म लेखक

Author : टोप बहादुर राई
Published on : January 25, 2013


  
टोप बहादुर राई

ओ सम्पादक ज्यू

मेरो गीत छापिदिनु परो !

 

त्यो नपुंसकताको

बस्ती भन्दा पर...

बालुवाको शहरमा ढलेका

सुनौला सपनाका थुङ्गाहरु माथि बसेर

रातो आशुले लेखेको गीत,

 

बधशालाको आागनमा

उधोमून्टो झुण्डयाएर

आमाको जिउदो लाशलाई

मुटुमा भालाले रोप्दै

फोक्सो र आमाशय

बन्धक राखेर

रातो आशुले लेखेको गीत, 

 

ओ सम्पादक ज्यू

मेरो गीत छापिदिनु परो !

 

कोलाहल सडक पेटीमा

सुतिरहेका भोका जन्तुहरुको

दुधे आन्द्रा भित्र छिरेर

धमिलो दहमा

फ्रिरहेका कत्ले-शहर माछाहरु झैं

उत्ताढ मच्चाउदै

धृष्ट यी नयनलाई

तिम्रै बलेसीमा किला ठोकेर

रातो आशुले लेखेको गीत,

 

ओ सम्पादक ज्यू

मेरो गीत छापिदिनु परो !

 

कालो पटृीले

बाधेर गजुरमुनीका

मौन आँखाहरुलाई

बजैको महाभारत कथामा झै

युद्धले पुछिदिएको

बिधुवी भाउजुको

सिउँदो माथि बसेर

रातो आशुले लेखेको गीत,

 
ओ सम्पादक ज्यू

मेरो गीत छापिदिनु परो !

 

जीन्दगी थाप्ने

त्यो साधुको कमण्डलु

मन्दिरमा लडिरहेका

मुर्तीहरुको काखमा झै

दान, दक्षिणा, फूल, अक्षताले मात्रै नभरी

र्याप र झ्यापको हालीमुहाली संगै हराएको

एकतारेको संगीत बोकेर

रातो आशुले लेखेको गीत,

 

ओ सम्पादक ज्यू

मेरो गीत छापिदिनु परो !                                           

 

(हङकङव्यापी वाषिर्क प्रतियोगितात्मक कवितागोष्ठि २०१२ मा ह चौथो भएको कविता)