा र भरोसाले,

ओठ भरिभरि मुस्कान थियो

कुनै दृश्यले हॊइन, कसैको सम्झनाले

हो,

खुला आकाश झैँ मन चंगा थियो

सागर झैँ निर्मल भावना थियो

दर्पण झैँ सत्य बिचार थियो

 

बिवस्ता थियो या बाध्यता,

भु-गर्भबाट भनौ कि हावाको कण कणबाट………

बसन्तको पालुवाबाट भनौ कि शिशिरको पत्करबाट,……

चाँदको चाँदनीबाट भनौ कि ति शीतका थोपाहरुबाट,……

एका एक बिलिन भएर गए

प्रभातमा शीत हराए जस्तो

एका एक ओझेल परेर गयो

कुईनेटोमा मानब आकृती जस्तो

पृथ्वी शुन्य भयो

देहबाट आत्मा हराए जस्तो

हराएर गयो प्रेमका प्रतितहरु

प्रेमील लहरहरु ,…………

 

बर्षौ बित्यो,

मैले सम्झेकी छैन

मैले कल्पेकी छैन

मैले त्यो प्रेम सपनामा देखेकी छैन

भावनामा कुंदेकी छैन

देउरालीको बर पिपल भाक्दै

देबी देउताको कसम खान्छु

पानी छोई भन्छु

मैले सम्झेकी छैन

सत्ते होला,

धरो धर्म,……

म प्रेम गर्दिन

 

बिडम्बना,…………

कविताका हरेक अक्षेर भित्र

कविताको हरेक शब्द भित्र

कविताको हरेक हरफ भित्र

साचै भन्नु पर्दा पूर्ण कविता

अनि म भित्रको प्रतिबिम्बित "म" भित्र केवल उनी छन l

हो,

त्यहि पहिलो प्रेम छ/

 

त्यसैले,

माफ गर्नुहोला!

स्वीकार छैन,तपाईको प्रेम……………!!!

 
 

दोलखा नेपाल

हाल दक्षिण कोरिया