बल दाइ, यात्री र काठमाडौं

Author : प्रकाश थाम्सुहाङ
Published on : November 26, 2008


  
प्रकाश थाम्सुहाङ
Author
          मेरो पि्रय कवि, आदरणीय कवि बल दाइ । बल दाइ अर्थात् कृष्णभूषण बल । नाम सुन्ने बित्तिकै म श्रद्धाले नतमस्तक हुन्छु । तीसको दशकमा उदाउनुभएका शिष्ट तर विशिष्ट कवि बल दाइका कविताहरू पढेर मैले धेरै सिकेको छु । राजधानीदेखि बाहिर मोफसलमा रहेर पनि नेपाली काव्यिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अंशदान (Contribution) को बखान गरी साध्य छैन । उहाँ त मेरा लागि अझ यसो भनौँ मभन्दा अघिल्लो पुस्ताहरूका लागि पनि कविताको पाठशाला नै हुनुहुन्छ । यिनै पि्रय कवि बलदाइसँग मध्ये भदौमा मेरो भेट भयो । यो भेट उहाँसँगको चौथो भेट थियो । यसपटकको भेटमा काठमाडौं गर्मीले धपक्कै बलेको थियो । यस्तो लाग्थ्यो - उहाँले विराटनगरबाट गर्मी पनि साथै लिएर आएको हुनुपर्छ । ।
          करिब ३६-३७ सालतिर -कविताको इतिहास पढ्दा) अत्यन्तै चर्चित भएको कविता "काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन"का सर्जक बलदाइसाग प्रत्यक्ष भेट गर्ने प्रथम सुअवसर करिब अढाई वर्ष अघि पाटनको यलमाया केन्द्रमा भएको थियो । उसबेला हिमाल एसोसियसन र नेपाली कविता डट कमको संयुक्त आयोजनामा पाँच जना कविहरूले "वर्षान्त   विगोष्ठी" मा कविता वाचन गरेका थिए । ती पाँच जनामध्ये एक जना हुनुहुन्थ्यो बलदाइ । विराटनगरबाट आउनुभएका बलदाइसँग प्रत्यक्ष चिनजान त्यहीँ भएको थियो । त्यसपछि विविध कार्यक्रमहरूको छेक पारेर उहाँ काठमाडौं आउँदा प्रायःजसो म भेट्थेँ ।
           भावुक, शालीन, भद्र र भविष्यद्रष्टा- यसको पुष्टि म अलिपछि गर्नेछु) बलदाइका विशेषताहरू हुन् । मानवीय संवेदना बलदाइको थप अर्को विशेषता हो । पूर्व मेचीको इलाममा जन्मिनुभएका बलदाइ क्षेत्रीयताको आधारमा मात्र मेरो पि्रय कवि बन्नुभएको पक्कै होइन । यो भनेको उहाँद्वारा सृजित कविताहरूको शक्ति हो, आकर्षण हो । म ठोकुवा गर्छु- उहाँको कविताहरू मन नपराउने सायदै होलान् । उहाँद्वारा सृजित कविताहरूको चेतना र शिल्पले नै पाठकहरूलाई उहाँसमक्ष आफसेआफ डोर्‍याउँछ । उहाँलाई श्रद्धा गर्नेको भीड आफसेआफ निर्माण हुन्छ । यो भनेको कविको सफलता हो र यस्तो सफलता नेपाली काव्यिक इतिहासमा थोरैले मात्रै प्राप्त गरेका छन् ।
          "बलदाइ आउनुभएको छ रे" जब म साथीहरूबाट यस्तो खबर सुन्छु, तब म यात्री सम्झिन्छु । अनि कहिले भेट्न जाने योजना बुन्न थाल्छु । यात्री अर्थात् बागबजार अवस्थित साधारण गेस्टहाउस । बलदाइ काठमाडौं आउादा सधैँ यहीँ बस्नुहुन्छ । उहाँ काठमाडौं आउनुभएको खबर थाहा पाउने बित्तिकै सरासर यात्री गेस्टहाउस जाँदा निशाना खेर जाँदैन ।
          हो, यसपटक पनि आएर उहाँ यात्री गेस्टहाउसमै बस्नुभयो । म भेट्न गएँ । अझ यसपटक त मैले कसैगरी जानुपर्थ्यौ । बलदाइ यसपटक खास उद्देश्य लिएर काठमाडौं आउनुभएको थियो । उहाँले विराटनगरबाट कविताको भारी लिएर आउनुभएको थियो । त्यो कविताको भारीलाई उहाँले गुरुकुलमा बिसाउनुभयो ।
          आरोहण र सर्वदा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा प्रत्येक महिनाको १५ गते पुरानो बानेश्वरको गुरुकुलमा कविहरूको एकल कविता वाचन हुनेगर्छ । यसै सन्दर्भको नवौं संस्करणमा आफ्ना कविताहरू सुनाउन बलदाइ विराटनगरबाट काठमाडौं आउनुभएको थियो । बलदाइको कार्यक्रमका लागि कवि मित्र ठाकुर बेल्वासेजीले मलाई पनि सहयोगीमा नियुक्त गर्नुभएकोले यसपटक म केही सक्रिय भएको थिएँ । शालीन विद्रोही कवि बलदाइ मेरो प्रिय कवि बलदाइका लागि मैले थोरै सही खट्न पाउनु मेरो अहोभाग्य थियो । धन्यवाद ठाकुरजी ।
          गएको भदौ १५ गते, त्यस्तै दिनको १२ बजेको हुनुपर्छ । म र कवि मित्र चन्द्र गुरुङ बलदाइलाई भेट्न यात्री पुग्छौँ । बलदाइ खाना खाएर आराम गरिरहनुभएको थियो । "भरैको कार्यक्रमको तयारी आफूभित्र कसरी गरिरहनुभएको छ ?" - सोध्छु । "तयारी पूरा भयो, अघि बिहान दुई घन्टा राजेन्द्र शलभको स्टुडियोमा रिसाइटेसन गरेँ, खोइ सिडी निकाल्ने रे । यसले थप प्राक्टिस भयो ।" - उत्तर दिनुहुन्छ ।
           टेबलको एस्टे्रमा चुरोटका अनगिन्ती ठूटाहरू, छेउमा एक बट्टा सूर्य चुरोट र सलाई । डस्टबिनमा रित्तिएका रोयल स्ट्यागका खाली बोतलहरू । भुइँमा सुटकेस आधा खुलेको छ, देख्छु सानो नानीको जामा । छोरी हराएको सूचना लेख्नुहुने बलदाइले सायद छोरीको छोरीलाई यो जामा किनिदिनुभएको होला, अनुमान गर्छु । "आज त बिसाउ होला थापाजी" कविता लेख्नुहुने बलदाइले बिसाउनु भएको दिनहरू सायदै धेरै होला । सबुद खाली बोतलहरू प्रत्यक्ष छ । 
           "दाइ, बाथरूममा पानी आउँछ नि ?" बेतुक र अप्रसाङ्गिक प्रश्न फुत्त कहाँबाट निस्कियो मबाट । लज्जाबोधले केही क्षण त रातो पनि भएँ । "अँ, आउँछ" उहाँको जवाफ ।
          गत वर्षको फागुनमा एकेडेमीको संगोष्ठिमा हाम्रो भेट हुँदा उहाँले पीर कहनुभएको थियो - "यात्रीमा पानी नभएर मिनरल वाटरले आची धोएँ ।" उसबखत उहाँको आँखामा काठमाडौंप्रति दया देखे । काठमाडौंको विवशता र नालायकीप्रति उहाँमा दया जागृत भएको देखेथेँ । सायद यही सम्झेर "पानी आउँछ ?" भनेर सोधेको थिएँ ।
          "काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन
          काठमाडौं एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन"
          "यो चर्चित कविताको रचना प्रक्रियाको पृष्ठभूमि के होला ?" - सोध्छु ।
          बलदाइ र अशेष मल्ल त्यस्तै ३६-३७ सालतिर रत्नपार्कमा बसेर गफ गर्दै गाडीको आवत-जावत हेर्नुहुँदो रहेछ । निरन्तर खाली हुँदै भरिँदै गएको बसहरू देखेर बलदाइलाई काठमाडौंले अब आफूलाई थेग्न सक्दैन भन्ने बोध पलाएछ र उक्त बोध नै कविता सृजनाको प्रारम्भ बनिदिएछ ।
          बलदाइलाई मैले माथि भनेको छु - भविष्यद्रष्टा । "काठमाडौं एक्लैले....." अहिलेको सान्दर्भिकतासँग ठ्याक्कै मिलेको छ । नेपाल एकदिन अवश्य सङ्घीय गणतान्त्रिक राष्ट्र हुनेछ, उसबखत बलदाइको चेतनाले यो छनक पाइसकेको थियो । उसबेलै काठमाडौंको निरङ्कुशताको विरोध गर्नु, काठमाडौंको केन्द्रीयताको विरोध गर्नु धेरै टाढा सोच्नु थियो । यो कविता पढ्दा बलदाइ स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारका पक्षधर त हुनु नै हुन्छ, थप सङ्घीयताको पक्षधर पनि देखिनुभएको छ । पञ्चायतकालमा, एक भाषा एक धर्म र एक देशको तथाकथित राष्ट्रियता लादिएको परिप्रेक्ष्यमा बहुलता र सङ्घीयताको पक्षमा कविता लेख्नु ठूलो आँट थियो । अग्रगमनकारी र उत्तरआधुनिक सोच थियो । परिणाम उहाँले पञ्चायती शासन व्यवस्थाबाट धेरै अर्घेलोहरू सहनुपर्‍यो ।
          मैले कतै पढेको थिएँ- "अप्ठेरो परिस्थितिमा सृजित रचनाहरू नै उत्कृष्ट हुन्छन् ।" निश्चय नै पञ्चायतकालमा उज्यालो ताकेर लेख्ने स्रष्टाहरूका लागि सहज वातावरण थिएन । त्यो बेला भक्ति र स्तुति साहित्य लेख्नेहरूकै हालीमुहाली थियो । त्यो बेलाको राज्यसत्ताको विरूद्धमा लेख्नु भनेको अराष्ट्रवादीको बिल्ला भिर्नु थियो । यस्तै असहज र सााघुरो परिस्थिति विरूद्ध विद्रोहको शङ्खनाद गर्दै उदाएका कवि हुनुहुन्छ बलदाइ । फलस्वरूप उहाँका कविताहरू उत्कृष्ट र कालजयी बनेका छन् ।
          इलाम तिम्रो साथ छोडेर म चिसो बगेँ
          इलाम तिम्रो साथ छोडेर म अमिलो बगेँ
         गुरुकुलको सम नाट्यघरमा खचाखच कविता अनुरागीहरूको बीच करिब तीन दर्जन कविताहरू सुनाएर बलदाइ हवाइजहाजबाट विराटनगर फर्किसक्नुभएको छ । उहाँको कविताहरू र वाचनकलाले सबैलाई मन्त्रमुग्ध पारेको मैले अनुभूत गरेँ । कविताहरूको विषयगत विविधता, सुन्दर शिल्प, विचार र शैलीको सही समायोजन र आम बिम्ब भए पनि प्रस्तुतिको उच्चताले बलदाइका कविताहरूले सबैलाई छोयो । मस्तिष्क रनथनाउने र हृदय हल्लाउने कविताहरू सुनेर म अझसम्म थिल्थिलो भएको छु । तसर्थ, बलदाइको नजरमा विवश काठमाडौँमा पानी खोजिरहेको छु । "Save water drik whisky" को नारा बोक्ने काठमाडौंमा पानी कहाँ पाउनु ? तसर्थ, म पनि "आज त बिसाउ है चन्द्रजी" भन्दै साथीहरूसँग रक्सी पिइरहेछु । चेतनामा बलदाइको कविताको ह्याङ��"भर अझै बाँकी छ -
          मलाई त कविताले मान्छे मान्छेको मुटुमा देश लेख्नु थियो
          मलाई त कवितामा मान्छेले गाउने गीत लेख्नु थियो ।