किन रोई रहेछिन जननी

Author : समा श्री
Published on : May 04, 2014


  
समा श्री

नाकैभरि

केही मग्मगाएको छ

अस्तित्वैभरि

केही गम्किएको छ

म सुँङ्छु

भित्र कतै आफैलाई

अहँ !

त्यहाँ म

केही ठोस पनि छुइन

त्यहाँ म

केही तरल पनि छुइन

फेरि यो लहराउँदै चलेको वासना के को ?

फेरि यो फैलिरहेको सुगन्ध के को ?

मन किन भौँतारिरहेछ ?

किन यो तृष्णा फैलिरहेछ ?

 

एका बिहानै शुष्क पवनले

नमी सोसेर तातो सास फेर्छ

म आँखाभरि तृष्णा बटुलेर

क्षितिज देखि क्षितिजसम्म फैलिएको

उजाड उराठ धरातल हेर्छु

बालुवाबाट निस्किएका

ताता बाफ हेर्छु

दृष्टिभ्रमले पनि

कतै कुनै फूल देख्दिन

बालुवाको सरोवरमा कुमुद फुल्दैन

मरुभूमिका छातीमा फूल फुल्दैनन्

बिना फूलका यी शुष्कतामा

फेरि यो लहराउँदै चलेको वासना के को ?

फेरि यो फैलिरहेको सुगन्ध के को ?

मन किन भौँतारिरहेछ ?

किन यो तृष्णा फैलिरहेछ ?

 

कोठामा टाँगिएको भित्तेपात्रोले

सयौँ पाना पल्टाईसकेकोछ

अनगिन्ति ऋतुहरु

दोहराइसकेको छ

हरेक बर्षातमा म कैयौँ पटक भिजेको छु

हरेक हिउँदमा म धेरै पटक नाङ्गिएको छु

प्रत्येक शरदमा म फेरि पलाएको पनि छु

र पनि

चेतनामा कुनै फेरबदल छैन

अस्तित्वमा कुनै बदलाव छैन

स्वादमा कुनै परिवर्तन छैन

चहनामा कुनै परिष्कार छैन

फेरि यो लहराउँदै चलेको वासना

फेरि यो फैलिरहेको सुगन्ध

किन मनलाई व्याकुल बनाउँछ

किन अन्तरात्मा भौँतारिन्छ ?

किन यो तृष्णा फैलिरहन्छ ?

 

मन मारेर परदेशमा

म आफैमा गुजिल्टिन्छु

फेरि उहि सुगन्ध आउँछ

फेरि उहि म वासना महकिन्छ

कोट्याएर आफैलाई चाख्छु

रगडेर आफैलाई सुङ्छु

म नै मगमगाएको रहेछु

म नै गम्किएको रहेछु

म अर्थात माटो

म अर्थात मेरो देश

परदेशमा

देश गम्कदो रहेछ

परदेशमा

माटो मग्मगाउँदो रहेछ

नाभिबाट बिना छुट्टिएपछि

कस्तुरी भड्काईले बुझायो

किन रोइरहेछिन जननी ।