'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै

Author : चन्द्र मादेन 'आन्छन्‌'
Published on : August 04, 2012


  
चन्द्र मादेन 'आन्छन्‌'

गेडी बिधाका सर्जक गजलकार बिष्णुनन्द चाम्लिङ्ग हङकङको पहिचान बनाउँन सफल हुँनुभएको छ । हङकङको ब्यस्त ठाउँमा रहेर पनि आज वहाँको नयाँ कृति 'अन्तर्मनको चित्र' हामी साहित्य अनुरागीहरूको हात-हातमा पारेर एकैछिन भएपनि छाम्न, गुन्न र भुल्न पाउँनु पनि निसन्देह सबैको निम्ति खुशीको कुरो हो ।

यसलाई मेरो नाङ्गो आँखाले दोहोर्याइ अध्यायन गरेँ । यसको एउटा बिषेशता घटिबढी नगरि एकमुष्ट एकसयवटा शिर्षकमा टक्रक्क संग्रह निकाल्नु सम्भवत कथा, कविता र गजल बिधामा यो नै पहिलो हुनुपर्छ । पछिपछि त सायद अरुले पनि यस्ता कार्य गर्लान्, तर शुरुमा गर्नेको छुट्टै स्थान हुन्छ । यो वहाँको सफल र फरक पहिचान हो भन्दा अत्युक्ति नहोला । वहाँको यो 'अन्तर्मनको चित्र' उत्सर्गहरू भित्र प्रत्येक गजलमा सुन्दरता त छँदै छ तिनीहरू सबैको दुई-दुई लाइनका हरफहरू छुट्याइएका  छन् भने, प्रत्येक शुरु समुह 'हरफ'को छन्द र बिषयबस्तु स्वर मिलेको छ । शिर्षक अनुसार मर्मस्पर्शी बिम्ब मीठो सायरीको पहिलो लहर केवल बिषय बस्तु मिले पनि प्रत्येक समुहको दोस्रो जति सबै छन्दात्मक माथि शुरुकै लहर जस्तो मिल्नुपर्ने यो गजलको संरचना पक्षको यौटा पहिचान पनि हो ।

अधिकांस गजलहरूमा वहाँले शतप्रतिशत बिस्वास गर्नु भएको मायालु प्रियसीबाट पाउँनु भएको अनपेक्षित धोकाले बेचैन हुनुभई पीडा र बियोगको दुर्दान्त वर्णन गर्नुभएको छ । उता आफ्नो जीवन र कर्म दिने नेपाली माटो राष्ट्रप्रति पनि उतिकै मायाका उद्गारहरू पोख्दै देश र जनताप्रति गर्नुपर्ने दायित्वबोधलाई बिर्सनेहरूलाई फलाम झैँ गह्रुङ्गो कलमले दह्रोगरि झापट हान्नुभएको छ, यसरी:

ढाकाटोपी नेपाली भेषको माया लाग्छ,

मुटुभरि हाँसेको देशको माया लाग्छ.....(ढाकाटोपी चौबन्दी)

 

स्वागत गर्छु तिमीलाई लु आऊ नयाँवर्ष

हाँसोखुशी उमङ्ग नि लु ल्याऊ नयाँवर्ष      

 

कुर्सी मोह त्यागी मन वैमानी नेतालाई,

विकास गर्ने खेलतिर भुलाऊ नयाँवर्ष......(नयाँ वर्ष)

चर्चा गर्नै पर्ने वहाँका गजलहरू थुप्रै छन् । सबैको सबै विवरण प्रस्तुतिनु यहाँ सम्भव हुँदैन तथापी अहिलेको हाम्रो मुलुकको प्रमूख जल्दोबल्दो समस्या, नेताहरूद्वारा संबिधान बनाउँनुपर्नेमा उल्टो संबिधानलाई गल्छेडोको खाडलभित्र डुबाइ बिदेशी शक्तिको पिच्छलग्गु भै देशको प्रमूक नदीनालाहरू बेच्ने खुरापाती दलालहरूलाई यसरी दिनुहुन्छ दनक:

'लुकाएर संबिधानको धारा खोज्छौ किन ?

लेख्ने अक्षर कलमले आरा खोज्छौ किन ?

 

जनताको शान्ति खोसी पार्यौ बिरक्तिमा,

दुखाएर सर्वभौम नारा खोज्छौ किन ?      

 

बिदेशीको काँधचढी चढ्यौ सगरमाथा,

सुकाएर नदीनाला रारा खोज्छौ किन ?'...... (संबिधानको धाराबाट)

 

'बिदेशीको बत्ती भन्दा हाम्रो  जूनतारा सुन्दर,

ठूला महासागर भन्दा नेपालीको रारा सुन्दर

 

बाँकी के पो छ र अब १ नदीनाला बेचिसके,

भन्नै पर्यो नदी भन्दा यही ढुङ्गे धारा सुन्दर ।'...... (जूनतारा)

संसारमा धेरै कलझगडा लडाइँ निरन्तर चलिरहेको छ । त्यसमा पनि जाति-पाती र धर्मका अनुयायीहरूले नै गर्दा वैमनस्यता सिर्जना गरेकका छन् । उनीहरूद्वारा नै यस्ता असमान्ताका पटाक्षेहरूलाई प्रश्रय दिएका छन् । यसैले वहाँ सर्जक मानविय समबेदनशिल सन्देशमूलक बिमुग्ध गजल कोर्नुहुन्छ यसरी:

'आऊ सबै अघि बढौँ रोजौँ गन्तब्य,

त्यागी  दिउँ वैरभाव आजै निकाली ।

 

बाधाबन्धन हामी बिच जात धर्मको,

फाल्नुपर्छ अलझाउँने जालो निकाली ।'...... (हामी नेपाली)

आफ्नो मात्रीभूमी नेपाली माटोप्रति गजलकारको अघात माया छ, त्यो अमीट मायाको दुर्दान्त वर्णन गरेर यहाँ साध्य छैन । गजलमा स्वादिलो अलङ्कारहरूको लहरीमा देश प्रेमको अर्तनाद यसरी अभिब्यक्त गर्नु हुन्छ:

भेटियोस जतै नेपाली मन विश्वमा फैलिएको,

नभेटुँ कतै त्यो भित्री मन स्वार्थले मैलिएको ।...... (नेपाली)

 

संसारलाई मेरो नेपाल चिनाउँने चाहना छ,

सगरमाथा हेर्दै सलाम गराउँने चाहना छ ।

 

गौतमबुद्व जन्मिएको गाउँठाउँ अन्तै भन्छन्,

सारा झुटा अभिलेख मेटाउँने चाहना छ ।...... (मेरो नेपाल चिनाउँने)

गजलकार चाम्लिङ्गको गजल गहिरिएर अध्यायन गर्दा वहाँ कुनैदिन अन्धोभक्त भएर महासागरको गहिराइमा डुब्नुभए झै  प्रेममा लिप्त भएर चुर्लुम्म डुब्नु भएको थियो । वहाँले प्रियसीप्रति गर्नुभएको चोखो माया, त्याग र समर्पण यो  दृष्टान्त हृदयबिदारक गजलले जो कोहीलाई भावुक र समबेदनशिल बनाउँछ । यो वहाँको 'अन्तर्मनको चित्र' साँचै हृदयभित्र थुप्रिएको मायालुप्रति ममताको ह्रास तिक्तताका अर्तनादहरू नाप्ने कुनै यन्त्र हुन्थ्यो भने त्यसले कुनै हालतमा मापन गर्न सक्दैन थियो । वहाँको सहयात्रीले वर्लिनको पर्खाल तोड्नु अघि गजलकारले शुरुमा यसरी मुग्ध पार्नु (पट्याउँनु) भएको रहेछ:

फुलबनि तिमी फुल्दा पात बन्न सकिन,

सौन्दर्यको बयान गर्ने बात बन्न सकिना  ।...... (फूलबनि तिमी फुल्दा)

 

दुखाएर तिम्रो मुटु हाँस्न कहाँ सक्छु,

यो छाँतीमा अरुलाई टाँस्न कहाँ सक्छु ।

 

तिमीलाई नै जिन्दगीमा मैले मनपराएँ,

अरुसँग लगनगाँठो गाँस्न कहाँ सक्छु ।...... (हाँस्न कहाँ सक्छु)

हरेक जीव प्राणीको निम्ति सृष्टिको शुरुवातदेखिनै चल्दै आएको प्रकृतिको अनमोल बरदान सम्भोग हो । असीम प्यास मेटाइ तृप्त बनाउँने यो स्वादको साधनलाई अबमूल्यन नगरी स्वच्छ सकरात्मक प्रेमीलो सोचले सदुपयोग गर्नु पर्छ नै भन्ने हेतुले अमीट बिम्ब र अलङ्कारहरू जोड्दै गजलकार चाम्लिङ्ग बिमुग्ध मदहोस भएर यसरी अन्तर हृदयको पोको फुकाउँनुहुन्छ:

त्यो पलको छल मीठो साँचेकोछु सम्झनामा,

त्यो दलको फल मीठो साछेको छु सम्झनामा ।

धाए कति त्यो पँधेरी प्यास मेट्न खडेरीको,

त्यो थलको जल मीठो साँचेकोछु सम्झनामा ।...... (त्यो पलको छल मीठो)

 

लाखौँ तारा उदाउँदा नि अपुरै भो जूनबिना,

शब्द हजार जुटाए नि अपुरै भो धुनबिना ।

गर्मीयाम अमिलोको परिकार खाने इच्छा,

र्र्याल जति चुहाए नि अपुरै भो नूनबिना ।...... (अपुरै भो)

 

गर्मी बढी प्रचण्डै भो ताप गोधुलीमा,

आऊ मिली रुझौँला  बर्षात मञ्जुरीमा,

मनको कुरा मिलेमा सन्ताप छैन केही,

सिन्दुरको दिऔँला सौगात मञ्जुरीमा ।...... (चुमौला मञ्जुरीमा)

यतिसारो अपार बिश्वास र भरोसा गरिएको प्रेम संगिनीले जब अप्रत्यासित गजलकारको मुटुमा तिरैतिरले रोपेर धोकाको पर्खाल तेर्स्याइन, त्यो दुर्दान्त बर्णनक गरेर यहाँ साध्य छैन । तब वहाँ यस्तो अनिष्टताले बिरक्तिएर पीडाको यो बियोगी भाव यसरी छताछुल्ल पारेर पोखाउँनु हुन्छ:

दिलको दियो निभेपछि झेलैझेल भयो,

मनको बाँध फुटेपछि भेलैभेल भयो ।

पिरतीको मोटो डोरी बाटीएको ठाँने,

त्यही डोरी बेह्रिएर नेलैनेल भयो ।...... (दिलको डोरी)

 

अँगालोमा बाँधिएको नाटक गर्नु रैछ,

सोचेँ नजर जुधाएको आँखा त्रनु रैछ ।

देख्थेँ ऐना चर्किएको सपनीमा सधैँ,

तिम्रो सिउँदो अरुले नै रङ्ग भर्नु रैछ ।...... (अँगालोमा बाँधिएको)

 

मरेको थेँ सपनीमा मलामी आफैँ थिएँ,

चितामा थेँ दागबत्ती सलामी आफैँ दिएँ ।...... (मलामी आफैँ थिएँ)

स्रष्टा बिष्णुनन्दको गजलहरूमा बडो सटिक ढङ्गले तख्खलुसको प्रयोग प्रयोग भएको पाइयो । आफूले सबै भन्दा ठूलो आशा गरिएको मान्छेबाट अजङ्गको बज्र प्रहार भएपछि तिक्तता र बेदनाका भाव यसरी ब्याक्त गर्नु भएको छ:

इच्छा थियो बिष्णुको हेर्ने नयाँ बिहानी,

बाक्लो हुस्सि उडेर छल्दै थियो जिन्दगी ।...... (पिरतीको डालीमा)

 

लाली जोभान ढल्किएर पर्दा खडेरीमा,

हरे 'बिष्णु' महादेब भन्दै करायौ रे ।...... (मेरो तस्वीर)

 

'दोष दिई बिष्णुलाई निर्दोष आफू बन्न खोज्यौ,

पाली मन शान्त पार्न गाली चिठ्ठी लेख्या रैछौ ।...... (चिठ्ठी लेख्या रैछौ)

सर्जक चाम्लिङ्गको दृष्टिमा यो समाज भित्र कैयौँ त्यस्ता देखावटी सफेद सुट बुट कसेर हिँड्ने पदलोलुपता, खुरापाती भाईरसहरू अत्यन्तै स्वार्थले लिप्त भएका छन् । र उनीहरू आफ्नो भिरूङ्गी रुप ऐनामा हेरेर आफैँ मख्ख पर्छन् । तर त्यो भन्दा भित्री सुन्दर महान विचार बोक्ने कमसल खाने र पहिरिने नै हुन्छन् भनेर त्यस्ता कुतत्व कुविचारक ठालुलाई यसरी प्रहार गर्नुहुन्छ:

स्वार्थी जो छ समाजमा गर्छ फुर्तिफार्ती,

कालो मन सेतो लूगा ओडिएको भ्रम हो ।

दायाँबायाँ छायाँ उस्तै बिम्ब प्रतिबिम्ब,

ऐना हेर्दा उल्टो दिशा मोडिएको भ्रम हो ।

कैलेकाहीँ आफ्नै छायाँ आफैँ चिन्न गाह्रो,

फर्किहेर्दा टाढा जान्छ छोडिएको भ्रम हो ।...... (जोडिएको भ्रम हो)

मायाप्रेम, बेदना बियोग, राष्ट्रभक्ति चेतना, चेलीप्रतिको असिम श्रद्वा, सन्देसमूलक आदि खुराकहरू सर्जक चाम्लिङ्गको यो 'अन्तर्मनको चित्र'मा भरपुर पाउँन सकिन्छ । यी सबैको टिप्पणी गरेर साध्य छैन । सर्जकले चलाउँनुपर्ने कलम सारगर्भित तिखारिएको शिल्पी हातद्वारा लेखिएको यो सफल गजल संग्रह मान्न सकिन्छ । भित्र प्रुफहरूमा सम्पादकलाई अब्जस लगाउँने रत्तीभर तुष छैन । पुस्तकको आवरण सज्जा र आवरण पछाडिको टिप्पणी सन्तोषजनक छन् भने, मुनाफारहित केवल एचके डलर २०।- तिरेर पढ्दा पैसा कुनै हालतले खेर नजाने बरु प्रत्येक पाठकले रसस्वादनको अनुभुत गर्नेछन् ।

अन्त्यमा गजलकार स्रष्टा बिष्णुनन्दा चाम्लिङ्गलाई यस्तै सृजनशील कलम चलाउँने आदत यसरी नै अझ द्रुतगतिको रफ्तारमा अघि बढोस भन्दै यति ठूलो उन्नति गर्नु भएकोमा यहाँलाई अन्तर हृदयदेखि नै हार्दिक हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दछु ।