लाहुरे विरासत

Author : राई चन्द्र दुमी
Published on : January 25, 2013


  
राई चन्द्र दुमी

भाग १

एक किसिम होस्टेल खाली भईसकेको छ । पालो बाँधेर स्ने चौकीदारहरुमात्र ८ घण्टे डिउटी बस्छन । तर समयमै हराउँछन् उनिहरु केवल हजिरा गर्न आउँछन् खातामा । उनिहरुलाई पनि कहाँ होस्टल सुरक्षाको मात्र चासो छ र दशैंको चकाभकमा १५ मिनेटमात्र ड्यूटी सेपनि मुलगेटको फोन ब्यस्त राखेर घरमा कुरा गरिरहन्छन, किनमेल, अरौ परौ आदि ।

'हेलो ............'

' तैंले जमराहरु राख्दै गर, मारकोदिनसम्म खसी महंगो पर्ला म यतायतै बजार पुगेर खसी हेर्दै आउँछु ।' .............

, आजै लिईहाल्ने ? त्यसो हो भने त्यो मेरो सन्दुकबाट गोडापाँचेक हजार रुपैयाँ अहिले यहा पोस्टमा ल्याईदे ....

पालेदाई घरमा आफ्नी श्रीमतीसंग सम्भवतः कुरा गर्दैछन् । मुलगेटको निकै पर आईमाई मानिसको यौटा आकृति देखापर्छ । बिमल आफ्नो दाजु अमरलाई पुलुक्क हेरेर गेटतिर दौडन्छ, अमर पनि आशान्वित भाईतिर हेर्दो छ, गेटमा पुग्नेसाथ फोनबाट मुख हटाउँदै पाले कराउँछ 'कता हिडिस........ ? तार नागेर भाग्न लागिसकी के हो ? खुरुक्कन आफ्नो कोठामा जा............तेरो आमा सम्झिसकी के हो, तेरो फिस तिरीदिने बोजु होईन मेरो बुडी हो ।

अमर र बिमल मात्र बाकि रहेको छन् होस्टलमा अब । ति दुईको मिल्ने साथि निरज हिजो साँझमात्र गयो आमा लिन आएकी थिईन, हिजैबाट १५ दिनकोलागि वडादशैं विदा । निरजको आमाले सोद्धा अमरले भनेको थियो 'हामीलाई लिन बोजु आउँनुहुन्छ, आन्टी बरु छाताचौकमा गएर त्यो हाम्रो बोजुलाई भनिदिनुन दशैंबिदा भयो भनेर.........., त्यो थुप्रै रिक्साको साहुनी हो के हाम्रो बोजु....'

निरजको आमाले आवश्यक ठेगाना टिपीन, तुरुन्तै उस्को बोजुलाई फोन गरीन उठेन, र अमर बिमललाई ढाडस दिईन, 'ल ल जति हतार भएपनि म त्यहा पसेर भनि दिउँला' । सोधीन फेरी 'आफ्नै बोजु हो ?'

निरास उत्तर दियो भाईचाहींले 'हईन हाम्रो बोजु त खोटांगमा हुनुहुन्छ, हाम्रो बोजु त कति राम्रो छ पहाडमा, हामीलाई सँधै दूध खान भन्नुहुन्छ । यो त हाम्रो फिस तिरीदिने आईतेनी बोजु हो ।

नमिठो मन लिएर निरजको आमा छोरालाई हातमा समाएर गेटबाट बाहिरिई । पालेले खै गर्यो 'वहिनी यो फुच्चे दुईको गार्जेन कति गर्दापनि फोनमा भेटिदैन, कहिले दार्जिलि, कहिले काठमाण्डु यो ब्यापारीहरुको ठेगानै नहुने तिमीले कसैगरी पत्तो लगाएर भनिदेउन । यी दुई घाँडो नै भए, हेर्नुनी यी रुङनैको लागि पनि ड्युटी गर्नैपर्ने.......

निरजको आमाले प्रतिवाद गरिन, के यी दुई नभए तपाईले डिउटी गर्नु पर्दैन र ? तपाईहरु त बिध्यार्थीको मात्र होईन, होस्टेल सुरक्षाको लागि खटाएको मान्छेहरु हो । यदि तपाईहरुको चोरी कामले होस्टेलमा त्यतिका विज्ञानका खेलकुदका सामानहरु चोरी भयो भने नी..........

चौकीदारले दाह्रा ङिच्याएर हाँस्दै भन्यो 'यसो २, ४ घण्टा त चलिहाल्छ नी.........' सरकारी पुलिसहरु त डिउटी छाडेर घरमा बुडीसंग सुतेर पालो सकिनेबेला मात्र पोस्टमा हाजिर हुन्छन, हामी निजी संस्थालाई कसले के गर्ने ? अलिलि उत्तेजनाजस्तो बिद्रोह र आक्रोस जस्तोपनि झल्क्यो पालेको मुहारमा ।

त्यसो होईन दाई कुरा जिम्मेवारीको गरेको हो, तपाई त यी बालकहरु नभए आनन्द घर वस्नेवाला हुनुहुदो रहेछ । तपाईले उनिहरुलाई मायालु वातावरणमा राख्नुपर्छ । भित्र कुकले के कस्तो खानादाना दिन्छ त्यो समेत रेकर्ड राख्नुपर्छ ।

पालेले ङिच्च दाँत देखाएर हाँस्दै भन्यो 'अँ तपाईको कुकले हिजो बेलुकी उसैको घरबाट दालभात ल्याएर तिम्रो छोरासुद्धा तिनैजनालाई याहि चौरीमै खुलाएपछि आज यी यतिको बेला भईसक्यो देखा परेको छैन । हामी पाले रेकर्ड होईन उ यो रेखाभन्दा भित्र जान पाउँदैनौं । उस्ले भित्री गेटको पोस्ट देखायो ।

निरजको आमाले छोरालाई पुलुक्क हेरिन, सायद निस्तो दालभात सम्झीन अनि बजार निस्केर फोनमै श्रीमानलाई यो भन्न आतुर भईन ��" छोरालाई यो होस्टेलमा नराखौ, बरु अर्को बर्षबाट घरमै पढाउँछु म, आखिर म तीन तीन बर्ष एक्लो पनि छु, तिम्रो प्रमोशन भयो र फेरी फैम्ली पर्मिशन पाईयो भने पछि उतै राम्रो स्कूल जोईन गरौला.......' । तुरुन्तै कल्पना बाहिर आएर अमर पट्टी फर्कदै बोलीन 'तिमीहरुको बाबा आमा कहाँछन् त.........?

अमरले छोटो जवाफ दियो ब्रुनाईमा आन्टी........' । बिमलले रुन्चे स्वर निकाल्यो, 'पोहोरपनि दशैं सकिएको भोलीपल्ट मात्र आउँनुभो बोजु । छाताचौकको उस्को घरमा २ दिन बसेर होस्टेल फर्केको हामी'

अनि तिमीहरु आमा पापालाई चिट्ठी लेख्दैनौ ?

अँ हा.............

ब्रुनाई भनेको कता हो आण्टी........,, अमरको पालो ।

मैले बुझें, तिमीहरुत लेख्दैनौ, ठेगानानै छैन रहेछ, तर बाबा आमाले पनि लेख्नुहुन्न ?

अँ हा, हामी सानो.....त्यो बोजुको घरमा ३ दिन बसेपछि जानुभो हामीलाई बोजुले यहा ल्याईराख्नुभो त्यति ।

उनि टोल्हाईन । स्कूलमा बोजुकोपनि ठूलो लगानी अनुमान गर्न भने गाह्रो भएन ।

अनि अरु आफ्नो मान्छे कोही छैन यता............? सोधि निरजाले

फुपु हामी आएकै साल आउँनु भएको थियो, त्यसपछि फेरी कहिल्यै आउँनु भएन

आएनन ? कहाँ बस्छन फुपु ? ठेगाना थाहा छ ? 'चासो बढाई निरजाले'

'हाम्रो फुपुत दमाईसंग भागेर मधेस आको, पो..........पापाले भेटेको हो भने......' बिमलले ��"भर टेक गर्यो । तर कुन मधेस केही थाहा नभएपछि एकछिन टोल्हाएर ढाडस दिईन 'ल ल तिमीहरुको बजुलाई म पठाईदिन्छु ।' अमर र बिमलले टाढासम्म हेरीरहे साथि निरज र आमालाई । निरजले ��"झेल हुनुअघि हात हल्लायो, यताबाट पनि दुवै जवाफी हात हल्लाए ।

.................               .............................                 ........................

निरजको आमाले के गरिन् । खोजिन् या खोजिनन्, अमर बिमलको दशैं बिदा भएको समाचार भनिन् या भनिनन् । तर आज ५ दिन बितीसक्दा पनि बोजु होस्टेलमा देखा परिनन् । सयौं बिद्यार्थीले छाडेर गएको सान जस्तो सुनसान होस्टलमा १२ र १४ बर्षको ति दाजुभाई अमर बिमल डरले राती सुत्न पनि सक्दैनथे । बिरालोले छिसिक्क आवाज दियो भने दुवै एक आपसमा अगालो हालेर पोका पर्थे, स्वा स्वा गर्थे, बाहिर जाउँ पाले दाई भुईंमा अध्यारो खस्नेसाथ भोटेताला लगाएर आफ्नो घर हिडीसकेको हुन्छ । भित्रै बसुँ पोहोर मात्र बिवेक भन्ने उनिहरुकै साथि होस्टेलमै रगत छादेर मरेको, अनि सिनियर दाईहरुले त्यो भुत भएर जागेको कुरा दिनहुजसो सुनाईरहेको । निजी बिद्यालय हो कुनै छडके चेकजाँच हुँदैन, जो कोही पालेहरु खुरुक्क भाग्छन तर तलव पुरै बुझछन् यो उनिहरुलाई के थाह ?

आँखा टट्टाईन्जेल गेट हेरेर अमर बिमलको दिन बित्दो छ । कुकले कहिले दिनको ४ बजे कहिले २ बजे एकचोटी खानेकुरा दालभात ल्याईदिन्छ । बढीमा बोक्रा नछिलेको आलुको तर्कारी । प्रिन्सिपलको हुकुम छ यो केटाहरुको गार्जेन नआईन्जेल खाना खुवाउँनु उनिहरुको गार्जेनलाई २५ प्रतिशत फाईन हुन्छ साँडे १२ प्रतिशत तैंले पाउँछस् । यति ममता बिहिन दशैं, मध्यदशैं टिकाको दिन पनि उनिहरुलाई मासु खान दिएन कुकले उस्को घरमा, त सायद पाकेको हुदो हो मासु । मानिसहरु कानुन कानुन भनेर यति कठोर हुनसक्छन ?

निकै पर केही मानिस जस्तो आकृति देख्योकी भाईचाही गेटतिर दौडन्छ, यो क्रम निरन्तर चलिरहन्छ । दाजु आशातित आखाले भाई गएतिर हेर्छ, तर डेक चल्दैन । भात नरुचेकोले न तागत आँखामात्र पिलपिल दाजु अमर भित्रजाने सिंडीमै बसेर भाईले कतै शुभसमाचार ल्याईहाल्छकी आँखा भने केही तिखार्थ्यो तर तुरुन्तै धुमिल भएर गईहाल्थ्यो । टाढा देखिने त्यो आकृति उनिहरुलाई लिन आउँने उनिहको बोजु वा आफन्त हुदैनथे । जो उनिहरुको आईतेनी बोजु, शहरमा थुप्रै रिक्साको धनी जस्लाई छोराहरुको रेखदेख गरिदिन अमर बिमलको आमा बाबुले बढीनै पैसा पठाउँथे ब्रुनाईबाट र छोराहरुको हालखवर उनै बोजुलाई सोधेर चिठी ��"होर दोहोर गरिरहन्थे ।

१० दिन छुट्टी यसै बित्यो, भाईचाही सानैदेखि हापहुप खाईहाल्ने, अहिलेपनि जस्तो तस्तो खानसक्छ तगडै थियो आजसम्म । कुरा निकाल्यो बिमलले,  'पोर परारै के त दाजु......हामी यो होस्टेल आउँनु अलिक अघि हाम्रो पहाडको दशैंमा हकी...........मार हान्दा हाम्रो बाउको बाउ के रे ? चुचुले यत्ति..... ठूलो राँगो खुँडाले चटक्कै छिनाएको........' बिमल हाँस्न खोज्यो । 'अनि के त कात्तिके की के गाउँ रे ? हो त्यहाको हौदे काकाले मलाई जुरुक्कै उचालेर त्यसको रगत टेक्न लगाएर ढोकाको माथि भित्तामा मेरो पाईतालाको छाप हानीदिएको........' मलाई अझै याद छ ..........। अनि के त त्यो दिन....... भुटेको मासु आमाले कति धेरै धेरै दिनुभएको हकी हामीलाई ........?' । अमर बोलेन, भाईलाई पुलुक्क हेर्यो थुक निलेर टोल्हाईरह्यो । बिमल चाहन्थ्यो बितेको रमाईलो कुराहरु सम्झेर भपनि दाजु अमर जस्तै फुर्तिलो होस । उस्ले पहाड घरको रमाईलो कुराहरु कोट्याएर अमरलाई मानसिक रुपले तन्दुरूस्त बनाउँन कोशिष गरिरहृयो तर उस्लाई त्यो यौटा पिंडा भएर गडिरह्यो ।

उता ब्रुनाईमा लाहुरे बाबु दशेरा पार्टीको जाँड लागेर रंगे रंगे भएकोबेला बुढीसंग गफ हाक्यो 'हेर बुढी कसले दुदुईजना छोरा त्यति महँगो होस्टेल राखेर त्यति राम्रो स्कूल पढाएको छ ? शत्रुमित्रुले हेर्दा पनि अरे बस् यो छाती..... बुझिस् यो मर्दको छाती अरु चौडा भएजस्तो लाग्छ..........,

बुढी यहि हो मौका भनेर चौका हान्थी 'अब त ठूलो चाही त राम्रो लेख्ने भईसकेको छ, चिठी त्यस्लाई पनि लेख्न बुढा........सानै पनि, त ४ पास भईसकेको छ, बिचराहरुलाई हामी कस्तो ठाउँमा कस्तो सुखमा छौं केही थाहा छैन, ब्रुनाई भनेको छ के, कहाँ कस्तो ठेगानासम्म थाहा छैन बिचराहरुलाई...........साँचि यो ठेगानामा चिठी लेख भन्.....गाँठे कोखाको गाहापो त हौ.........बुढा........। मध्ये दशैंको बेला हेरत.....के खायो के खाएन त्यो आईतेनी दिदीको कुनै ठेगाननै हुँदैन रे आजकाल .......। यतै ल्याउँनुहुन्थ्यो नी खुपै कान्छी बुढी चाहियो र छोराहरुको नामै कटाई पठायौ, धन्न जागिरचाही थामियो.........

लाहुरे ढाडस दिन्थ्यो 'अरे के चिन्ता गर्छेस, जम्दानी आईतेनी साईली भनेपछि सारा दुनियाँले चिनेको, धरानमा सभन्दा पहिला ट्याक्सी रिक्सा चलाएर उस्त पैसा कमाएर पनि अहिले त अरु ठुलठूलो ब्यापार बिजिनेश गर्ने नाम चलेको काकी हो । दिदी होईन त्यस्तो देखिए पनि काकी पर्छ सानो, टाढाको साईनो भएपनि हेर त हङकङबाट तिश्रा छुट्टी निस्कदा कस्तरी खसी काटेर भोज खुवाको हामीलाई ? उमेरमै जम्दार काकाले छाडेर गएपनि घर कस्तरी चलाएको विधुवी आईमाई हो त्यो काकी.........त्यही पारी गाउँकोत हो...अहिलेपो शहर झरेर करोडपति भएत...........

भित्र बिशाल होस्टेलको डवल डेकरवाला खाटैखाट भएको ठूलो कोठा छिर्ने ढोकाको सिंडीमा बसेर अमर, अलि वरतिर चौरीमा सानो रुखको छहारीमा रहेको काठको राउण्ड बेन्चमा बसेर भाई बिमल मुलगेटमा हेरेरै १४ दिन बित्यो । त्यो १४ दिनको साझ भाई फेरी कोही चिने देखेको मानिस आएजस्तो देखेर गेटतिर दौडेपछि दाजुचाही पनि आशाले जुरुक्क के उठेथ्यो तर बर्लङ्गै ढल्यो । चिनेजस्तै लागेर भाईचाही आत्तिदै करिव करिव हर्षको आँसु झार्दै गेटमा आईपुग्यो, चिने देखेकै मान्छे रहेछ तर अर्को पाले । डिउटी खातामा सही गरेर त्यो तुरुन्तै आफ्नो घरफर्क्यो । यता दाजु अलस तलस भएर लडेको देखेपछि पालेतिर फर्केर बिमल करायो 'अंकल.......अंकल.........,, । तर दशैंको रहलपहल एकादशीमा खाएर रंगीईसकेको पालेले यी स कुराहरु चासोनै राखेन, उस्को दाजुको अबस्थानै देखेन उल्टो करायो 'केईले खाँदैन चुपचाप गएर सुत......खाने भए यत्रो दिनमा खाईहाल्थ्योनी........,,। मर्मस्पर्सि रोदन निकालेर चिच्यायो बिमल 'अंकल........मेरो दाईलाई के भयो ?' तर पाले लर्खराउँदै भएपनि धेरै पर पुगिसकेको थियो । बरु त्यो चिच्याहटको असरले अमरले विस्तारै आँखा घुमाएर टाउको उठाउँने कोशि गर्यो र बोल्यो 'भाई मलाई के भयो.........? बिमलले रुँदै सोध्यो 'दाई तालाई के भयो....?  अँध्यारोले राम्रै राज गरिसकेको साँझमा दुवैजना अंकमाल गरेर धेरैवेर रोईरहे, होस्टेलको पेटीमै ।