मनको शहर

Author : अशोक राई
Published on : July 30, 2012


  
अशोक राई

तिमीलाई भेट्न

तिम्रै छेउ भएर

गुज्रीरहँदा

अन्तरभित्र फक्रीएको उमंग

मनको अतृप्त भावना

कवितामा पोख्न मनलाग्छ

बिना एजेण्डा

बरालीन मन लाग्छ

मानौं यो

बिना निम्तो लुसुक्क

कुनै समारोहमा छिरेको क्षण होस्

या कुनै भिडभित्रको

नीरर्थक उपस्थिती होस्

तथापी खुसी हुन्छु

केवल तिम्रो भेटमा

ए ! मेरो मनको शहर,

 

तिमी तिम्रै दूनीयाँमा

कहाँ हराएको हुन्छौ

म भने महलहरुको सामाज्यभित्र

आफैलाई लुकाउँदै

चहल पहलको ब्यस्तताभित्र

तिमी सितै लुकामारी खेल्दै

आफ्नै आगमनको

बेस्वाद आभाष लुकाएर

नव दुलही झै

आफैसित लजाई रहन्छु

तथापी म खुसी हुन्छु

भित्र भित्रै रोमान्चीत हुन्छु

म देखि बेखबर

ए ! मेरो मनको शहर,

 

तिमी आधुनीकताको प्रतीक

परम्पराको बिरोधी

समय इतरको कित्तामा

तिमी डिजीटल जीवन बाँच्दछौ

तिमीमा मैले खोजेको भावूकता

मैले खोजेको अपनत्व

मैले आशा गरेको तिम्रो मन

रहेन केहीपनि

म तिमी जस्तो भइनँ

तिमी म जस्तो भएनौ

नयाँ मान्यताहरुमा

हाम्रो सामञ्जस्य खै कहाँ मिल्दैन

तथापी

तिमी सुन्दर छौ

तिम्रो रुपको गुलाम छु म

ए ! मेरो मनको शहर,

 

म लीकासिंङ्गको सपना हुर्काउन

उस्का अग्ला बिल्डीङ्गसितै उभिएको हुन्छु

घडीको सुइ भएर

एक रोबोट्को अभिनयमा

निस्पृह समबेदना बाँच्नु छ दुई तिहाई समय

तर पनि तिमी उत्कृष्ट छौ मेरो लागि

ए ! मेरो मनको शहर,

 

अनन्त मानव पदचाप भित्र

हराउँछन् मेरा पाइला

म खोज्दछु आफूलाई

ग्लोबल बस्तिको

मानव घनत्व भित्र

हिसाब लाएर सुतिएका निन्द्रा

बेचिएका बाँकी समय

हृयुमिडिटीले बाफिएर

तनाबग्रस्त हिँड्छन् दिन

गुज्रीन्छन् जागा रातहरु

तरपनि गुल्जार छौ तिमी

तिम्रो मायाबी आकर्षणले

तानिएकै छु म

ए ! मेरो मनको शहर ।