“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह

Author : अशोक राई
Published on : October 10, 2012


  
अशोक राई

      के छ र बाँकी भन्न कस्तो छ जिन्दगी

अनुहार हेरे ऐना जस्तो छ जिन्दगी ।

 

अनुरागमा छरिन्छ फूलको पराग झैं

बैरागमा खरानी घस्तो छ जिन्दगी ।

 

देखिन्छ सप्रिएको काँहि त ख्याउँटे

जस्तो स्याहार पुग्छ त्यस्तो छ जिन्दगी ।

                                 -बुँद राना

 

धेरै भईसक्यो गजलकार बिष्णुनन्द चाम्लिङको गजल संग्रह अन्तरमनको चित्र हात परेको । केही त लेखौं भन्ने लागेकै हो । तथापी समयले साथ दिएको थिएन । मलाई लाग्छ हङकङमा अन्तरमनको चित्र नै प्रथम पटक प्रकाशित विशुद्ध गजल संग्रह हो । गजलप्रेमी भएकोले हङकङमा गजलको चहल पहल बारे मनमा चासो भईरहन्थ्यो । गजल लेखक र गजल पाठकहरु दुवैको अभावले पनि होला यहाँ गजलको उल्लेख्य चहल पहल हुँदैन । हङकङमा केही वर्षअघि आषिश साम्पाङ्ग र उमेश अकिञ्चनको संयुक्त गीत तथा गजल संग्रह प्रकाशित भएको थियो । त्यसपछि मेरो पाँचवर्ष बसाईको अनुभवमा एकदमै फाट्टफुट्ट रुपमा प्रकाशित भएका केही फुटकर गजल बाहेक यहाँ गजल समन्धि न कुनै कार्यक्रम भयो न कुनै छलफल या गोष्ठि नै सम्पन्न भयो । यस परिप्रेक्षमा गजलकार बिष्णुनन्द चाम्लिङको परिपक्क गजलहरुको संग्रह अन्तरमनको चित्र प्रकाशनमा आँउदा मन निकै प्रफुलित भयो । यसले हङकङको गजल साहित्यमा इतिहास नै कोरेको छ ।

गजल इशाको दशौं शताप्दीको  मध्यतिर अरबी भाषामा इरानमा जन्मेको हो । इरानी कवि रौदकी यसका जन्मदाता हुन् । बाह्रौं सताप्दीको उतर्रार्धतिर मुस्लिम शासकहरुको प्रवेशसँगै गजल भारत प्रवेश गरेको मानिन्छ । पन्ध्रौं सताप्दीमा बिकसित भएको उर्दू भाषाले गजलको बिस्तृत बिकास गर्यो । नेपाली गजलको इतिहासलाई हेर्दा भने करिब यसले सय वर्ष पार गरिसकेकोछ। मोतिराम भट्ट लगायतका एउटा समूहले भारतमा अध्ययन गरि र्फकदा गजल पनि नेपाल भित्राएका थिए । बि. . १९५१ मा प्रकाशित मोतिराम भट्टको गजल संग्रह संगीत चन्द्रोदय नै नेपालको पहिलो गजल संग्रह हो । त्यसै गरि नेपाली गायक सेतुरामले उनकै गजल यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् लाई पहिलो पटक संगीत र स्वर दिएका थिए । त्यस पछि भिमनिधी तिवारी, शम्भु प्रसाद ढुंगेल र उपेन्द्र जिगरले नेपाली गजललाई अगाडि बढाए । बि सम्बत २००० देखि चालिसको दशकसम्म भने नेपाली गजलको बिकास मृतप्राय रहयो । त्यसपछिको समयमा ज्ञानुवाकर पौडेलले नेपाली गजल लेखनलाई पुनरजागृत गराए । मनु ब्राजाकी, बुद राना, घनश्याम परिश्रमी, कृष्णहरि बराल, ललिजन रावल तथा बिजय सुब्बा जस्ता गजलकारहरुले नेपाली गजललाई समृद्ध बनाए । घनश्याम परिश्रमी र कृष्णहरि बरालले नेपाली गजलमा विध्यावारिधी नै गरे ।

गजल एक यस्तो साहित्यिक बिधा हो जस्ले गायनसित पनि समन्ध राख्छ । त्यसैले यो लयबद्ध, सरल र प्रतिकात्मक हुनु पर्दछ । साथै यस्मा काफिया, रदिफ, मतला, सेर, मकता, तखल्लुस र बहर जस्ता तत्वहरुको उपस्थिति हुने गर्दछ । त्यसकारणले गर्दा गजल लेखनका लागि सामान्य नियमको अनुसरण गरिनु अनिवार्य छ । माथि उल्लेखित काफिया, रदिफ, मतला, सेर, मकता, तखल्लुस र बहर मध्ये रदिफ, काफिया, मतला, सेर र मकता अनिवार्य जस्तै लागु हुन्छन् । बहर भनेको लय हो यसको छन्द नियम पनि छ । नियम बिनापनि लय आउन सक्छ । गजलमा यो पनि अनिवार्य जस्तै हो किनकी लय घात भयो भने गजल मीठो हुदैन । तर कहिलेकाही रदिफ र तखल्लुस नभएपनि गजल भने हुन्छ । यी सबै तत्वहरु समावेश भएको गजल नै पुण गजल हो । उदाहरणको लागि यहि संग्रहको एउटा गजल हेरौं ।

 

पिरतीको डालीमा फल्दै थियो जिन्दगी

घामजून ढल्के झै ढल्दै थियो जिन्दगी

 

बर्खे झरी बर्सेर बग्दा सुन्दर बगैंचा,

कछुवाको चालमा चल्दै थियो जिन्दगी

 

कति चढें उकाली पुग्नु थियो गन्तब्य,

बोकी हलो कोदालो गल्दै थियो जिन्दगी

 

रुँदै थियो गोधूली दोबाटोमा बसेर,

कालो रङग भावीले दल्दै थियो जिन्दगी

 

इच्छा थियो 'बिष्णुको हेर्ने नयाँ बिहानी,

बाक्लो हुस्सु उठेर छल्दै थियो जिन्दगी

 

छोटकरीमा माथिको गजलमा आएको फल्दै, ढल्दै, चल्दै, गल्दै जस्ता अनुप्राश मिलेका शब्दहरु काफिया हुन् । गजलको महत्वपुण (अंग-मुटु) नै काफिया हो । काफियापछि दोहोरिएर आउँने थियो जिन्दगी भन्ने शब्द रदिफ हो । गजलमा भएका प्रत्येक दुई दुई पंक्तिहरु शेर हुन् । गजल सामान्यतया चार देखि पाँच शेर सम्मको लेखिने गरिएको छ  त्यसमा आरम्भको दुर्इ पंक्ति मतला हो जसको दुवै पंक्तिमा काफिया आउनु जरुरी छ । अन्तिमको शेर मकता हो जहाँ गजलकारको नाम जोडिएको छ जस्ले गर्दा यो तखल्लुस सहितको मकता हो । गजलमा भएको लय नै बहर हो ।

अब अन्तरमनको चित्र गजल संग्रहमा भएका गजलहरु, त्यसका संरचना, बिषय बस्तु र सौर्न्दर्य जस्ता कुराहरुको बारेमा छलफल गर्दा मैले यस संग्रहमा भएका गजलहरुलाई तिन क्याटोगोरीमा राखेर त्यसमा परेका गजलहरुलाईमात्र अंशगत हिसाबले उठाएकोछु । जुन यसप्रकार छ ।

गित, गजल या कवितामा लेखकीय जीवनको अनुभुती प्रसस्तै आउँछन् । भोगाइ र अनुभवलाई लेखकले पोख्ने माध्यमपनि हो साहित्य । माथि उल्लेखित गजलमा गजलकार बुँद रानाले पनि जिन्दगीको बारेमा रमाइलो चर्चा गरेका छन् । यस संग्रहमा जीवनबोध र छट्पट्टी पोखिएका केही गजल यस प्रकार छन् ।

 

सपनीमा चितासँगै बल्दाखेरी रोएँ

बिपनीमा नियतीले छल्दाखेरी रोएँ

पर्खिबसे बशन्तको आगमन मैले

यौवनमा चैते हुरी चल्दाखेरी रोएँ

.....................

 

घिसार्दैछु जिन्दगी

धिक्कार्दैछु जिन्दगी

मनको पीर सहदै

निखार्दैछु जिन्दगी

......................

 

पाइलैपिच्छे लडेपनि अघि बढ्न सिकेकैछु

बिपनीमा हारे के भो सपनीमा जितेकैछु

हातै रितो काधै रितो रातोदिन काम गर्दा

आधा पेट जुटाउन पसिनाले भिजेकैछु ।

.......................................

 

 यहाँ प्रस्तुत प्रथम गजलमा नियतिको मार र जिन्दगीले दिएको निरासाको भावोक्ती छ भने दोश्रो गजलमा धिक्कार्दै भएपनि घिर्सार्नुपर्ने जीवनको बाध्यतालाई पोखिएकोछ । अनि तेश्रो गजलमा जिवन असफलताहरुमापनि सम्हालिनुपर्ने र पेटको लागि रात दिन पसिना बगाउनु पर्ने बाध्यतालाई प्रस्फुटन गरिएको छ ।

देश, समाज र संस्कृति प्रेम समन्धी केही गजल हेरौं ।

 

कोर्न सकौं सेतो हिमाल आफ्नै छातीभित्र

कुरीतीको मार्ग रोक्ने अन्तरमनको चित्र

(भाइचारा, मेलमिलाप, सद्भाव र प्रेम)

 

ढाका टोपी नेपाली भेषको माया लाग्छ

मुटुभरि हाँसेको देशको माया लाग्छ ।

(संस्कृति र देश प्रेम)

 

धमिलो आकाश नेपालमा

छाएको निरास नेपालमा

(देश प्रेम)

 

पर्खिदैछु कुरेर ऊ आउँने बिहानी

पर्खिदैछु खुसीले रमाउँने बिहानी

(सुदिनको आशा)

 

किन अचेल मानिसमा धर्म हराउँदैछ

   किन अचेल मानिसमा कर्म हराउँदैछ

   मिली बस्थे समाजमा मिली काम गर्थे

   किन अचेल मानिसमा पर्म हराउँदैछ ।

   (सामाजिक बिचार र मेलमिलापको खाँचो)

 

यो संग्रहभित्रका धेरै गजलहरुमा देशप्रेम, जन्मभुमीको प्रेम, भाषा र संस्कृतिपे्रम, भाइचारा र मेलमिलापको आग्रह, सामाजिक भावना तथा सद्भाव पोखिएका छन् । माथिका गजलहरुमा सो कुरा प्रष्ट देखिएकैछ । झ्याउरे छन्दमा लेखिएको यो गजलमापनि नेपालीलाई विश्वमा चिनाउँने चाहनाका साथै जहाँ गएपनि साकेला र देउसी भैलोको तिर्सना मनमा रहोस् भन्ने सुन्दर भावना पोखिएकोछ ।

 

भेटियोस जतै नेपाली जन बिश्वमा फैलेको

नभेटुँ कतै त्यो भित्री मन स्वार्थले मैलेको

जहाँ म जाउँ बिरानो ठाँउ परन्तु नेपाली,

तिर्सनासधैं साकेला शिली देउसुरे भैलेको ।

 

बहर नियममा लेखिएको अर्को सुन्दर गजलमा पनि मायालुको माया जस्तै उकाली ��"राली अनि सिरेटो र पानी सबै राम्रो र मीठो भन्ने भाव पोखिएको छ ।

 

तिमीले चुमेको बिहानी छ मीठो

फूलेको गुलाबी जवानी छ मीठो

उकाली बिसौनी बिसाँए म यात्री

यहाँको सिरेटो र पानी छ मीठो ।

 

यो संग्रहमा श्रृंगारुकि गजल त्यति धेरै छैनन् । जति छन् ती सबै सालिन छन् । प्रणय गजल लेखिने नाममा उछ्रिङखल शब्दहरु अनि यौनप्रधान भावहरु भर्ने लेख्ने काम कतै पनि भएको छैन । प्रणय भावका केही  मीठा गजलहरु हेरौं ।

 

गरेको छु आश त्रि्रो भन्थिन उनीले

यो  मुटुमा बास त्रि्रो भन्थिन उनीले ।

(मायालुको प्रेम)

 

लथालिंङ्गै वैश पोख्यौ जवानीमा दाग लाग्यो

थियो हाम्रो प्रेम चोखो निसानीमा दाग लाग्यो ।

(धोका)

 

दुखाएर तिम्रो मुटु हाँस्न कहाँ सक्छु

यो छातीमा अरुलाई टाँस्न कहाँ सक्छु ।

(र्समर्पण)

 

ब्याड् बनाई अक्षरहरु छरुँ छरुँ लाग्यो

शब्द थुँगा गाँस्दै संगित भरुँ भरुँ लाग्यो ।

(रोमान्चीत प्रेम)

 

सामान्यतया गजलमा करुणा, प्रेम, छट्पट्टी, रतिराग, बेचैनी र आहतमनका स्वरहरु समेटिएका भए पनि आजको गजलले जीवन र जगतका तमाम बिषय बस्तुलाई उठाउँदै आएको छ । जस्तो उदाहरणको लागि गजलकार बिष्णुनन्द चाम्लिङका गजलहरु । यो संग्रहमा भएका सबै गजललाई एक एक केलाएर हेर्न धेरै समयपनि लाग्ने अनि सानो समीक्षामा सबै पक्षको चर्चा परिचर्चापनि नअटाउँने भएकाले मैले यसमा रहेका धेरै गजलहरु र बाकी पक्षलाई छोडेकोछु । यस संग्रहमा भएका प्राय सबै गजलहरुलाई सुन्दर कोटीका गजलमा राख्न सकिन्छ । गजलकार बिष्णुनन्द चाम्लिङ स्वभावले पनि सालिन, मृदुभाषी र बिनोदपृय ब्यक्ति भएर होला उनका गजलपनि त्यस्तै छन् । गजलको राम्रो ज्ञाता र बहर नियममा समेत गजल  लेख्ने खुबी भएकाले पनि उनको गजलहरुको संरचनामा खासै दोषहरु भेटिन्न । अर्को कुरा कृतिकार गायक र गितकारपनि भएकाले गजलको संरचनामा बिशेष ध्यान दिएको हुनुपर्छ । यस संग्रहमा भएका धेरै गजलहरु गायनयोग्य पनि छन् । खासगरिकन जिवनका उतारचढाव र देशप्रेम अनि गाउँ घरको माया, सामाजिक चेतना र परिवर्तनको चाहना जस्ता विषय वस्तुमा गजल लेखिएकोछ ।  गजलको भाषा शिल्प सबैलाई मन पर्ने प्रकृतिको छ । शब्द चयन र भाषा परिपक्क लाग्छन् । यसमा जम्मा एक सय वटा गजलहरु छन् । केही गजलहरु बहरको नियममा पनि लेखिएकाछन् । करिब पाँचवटा गजलमा रदीफ छैन । तखल्लुस एक ठाँउमा मात्र छ । केही गजल तीन शेरका छन् । काफियाको प्रयोगमा सजगता अपनाइएको देखिन्छ । तथापी केही गजलमा शुद्ध काफिया भने छैन ।

यद्धपि नेपालमा सबैभन्दा बढी लेखिने र पढिने बिधा भएरपनि गजल अझै उपेक्षित अवस्थामै छ । गजलकार बिष्णुनन्द चाम्लिङका मीठा गजलहरु सबैले पढुन् । गजलकारलाई बधाइ र सफलताको शुभकामना एकसाथ ।