मेरो नेल्सन मैले तिमीलाई सगरमाथा दिएँ

Author : अजम्बर राई
Published on : December 01, 2013


  
अजम्बर राई

मेरो तेञ्जिङ

मैले तिमीलाई सगरमाथा दिएँ,

मेरो पहरा

मैले तिमीलाई लालीगुराँश दिएँ,

 

मान्छेका मनहरूलाई

छालाको रङ्गले जोख्ने

काला हुनुको अभिशापमा

सेताहरूले केपटाउनको जेलमा ठोक्ने

सत्ताइस वर्षका रङ्गीन बसन्तहरूमा

चाँदीको पिँजडामा कैदी बनाइएर पनि

स्वतन्त्रताको गीत गाउदै

रङ्गभेदको पर्खाल ढाल्ने

मेरो मुक्तियोध्दा

मैले तिमीलाई विजयको अजम्बरी माला लगाइदिएँ,

मेरो सम्राट

मैले तिमीलाई श्रध्दाको कञ्चन मुकुट पहिराइदिएँ,

 

आफ्नै आँगनमा

परदेशी झैँ पीडा भोग्ने

परदेशी गोराहरूले

बाइबल दिदै जमीन साट्दा

कुन हब्सीले सक्न रोक्ने ?

जमीनपति भएपछि

कालो घोडा लगाम खैंची

सेतो राजा सवार हाँक्ने

बारूदको गन्ध सुँघ्दै

छातीले तोपको मोहरी ढाक्ने

अनवरत सङ्घर्षको कठीन इतिहासबाट

पशुबाट मान्छे हुँदा

मेरो अफ्रिका

मैले तिमीलाई खुशी बाँड्दै हर्षाश्रु झारिदिएँ,

मेरा अफ्रिकन

मैले तिमीहरूसँगै हाँसी हाँसी छमछम नाँचिदिएँ,

 

आँधीसँग जिस्किहिँड्ने

सूर्योदयलाई दुश्मन ठान्ने

ज्याक्शन दाइको करङहरूमा

अन्यायी संविधानको सुट टाइ सुकाउने

जुलु दिदीको खप्परमा

कालाहरूको राता रगत भोड्का मानी घुट्क्याउने

बाघको छालामा

स्यालको रजाइँ, ढलीमली गर्ने

आज आँधीले उडाइदिँदा

रक्तिम सूर्य विहान उदाइदिँदा

दशकौंमा नयाँ युगको शुरू हुँदा

हेल्लो बोथा

मैले तिम्रो निधारमा कालो कलङ्क देखेँ,

हेल्लो डे क्लार्क

मैले तिमीलाई जिउदो लाश झैँ चिहानभित्र देखेँ,

 

मेरो युगको महानायक

अश्वेत राजको सूत्रधार

बाइबल अब फिर्ता देऊ

आफ्नो हातमा आफ्नै जमीन फिर्ता लेऊ

मलाई पनि तिम्रो

अश्वेत निधारमा

गुराँशको रातो टिका जीतमा लगाइदिन देऊ

मोलाइस र क्रिश हनीजस्ता

हज्जारौं अश्वेत शहीदहरूका

रक्तिम रगत कलमभित्र भरी

बधाई लेखी पठाएको छु, स्वीकारी देऊ

मेरो धड्कन

मैले तिमीलाई जीवन मागेँ,

मेरो अग्रज

मैले तिमीलाई प्रेरणा मागेँ,

 

थुम्काहरू सबै चढ्छन्

गमलामा ढुङ्गा फुल्छ

युगौं पुरानो करेण्ट झैँ डाम्ने

'अपार्थेल्डको कालो पहाड माथि

मानवताको रातो झण्डा शिखर पुगी गाड्ने,

मल, माटो, पानी नभए पनि

दानवताको चट्टाने पहरा माथि

काँडारहीत गुराँश भई फुलिछाड्ने,

मेरो नेल्सन

मैले तिमीलाई सगरमाथा दिएँ,

मेरो मण्डेला

मैले तिमीलाई लालीगुराँश दिएँ ।