लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर

Author : भुपेन तामाङ
Published on : June 03, 2013


  
भुपेन तामाङ
      

१.      विषय प्रवेश

विश्वका लडाकु जातिमध्ये गोर्खा पनि एउटा हो। आफ्नो  युद्ध-कौशल र शुरता-वीरता कै कारण आज पनि गोर्खा सैनिक विश्वविख्यात छन्। अङग्रेज-नेपाल युद्ध (१८१४-१५)- मा गोर्खाहरूको  जोस र बहादुरी देखेर अङ्ग्रेजहरू पनि दङ्ग परेका थिए। गोर्खाहरूको यही बहादुरी र युद्ध-कौशलबाट प्रभावित भएर सुगैली सन्धिपछि ब्रिटिस सरकारले गोर्खाहरूलाई आफ्नो सेनामा भर्ना गरी छुट्टै गोर्खा रेजिमेन्ट पनि स्थापित गरेका थिए। फलतः दुईवटा विश्वयुद्ध (१९१४-१७/१९३९-४५) का अवधि संसारका विभिन्न ठाउँमा पुगेर अङ्ग्रेजको पक्षमा गोर्खाहरूले युद्ध लडे। दोस्रो विश्वयुद्धमा सुवासचन्द्र बोसको आजाद हिन्द फौजमा संलग्न भएर गोर्खाहरूले भारत स्वतन्त्रताको निम्ति ब्रिटिस सरकार विरुद्ध पनि लडेका थिए। यसरी गोर्खाहरूले विश्वयुद्धसँगसँगै भारतभूमिको स्वतन्त्रताको निम्ति पनि लडे। भारत स्वतन्त्र भएपछि कतिपय कारणले गर्दा भारत र ब्रिटिस सरकारमाझ गोर्खा सेनालाई बाँड्ने काम भयो। ब्रिटिस सरकारले दोस्रो, छैँटौँ, सातौँ र दसौँ गोर्खा राइफल्सलाई आफूसँगै इङ्गल्यान्ड लगे भने पहिलो, तेस्रो, चौँथो, पाँचौँ, आठौँ र नवौँ गोर्खा राइफल्स भारतमा नै बस्ने भयो। यसरी भारतमा रहेका गोर्खा सैनिकहरूले आफ्नो मातृभूमिको रक्षाका निम्ति धेरै युद्धहरू लडिसकेका छन्: जसमध्ये भारत-चीन युद्ध (१९६), भारत-पाक युद्ध (१९६५/१९७१) आदि उल्लेखनीय छन्। आज पनि सिमानामा उभिएर गोर्खा सैनिकहरूले आफ्नो देशको रक्षा गरिरहेका छन्। यसरी ती हाम्रा दाजु-भाईहरूले लडेका युद्धले साहित्यलाई के कति प्रभाव पार्यो तथा युद्धलाई साहित्यले कसरी मूल्याङ्कन गर्यो त भन्ने कुराको लेखाजोखा आज आवश्यक बनेको छ। यो लेख त्यसैको सानो प्रयास हो।

 

. युद्ध र नेपाली  साहित्य

नेपाली साहित्यको थाल्नी नै युद्ध साहित्यबाट भएको हो। नेपाली साहित्यको प्राथमिककालीन वीरधारा एवम् भक्तिधाराका पद्य रचनाहरूमा युद्धाभियान, युद्धपूर्वका तम्तयारी एवम् विजय उत्सवका सन्दर्भहरू भेटिन्छन्। नेपाली साहित्यको पहिलो कविता मानिएको सुवानन्द दासकृत पृथ्वीनारायण कवितालाई उदाहरणस्वरूप लिन सकिन्छ। पृथ्वीनारायण सिंहले सन् १७४३ देखि नेपाल एकीकरण अभियान थालेका थिए। पृथ्वीनारायण सिंहको यही नेपाल एकीकरण अभियानलाई मूल कथावस्तु बनाएर लेखिएको उक्त कवितामा नेपाल एकीकरणसँग सम्बन्धित युद्ध र विजय उत्सवका सन्दर्भहरू पनि भेटिन्छन्। त्यसरी  नै उदयानन्दको २६ श्लोके कवितामा नेपाल एकीकरणको क्रममा बाइसी-चौबीसी राज्यसँगको युद्ध तथा यदुनाथ पोख्रेलका स्तुतिपद्यहरूमा सन् १८१४-१५ को अङ्ग्रेज-नेपाल युद्धबारे चर्चा पाइन्छ। यस क्रममा अज्ञात लेखकको साँढ्यको कवित्तलाई पनि बिर्सन सकिँदैन। यसमा साढेहरूको भिडन्तको वर्णन छ। तारानाथ शर्माले यस रचनालाई गोर्खाली  सेनाहरूको विजय अभियानको प्रतीकात्मक अभिव्यक्ति बताएका छन्। भक्ति धाराका बसन्त शर्माको श्रीकृष्ण चरित्र, भानुभक्तको रामायणजस्ता ग्रन्थहरूमा पनि पौराणिककालीन युद्धको चर्चा भेटिन्छ। त्यसरी नै लालबहादुरकृत भोटको लडाइँको सवाई (१८५), तुलचन्द आलेको मणिपुरको लडाईको सवाई (१८९३), धनवीर भण्डारीको अण्वर्पहाडको सवाई (१८९4), गजवीर रानाको नागाहिल्सको सवाई (१९१३) आदि रचनाकृतिहरूमा पनि युद्धका सन्दर्भहरू भेटिन्छन्। नेपाली साहित्यमा यस प्रकारको युद्ध लेखन परम्परालाई आधुनिक कालमा समको अमर सिँह, देवकोटाको महाराणा प्रताप, प्रमिथस, पृथ्वीराज चौहान, तुलसी कश्यपको कर्णकुन्ती आदि रचना-कृतिहरूले निरन्तरता प्रदान गरेको देखिन्छ। यी मौलिक र अनूदित रचनाकृतिहरूले नै नेपाली युद्ध साहित्यको पृष्ठभूमि तयार पारेको देखिन्छ।

 

.. भारतीय  नेपाली  उपन्यासमा युद्ध - प्रसङ्ग

कतिपय भारतीय नेपाली उपन्यासहरूमा आधिकारिक, प्रासाङ्गिक तथा आंशिक रूपमा युद्ध-प्रसङ्ग भेटिन्छ। सन् १९४८ मा प्रकाशित लैनसिंह वाङदेलको मुलुकबाहिर उपन्यासमा दोस्रो विश्वयुद्धको प्रसङ्ग  आएको छ। युद्ध-प्रसङ्ग भएको पहिलो  भारतीय नेपाली  उपन्यास यही हो। तर यो युद्ध उपन्यास भने होइन।  यसमा प्रासाङ्गिक रूपमा दोस्रो विश्वयुद्धको चर्चा आएको छ। त्यसरी नै युद्ध-प्रसङ्ग प्रासाङ्गिक कथानकका रूपमा रहेको केही भारतीय नेपाली उपन्यासहरू यस प्रकार छन् - शिवकुमार राईको डाक बङ्गला (१९५७), जी  छिरिङको  युद्ध र शान्ति (१९६८), वीरविक्रम गुरुङको  टिस्टादेखि सतलजसम्म (१९८६), व्यथित सिपाहीको गुप्तचर (२००३), प्रकाश कोविदको क्याप्टन साहब आदि। युद्धलाई आधिकारिक कथानक बनाएर लेखिएको केही  भारतीय नेपाली उपन्यासहरू यस प्रकार छन्-  नन्द हाङखिमको लास (१९६४)   अर्को अनुहार (१९७१), प्रकाश कोविदको नोयो (१९६८), सुवास घिसिङको  लुङखुम क्याम्प (१९६९), असित राईको समाप्ति - एउटा युग एउटा संसार (१९६९), समीरण छेत्री  प्रियदर्शीको  बलिवेदी (१९७०), गोविन्द शर्माको लड्न जन्मेकाहरू (१९८०) आदि। यी उपन्यासहरूमा समाजमाथि युद्धले पारेको  प्रभाव तथा त्यसको परिणाम, युद्धको विभीषिका, युद्धजन्य बर्बरता, क्रूरता, निर्दयता, युद्धको यस्तो पाशविक प्रवृत्तिप्रति घोर विरोध व्यक्त गरिनका साथै विभिन्न युद्धमा होमिन पुगेका हजारौँ नेपाली  युवा र तिनीहरूका पारिवारको  करुण कथा छ।

 

. नेपाली  साहित्यमा युद्धप्रतिको अवधारणा

आधुनिक काल पूर्वका रचनाहरूमा युद्धलाई पराक्रम, पुरुषार्थ, सहास, वीरता, कर्तव्य, आत्मगौरवको रूपमा हेरिएको छ भने आधुनिककालीन रचनाहरूमा युद्धलाई विभीषिका, संहार, विनास, संत्रास, पीडा, क्रूरता, हिंसाका रूपमा हेरिएको छ। युद्धसम्बन्धि साहित्यमा आएको यस्तो परिवर्तित दृष्टिकोणको मूल कारण बीसौँ शताब्दीका दुईवटा भयानक विश्वयुद्ध नै हुन्। विश्वयुद्धले मानव समाजलाई युद्धको यथार्थ अनुभूति गरायो। युद्ध अमानवीय, विनासक र भयप्रद हुन्छ भन्ने अनुभव सबैले गरे। विश्वयुद्धले मान्छेभित्र भय र त्रास उत्पन्न गराइदियो। मृत्यु र विनासको  यस खेलभित्र मानिसले आफूलाई असुरक्षित र लाचार पाए। सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक जीवनसँगसँगै मानसिक संसार पनि क्षतिग्रस्त हुन पुग्यो। अबउसो साहित्यमा विश्वयुद्धले जन्माएको यही कटु यथार्थ लेखिन थालियो। विश्वयुद्धमा भेडा-बाख्रासरह होमिन पुगेका सैनिक जीवनको व्यथा तथा तिनीहरूको पारिवारिक जीवनको त्रासद-कथा साहित्यको अभिव्यक्तिको  विषय बन्नथाल्यो। नेपालीमा पनि यस प्रकारको साहित्य लेखिन थालियो।

 

२.   उपन्यासकार सुवास: संक्षिप्त परिचय

नेपालीमा लेखिएका युद्धविषयका धेरथोर रचनाकृतिहरू असैनिक लेखकहरूले लेखेका छन्। उनीहरूले युद्धभूमिबाट बाँचेर आएका सैनिकहरूको मुखबाट सुनेर तथा सैनिकहरूको डायरी, आत्मजीवनी एवम् इतिहास पढेर युद्धलाई साहित्यमा लेख्ने कोसिस गरे। युद्धभूमिमा गोला-बारुदसँग खेलेर कमाएका युद्धजनित अनुभूतिहरूलाई साहित्यमार्फत अभिव्यक्त गर्ने सैनिक लेखकहरू भने नेपालीमा थोरै छन्। तीमध्ये एकजना हुन् सुवास घिसिङ (२३ जून १९३६)। प्रायः डेढ दर्जनजति उपन्यासका लेखक सुवास घिसिङ साहित्य जगत्मा सुवास  नाउँले परिचित छन्। उनको पहिलो उपन्यास निलो चोली हो। सामाजिक नैतिकता, शिष्टता र श्लीलतालाई नाघेर लेखिएको यो उपन्यास साहित्यक महत्त्वका दृष्टिले निम्नस्तरको छ। परिस्थिती र जवानीको  हत्या पनि यही  स्तरका उपन्यासहरू हुन्।  मने, फूलमाया आदि उपन्यासहरूमा भने चियाबारीको जनजीवन प्रस्तुत गरिएको छ।  कहाँ, ऊ मरे अरे, खोक्रो  मान्छे, आलो  चिहान, कालो  माकुरा आदि उपन्यासहरूमा चाहिँ जीवनका विभिन्न पक्षलाई दार्शनिक चिन्तनले हेर्ने कोसिस गरिएको छ।  सन् १९६९ मा प्रकाशित लुङखुम क्याम्पचाहिँ युद्ध उपन्यास हो। यस उपन्यासमा युद्धको क्रूर, निर्दय र विभत्स स्वरूप प्रस्तुत गरिएको  छ साथै माया र मानवताको बिगुल फुकेर त्यसप्रति घोर विरोध पनि जनाइएको छ। 

 

. लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर

 

दोस्रो विश्वयुद्धकालीन पृष्ठभूमि रहेको लुङखुम क्याम्प उपन्यास युद्धलाई मूल विषयवस्तु बनाएर लेखिएको छ। सन् १९४४ को सुरुतिर तत्कालीन ब्रिटिस शासित भारतको उत्तर-पूर्वी  सिमानामा बर्माको बाटो भएर जापानी फौजले प्रवेश गरेको थियो। त्यस बेला उत्तर-पूर्वी  सिमानाका कतिपय ठाउँमा जापानी फौजसँग ३र३, २र५, ३र५, ४र५ आदि गोर्खा राइफल्सको भिडन्त पनि भएको थियो। यस उपन्यासमा यही परिवेश रहेको छ। यो उपन्यास आद्योपान्त नागाल्यान्डको घनाजङ्गलबिच रहेको लुङखुम गाऊँ, वरिपरिको जङ्गल क्षेत्र र नौ हजार फिटको उचाइँमा रहेको एउटा सैनिक क्याम्प (लुङखुम क्याम्प)  मा केन्द्रित छ। उपन्यासमा उल्लेखित पल्टनको नाउँ नदिइए तापनि सिपाहीहरू नेपाली हुनाले गोर्खा राइफल्स हो भन्ने कुरा स्पष्ट हुन्छ तर कुन बटालियन हो भन्ने कुरा थाहा लाग्दैन। प्रथम पुरुष शैलीमा लेखिएको यस उपन्यासको  थाल्नी क्याम्पको एउटा बङ्करबाट भएको छ। जहाँ चारु गुरुङ रातीको ड्युटीमा खटिएको छ। चारु गुरुङ यस उपन्यासका कथायिता र मुख्य पात्र हुन्।

लुङखुम क्याम्प उपन्यास युद्धको विरोधमा उभिएको छ। यस उपन्यासले युद्धजन्य क्रूरता, निर्दयता र अमानवीय प्रवृत्तिको घोर भर्त्सना गर्दै शान्ति र मानवताको पक्षमा आवाज उठाएको छ। उपन्यासको सुरु मै उपन्यासकारले लेखेका छन्- मलाई त  भिक्टोरिया-क्रस होइन, माया र मानवता चाहिएको छ । भिक्टोरिया क्रस बहादुरीको  निम्ति दिइने सम्मान हो, बहादुरी  भनेको युद्धसँग सम्बन्धित कुरो हो अनि युद्ध भनेको संहार, संत्रास, अशान्ति, क्रूरता, निर्दयता र मृत्यु हो। त्यसैले उपन्यासकारले त्यस्तो सम्मान होइन तर माया र मानवता चाहेका छन्। उपन्यासका नायक चारु गुरुङ पनि त्यही चाहन्छ 'मलाई त माया र मानवता नै मन पर्छ।' युद्धभूमिमा माया र मानवताको कुरा गरेर चारु गुरुङ युद्धप्रति तीब्र घृणा व्यक्त गर्छ। युद्धलाई मानव सभ्यताको विनास ठान्दै ऊ भन्छ " 'उफ्, यो  मायादेखि टाडिएको युद्ध.. व्यर्थैको  युद्ध, मान्छे-मान्छेमाझ। खोई मान्छेले मान्छेलाई चिनेको ?.... खोई मानव-सभ्यता ? के मार्नु नै मानव-सभ्यता ? यो  ठ्याम्मै हुनै सक्दैन- माया र मानवताबिना सभ्यताको जन्म। मारेर, कुटेर धम्काएर त केवल दासत्व मात्र जन्मिन्छ।' सिपाही चारु गुरुङ आसाङला नाउँ गरेकी एउटी नगिनीलाई असाध्य प्रेम गर्छ। विश्वयुद्धमा मान्छे मार्न निस्केको एउटा सिपाहीद्वारा युद्धभूमिमा यसरी प्रेम गरिनु वास्तवमा युद्धप्रतिको विरोध प्रदर्शन हो किनभने प्रेमसँग शान्ति, सौहार्द, उदारता, मानवता, दयाजस्ता मानवीय गुणहरू स्वतः जोडिएका हुन्छन् जुन युद्ध विपरीत र युद्ध विरोधी तत्त्वहरू हुन्। युद्ध भनेको क्रूर, निर्दय, अमानवीय, अशान्ति, मृत्यु र संहार हो। कवि अगमसिंह गिरीले पनि भनेका छन् -

 

युद्ध

रक्त - पिपासा

मानव - मानवका

हत्या र संहारपूर्ण अभिलाषा

विध्वंसतापूर्ण घातक

नष्टप्रायः  आकांक्षा

आँसु - आर्तनाद - आक्रोश

विध्वंसता - विस्फोट - विह्वलता

संत्रास - संघात - संकष्ट

निर्दयता - निरंकुशता - निर्ममता

 

युद्ध भनेको मृत्यु हो, आँसु हो, आर्तनाद हो र त्यो ध्वंसात्मक र विनासक हुन्छ तर प्रेममा जीवन हुन्छ, माया र मानवता हुन्छ। सिपाही चारु गुरुङ यही प्रेममा आस्था राख्छ। तथापि चारु गुरुङको यस आस्थालाई युद्धजन्य पाशविकताले पछारेर चिथोर्न नखोजेको भने होइन। कर्तव्यको बोझले थिचिएर हुकुमको नोकर बनेको सिपाही चारु गुरुङ आफ्ना व्यक्तिगत इच्छा-आकाङक्षाविपरीत युद्धद्वारा सृजित मान्छे मार्ने खेल खेल्न विवश बनेको छ। ऊ भन्छ.." 'एक मनले त राइफल-साइफल जङ्गलतिर फालेर म पनि नागै हुनपर्यो भन्छु आसाङलालाई बिहा गरेर। तर यस्तो हुनै सक्दैन। म सिपाही। म शत्रु मार्नलाई यहाँ आएको न कि नगिनीलाई बिहे गर्न।' युद्धले ऊजस्ता हाड र मासुले बनिएका सिपाहीहरूलाई हुकुम पालन गर्ने यन्त्र बनाइदिएको छ। हुकुमविपरीत उनीहरू केही गर्न सक्दैनन्। सिपाही चारु गुरुङ (. २७) भन्छ.."' हाम्रो हविल्दारको जापानी मार्ने उपाय त ठिकै हो त., विचरा नागाहरू घर जलेपश्चात् कहाँ जावस रात विरात। म केवल सोच्न सक्छु हविल्दारको अडर खण्डन गर्न सक्दिनँ। कारण फौजमा अडर इज अडर अरे। चाहे आफ्नो टाउको फुटोस् चाहे मीतकै टाउको फुटोस्, कमान्डरको  हुकुम मान्नै पर्छ। ' हुकुम पालन गर्नु र शत्रु मार्नु सिपाहीको परम कर्तव्य हो भन्ने युद्धजन्य मानसिकताले सैनिकहरूलाई क्रूर, निर्दय र हिंस्रक बनाइसकेको छ। उपन्यासको अर्को पात्र सिपाही  भक्तबहादुर (.३८) भन्छ " . हामी त केवल अडरको पुतली न हौँ. भएन युद्धभूमि भनेको माया र मानवता केलाउने ठाउँ पनि त होइन। माया र मानवताको त कुरै पनि गर्नुहुँदैन। बस् हाम्रो कर्तव्य अडर मान्नु - चाहे आफ्नै आमा र बाबुलाई किन सुट गर्न नपरोस् हामी भनेको  सिपाही- दया र मायादेखि निकै टाडाको बस्तु।' आफूभित्र निहीत प्रेम, दया, मायाजस्ता मानवीय गुणहरूलाई कुल्चेर आफूजस्तै हाड, मासु र रगतले बनिएका मानव जातिको संहार गर्न चारु गरुङजस्ता सिपाहीहरू बाध्य बनेका छन्।

तर माया र मानवताको पक्षमा रहेका चारु गुरुङ उपन्यासको अन्तसम्मै युद्धको विरोधमा उभिन सक्षम बनेको छ। युद्धको पाशविक भूतले उसलाई पछार्न सकेन। हुकुम र कर्तव्यको साङलोले उसलाई बाँधेर राख्न सकेन। अन्तमा आसाङलालाई साथमा लिएर क्याम्पबाट भाग्नु अनि आफूले लगाएको हरियो लुगा, टोपी र जुत्ता फुकालेर खोलामा फ्याकिदिनु जस्ता घटनाले युद्धप्रतिको चरम विरोधलाई स्पष्ट पारेको छ। चारु गुरुङजस्तो एउटा  सिपाहीभित्र यसरी युद्धप्रति विरोध भावना विकसित हुनमा केही  घटनाहरू उत्तरदायी बनेका छन्। जस्तै - आफूलाई जीवन दिने बाबुको मृत्युको  खबरले आहत बनेको  सिपाही  चारु गुरुङले सहानुभूति पाउनको साटो दण्ड पाउनु र यस्तो स्थितिमा पनि घर जान नपाउनु, कैयौँ दिनको भोक र प्यास मेटाउन खोलाको माछा मारेर खान लागेका जापानी सिपाहीहरूमाथि बर्बरतापूर्वक गोली-बारुद चलाउनु, मर्न नसकेर छटपटाइरहेका सिपाहीहरूको छात्ती र कोखिलातिर बन्दुकको तिखो सङ्गिनले घोच्नु, रासिन-पानी नपाएका सिपाहीहरूको  खाली पेट भर्न आधारातसम्म चामल कुटेर क्याम्पमा पुर्याइदिने आसाङलाका दुई दाजुहरूलाई हत्या गर्ने आदेश पाउनु, शत्रु मार्नका निम्ति आसाङला र आसाङलाजस्ता कैयौ  गरिबहरूको घरले बनेको सारा लुङखुम गाउँ नै जलाइदिनु, जङ्गलमा चारजना सिपाहीहरूको लासलाई स्याल र गिद्धले खाँदै गरेको विभत्स दृश्य देख्नु आदि। यी घटनाहरूले सिपाही चारु गुरुङलाई युद्धको विरोधमा उभिनुमा ठुलो प्रभाव पारेको छ।

उपन्यासमा विरोधाभासपूर्ण स्थिति पनि छ। लुङखुम क्याम्पमा रातको चौकीदार बसेको सिपाही चारु गुरुङ  भन्छ 'अँ अहिले निकै तल एउटा मान्छे खोकेको सुन्दैछु। उही खोकेको हुनुपर्छ। सायद आउँदैछन् होला उकालै। अँ हो रहिछ - पुल्ठोको रातो ज्वाला उकालै आइरहेछ। विचाराहरूले बल्ल धान कुटिसकेर ल्याइरहेछन्..... जापानीहरूले चाल पायो भने भोलि नै तिनीहरूको मृत्यु सम्भव छ।'  फेरि चारु गुरुङ यसो पनि भन्छ.." 'घरि घरि गोजीबाट सिग्रेट निकालेर तीन-चार सर्को धुवाँ तान्न मन लाग्छ...... तर अर्को मनले "औला ठड्याउँछ- खबरदार !  एसो सम्झिन्छु शत्रुले सिग्रेटको आगो टाडैबाट देख्नसक्छ। व्यर्थै सानो भूलले जल्दै गरेको सिग्रेटको ठुटा किन किलकिले भित्र घुसाई माग्नु। "स्तादजीले पनि त भन्नुभएको छ" 'रातमा सेन्ट्री बस्ता भएन रातमा वरपर प्याट्रोलिङ जाँदा ठ्याम्मै सिग्रेट नखानु ! सिग्रेटको धुवाँको गन्धधरिले शत्रु निम्त्याउँछ।   'यहाँ यी दुई वाक्य विरोधाभासपूर्ण छन्। युद्धभूमिमा राती शत्रुको आक्रामणबाट बाँच्न सैनिकहरूलाई सिग्रेट खान दिइँदैन सो कुरा चारु गुरुङको  दोस्रो  वाक्याशंबाट पनि स्पष्ट हुन्छ। तर चारैतिर जापानी सिपाही छपछपती भएको बेला राती  आसाङला र उसका दाजुहरू पुल्ठो बालेर लुङखुम क्याम्पमा चामल पुर्याउन आउनु अप्रासङ्गिक लाग्छ।

 

. उपसंहार

 

माया र मानवतालाई कुल्चेर मानव सभ्यताको संहार गर्ने युद्ध क्रूर, निर्दय, विनासक र अमानवीय हुन्छ। सिपाहीहरूलाई हुकुमको नोकर बनाएर मान्छे मार्नु सिपाहीको कर्तव्य हो भन्ने मानसिकता तयार पारिदिई मान्छे मार्ने खेल खेल्न लगाउने युद्धजस्तो दानवी सभ्यताबाट अशान्ति, विनास, दुःख, पीडाबाहेक केही पाउन सकिँदैन भन्ने विचार रहेको यस उपन्यासमा युद्धप्रति घोर विरोध प्रकट गरिएको  छ अनि माया र मानवताको पक्ष लिएर विश्वबन्धुत्वको आग्रह राखिएको छ। चारु गुरुङ, भक्तबहादुरजस्ता हाम्रा दाजु-भाईहरूले विश्वयुद्ध त लडे तर त्यसको उपलब्धि केही नरहेको तथा त्यो  मानव सभ्यताविपरीत रहेको कुरा उपन्यासमा ध्वनित भएको छ। सम्भवतः लुङखुम क्याम्प उपन्यास एकजना सैनिक लेखकद्वारा लेखिएको पहिलो नेपाली युद्ध उपन्यास हो। यसभन्दा अघि नन्द हाङखिमको लास र प्रकाश कोविद्को नोयोजस्ता युद्ध विषयका उपन्यासहरू प्रकाशित भए तापनि ती दुवै असैनिक लेखकहरूद्वारा लेखिएका हुन्। युद्धलाई नजिकबाट देखेका र भोगेका सैनिक लेखकद्वारा लेखिएको  हुनाले लुङखुम क्याम्प उपन्यासको आफ्नै मह्त्त्व छ। नेपालीमा यस्ता केही कृतिहरू मात्र प्रकाशमा आएका छन्। खोजी गर्दै गए आवश्य नयाँ  क्षितिज उघ्रिदै जाला। यो एउटा शोधको बिषय नै बनेको छ।