बन्दुक, बन्दना, जुवा र जुली

Author : टोप बहादुर राई
Published on : December 08, 2013


  
टोप बहादुर राई

टोपबहादुर याक्खा, हङकङ

विश्वकै जुवाघर उपनामले समेत परिचित मकाउ हङकङ झै चीनकै एक श्वसासित क्षेत्र हो । मकाउ, ताईपा र कोलेने गरि तीन वटा स-साना सामुन्द्रिक टापुहरु मिलेर बनेको मकाउको कुल क्षेत्रफल २९.९ बर्ग कि.मि. र जनसंख्या ५,५७,०० (सन् २०११ को सरकारी तथ्याङ्क अनुसार-विदेशी कामदार लगायत भिजिटरहरु बाहेक) मात्र रहेको छ । हङकङमा ब्रिटिशहरुले झै १६ औं शताब्दीबाटै पोर्चुगलको शासन सत्ता रहेको मकाउलाई २० डिसेम्बर १९९९ मात्र चीनलाई हस्तान्तरण गरिएको हो ।

 मकाउको प्रमुख आम्दानीको श्रोत र विकाशको मेरुदण्ड भने कै भेनेसियन, स्याण्ड्स, ग्राण्ड लिस्बो, सिटी अफ ड्रिम, ग्यालेक्सि जस्ता विश्कै उत्कृष्ट दर्जनौ क्यासिनो तथा तारे होटल, रेष्टुरेण्टहरु हुन् । जहाँ मकाउका स्थानिय कामदारहरुले मात्रै नपुगेर सेक्युरिटी गार्ड, बडी गार्ड, बोन्सर, डान्सर, वेटर, क्लिनर जस्ता कामदारहरु चीन, नेपाल, रसिया, फिलिपिन्सर्,र् इन्डोनेसिया, भियतनाम, बर्मा जस्ता कयौं देशहरुबाट ल्याउने गरेका छन् । जस मध्ये सेक्युरिटी गार्ड तथा बडि गार्ड लागि नेपाली (गोर्खा) हरु उच्च दर्जाका मानिन्छन् । हङकङको प्रत्यक्ष प्रभाव रहेको मकाउमा अंग्रेजकालमै ब्रिटिश गोर्खा सेनाहरुको बारेमा उनिहरुलाई राम्रो ज्ञान थियो । त्यसैले शुरुमा अवकाश प्राप्त ब्रिटिश गोर्खा सेनाहरुलाई विभिन्न क्यासिनो, होटलहरुमा गार्ड तथा तिनका मालिकहरुको भि.आई.पि. पर्सनल गार्ड (बडि गार्ड) को रुपमा काम गर्ने अबसर दिईयो भने पछिल्लो समयमा नेपाली तथा भारतीय सेना, प्रहरीमा काम गरेका तथा मार्सलआर्ट खेलाडीहरुलाई समेत उक्त अबसर दिईदै आएको छ । विशेष त गोर्खा गार्डहरु निर्डर, अनुशासित र विश्वासिला हुने छाँप उनिहरुमा पहिलेबाटै परि आएको छ । त्यसैको फलस्वरुप आज करिब २,५०० नेपालीहरुले राम्रो तलब सुविधामा काम गर्ने अवसर पाईरहेका छन् भने अझै पनि नेपालीहरुको माग बड्दो रहेको पाईन्छ ।

यसरी अरु नेपाली दाजुभाइहरुले झै मैले पनि सन् २००७ मा वैदेशिक रोजगारको शिलसिलामा मकाउलाई आफ्नो गन्तब्य बनाएको थिए र हङकङ आउनु पूर्व सम्म त्यहिको माटोलाई आफ्नो कर्मथलो बनाए । म हङकङ आउनु भन्दा ३ महिना अगाडि मात्र नेपालबाट मेरै जिल्लाबासी एक जना दाई पनि त्यहिको माटोलाई आफ्नो कर्म क्षेत्र बनाउन आउनु भएको थियो । एउटै जिल्लाको भएता पनि नेपाल घर हुँदा भेटघाट तथा चिनजान थिएन । तर पनि म संगै मकाउ आउनु भएका मेरो काकाको छोरा दाई संगै पहिले सशस्त्र प्रहरीमा जागिर खानु भएको रहेछ । त्यस माथि पनि एउटै बटालियनको एउटै भाडाको भात खादै (फौजी भाषामा भन्नु पर्दा "एउटै राशन र एउटै काशन") त्यो संकटकालिन समयमा संगै उठबस गर्नु भएको रहेछ । विवाहित छोरी चेलीहरुलाई "माइती गाउँको कुकर पनि प्यारो हुन्छ" भने झै परदेशिए पछि कोहि नेपाली देखिन साथ कति आत्मियता पलाउने गर्छ भने एउटै जिल्लाबासी त्यो पनि दाईको पहिलेको पल्टने जागिरताकाको साथी (नम्बरी) देख्दा भेट्दा त झन एउटै घर परिवारको सदस्य संगै भेट भएको अनुभूति भएको थियो । त्यसैले मकाउमा हुँदा छोटो अवधीको भेटघाटले पनि हामी बीचमा निक्कै नजिकको सम्बन्ध रह्यो । दाई निक्कै जोक्कर हुनु हुदो रहेछ । पहिलो भेटमै गफै पिच्छेको उखान, तुक्का र खकुलो हर्साई । मेरो दाईले भन्नु हुन्थ्योकी पिउन, गफ लगाउन र केटी पट्याउन चाही पल्टनमा अरु कसैले भ्याउदैन थियो रे उसलाई त्यो बेला । त्यसैले त पल्टनमा हुँदाताका उसलाई "चरी" "शिकारी" तथा "जोक्कर" नामले पनि चिन्थे रे सबै जनाले ।

एक साँझ उहाँकै कोठामा मकाउमा पानीकै मुल्यमा पाईने सस्तो छिन्ताउ बियरको क्यान हातमा लिएर पिउँदै आफ्नै बारेमा यसरी पोल खोल्नु भयो । १८ वर्षे उमेरमा भर्ति भएर ३ वर्षसम्म खाएको बन्दुके जागिरको क्रममा धेरै सोल्टिनीहरुसंग लभ गरियो हाउ भाई । त्यो सबै यो मेरो पिउने बानि र गफको कमाल नै हो बुझयौं - यसै क्रममा झापा चारआली ब्यारेकमा रहँदा त्यहिकी एक जना बन्दना नाम गरेकी केटिसंग लभ गरेर विवाह पनि गरे । मधेशको मान्छे, त्यो पनि केही हुनेखानेको छोरी । भर्खर क्याम्पस पढ्दै गरेकी केटी म संग प्रेम जालमा फसेर विवाह त गरि, तर पछि मेरो पहाड घरमा लगेर घाँस, दाउरा, गाई भैसी, लेख बेसी गनु पर्दा बिचरी बुढी त हा.हा.हा... एकहलकै हासो हास्नु भो आफै ।

यसरी बन्दनालाई त उसले बन्दुके जीवनकै शिलशिलामा प्रेम विवाह गरेछ । तर देशमा झनझन चर्कदै गएको गृहयुद्धका कारण एक त ज्यान नै आज होकी भोली भन्ने त्रास । त्यस माथि गाउँकै मा��"वादीमा लागेकाहरुले छोरालाई जागिरबाट छोडाउँन घर परिवारहरु माथि बाराम्बार दिएको दबावका कारण पनि २०६१ सालको अन्ततिर उसले शसस्त्र प्रहरीको जागिर छोडेछ । यसरी खाँदा खाँदैको जागिर छोडेर ऊ घर त गयो तर डर त्रासले भने अझै छाडेन, बरु अझ बढ्दै गयो । एकातिर माओवादीहरु घरमै आएर हामी संगै छापामारमा भर्ति हुनु पर्छ भनेर फकाउने, करकाप गर्न थाले भने अर्कोतिर जागिरबाट भागेको कारण माओवादी तर्फलागेको अथवा लाग्न सक्ने जस्ता शंकाको दृष्टिकोणले हेर्दै उसलाई पक्राउ गर्न उसको गाउँघर इलाकामा सेना तथा प्रहरीको गस्ति टोली निक्कै बाकलिदै गयो । सामान्य परिवारको मान्छे जाउँ भने अरु कतै ठाउँ छैन, गाउँघरमा भएको खेतिपाती भन्दा अरु कुनै ब्यापार व्यावसाय छैन । सानै छँदा जन्म दिने आमाले यस धर्तीलाई छाडेर गईसक्नु भएको, घरको आफु जेठा छोरा, बुढा बाबा, भाई बहिनी, श्रीमती र भर्खर जन्मिएको एक छोरा । भएको जागिर त छाडियो तर एकातिर ज्यान जोगाउन गाह्रो भने अर्को तिर हातमुख जोर्नकै धौधौं । त्यसैले घरपरिवार र आफन्तहरुको सल्लाह मुताविक विदेश जाने मनसायले काठमाडौं शहर तिर पाइला चालेछ । तर आफसोच बाहिरफेरा भन्दा र देख्नलाई सुन्दर राजधानी काठमाण्डौं छिरे पछि भने उसको जीवन झनै संघर्षमय तरिकाले बित्न थाल्यो । अब ८०-९० हजार बुझाएर साउदी कतार जाउँ भने त्यो ४०-५० डिग्रि सेन्टिग्रेट सम्मको तापक्रमले तातेको मरुभूमिमा भेडा र उँटको गोठालो गर्दा, तातो सडक माथि ड्रिल हान्दा बल्लतल्ल पन्ध्र-सोह्र हजार तलब, त्यस भित्रैबाट कति खानु कति बचाएर नेपाल घर पठाउनु । त्यसैले बरु ज्यानको जोखिमै मोलेर भए पनि केही पैसा कमाउने लोभमा एक जना आफन्तले चिनेको दलाल मार्फ काठमाण्डौंको विभिन्न स्थानमा गैह्रकानुनी रुपमा खुलेका मेनपावर मध्ये एउटा मेनपावरलाई २,५०,००० बुझाएर इराक जान भनि दलालको पछि लागेर इण्डियाको बम्बई पुग्यो । तर आज उडाउने, भोली उडाउने भन्दा भन्दै १ महिना सम्म त्यहिको एक होटलमा राखी एक दिन उ सहित १० जनाकै पासपोर्ट र साथमा भएको सबै पैसा समेत लिएर दलाल बेपत्ता भए पछि भने उसको जीवन कथाले झन जटिल मोड लियो । बल्लतल्ल घर आफन्तबाट फर्कने खर्च मगाएर काठमाण्डौं सम्म त पुग्यो तर त्यहाँ पुग्दा न त्यो मेनपावर आफिस छ न कुनै दलालहरु नै ।

अब जे जसरी हुन्छ त्यहिँ खाल्डोमा बाच्ने उपाय त गर्नु पर्यो, साहुको ऋण काडेर विदेश हिडेको छोरा रित्तो हात घर र्फकने कुरै भएन । त्यसैले उ पनि विस्तारै त्यहाँका मेनपावर कम्पनीहरुको दलाली बनेछ । विशेष गरेर विदेश जान भनि गाउँघरबाट आएका चिने जानेका मान्छेहरुलाई लगिदिए वापत मेनपावर कम्पनीले केही कमिशन दिने भएकाले छिटो, सजिलो र कुनै योग्यताको आवश्यक नपर्ने जागिर शुरु गरेछ । तर कामै दलाली न पर्यो चिने जानेका सोझा, सिधा, अशिक्षित गाउँले दाजुभाईहरुलाई ढाटेर, छलेर, प्रलोभनमा पारेर पैसा फुस्काउन सफल भएता पनि भने जस्तो काम, तलब, सेवा, सुविधा नपाएर फर्किदा अझ कति त भोली, पर्सिकै दिन उडाउने भन्दै सबै पैसा अशुलेर पनि महिनौ दिन सम्म होटलमै थन्किएर बस्नु पर्दा अब ऊ पनि त्यो खाल्डोमा ढुक्क संग हिड्डुल गर्ने स्थिति भएन ।

यसरी अरुलाई ठगेर लिएको पैसाले ऊ पुराना दलालहरुको साथ लागेर कहिलेकाही डिस्को, रेष्टुरेण्ट त कहिले जुवाघर तिर छिर्ने सम्मको थोरबहुत लत बसिसकेको थियो । ठगिएकाहरुबाट बच्न अब उसले काठमाण्डौं पनि छाड्नै पर्ने भयो । त्यसैले चिनेकै दलाल मार्फत राम्रो तलब भत्ता पाउने लालचामा ४ लाख बुझाएर मकाउ आएछ । भिजिट भिसामा बैंकक हुदै मकाउ पुगेको उसले दलालले काठमाण्डौंमा भने झैं मकाउ पुग्नासाथ जागिर त पाएन । करिब २ महिनाको पर्खाईमा बल्लतल्ल अनेक दलालहरुको पछि लागेर इन्टरभ्यू दिदा दिदा जागिर त हाता लाग्यो तर काठमाण्डौमा हुँदा केही पैसा हातमा हुना साथ मोज गर्ने बानी लागि सकेको उसलाई त्यो जागिरबाट मासिक रुपमा आएको पैसाको कुनै महत्व भएन र सहि सदुपयोग गर्न जानेन । म हङकङ आउनु पूर्व मकाउमा हुंदै तलब झर्ना साथ जुवा खेल्न ऊ त्यहाँको विभिन्न क्यासिनोमा जान्छ अरे भनेर सुनेको थिए (जहाँ ऊ जस्तै कयौं नेपालीहरु जुवाको लतमा लठि्ठएर धोती न टोपी भएर दशौं वर्षसम्म नेपाल घरपरिवारसंग सम्पर्क विहिन भएर पनि बसेका छन्) । शुरुशुरुमा त २-४ सय डलर (पटका) लिएर क्यासिनोमा जुवा खेल्न धाउँन थालेको उसले कहिलेकाहि निक्कै पैसा जित्यो पनि । पछि हुंदाहुंदै त्यसैमा लत बस्यो र महिनाको तलब आउनु पूर्व नै अन्य व्यक्तिहरुबाट महङ्गो ब्याजमा ऋण लिएर क्यासिनो खेल्न थाल्यो । बिशेष गरेर त्यहाँ जुवा खेल्न पल्केकाहरुलाई लक्षित गरेर नै केही अवशरबादी व्यक्ति विशेषहरु -हङकङबाट गई गैह्र कानुनी रुपमा होटल खोली बसेका हङकङ आई.डी.वाल, स्थानिय चाईनिजहरुसंग विवाह गरी बसेका मकाउबासी नेपाली तथा विभिन्न क्यासिनो तथा कम्पनीमा काम गर्ने विशेष तः सुपरभाईजरहरु) ले तिनिहरुको ए.टी.एम. कार्ड, पास बुक,  र पासपोर्ट अथवा ब्लु कार्ड (सम्बन्धित कम्पनीमा काम गर्नको लागि मकाउ सरकारले दिएको अनुमति पत्र) आफूले लिएर मासिक १० प्रतिशत ब्याजमा पैसा दिने गर्दा रहेछन् र महिनाको तलब बैंकमा झर्ना साथ ए.टी.एम. मेशिनबाट निकालेर महिना भरिका लागि चाहिने आवश्यक खर्च ऋणिलाई दिएर अरु सबै पैसा सावाँ ब्याज हिसाब गरि किस्ताबन्दीमा ऋण अशुल्ने गर्दा रहेछन् । अनि ऊ जस्तै जुवाडेहरुलाई भनेको बेला पैसा भ्याटृ पाउँदा ब्याज जतिसुकै तिर्नु पर्ने भएता पनि के को सरोकार, ऋण लिने र गएर क्यासिनो खेल्ने, डिस्को धाउने, मोज गर्ने... 

म हङकङ आए पछि भने ऊ संग मेरो सर्म्पर्क भएन । तथापी दाईहरुसंग बेलाबखत फोन तथा अनलाईनमा कुराकानी हुंदा चाहि जुवा खेलेर ऊ त साह्रै बिग्रिएको, फिलिपिना केटी ग्रल फ्रेण्ड बनाएर कोठामै राखेको, मकाउ आएको यत्रो वर्षभइसक्दा पनि एक पैसा नेपाल पठाउनु त के घर परिवार बुढी बच्चाहरुलाई एक कल फोन समेत गर्दैन भन्ने गुनासो सुनेको थिए । त्यति मात्रै होइन घरमा बाबा सिकिस्त विरामी भएर हस्पिटल लैजादै गर्दा मृत्यु भएछ, त्यसको केही पछि भाईको पनि मृत्यु भएछ र पनि ऊ बिदामा घर गएनछ (बिदेशको ठाउँ कम्पनीले बिदा त दिन्थ्यो या दिन्थेन त्यो समस्या आफ्नै ठाउँमा छ तर उसले जाने बिचार नै नगरी बिदा एप्लाईनै गरेनछ, खर्चकै समस्याले गर्दा)

१ महिना अगाडि मेरो दाजु नेपालबाट त्यहि जुवाघरलाई कर्म क्षेत्र बनाउनु आउनु भएकोले म उहाँ, म संगै नेपालबाट आउनु भएका दुइ दाजुहरु (काका र फुपुका छोराहरु) र अन्य गाउँले तथा संगै काम गर्ने साथीहरु संग भेटघाट गर्नका साथै नेपाल घरबाट आमाको न्यानो हातले बनाएर पर्ठाईदिनु भएको तिलको ढुटे अचार, घ्यू, सिकुटी, मह, अकबरे खुर्सानी, गुन्द्रुक लगायतका कोशेली लिन गएको थिए । मेरो दाजुलाई कम्पनीले दिएको रुममा त्यहाँका स्टाफहरु बाहेक भिजिटरहरुको लागि प्रवेश निषेध भएकाले काका तथा फुपुको छोरा दाईहरुकै कोठामा भेटघाट तथा खाने बस्ने सल्लाह बमोजिम म हङकङबाट मकाउ तर्फलागे । करिब ३०० जनाको सिट क्षमता भएको टर्बोजेट स्पिड बोटमा चढेर १ घण्टाको यात्रा पश्चात साँझपख दाईहरुको कोठामा पुगेँ । म दाईहरुको कोठामा पुग्दा फुपुको छोरा, उहि मेरो जिल्लाबासी दाई र वहाँसंगै अढेसिएर बसिरहेकी एक जना फिलिपिना जस्तो देखिने युवतीलाई देखेँ । हाई, हेल्लो, आराम कुशलताको भलाकुसारी संगै उहि जिल्लाबासी दाईले "हि इज माई स्मल ब्रदर, केम फ्रम हङकङ, नमस्ते भन बुढी" भन्दै केही अंग्रेजी र केही नेपाली भाषा मिसाएर मलाई परिचय गरायो । नभन्दै उसले मलाई नमस्ते ब्रदर भन्दै पुरै नेपाली पारामै हात जोडेर नमस्कार गरिन् (उसले दाईहरु संगको बसउठ संगै थोरबहुत नेपाली भाषा बोल्ने तथा बुझ्ने भइसकेकी रहेछिन्) । मैले उसलाई अविभादन फर्काउदै अलि नजानेको, थाहा नभएको भान पार्दै दाईलाई सोधे वहाँ चाही कोनी  (ऊ मेरो बुढी, तिम्रो भाउजु जुली, उहि पुरानै खकुलो हाँसो छाड्दै त्यस पछि कुरालाई अन्तै मोड्नु भयो । जुलीको बारेमा त्यो भन्दा बढी बताउनु नचाहानु भएको मैले स्पष्ट बुझिहालेँ । पछि दाईहरुबाट थाहा लाग्यो क्यासिनो गएर जुवा खेल्ने तथा डिस्को धाउने क्रममा उसले उक्त फिलिपिना केटी (जुली जो स्थानिय चाइनिजकोमा डोमेष्टिक हेल्परको रुपमा काम गरी कमाएको पैसा क्यासिनोमा गएर जुवा खेल्ने तथा हप्तै पिच्छे डिस्को धाएर मोज गर्ने गर्दा रहिछिन्) लाई ग्रलफ्रेण्ड बनाई पछि कोठामै ल्याएर राखेको रहेछ ।

बेलुकीको करिब साढे आठ बजेतिर डे डिउटी सकेर सबै जना दाईहरु कोठामा आइपुग्नु भयो । मैले यता हङकङबाट लगिदिएको आलो रगत र आन्द्रा भुँडी संग भुटेको बंगुरको मासु, आलुदम, चिउरा, मुरइसंग सबै जनाले जुस, वियर, ह्विस्की पिउँदै गितार बजाएर नाचगान गर्दै खुबै रमाइलो गर्यौं । गीत, नाचगान त छदै थियो अझ उहि जोक्करे जिल्लाबासी दाईको पिएको शुरमा जिब्रो लरबराउदै निस्कने उखान, तुक्का अनि शब्दै पिच्चे झुण्डने "बोतल तोडिदिया" थेगोले झनै सबैलाई पेट मिचिमिच हास्न बाध्य तुल्यायो । केही रक्सि लाग्दै गए पछि दाईको शब्द, बाक्यै पिच्छे झुण्डने थेगो "बोतल तोडिदिया" रहेछ ।  त्यसैले मेरो दाईहरुले उहाँको नाम नै बोतल तोडिदिया सोल्टी राखिदिनु भएको रहेछ । अब बिस्तारै सबैलाई हल्का रक्सि लागि सकेको थियो । यसरी खादै, पिउँदै, नाच्दै, गाउँदै दुःख सुखको गफगाफ गर्दै गर्दा दाईले उहि छिन्ताउ बियरको बोतल हातमा बोकेर पिउँदै निक्कै भावुक भएर दोहोर्याई-दोहोर्याई एउटा गजल सुनाउनु भयो जुन वहाँको आफ्नै अन्तरहृदयको शब्द/जीवन आत्मा बेले झै लाग्यो, जुन शब्दहरु आज पर्यन्त मेरो कानमा गुञ्जिरहेछ, मन मष्तिस्कमा खेलिरहेछ ।

पराइ लुटे प्रथम प्रहरमा

आफै लुटिए यो दुनियाँ शहरमा

बग्नु के छ र घरको आँशुमा

पिए, पिलाए डुबे आफै जहरमा,

"बोतल तोडिदियाँ..."

भोली आईतबार, प्रायः सबै जना दाइहरुको बिदा परेकाले अवेर रात सम्म पिउँदै, रमाईलो गर्दै बस्यौ र अन्तमा कोही बेडमा, कोही सिटिङ्ग रुमतिरै सुत्यौ । नाईट डिउटी भ्याउनु पर्ने भएकाले म भने बिहानैको बोट पक्डिएर हङकङ तर्फलागे ।

त्यसको करिब १० महिना पछि फेरि म दाईहरुलाई भेट्न मकाउ जाँदा कोठामा जिल्लाबासी दाई र जुलीलाई देखिनँ । दाईहरुलाई सोध्दा बोतल तोडिदिया त पोइला पो गइसक्यो भन्नु भयो । मैले अलि कुरा बुझिनँ । वहाँको बारेमा केही बुझ्ने चेष्टा गर्दा दाईहरुले भन्नु भयो उ त धेरै पहिलेनै उक्त कोठा छाडेर उहि जुलिकै कोठामा सरिसकेछ ।

मेरै जिल्लाबासी गाउँले दाई, मुग्लान गएर दुःख गरि केही कमाउँछु र घर परिवारलाई सुख सयलमा राख्छु भन्ने सपना बुन्दै मकाउ आएको पनि करिब ५ वर्षभईसकेछ । यसरी आज दुःख गरे वापत अन्य देशहरुको तुलनामा कमाई राम्रै हुंदा हुंदै पनि जुवा र जुलिको संगतमा फसेर आफैंले जीवनलाई एउटा दबदबे हिलोमा भासेको रहेछ । आफु सानो छदै जन्म दिने आमाले यस धर्तीलाई छाडेर जाँदा टुहुरा बनेको ऊ परदेश लागे संगै बन्दुके जीवनमा पाएको घरकी बन्दना र नाबालाख छोरालाई त चटक्क बिर्सियो नै तर १ वर्षजति पहिले घरमा भएका बुढा बाबा र त्यसको केही महिना पछि भाईले पनि यो संसारलाई छाडेर जाँदा सम्म ऊ घर फर्किएन रहेछ । हिजो घरदेशमा बन्दुक र बन्दना संगको एउटा जीवन यात्रा, आज प्रवासमा जुवा र जुलि संगको अर्को यात्रा । थाहा छैन भोली उसको यात्रा कसको सहारामा चल्ने हो, अनि कुन मोडमा पुगेर अडिने हो, अन्त हुने हो...,;.।