पहिचानको लागि निस्कँदै छु

Author : प्रकाश रोदुङ
Published on : February 01, 2013


  
प्रकाश रोदुङ

घामको तापले हैन

जुनको साथले पनि हैन

जीवन घिसार्ने बाध्यताले

म दुलो भित्र पसेको छु

दिन देखि पर

मध्य रात भित्र

मानब जीवन देखि पर, धेरै पर

उल्लुको जीवन जिउँदै

मन मस्तिष्कमा पहिचान

मानवको पहिचान

माटोको पहिचान

जन्म भूमिको पहिचान

संस्कार, संस्कृतिको पहिचान

समाजको पहिचान

नामको पहिचान

पहिचान पहिचान पहिचान

यी सबै पहिचानाको लागि

पहिचान बनाउन

दश नंग्रा खियाउदै

पसिना बगाउदै

सधैं असार १५

मंसिरको मिठो सम्झनामा

हो, म दुलोमा पसेको छु,

 

हो म, जन्मस्थलो भन्दा धेरै पर

शिरमा सगरमाथा

तराई जस्तो फाटिलो छाती

पहाड जस्तो अटल स्वाभिमान

भएर पनि

बिना पहिचान

बेखबर भएर

म बाँच्न सक्दिन

तसर्थ

अब म हाँक दिन्छु

ए मानवरुपि दानवहरु हो

ए झुटको सपना बेच्नेहरु हो

खसिको टाउको देखाउदै

कुकुरको मासु बेच्छौ कतिञ्जेल ?

 

अब तिमीहरुको सक्कली सक्कलहरु

सबैसामु पर्दाफास गर्नु

सबै नेपाली, सदाको समान नेपाली भन्दै

यो मेरो प्यारो समाज

मायालु समाज

श्रद्धालु समाजहरुमा

अब म पहिचानको निम्ति

समाजमा निस्कदैछु...,

 

थुमुथुमबाट

कोटकोटबाट

गढीगढीहरुबाट

पूर्वबाट

पश्चिमबाट

उत्तरबाट

दक्षिणबाट

सबैतिरबाट

योजनाबद्धले

सुतेको मान्छेहरु ब्यूझाउदै

उठेकाहरुसंग लाइनबद्ध गराउदै

हो अब म

सदा सदाको लागि

सबै सबैको लागि

पवन भएर

प्रकाश भएर

पहिचानको निम्ति

यो समाजमा निस्कदैछु

यो समाजमा निस्कदैछु ।