अभिलाशा जितापत्रको

Author : मोती चाम्लिङ
Published on : December 28, 2012


  
मोती चाम्लिङ

घायल एक व्यथित रोहीत

साइवेरियाको सिरेटोमा फाल हानिरहन्छ

अपितु संवेग उर्मिमा अल्झिन्छ,

 

त्यो जिय पूरै अन्तर्वाष्पले लपक्क

कठोर शमित देहको कोमलास्थि

चौघेरा किनारका व्याधाहरु

मौका छोपेर तमञ्चा झ्याइरहेका छन्

शान्ति उसै विथोलिन्छ रोहीतको

भागदौडको गन्तव्य अन्धकार

परन्तु ऋक्षपति अभिसाप वनिदिन्छ

त्यो अपरिणिता सन्नाटालाई

तितिक्षाको मलय निसृत अभिव्यञ्जनामा

व्राम्हिलता कुँदिएको निस्तेज प्रासादभित्र

पाश्र्ववर्तीले त्यागेको खलिफा जस्तो

शीशीरले नंग्याएको देवदारु जस्तो

ममत्व खोसिएको एउटा विरुप

त्राणको अनुनय समाहित भर्दै प्राण कहन्छ

ओकल्छ वुद्धको त्रियान

भर्छ वोधयिताको पुकार

परन्तु ती हवनकुण्डमा स्वाहा हुन्छन्,

 

शयनागारमा वयेली भित्राउने

स्वैरिणिको स्वेद समान

सपेराको वीनवाजाले मदहोस

लठ्ठिए नागीन संगीत काकाकुलभित्र

रोहीतको अनुनय केवल पिकदानको

त्याज्य खकार जस्तै उछिटिन्छ

व्याधाहरुको तमञ्चामा ठेसिएको

कृपणता रोहीतको उद्विग्णता

जलिरहेको अर्धविराम मात्र हो

कि या पूर्णविराम

गतिशील समय तिमि जवाफ देउ,

 

गुहार रुग्णतामा श्रवण गर्दागर्दै

भेष पीताम्वरमा एक स्वजन साधु

व्याकुल व्यथित विक्षिप्त रोहीत सामु

लीलोधानमा जिजिविषाको स्वच्छन्द पुस्करभित्र

जीतापत्रको अभिलाशा जगाउंदै

पाश्र्वस्थ ढलान गरिएको चित्रशालाभित्रबा

प्रकट भइदिन्छ अनायासै,

 

अग्निकुण्ड जलाशयको दाहोरो नाता

प्रविण पुकारमाचित्य देख्ने रहर

वांझो रुम्टोमा ठडिएको आकांक्षा

निरिहतामा चाउरिदै ख्याउटिदै जफत हुन्छ

अव त्यो घायल एक व्यथित रोहीत

व्याधाहरुको शर र्षा

तमञ्चाबाट पग्लिएको वटी लप्काले

मुक्त हुन छटपटीबाट

विकल्पविहिन अवसानको

अंगीकारसम्म गन्तव्य नाप्न चाहन्छ,

 

खवरदार.......स्वजन साधुको आवाजले

पीडा रोहीतको भंग हुन्छ

घायल तिमी रोहीत होइनौ

पीडालाई क्रोधले समन गर

व्याकुलताको पीण्डबाट

देह आफ्नै अवलोकन गर

तत्पश्चात........

अदृश्य अकल्पनिय अपार शक्ति

मेघ वादलको विधुत समान

स्वजनको सदासयतासंगै

घायल रोहीतमा प्राणधारी सिंह प्रकट हुन्छ

तव पीडा कम्पनमा गर्जन्छ,

रदारी असिना जस्तै वर्षन्छ

तव मंगल विचलित थर्कन्छ

खवरदार, खवरदार, खवरदार
 

(संखुवा समाज हङकङले आयोजना गरेको हङकङव्यापि प्रतियोगितात्मक कविता गोष्ठिमा दोश्रो भएको कविता)