कस्तुरी झैं नयाँघरे

Author : रोहित खतिवडा
Published on : October 22, 2012


  
रोहित खतिवडा

     "जति सरापे पनि कमै हुन्छ काठमाडौँलाई । जति उल्ल्याए नि थोरै हुन्छ काठमाडौंलाई । जति धारेहात लाए नि अपुगै हुन्छ काठमाडौंलाई ।" कवितात्मक शैलीका यी हरफहरु काठमाडौंप्रतिको वितृष्णा हो, क्रोध हो, आक्रोश हो । यो वितृष्णा, क्रोध, आक्रोश हो नयाँघरेको अर्थात युवराज नयाँघरेको । काठमाडौंलाई उनको यो सत्तोसराप त्यत्तिकै होइन, "रहरका शिखर बामपुड्क्याएको छ यसले, घुमन्ते अभिलाषा थङथिलो पारेको छ यसले र अध्ययनका सिँढीलाई नमज्जाले ठुन्काइदिएको छ यसले ।"

पछिल्लो पटक प्रकाशनमा आएको नियात्रा सङ्ग्रह 'घामको चुम्बन' पढेपछि नयाँघरे प्रतिको श्रद्धा थोरै चुलिएको छ । एकहातको ताली पढेपछि मनले भनेथ्यो "वित्थैको !" तर घामको चुम्बन पढेपछि चाहिँ त्यहि मनले भन्यो "केहि चाँहि रहेछ !" मन नपरेका नयाँघरे मनपरे, आफ्ना भए, चम्किलो भयो श्रद्धाको दियो । अरुको भन्दा उल्टो छ मेरो यो कुरा । मेरा पाठक साथीहरु एक हातको ताली भन्दा कमजोर ठान्छन घामको चुम्बनलाई । मलाई यो गजब लागीरहेछ । पढ्दै जाँदा मनमा बसे थुप्रै असहमतिका कुरा, मिलेन थुप्रै सोचाईहरु, फरकभए थुप्रै निष्कर्षर निचोडहरु । मन परे झन् धेरै कुरा, मिले झन धेरै कुरा, एउटै रहे झन धेरै निष्कर्ष। के लेखिरहनु मिलेका कुरा, चाप्लुसी जस्तो के गरिरहनु सबैले गर्ने प्रशंसा । झन् उनी त पछिल्लो समयमा नेपाली साहित्याकाशमा बनेकाछन् धु्रवतारा । के देखाइरहनु राँकोको उज्यालो । मनमनै गमेको छु यी सबै कुराहरु । यहाँ सबै फूच्चे बेमेलहरु, फूच्चे असहमतिहरु ।

घामको चुम्बन पढ्दा खुशी यो अर्थमा पनि लाग्यो की इलाममा जन्मिएका नयाँघरेले इलाम सम्झिएकाछन् । २३वटा यात्रा संस्मरणमा एकपटक भएपनि आइपुगेका छन् इलाम । म इलामेली हुँ भन्ने सम्झिएकाछन् । 'जोगमाइको छालैछाल' नाम्सालिङ जन्ती पुगेर फर्कन्छन उनी । म जन्मेको ठाउँ भनेर पक्कै पनि श्रद्धा गर्छन उनी । नमस्कार गर्छन, स्वास्ती गर्छन उनी जन्मभूमीलाई, 'जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी'

२०५३ सालको मंसिरको मंसिरमा इलाम आइपुगे उनी, दाइको बिहेमा जन्ती । फेरी फुर्सद मिल्या हो��"इन । उतै व्यस्त छन् उनी, उतै मस्तछन् उनी । चर्ुर्लुम्म डुबेकै छन् उनी त्यहाँ । फुर्सद कहाँ र आउन, समय कहाँ र आउन । उनी फेरी इलाम आइपुग्न भ्याएका छैनन्, जीवन भनेकै सम्झौता हो भनेजस्तो सोचेजस्तोमात्र होइन । मदन पुरस्कार विजेताले आनन्दले आफ्नो जन्मस्थान सम्झन पनि पाएका छैनन् । धुमिल भएकाछन् नाम्सालिङका दृश्यहरु । यता........... उता.......... माथि........ तल........ कता........... कता.........! अलिअलि स्पष्ट अलिअलि अस्पष्ट, के कता मिसिएको, के कता  ! नमिल्दो दृश्य तर चलचित्र जस्तो एकदमै सजिव, एकदमै जिवित ।

उनी असमञ्जसमा परेकाछन्, फिक्कलबाट पशुपतिनगर जाने बाटो राजमार्ग हो की मार्ग ! उनी राजमार्ग लेखिदिन्छन् इलाम र पशुपतिनगर जाने दुइवटै सडकलाई । फिक्कलबाट पशुपति जाने १० किलोमिटरको बाटो त रत्नकुमार बान्तवा मार्ग हो राजमार्ग होइन । फेरी झापाबाट आएर आहालेतिर लाग्दा त त्यही मेची राजमार्ग मात्र भेटीन्छ । पशुपतिनगर जानेबाटो त फिक्कलमा झण्डै भेटमात्र हुन्छ । उनी अलमलमा पर्छन । पशुपतिनगर जानेबाटोमा हामी बरबोटे अनि रम्फोक भेट्छौं उनी आहाले भेट्छन जुन अलि पल्लेपट्टी हुन्छ । आहालेको ��"रालोमा घोडासँगै इलाममा नै नपाइने खच्चर भेट्छन उनी । हामीले देख्न नसक्ने आहालेबाट देख्छन् उनी गोर्खेबजारको दृश्य । होलामा कलम !

पारी पर्छ ढाँडेको उकालो । आँफै हिडेको सम्झन्छन उनी । कुन कता...........कुन कता..........! अलमल्लमा परेछन् क्यार उनी । धेरै पुरानो कुरा २०५३ सालको यात्राका टिपोट सबै गुगलबाट हेरेको जस्तो त कहाँ हुन्छ र । साहित्यको रसमा गुगल भन्दा कम छैन नेपाल घुम्न अक्षरबाट घामको चुम्बनमा । जे भए नि सम्झना हुनु ठूलो कुरा हो, गत्तिलो कुरा हो । एकपटक हँडिया तरेपछि फेरी इलाम सम्झँदै नसम्झने "इलामेली"हरु पनि छन कति त । नयाँघरेलाई साधुवाद ! मदनपुरस्कार विजेताले इलाम चिनाएकाछन् । धन्य इलाम !

काठमाडौंलाई जति गाली गरेपनि उनको साइनो काठमाडौंसँगै गाँसिएको छ । जन्मदिने र कर्मदिने आमाको कुरा हुँदा जन्मदिने भन्दा कर्मदिने आमा ठूली भन्ने चलन छ । इलाम उनको जन्मदिने आमा, काठमाडौं कर्म दिने । इलामबाट जोगमाई, हँडिया, अदुवा तरेर चारपाने हुँदै राजधानी नपुगेका भए सायद कहाँको नयाँघरे, कहाँको मदन पुरस्कार ! "दमन्ने सोत्तरका भारी बोकेर.......विरह लाग्दा गित गाइरहेका हुनसक्थे युवराज सुवेदी । दुध, आलुका भारी लादेर घोडा खेपिरहेका हुनसक्थे । बिहान एकभारी घाँस काटेर नन्दसर, देवीसर जस्तै त्यही विद्योदय प्रा.वि.मा पढाइरहेका हुनसक्थे युवराजसर । कहाँको न्युयोर्क........कहाँको मदन पुरस्कार............... कहाँको साहित्यकार ! त्यसैले त काठमाडौंको माया छ ।

"काठमाडौं प्यारो छ, प्रियदर्शी छ र पुलपुलिँदो छ । किनभने अनन्त मौका यसै ठाउँबाट पाएको छु मैले, अथाह ज्ञानभेलमा पौडन यहिबाट सिकेको हुँ मैले अनि जीवनवृतका अपार रहस्यहरु यसैठाउँबाट खोल्दै, खुस्काउँदै, खुकुल्याउँदै गइरहेको छु म । यसैले छोराछोरीको घोक्रे घर्ुर्की जस्तो छ काठमाडौंलाई मेरो गाली । मेरो गाली महानगरलाई एक अंश, मेरो माया महानगरलाई सय अंश ।" 'रामकलीको माइती देश' जाँदा सम्झनछन् उनी महानगरको महत्ता ।

उनको महानगर मायाले गाउँलाई सहानुभुति देखाउन सिकाएको छ की हेय ! असमञ्जसमा परेँ म घामको चुम्बनभरी, जहाँजहाँ उनी गाउँपुगे, जहाँजहाँ उनले गरिबी देखे, जहाँजहाँ पछौटेपन देखे बराबर बर्सिदिए सहानुभुति र खिसिट्युरीका शब्द । गाउँप्रतिको कस्तो दृष्टिीकोण । सबै शहरहरु कुनैबेलाका गाउँ हुन । धेरै शहरियाहरु कुनैबेलाका गाउँलेहरु हुन । सबै नयाँघर बनाएर बसेका ।

उनी लाग्छन् निक्कै रौसे, मिजासिला, फूर्तिला, स्वच्छन्दप्रेमी निबन्धकार । किताबभरी कर्हीकतै अनुभुत हुँदैन उनी मदनपुरस्कार विजेता ठूला साहित्यकार हुन । आफ्नै साथी जस्तो लाग्छन् उनी छेउमा बसेर यात्रा विवरण सुनाउँदै गरेको । यात्राप्रेमी, फरासिला, मिजासिला लाग्छन उनी ।

जति नै माया गरे पनि काठमाडौं शहर हो, शहरहरुको शहर हो । त्यो नगर हो, महानगर हो । "शहर पसेपछि पहिला मान्छेको संवेदना मर्छ ।" हो त ! प्रकृति पनि धेरै मर्छ र शहर हुन्छ । शहर भन्नु कृत्रिमताको राज पनि हो । कृत्रिमतामा व्यस्तता हुन्छ, दौडधुप हुन्छ भ्याइनभ्याइ हुन्छ, सास फेर्नेसम्म फुर्सद हुँदैन । स्वच्छता हुँदैन धुलो, धूवाँ र प्रदुषण हुन्छ त्यहाँ । उनी चाहन्छन् "एउटा बेग्लै शान्ति, बेग्लै आनन्द,  बेग्लै महशुसको सञ्चार" यहि शान्ति, यहि आनन्द,  यहि महसुसको सञ्चार खोज्दै पूर्व मेचिदेखि पश्चिम कालीसम्म  पुग्न भ्याउँदैनन् उनी । भारतले सीमा मिचेको पशुपतिनगर भद्रपुरदेखि कालापानी सम्म पुग्छन् उनी । आनन्द खोज्दै,  जीवनको रंग खोज्दै,  बाँच्नुको नयाँ अर्थ खोज्दै, भौतारिन्छन् उनी नेपालका धेरै ठाउँहरुमा ।

अवाक त भएकै छन् नयाँघरे काठमाण्डौको कूत्रिमता देखि दौडधुप देखि । जीवनको अर्थ खोज्दै उपत्यका नाघेर टाढाटाढा भौतारिएका छन् । "दुङ्नागढीमा दौडादौड" गर्छन् उनी घामको चुम्बनको अन्त्यमा  "जीवन कति निरिह छ हौ ।" लेकाली भीरमा हाँगा नुहाई घाँस झारीरहेकी आइमाइ देखेर जीवनको निरिहता महशुस गर्छन । प्रकृतिसँग लुकामारी खेल्दै बाँचेको जीवन निरह लाग्छ उनलाई । काठमाडौंको जाम, अफिस, घर- जाम, अफिस, घरको निरन्तरता जीवनको र्सार्थकता हो त - गाउँको श्रमलाई दुःख मान्छन उनी । गाउँकै श्रममा त पालिएको हुन्छ नि शहर । वास्तवमा गाउँको श्रममा उदासिनता हुँदैन, प्रकृतिसँगको मितेरी साइनो हो यो त । जीवनको र्सार्थकता पाउँछु म त यसैमा । घाँसका भारी, सोत्तरका डोका, दाउरका बिटा यसैमा अथाह जीवन पढ्न सकिन्छ । किन अधिकतर नेपालीले जीउने जीवनलाई निरिह मान्छन नयाँघरे -

कलम समाउन नसक्ने-कम्प्युटर थिचेर अक्षर बनाउने, हातले सिता समाउन नसक्ने-काँटाचम्चा चालउने, त्यो जीवन पो निरिह त । प्रकृतिसँग टाढिएको, छुट्टएिको, एक्लिएको । पुस्तकभरीको प्रकृत्रि्रेम ओठे भक्तिजस्तो हुन्छ कताकता ।

धान पाकेर पहेँलपुर भएको माडी फाँटलाई हेलो गर्न पाउँदा खुबै रमाउँछन उनी  तर  किन सम्झँदैनन् अथाह श्रम र पसिनाले उब्जेको छ त्यो । कति मेहेनतले सिर्जिएको छ । रातदिनको निरन्तर श्रमले उब्जिएको छ त्यो । प्रकृतिको त्यो सुरम्यता, सुन्दरता, भव्यता मानव श्रमसँगै गाँसिएको हुन्छ ।

प्रकृतिको सुरम्यतामा रमाउँदै, सुन्दरतामा हराउँदै, रोमाञ्चकतालाई पछयाउँदै तराइका फँटदेखि पहाड अनि गौरिशङ्कर फेदीमात्र होइन सगरमाथाको माथिमाथि सम्म उक्लिन्छन नयाँघरे । यो उनको यात्रा र जीवनको सिँढी हो सफलताको अर्थमा । उनी चढीरहुन सधैं ।

"चुत्रो, ऐँसेलु, काफल,पानीअमला फाट्टफुट्ट भेटिन्छन् । टिप्छु, चाख्छु र नयाँ  स्वाद ज्रि्रोमा राख्छु । पहाड डुल्नुको मस्ति यहि हो - पारख गर्न पाइन्छ प्रकृतिमा ।" 'हिलर्ेखर्कमा हाइसन्चोमा लेख्छन् उनी । साँचो की झूटो निक्कैबेर ठम्याउन खोज्दा पनि सकिँन । किन बेलाबेला तीर हान्छन् त उनी प्रकृतिसँग अंगालो मारेको गाउँले जीवनलाई (किन र्छछन त गरिबीमाथी नुनचुक उनी)

उनको दृष्टीकोण अल्झीरहेकाछन् उनी । प्रकृति, गाँउ की सुविधा, शहर ।

उनको जन्मभूमी उनले खोजेको प्रकृतिको सुन्दरता बोकेर पर्खिरहेछ यतिबेला उनको जन्मस्थान । कस्तुरी झैं कहाँकहाँ डुलीरहेछन नयाँघरे अलमलमा ।