कठै मेरो सगरमाथा

Author : सुनिता राई
Published on : April 21, 2014


  
सुनिता राई

मेरो सगरमाथा

अनगिन्ति कट्मेरो पथहरूले

कुल्चिएर अर्धचेतमै ब्युँझिएंकी

निस्तब्ध बादलको बर्को ओडेकी उनि

मानव मूर्तिबाट फ्याँकिएका हजारौं

कार्बनडाइ अक्साइड आफ्नो छातीमा सोसेर

अलिकति होचिएको मन्द मुस्कानमा

ठिङ्ग उभिएको मेरो सगरमाथा कठै

मैले त मैलिएको पो देखें ।

 

सबैलाई हतासो छ उनकै छाती हुँदै शीर चुम्ने

सबैलाई हतारछ उनकै उचाइमा मैलो मन धुने

आफ्नो धुलेरुपी पाउँ सगरमाथाको शीरमा टेक्दा

आधुनिक मान्छेहरूको खुशीरुपी सीमारेखा त्यतिखेर

सायद मनको मिटरले मापन गर्न सकिन्न !

त्यहीं सेताम्मे हर्षका बीच केही दुखाइका धमिला

विष्मय बोधक नक्शाहरू रेखाङ्कित हुन्छन

तर, त्यसको इति पनि आभाष हुँदैन

ती कृतिम कवच धारण गरि हाँस्नेहरूलाई

उनि आफ्नो चौडा कंचडमा थामी रहन्छिन कठै !

 

तप-तप तप्किएका सगरमाथाका निर्जल

थोपाहरू रारा र फेवालाई साक्षी राख्दै

आफ्ना धमिलो लाज छोप्न कतै दुधकोशी

, सुनकोशीका वर पिपललाई जिर्ण कथाहरू

सुनाउदैछ रे ! र, वर पिपल उनलाई शीतल

छहारी भित्र काखी च्याप्दै उनैलाई चुस्दै छ रे !

फेरी बगर सँगको सुख्खा साइनोको सप्को मार्दै

सगरमाथाका निर्जल थोपाहरू कुइनेटो-कुइनेटोमा

सोसिंदैछ रे ! कठै ती निर्जल थोपाहरू !

 

हजारौं बिरानो पाइलाहरूले ठेस लाउँदा पनि

चुप-चाप सहेर मात्र पग्ली रहिन् उनि

अनि आफ्नै स्वाभिमानमा अग्ली रहिन् उनि

तर, साच्चै स्वच्छताको सुगन्धहरूमा आज

दुर्गन्धित धुलोका वासहरू आउन थालेका छन्

र त उनि भन्दैछिन कीर्तिको काँटा भिर्न

मलाई अरु नधमिल्याउ, यति धेरै नटेक !

 

हाल इज़रायल