बाटो

Author : गणेश ईजम
Published on : November 27, 2008


  
गणेश ईजम
बाटो माथि गह्रौँ मान्छेहरू हिड्छन्
बाटो मागि हलौं मान्छेहरू हिड्छन्
बाटो माथि अघाएका मान्छेहरू हिड्छन्
बाटो माथि भोकाएका मान्छेहरू हिड्छन्
तर बाटो भने चुपचाप छ अन्तहीन
तर बाटो निदाएकोछ सपनाहीन,

 

सम्पन्नता र विपन्नताको भेद गर्दैन बाटोले
अघाएका र भोकाएकाको भेद गर्दैन बाटोले
छुतअछुत उचनिचको भेद गर्दैन बाटोले
कालोगोरो कुनै वर्ण भेद गर्दैन बाटोले
बाटोको विशेषता हो विवेक नहुनु
बाटोको कर्म हो लमतन्न परिदिनु
बाटोको धर्म हो आफैंले कहिल्यै सपना नदेख्नु
त्यसैले बाटो चुपचाप छ अन्तहीन
बाटो निदाएको सपनाहीन

बाटो चुपचाप छ अन्तहीन
बाटो निदाएको छ सपनाहीन,


तैपनि बाटै माथिभएर थुप्रै सपनाहरू अघि लाग्छन्
तैपनि बाटै माथिभएर थुप्रै आशा र विश्वासहरू अघिलाग्छन्
नियमित आकस्मिकता भएर अघि लाग्छन्
क्रमभंगताकालागि छलाङ मार्दै अघि लाग्छन्
कोही गुलावको फूल हातमा लिएर
कोही जैतुनका हाँगाहरू हातमा लिएर
कोही पप्पीफूल छातीमा सिउरिएर अघि लाग्छन्
तैपनि बाटो चुपचाप छ अन्तहीन
तैपनि बाटो निदाएको छ सपनाहीन,

 

सगरमाथाको सेतो हिंउ राताम्मे पार्न यही बाटो उभोलाग्छन्
रातोघाम टिपेर रातो लाली छरिदिन भन्दै यही बाटो भएर गाउँ लाग्छन्
हतास/ निरिह/ निराश र आतंकित एकहुल नाङ्गा पाइतालाहरू अघि लाग्छन्
निर्दयी/ निरंकुश/ कठोर एकहुल बुटहरू पनि अघि लाग्छन्
मलामीहरू यही बाटो भएर अघि लाग्छन्
जन्तिहरू पनि यही बाटो भएर अघि लाग्छन्

मार्क्स हो की पल्लो गाउँको माक्ले हो
राम हो की रावण हो- कृष्ण हो की कंश हो-
गान्धी हो की गोड्से हो - या जीसस हो की जुडास हो-
बाटोले कुनै भेद गर्दैन
बेलाकुबेला म माथि टायर बाल्छौ भनेर
फक्कैमा म माथि ट्याङ्कहरू गुड्काउँछौ भनेर
मै माथि रगत पोखाउन बमहरू गाड्छौ भनेर
बाटोले कहिल्यै गुनासो गर्दैन
र म माथि बुद्घ, गान्धी, टेरेसा वा नेल्सनहरू मात्रै हिडुन भनेर
बाटोले कहिल्यै सर्त पनि राख्दैन
बाटो चुपचाप छ अन्तहीन
बाटो निदाएको छ सपनाहीन,

 

यही बाटो भएर अघि लाग्ने
नुनिलो नुनिलो सपनाहरू निलोनिलो समुद्रको अन्तहीन गर्तमा समाधिस्त भएकाहरू
मोहम्मद आलमको रावलपिण्डी वान्चाइको हेनेसी रोडमा लावारिस देखी
यतै कतै अध्याँरा गल्लीहरूमा काठमाण्डौ भिखारी भएर हिलारी पर्खनेहरू
यो बाटोले कहिल्यै भन्दैन
कि निलोनिलो समुद्रको निर्मल पानीले नुनिलोनुनिलो सपना सुकिलो बानायो नी ! भनेर
यो बाटोले कहिल्यै भन्दैन
कि फराकिलो समुद्र माथि झुण्डिएको फराकिलो आकाशमा सपनाले कावाखान पायो नी ! भनेर
यो बाटोले कहिल्यै भन्दैन
कि सपनाहरू अघिअघि हुन्छन् र छोडिएका केवल सम्झनाहरू मात्र हुन्
अध्याँरो अध्याँरो सपनाले उज्यालो विपना ल्याउदैन है भनेर
उनीहरूलाई यो बाटोले भन्नु पर्ने हो, तर त्यसो कहिल्यै भन्दैन
बाटो चुपचाप छ अन्तहीन
बाटो निदाएको छ सपनाहीन,

 

आजकल यो बाटो
डाँडा पहाड र हिमाल हुँदै
खोल्सा खोला नदी र सागर हुँदै
आकास गंगाको किनारसम्म लम्मिएर
महाविष्फोटको बिन्दु अनि महाशुन्यताको गर्तसम्म पुगेर
फन्फनी घुम्दै यो बाटो
फेरी यही धरतीको छातीमा
ह्याडोन कोलाइडर भित्र फन्फनी घुमिरहेछ अन्तहीन
बाटो निदाएको छ सपनाहीन,

 

बाटो जता पुगेपनि

बाटो जता घुमेपनि
बाटो त हाम्रै कदम त हो नी

बाटो त हाम्रै पदचिन्ह त होनी

बाटोले हामीलाई उज्यालोतर्फ डोर्र्याए पनि
बाटोले हामीलाई अध्याँरोतर्फ डोर्र्याए पनि
आखिर बाटो त हाम्रै मन त हो नी
आखिर बाटो त हामै विवेक त हो नी
बाटो लमतन्न चुपचाप छ अन्तहीन
बाटो निदाएको छ सपनाहीन ।।