अनिश खालिङको देह

Author : बज्र कुमार राई
Published on : January 27, 2014


  
बज्र कुमार राई
मेरो भौतिक शरीरभन्दा प्यारो

मेरी आमालाई

मेरो राष्ट्रियतालाई

मेरो स्वाभिमानलाई

बारम्बार बलात्कार गर्न खोजेपछि

म आगो भएँ-

दनदन बलेको आगो,

 

मैले मेरो सम्पुर्ण इन्द्रियको त्यो आगोलाई

हत्केलामा राखेर मुठ्ठी कसें

अनि मुक्काएँ-

त्यो वैरीको पिपाशु अनुहारमा,

 

मेरो प्रहारबाट

कत्तिखेर

प्राणपखेरु उडेछ त्यस्को

थाहै पाईन मैले।

हुनत गोर्खालीको हातबाट कुन शत्रु बाँचेकोछ र,

 

मलाई

यो अल्लाहको देशमा

जेल परेर

मृत्‍युदण्ड पाउनुमा

कुनै नौलो आश्चार्य लागेको छैन

त्यति सारो दु:ख लागेको पनि छैन

अझै आगो नै छु म,

 

दु:ख लागेर पो के गर्नु?

पींजडाभित्र रोएर पो के गर्नु?

दुनियाँलाई जगजाहेर छ-

इराकमा रेटीएको  नेपाली घाँटी

कुवेतमा मृत्‍युदण्ड सुनाइएकी डोल्मा

साउदी अरबमा चुरोटको ठुट्टा झोसिएकी,

आइरन डामिएकी कमला

अग्लो विल्डिङबाट खसाइएकी सपना

अल्लाहको देशको घरघरमा

बलात्‍कृत भैरहेकी नेपाली नारी अस्मिता

यस्ता अनेकन् सत्य संवेदनाहरु.....

 

म यो जेलभित्र सम्झिरहेको छु-

गर्भमै छोडी आएको मेरी छोरी

जीवन संगीनी रविता

क्षितिजमा पुगिसकेका बाउआमा

साथीभाई, नरनाता, गाउँ-समाज

अनि मलाई उपेक्षा गरीरहेका

मेरो देशका लोकतान्त्रिक शाशकहरु,

 

म शुन्यतामै भएपनि-

मलाई थाहा छ

आजको सुर्यास्तसम्म

मेरो प्राणको निम्ति

मेरो राष्ट्रियता लडी दिएन भने

'कुरान' पढेर

यी अल्लाहभक्तहरुले

भोलिको पहिलो प्रहारमै

झुण्ड्याएर मार्नेछन् मलाई,

 

पर्सी यही निहुँमा

मेरी श्रीमतीले,छोरीले

मेरो भाईले

मेरो साखासन्तानले

म जस्तै आगो भएर

यही इतिहास पढेर

मलाई जस्तै

मेरो देशका कथित शाशकलाई

झुण्ड्याउँने पो हुन कि!?