कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार

Author : अशोक राई
Published on : October 29, 2012


  
अशोक राई

       यो कंक्रिट्को शहरमा

अरनिकोले चित्र कोरेझैं सुन्दर

अनकन्टार आकासिएका गगनचुम्बी महलहरू

मलाई मिथ्या र बमन लाग्छ.....

यो कविताका हरफहरू हङकङेली नेपाली साहित्यमा भर्खरै थपिएको एक काब्यकृति कुण्ठित मनका चित्कारहरू बाट उद्धृत् गरिएको हो । कवि हुन् चन्द्र मादेन 'आन्छान' । यो कविताको डायसपोरिक भावले पाठकको मनमा एक प्रकारको छाप दिन्छ । डायसपोरिक जीवन रहर नभएर बाध्यता हो । परदेशका गगनचुम्बी महलहरूको के अर्थ परदेशीलाई भलै ति अरनिकोले कोरे झै कलात्मक किन नहोस , गैरभुमीका रंगिन शहर, सुन्दर महलहरू, चिप्लिने कारहरू अनि चिल्ला सडकहरू सबै मिथ्या । एउटा देशभक्त कवि या अकविले सधै मनमा देश र जन्मभुमीलाई मात्र संझिरहेको हुन्छ, जस्तो-

म ठोकुवा गरेर भन्छु

मेरो गाउँको गोरेटो, गल्ली, सियाँल

कुलेसो र चिप्लेटी ढुंगा भन्दा प्यारो कदापी छैन....

(हङकङको परिबेश)

हङकङमा रहेर लेख्ने कविहरूले हङकङको परिबेशलाई आ-आफ्नै अनुभवको हिसाबले लेखेका छन् । उता नेपालमा भोगेको आधा जीवन र यहाँ भोगिने जीवनको पृथकता, फरक भूगोलमा जिविकाहरूको फ्युजन अनि स्वदेशको संझना परदेशीनुको पीडा यहि त हो कवितामा पोखिने डायस्पोरिक पीडाहरू ।

धेरैले स्वीकार गरेका निर्भीक श्रष्टा हुन कवि 'आन्छान' । मनमा लागेको बोल्ने र लेखि हाल्ने बानि छ उनको । साथीभाइ बिचमा मिलनसार र उत्साही ब्यक्ति हुन् कवि 'आन्छान' । उनका आम कविताहरू देश भक्तिपूर्ण हुन्छन् । त्यसैले उनलाई म देशभक्त कवि भन्न मन पराउँछु । हङकङमा बिगत देखि बर्तमानसम्म साहित्यको बिकास र जगेर्नामा समर्पित नाम पनि हो चन्द्र मादेन 'आन्छान' । उनी कविता भने पछि निकै उत्साहित हुन्छन् । लाग्छ उनकाृ सबै समय कविताको लागि हो । उनको लागि कविता जीवन हो अथवा जीवन कविता हो । कवि चन्द्र मादेन हङकङका एक साहित्यक संगठक पनि हुन् । संगठन शक्ति सबैमा हुंदैन । मानिसमा उत्साह भर्नु र जागरुक बनाउनु निकै कठिन काम हो । उनलाई साहित्य लेख्नुमात्र हैन साहित्यको बिकास गर्नुपनि ठूलो सौख छ । बिभिन्न साहित्यिक कार्यक्रममा उनको उपस्थिति र जाँगर निकै उत्साहप्रद लाग्छ । उनले बिगतमा बिभिन्न सामाजिक र साहित्यिक कामहरू गरेका छन् । करिब छ महिना यतादेखि उनको संयोजनमा साझा साहित्यिक श्रृंखला नामक मासिक कार्यक्रम संचालन भई आएकोछ । जहाँ नयाँ र पुराना कवि लेखकहरूले अन्तर्क्रिया र कविता बाचन पनि गर्दछन् । कवि चन्द्र मादेनले हङकङेली नेपाली साहित्यको बिकासमा निरन्तर टेवा दिएका छन् ।

उनका कविताहरू स्वच्छन्दताबादी छन् । खास परिधी वा कुनै आग्रहभित्र समेटिनु उनका कविताको बिशेषता हैन । कवितामा कला र दार्शनिक पक्ष कमजोर भएपनि उनका कविताहरू बिश्वमा प्रतियोगितामा समेत छैटौं स्थान राख्न सक्षम छन् । हङकङका बिभिन्न प्रतियोगितामा अब्बल ठहरिएका छन् ।

रातको निस्पट निस्तब्धता जस्तै

अदृश्यिएका प्रमाणहरू

अनगिन्ति मस्तिष्कको क्यानभासमा

अमिट र अजम्बरी भएर बसिरहन्छन्......

(बुद्धका निर्निमेष आँखाहरू)

कवि श्रष्टा र द्रष्टा दुबै हुन् । श्रृजना गर्नु मात्र हैन समाजलाई हेर्नु-देख्न सक्नु) कविको खुबि हो । त्यसैले सत्ताको प्रतिपक्षमा रहन्छन् कविहरू । किनकी उनीहरू अधिनायकता र अब्यबस्थाको बिरुद्धमा हुन्छन् ।

पहिले उनीहरूले

आदिवासी भुमीपुत्रलाई

विच्छिन्न राज्यविहीन पारी कुण्ठीत बनाए

म मौन रहेँ

किनकी, म मात्र आदिबासी भुमीपुत्र थिएँ

म केवल मानव थिएँ...

(उनीहरूको अत्याचार)

यो कवितामा राज्यले सिमान्तकृत बनाएका र उपेक्षामा पारिएका आदिबासी भुमीपुत्रको पीडा समेटिएको छ । यसमा राज्यसत्ताले गरेको अन्यायलाई उजागर गरिएकोछ । कवि स्वयं त्यो बहिष्करणमा परेका बर्गका ब्यक्ति हुन् ।

साम्राज्यबादी बेलायतले नेपालीहरूलाई प्रयोग गरेर संसारलाई जिते । नेपालीहरूले उसको लागि लडाइ लडे, कतिलाई मारे आफूपनि मरे अनि जीवनभर घाइते बने । बदलामा बेलायतले नेपालीलाई अपमानमात्र दियो । नेपालीहरू अहिलेपनि भाडाका लडाकामात्र भइरहेका छन् । युद्ध बलीका सिकार भएकाछन् । यो बिडम्बनालाई कविले आफ्नो कवितामा यसरी पोखेकाछन्:

हो बेलायत त्रि्रो देशको लागि

लाखौं लाख लेपालीले रगत मात्र बगाएन

ब्रुनाइमा गरीब आदिबासीको घाँटीमा संगीन रोपे

अन्य राष्ट्रको असंख्य बग्रेल्तीहरूमा

कहिले मद्रासी, कहिले इन्डोनेसियाली

कहिले जापानी हजारौं मानबकै सिकार गरे....

(बेलायती लाहुरे)

कविहरू नोस्टाल्जीक नभएको कमै पाईन्छ । एउटा सामान्य मान्छे घर छोड्दा अतितमोहको कारणले अनि गृहमोहले बिक्षिप्त बन्दछ भने कविहरू त तेसैपनि भावुक हुन्छन् । सपना बिपनामा उहि गाँउ घर पाखा पखेरा खोला खहरे सबै आँउछन् । कविले आफ्नो ताप्लेजुङलाई यसरी संझेका छन् ।

मेरो प्यारो ताप्लेजुंङ

त्रि्रो कोमल बात्सल्य काखमा

मलाइ जन्म दिने तिमी..............

(मेरा प्यारो ताप्लेजुङ)

हङकङको जीजिबिषा हो चौकीदारी । हाम्रा पुर्खाहरूको बफादारी र बिरताको कारण अझै यहाँ गोर्खाली चौकीदारको महत्व छ । आजपनि त्यो बफादारी देखाएका छन् नेपालीले यहाँ । कामप्रतिको इमानदारी र परिआए मालिकका लागि ज्यान दिन पछि नपर्ने भएकाले उनीहरू मालिकका पृय छन् ।

चौकीदार

छक्का पञ्जा एक्का दुक्का जान्दैन

पट्यारलाग्दो बाह्र घण्टा

उभिन्छ कहिले ठिङरिङ्ग सगरमाथा झै....

(चौकीदार)

यो संग्रहमा जम्मा एकचालिस वटा कविताहरू छन् । धेरै जसो कविताहरू देशप्रेमले भरिएका र नोस्टाल्जीक प्रकारका छन् । जस्मा राजनैतिक बेथिति, भ्रष्टाचार बिरोध, गाँउघरको सम्झना र जन्मस्थानको प्रेम, भारतीय बिस्तारबादको बिरोध, सहिदको संझना, इतिहासमा नेपालको मानचित्र जस्ता थुथै्र बिषयहरू परेका छन् । कवि देश बाहिर भएर पनि उनको मन हरदम स्वदेशमा छ । अन्य कवितामा मानवीय समबेदना, बुद्धको संझना, पशुबलीको बिरोध, पिजँडाको पँक्षीको बेदना, अमेरिकी बिस्तारबादको बिरोध अनि निकृष्ट भगवानप्रतिको क्षोभ जस्ता बिषय र भाव समेटिएका कविताहरू संग्रहमा छन् । तमाम कविताका बिशेषता भनेको इमानदारिता, बिचारको स्वच्छन्दता अनि अनिराशाबाद हो ।

अन्तमा कविलाई केही फिड ब्याक् दिनुपर्दा केही प्रसंग उल्लेख गर्न चाहन्छु । साहित्यकार प्रदिप कन्दङवाले पुस्तक बिमोचनमा बोल्दै भने कवि चन्द्र मादेनले आफ्नो कला पक्षलाई बिशेष ध्यान दिन जरुरी छ । कुराकानीका क्रममा भयबादी साहित्यकार देश सुब्बाले कविता कृति कुण्ठीत् मनका चित्कारहरुमा धेरै राम्रा कविता तथा बिबिध बिषयका कविताहरु छन् तर बिम्ब चेत र भाषा चयन कमजोर देखिन्छ भने । त्यसैगरि कवि नरेश सुनुवारको बिचार छ कवि चन्द्र मादेन एक सकृय र सशक्त कवि हुन् तरपनि उनको कविताहरुमा काब्य शक्तिको खाँचो भने देखिन्छ । साच्चि नै कविता फितलो भयो भने त्यो शक्तिशाली बन्दैन र सम्प्रेसित हुदैन । पाठकलाई छुनु कविताको मुख्य काम हो । त्यसको लागि कविताको भाषा र त्यसमा निहीत कला पक्ष महत्वपूर्ण हुन्छ । कविता जुन बिषयमा भएपनि कवितामा त्यो शक्ति छ भने कविता र कवि सधै बाँचिरहन्छ । 'आन्छनका कवितामा बिम्बको प्रयोगलाई प्राय: बेवास्ता गरिएकोछ । भाषाका कुरा गर्दा भट्टर्राईले भूमिकामा लेखे जस्तै कहिलेकाही कुनै कविताहरू नारामा ओर्लन्छन् । आक्रोश पोखिने नाममा गालि गलौजका भाषाहरू कवितामा राख्नु राम्रो हुंदैन । जस्तो केही कविताहरुमा प्रयोग भएका स्वाँठ्, लठैत्, दलाल, गिदीमा लिदी बोकेकाहरू, धुर्त स्याल र ब्याँसा जस्ता शब्दशहरूले दाँतमा ढुंगा लागेजस्तो बनाएकोछ । कवि मनु मञ्जिल भन्छन् कविताको गालि आमाको झापट् जस्तो आत्मिय होस ।

कवि चन्द्र मादेन 'आन्छान' लाई काब्य कृतिका लागि बधाइ दिदै भविश्यमापनि थप कविता पढ्न पाइयोस भन्ने सुभेच्छा राख्दछु ।