पहिचान

Author : आशिष साम्पाङ 'महेश'
Published on : January 25, 2013


  
आशिष साम्पाङ 'महेश'

वीरताको सिरानी हालेर

विलासी विछ्यौनामा

लाहुरे सपना देख्दै

कति निदाइरहन्छौ

!

आदिवासी/जनजाति बाघ,

 

वा बोलिरहेछन्

तिम्रा अस्तित्वका साम्राज्यमाथि

खोसिरहेछन् तिम्रा मौलिक अधिकार

मेटाएर ऐतिहासिक पहिचान

नङग्याइरहेछन् तिम्रा अस्मिताहरू

जाग ए !

आदिवासी भूमिपुत्र हो,

 

नत्र फेरि आउन सक्छ

षड्यन्त्रकारी तरवार उचालेर

अर्को श्री ५

उदाउन सक्छ फेरि

निरङ्कुश घोडा चढेर

अर्को श्री ३

खोस्न सक्छ

नयाँ बपरिभाषाका

लालमोहर, किपट र पगरीहरु

मेटाउन सक्छ

तिम्रा होचा, थेप्चा लिलिपुट आकृती

अनी, स्वाहा पार्न सक्छ

आफ्नै मुटु जस्तो आत्मिय

तिम्रा भाषा, धर्म र संस्कृती

हराउन सक्छ फेरि

विरासत इतिहासबाट

तिम्रा पुर्खाका पुरात्तत्वहरु

फेरि विनिमय हुनसक्छौ

सुगौली सन्धीमा इष्टइन्डिया कम्पनीस,

 

त्यसैले ,

उघार अब तेजस्वी आखा

बटुल तिम्रा प्रवासीएका

सामर्थ्वान आफन्त हातहरू

सजिव बनाउ अब

वर्षौ मूर्छिएका अवचेतनहरू

उपस्थित गराउ अब

मदहोसी गुफाभित्र

भूमिगत हुनेहरूलाई,

 

यहीवेला

माग आर्शिवाद

पारुहाङ र सुम्निमासँ

इमानसिंहका पौरखी हातहरुले

जन्माउ अब

विलक्षण प्रतिभाशाली हर्कराजहरू

स्थापित गराउँ अधिकार सम्पन्न

पहिचानमुखी आदिवासी स्तुपहरू,

 

जहाँ गाडियोस्

राष्ट्रिय स्वाधिनताका चार किल्ला

संघीयताको छहारी मुनी रहोस्

सुनिश्चित हक अधिकारको शितलता

राष्ट्रियताको आँखामा समान देखियोस्

थेप्चा नाक र चिम्से आँखाहरूको

सादृष्य समानान्तर आकृती

तब मात्र,

हिड्न सक्छौ तिमी सांगसंगै गर्वले

सम्वृद्ध राष्ट्रको नयाँ गोरेटोमा,

 

नत्र फेरि

हिड्नु पर्नेछ अस्तित्व विहिन

शरणार्थी पाईला टेकेर

माइधारका बस्तीहरुमा

अनी,

आफ्नै थाकथलोमा तिमी

सदियौ अर्जापी रहँदा सुकम्वासी हातहरू

विनाशोक

विलिन हुनेछ

गोधूलिको घाम जस्तो तिम्रो पहिचान

पुर्खाका हाडखोर जस्तै

कुनै विरानो मुलुकको जीर्ण समाधिभित्र ।                             

 

(हङकङव्यापी वाषिर्क प्रतियोगितात्मक कवितागोष्ठि २०१२ मा तेश्रो भएको कविता )