मृत्यु फरवार्ड

Author : युवराज नयाँघरे
Published on : July 02, 2012


  
युवराज नयाँघरे

शोकका खबरले भरिएको छ मेरो इमेल बक्स !

   जीवनकै अङ्ग भएको छ-सूचना । आँखाले पाना पल्टाउने अखबारभन्दा हातले माउस चलाउने प्रविधिमा सूचनाको सेरोफेरो बलियो भएको छ हिजोआज । भव्य र खर्चिलो नभए पनि साधारण खालको ल्यापटपले आकुलव्याकुलमा साथ दिइरहेछ मलाई । भनौँ न, नजिकको साथी !

   बिहान र बेलुका । खबर पढ्ने र जान्ने ध्याउन्नमा कम्प्युटरसँग बसाउठी हुन्छ मेरो । एकदेखि सुरु भएर दुइ वा तीन घन्टासम्म सूचनाको अँगालोमा समय खर्चिन्छु । स्वभाविक दिनचर्या जस्तो ।

   अचेल मेरो इमेल बक्समा चाङ छ मृत्युका खबरको ।

   मृत्यु स्वयम्मा अन्तिम बिसौनी । यो अन्त्य हो-जीवन गतिको । पूर्ण समाप्तिको यो खबरले भरिभराउ मेरो इमेल नयाँ सूचनाको चाहनामा छ, पर्खाइमा छ र व्यग्रतामा छ । अक्षरको भाषालाई संयम भएर हृदयभित्र नचाउँछु म ।

   मलाई माया गरी यो सूचना पठाउनेहरुलाई ख्याल गरिरहेको छु खबरैपिच्छे । नेपाल होराइजन्स, डिसि नेपाल वास्तबमै मृत्युका निम्ति सन्तप्त समाज ब्युँझाउन खटिएका छन् अहोरात्र । मरेका मान्छेका नालीबेलीमा तिनको तेस्रो आँखाले खोजबिन गरिरहेकै हुन्छ । पुस्तौनी कथासँगै आजको हालचाल भनिरहेका छन् थुप्रै अनलाइन पत्रिकाहरु ।

   फरवार्ड गरिएको हुन्छ इमेल ।

   मैले कहिल्यै नदेखेका अनुहारको समाप्तिबारे बोलेका हुन्छन् ती इमेलले । मैले कहीँ पनि नभेटेका ज्यानको निधनबारे बताएका हुन्छन् ती इमेलले । मैले कदापि नसम्झेका शरीरको अवसानबारे फलाकेका हुन्छन् ती इमेलले । मृत्युको फरवार्डमा अनाहक मन पाक्छ मेरो ।

   इमेलले बोलेको हुन्छ-'मृत्यु !'

   अझ प्रशान्त र आन्ध्रमहासागरको अँगालोमा बसेको अमेरिकाको धर्तीबाट मृत्यु बोकेर आएको इमेलले मलाई बनाउँछन् हायलकायल । मेरो अधिक समय बित्छ तिनको मरणले कोरकार गरेको करुणा र कौलासामा । मेरो धेरै समय बित्छ तिनको निधनले थला पारेको परिवार र आफन्तको ख्यालमा ।

   इमेलले बताएको हुन्छ-अमुक विद्यार्थी मरेको छ ।

   मेरो विद्यार्थी त होइन नि ऊ ! तैपनि मेरा भाइबहिनी वा छोराछोरी उमेरका कलिला विद्यार्थीको मृत्युले एक पटक बूढो शिक्षकको चस्मामा उभिएको उही छविको चरित्र रुन्छ घुँक्क-घुँक्क । सिक्ने र अरु नयाँ संसारको गहिर्राई र सतहमा दगुर्ने आकाङ्क्षा रोकिन्छ एकपटक फेरि । त्यही कुरामा हैरान हुन्छु म । नभेटेकै अनुहार भए पनि बलिया र उमेरदार चरित्र सम्झेर पुलकित हुन्छु म । ती यतिखेर कुनै कार दुर्घटना वा अश्वेतहरुको हमलामा मारिएका छन् । बन्दुक तकाइ वा घातक हतियारका निशाना भएका छन् ।

   सूचनाको त्यो आहत घोचाइले भरङ्ङ पार्छ मलाई घरीघरी ।

   शिक्षाको सिँढी चढ्न ती गएथे । हो, सजिलै र सहजसँग पुगेका होइनन् ती । कति धेरै कष्ट र चुनौतीमा परे ती । कति धेरै विपत र थिचाइमा घेरिए ती । हो, पुग्नु मात्र पूर्ण होइन । पुगेर पाएको चोटभन्दा मारिएको खबरले यतिखेर मलाई घेरेको छ सँधैको अपूर्णताले । उफ्, हरिबिजोगको कथा !

   खबरमा श्रृङ्खला छन् मृत्युपछिका परिस्थितिहरु ।

   उसलाई जलाउनुपर्ने, गाड्नुपर्ने, नेपाल ल्याउनुपर्ने वा आफन्तलाई डाक्नुपर्ने यी सन्तप्त क्षणहरुका कथा भेटिन्छन् त्यहाँ क्रमबद्घ । हरेक सूचनाले भन्ने गरेका शब्दका वाक्य लामा-छोटा भए पनि भाव उही हुन्, अर्थ उही हुन् र सार उही हुन् । अब सुरु हन्छ, पञ्चतत्वको खेल ।

   मेरो इमेलमा सूचना आएको हुँदैन अमेरिका गएका मानिसहरुको ।

   मैले खोजीनिती कहिल्यै गरिनँ । को गयो वा गएन को चाँहि - आँफैले पाएको सूचनालाई मेरा दिन कटनीको एउटा खुराक मात्र भएन-देश, समाज वा राजनीतिले असरल्ल पारेको परिचय हुन पुग्यो । सूचनाले एक खालको आहतमा पुर्यायो मलाई । चिमोटिनु पर्यो घरीघरी !

   इमेलमा खबर हुन्छ-मृत्यु हुने मान्छे नेपालकै हो ।

   कहिले गएका थिए ती - ती जाँदा बेखवर गएका थिए किन - चुपचाप जाँदा किन खबर दिने जिम्मेवारी ठानेनन् तिनले -

   मृत्युवरण गर्नेका नाम पढ्दै पाकिन्छु म ।

   इमेलमा शब्दको गौरव हुन्छ-फलानो मर्यो, ढिस्कानो मर्यो ! अथवा एउटा मानिस मर्नुसँगै गाँसिएर आउने सबै स्थितिका घामपानीमा रुझछु म । हिउँद वा बर्खाका उच्चाटलाग्दा मौसममा असिनपसिन हुन्छु म । गलेर उठ्न त्रि्रा बलिया पारिरहेका बखतमा पैतालामै बिझछ काँडा । यही र्स्पर्शको घचेटाइमा पर्छु पटकपटक ।

   अमेरिका गइरहेका अनुहारबारे अड्कल थियो गाउँमा-सुनको घरमा बस्छ, सुन खान्छ, सुनै निकाल्छ । यो भ्रमका माझमा मृत्युको इमेल फरवार्ड भएर आइरहेकै छ मेरो इनबक्समा । एकदमै छिटोछिटो आएका ती मेलमा कम्पित हुने समयको ख्याल मात्र गर्न भ्याउँछु म । अरु धेरै वेदनाको आहालमा चोबलिन पाउँदिन म । अँह, पाउँदै पाउँदिन । भरिएर गएका थिए वा भर्रिन आँटेका थिए- टन्न भएका थिए वा टन्किएका थिए अघाएर - पुगेको थियो तिनलाई वा पुग्नै लागेका थिए ऐर्श्वर्यले- अनेक हुन्छन् अनुमान ।

   बस्तीबाट बिदा गर्नेहरुका ओठमा आउन सक्छन् केही जिज्ञासा ।

   तर इमेलमा तिनको मृत्यु पछाडिको रोदन पढेर अस्तब्यस्त हुन्छु म । हृदयभरि किनकिन खरानी पारिरहेको हुन्छ तनावको डढेलोले । हारेको, ढलेको वा मुच्छिर्त अनुहारको तापमा ओइलाइरहेको हुन्छु म ।

   इमेलले भनेको छ- डिभिवाला पनि मारिए ।

   केही समयलाई यो विषयमा नपसौँ । कलिला र जुँघारेखी अनुहारमा घोत्लिनै कम भएको छ ।

   आफू रित्तिएर परिवारले पठाएथ्यो ती बलिया ज्यान । तिनलाई अघाउन आफ्नाहरु भोकै बसे बरु । भोकतिर्खालाई एक पटक फेरि सम्झौतामा ढाले आफ्नाहरुले । स्वजनका निम्ति सधैँको अभाव त थियो नै ! फेरि जितेको उल्लासमा सबै बन्धकमा पर्दै किशोरकिशोरीको हातमा भरेथे केही ट्राभल चेक र भिसाको मोटो बिटो ।

   रित्तियो नि-गोठ, बारी वा बगैँचा जताततै ! धानखेत, उखुबारी, मिल र घट्टमा चकमन्नता थपियो नि ! सुनसानमा बस्तीको अनुहार बल्यो धप्पधप्प । आँगनमा चहलपहल हरायो ठ्याम्मै ।

   इमेलमा मृत्युका खबर छन् झन् नयाँनयाँ ।

   उही अभाव र उही अपुग । त्यही आकाशमुनिको गरीबीलाई कतै राखेर, बाहिर जानेका आँटमा चुलिएथ्यो गर्व । हाँसो, उल्लास र खित्कामा साँझबिहान सुवासिएथ्यो । यता चाड र पर्वमा मान्छेको सङ्ख्या हृवात्तै कम भइरहेथ्यो । मेला, पर्ममा लाठे नभेटिँदा कसैलाई गुनासो मात्र भइरहेथ्यो नै ।

   उता मर्नेहरुको सूची छ उत्पातकै ।

   इमेलले बोलेको खबरले शहरमा पुग्छु म । इमेलले भट्टयाएको सन्देशले बस्तीमा झटारिन्छु म । इमेलले ओकलेको आवाजले गाउँका पिँढी र चौतारीमा उभ्याउँछ मलाई ।

   एकाएकको यो खबरले सकसकाउँछन् खुट्टा ।

   मर्नेहरुका अनुहारले पाएको नाम छ, सम्बोधन छ र परिचय छ । अरु धेरै क्रममा उसको उमेर, जात, नाता र नागरिकता छ । होर्-धर्म, संस्कृति र संस्कारका अरु चोटिला तथ्य पनि यही नामकै वरपर टाँसिएका छन् । मृत्युले बल्ल पो खोज्दो रै'छ देश !

   एउटा नाम बोकेर आएको हुन्छ इमेलले ।

   अब बिस्तारै मेरो अन्तष्करण यही सबै खालको खोजतलासमा अहोरात्र लाग्छ । कहाँको युवा हो यो- कहाँकी युवती हो यो- अथवा यो नेपाली कुन भेगको रै'- अञ्चल, जिल्ला र गाउँसम्म मृत्युको नातोले डोर्रिन्छ । अन्तिम बिन्दु पर्यो देश ।

   छाती चस्काउने यिनै हुन्छन् खलबल ।

   पढ्नु, तालिम लिनु, घोटिनु वा सबै कुराले र्सवज्ञ भएकालाई मात्र पो त्यो ठाउँ ! पाताल पुग्नेका यही अट्टहास ! प्रवेशाज्ञा दिन तम्तयार बाचाल ओठको उर्दी त्यै । सुझाब र परामर्शका पाटी टाँसेर बसेका वरपरका गफाडीका गफ पनि यिनै ।

   भनेपछि सबै असल, सबै राम्रो र सबै सम्पन्नले पुगेको त्यो ठाउँ । तर त्यो सम्पन्न, राम्रो र असल यतिखेर मेलमा उदाङ्गो भएर आएकोआएकै छ । मृत्यका चाङमा दुःखद्भन्दा विपन्नको सूचना ओइरिएको छ, !

   यी बस्तीमा टिलपिल अनुहार मरेकै थिए दिनहुँ । सहारा, लट्ठी वा भरथेग भएका सन्तानले छोडेपछि उम्रेको उदासीको काँसमा कति पटक डढे-डढे यिनीहरु । सपना, आशा र सहानुभूतिका मनग्गे भेलमा कतिपटक बगे-बगे यिनीहरु । तैपनि बाटो हेरी-हेरी आँगनमा इन्द्रेनी हर्न छोडेका थिएनन् यिनले । भाले बासेको सुन्न बिर्सका थिएनन् यिनीहरुले ।

   मेरो मेलमा खात छ मृत्यु फरवार्डको ।

   यो खातलाई आफ्नै ठानिरहेको छु म । नचिनेर के भो त - नभेटेर के भो त- देश, माटो र नागरिकताको आफ्नोपनले झस्काउँदो रहेछ नमज्जाले । एकछिन प्रश्नले बेरबार पार्दो रहेछ, एकछिन खबरले अत्याउँदो रहेछ र एकछिन सूचनाले चिम्टदो रहेछ । भित्रैदेखि दुख्नु पनि बेअर्थको माया होइन-नभनौँ ।

   इमेल पढ्छु र मृत्यु गणना गर्छु ।

   धनधान्यले पूर्ण ठाउँमा पुग्नेहरुका लास बिचल्ली भएका खबर छन् । उठाउन नसकिएका वा उठाएर दाहसंस्कार हुन नसकेका । यी र यस्तै अर्थले सम्पन्न सूचनाले हात फैलाएका छन् सहयोगका । मसँग आँधीबेहरी भएर बाटो खोज्छन् ती शब्दले । पानीको अविरल दर्कनजस्तो ठान्छु-त्यो सूचनालाई । इमेलको मिति, समय र पठाउने संस्था कुनै गोलमाल चरित्रको हुँदैन । इतिहासमा सुपरिचित छन् गतिविधिहरु ।

   पक्का छ-बाढी र भेलको तीब्रतामा अब अर्को खबर आउनेछ ।

   यो खिन्नता र उदासिनताको प्रहारमा पर्छु अधीर अटेसमटेस भएर इमेललाई 'सेलेक्ट' गर्छु एकपछि अर्को वा 'सबै' भनेर फरवार्ड गरिएका ती सूचनामा मृत्यु झन् मोटाएर आएको हुन्छ । सुक्ने, हार्ने वा कमजोर ठानिएका तथ्य मृत्युसँग यहाँनिर भागेका हुन्छन् आँफै नै ।

   ठूलो देशमा उपस्थिति पनि ठूलै ।

   पक्का छ, मृत्युको त्यो सूची पनि छ अथाह । इमेल बक्सका सबै थोप्लामा फरवार्ड गरिएका सूचनामा याचना बोलिएको हुन्छ । अनुरोधसाथ भनिएको हुन्छ । आग्रह गरिएको हुन्छ । अनि अनुनय-विनयसाथ लेखिएको हुन्छ-'सहयोग गरौँ !'

   सहायताको त्यो मागमा उपस्थिति हुन्छ डलरको । इमेलका हरेक अक्षरले उही समभावलाई अँगालेका हुन्छन् । निर्बाध तर्क र निष्पाप धारणाको त्यो इमेलमा डलरको माग बोलिरहेकै हुन्छ । गरीब राष्ट्र र झेल्ली शासनबाट उब्जेको रुपियाँलाई मूल्यवान् डलरमा ढालेर पठाउन सकिने 'रोज्जा' मौका पनि इमेलको आवाज हुन्छ बलशाली ।

   'लौन पचास डलर सहयोग गर्नु पर्यो !'

   'जलाउने जोहो नगरिभएन !'

   'लास उठाउने पहल चाँडो गरौँ !'

   यी पङ्क्ति मात्र सम्झेँ मैले इमेलमा । तथापि अरु धेरै खाले भावनाले च्यापिएका लहर त्यहाँ पढ्छु म । भनाइ र बोलाइको भङ्गिमा उस्तै हुन्छ । मृत्युको सूचना फरवार्ड भएका ती इमेलले आफ्नोभन्दा भविष्यको कुइनेटो देखाइरहेको ठान्छु म । सम्भवतः धेरै जनालाई यो रोगले र्स्पर्श गरिरहेछ बिस्तारै-बिस्तारै ।

   बिहान वा बेलुका जान्नु छ केही खबर ।

   इमेल हेर्नु अबको बाध्यता हो नै । जसोतसो रहर वा लहडकान्त मात्र भएन । किनभने जीवनकै एक भाग भएर बिस्तारै विज्ञानले अचेट्तै-अचेट्तै लग्दा म भाग्नु कसरी- पछाडि छोडेँ, विज्ञानलाई । यति भनिसक्ने अरिमट्ठे तर्क छैन मसँग ।

   मृत्युका खातमा देखिरहेछु केही भुँइ ।

   सम्पन्नता र वैभवको नारा सुन्नेले भत्केको पिँढी छोड्नु नौलो कुरै भएन । अथवा छोड्ने जमर्को गर्नु पनि त अचाक्ली भएन नै । हो, अब लैनो गाई वा भैँसी तिनीहरु सँगै गयो । खेतको उर्वराशक्ति हिँड्यो तिनीहरु सँगै । सहकालको सूची त्यतिखेर जान्छ-जब जाँगर, उत्साह र परिश्रमले बिदाबारीको हात हल्लाउँछ ।

   जानेले भुँइमा पैतालाको डाम बसाएपछि अरुले भन्नेछन्-फलानो गएछ, ढिस्कानो गएछ । पल्लो गाउँका गएछन्, माथ्लो टोलका गएछन् ।

   मृत्युका इमेल पढेर मौन हुन्छु म ।

   'आमा, गएको गएकै हुन्न म !'

   'बाबा, फर्किने दिन चाँडै आउँछ !'

   भिसा लगाएर आएको राति धेरैले भनेका हुन्छन् यही सुरिलो कुरा । तर ती बोलीमा यतिखेर आँसु र वियोगको दोहोरो कुराकानी मात्र त छ । मृत्युलाई तिनले साथी बनाउँदा जवाफ छैन देशसँग सम्म ।

   ग्लानि कोसँग मात्र छैन - मर्नेले बाटो ततायो चुपचाप । बाँच्नेले खबर पठाउने 'मेल' लेख्दा विजयको अनुभूति ठानिरहेको हुँदैन । जित कहाँनिर छ-

   माथिको एउटा प्रसङ्ग नजोडिकन हुँदै भएन यहाँ ।

   डिभिवाला मारिएको कहालिँदो खबर आउँछ मेरो इमेलमा । ठूलो हल्लीखल्ली ल्याएको छ त्यो खबरले । स्तब्ध र छातीलाई कम्पित पार्ने खालको छ त्यो सूचना । परिवार, स्वजन वा इष्टमित्रहरु छोइन्छन् । सामान्य शुभेच्छुक समेत स्तब्ध भइहाल्छन् ।

   'सुन्नुभो, डिभि परेर सारा खलिकपुरै गएछन् नि कँडरियाका सन्तान !'

   यो खबर आएको थिएन मेरो मेलमा । मैले बस्तीमा चिया, दाउनी वा घाँसदाउरामा थाहा पाएँ । सूचना यति मात्र थियो । ��"ठदेखि कान, मनदेखि बोलीसम्म फैलियो बेस्कन । घामका किरण, बतासको सर्सराइ वा पातमा थपिइरहेको रङसरिको हुन्छ यो खबर । जग्गाजमीन वा गाईबस्तुलाई र्सलक्कै बेचेर पाताल पसेकै दिनदेखि सपनाले उनिनु पर्यो भुँइका काँडामा । विपना कति निठुर । धागोमा गाँसिएको माला तैबिसेक । डोरी वा तारमा उनिएका फूलको के सुन्दरता र- कँडरिया त्यै 'तारे उनाइ' का निसानी भए । घाँटीमा गाँठो परेको पानीको भुँवरीजस्तो !

   मसँग एक बिहान त्यही निसानीको आहत कथा इमेल फरवार्ड भयो । एकपछि अर्को र झन् अर्को वा 'अल सेलेक्ट' भएर उत्रियो खबर । शोकैशोकको त्यो सूचनाभरि आउँछ नढाँटिएको नेपाली अनुहार । कनपारो फुलेको, हातका नङ कच्याककुचुकिएको, छुसीले नाकेपोरा छोपिएको, कानजुँगाले झयापझयाप्ती, पर्सुने-पर्सुने अनुहारको । बरा नेपाली ! कठैबरा !!

   फेरि पनि सबैले सुन्ने गरी भन्छु-'कठैबरा नेपाली !'

   हो, त्यही नेपाली बान्कीभित्रको कँडरिया मरी त गो धनधान्यले भरिएको देशमा । मरिसकेपछि हारगुहारको त्यही क्रम सुरु । वियोग र झल्कोको त्यही चालामाला प्रारम्भ । बिलौना र रुवाबासीको त्यही बिन्दुमा उठान । हात फैलाएर मात्र नपुगी, इमेल फरवार्ड भयो सबैलाई । जहाँसम्म नेपालीलाई हृदयले सिँचन गर्ने समाजको बिस्तार छ ।

   अनि मेरो इमेलमा आइपुग्छ मृत्यु फरवार्डको सूचना ।

   सेतो धागो बाँधिए सरह आएको यो मेलमा मैले धेरै कुरा सम्झन पुगेँ । हिजो र आजका सबै खाले चित्रले चरित्रका भाकामा वार्ता गर्छन् मसँग । इमेलको भाषाले पुगेको तर्क दिन्छ-पाउनेका आन्द्रभुँडी अत्यासले चिनिन्छन् ।

   लुगा सिउने दमाईले भन्नेछ-'बाजे त असल मान्छे हो नि । मैले सिलाएको कमिज लाउन कुनै आनाकानी गर्नुभएन उहाँले !'

   कपाल काट्ने डङ्कन ठाकुरले भन्नेछ-'ओहो, उहाँ त सबैभन्दा सजिलो मान्छे । बहुतै सरल र जानिफकार मान्छे !'

   मन्त्र सुनाउने रिजाल गुरुले भन्नेछन्-'अत्यन्तै ज्ञानी मान्छे । बालखैमा बूढोजस्तो बुझझक्की !'

   इमेलमा फरवार्ड मृत्युको सूचनालाई अब दमाई, ठाकुर र गुरुलाई सुनाउनै पर्छ मैले । तिनको प्रतिकृयाको अनुमान मैले गरेँ नै । गुणगान वा प्रशस्ति नहुने कुरै भएन ।

   लास उठाउनलाई भएको याचना सुनाउँदा नि-

   प्रतिकृयाको अनुमान लगाइरहेको छैन म । तिनको मुख खुम्चाइ वा आँखीभौँ तन्काइ, परेला चम्काइ वा गाला फुलाइ, नाक दोब्राइ वा गला हल्लाइ-अप्रत्याशित कम्पनमा छु म ।      

   थुप्रै सूची छन् इमेलका ।

   मैले तिनलाई बिस्तारै पढेर प्रतिकृया दिनपर्नेछ छिटोछिटो । मलाई आशा वा भरोसाका दृष्टिले यो इमेल पठाइएको हुनुपर्छ । मेरो कर्तव्यसँगै जिम्मेवारी हो-इनबक्सका मेल पढ्नु ।                                

   अथवा पढेर फेरि फरवार्ड मात्र गर्नु मैले पनि ! यो इमेलले भनिरहेको 'भुँइ तथ्य' लाई मैले कुन तहसम्मको चोटले पर्गेल्नु- यो इमेलले बोलिरहेको 'गर्भे कथा' लाई मैले कुन श्रेणीसम्मको आघातले निहाल्नु-

   इमेलका अक्षरमा शल्यक्रिया छ मृत्युको । हेरेर गमेँ । हेर्दाहेर्दै यदाकदा परका अनुहारमा थला परेका अनुभव ख्याल गर्छु इमेल र अनुहार वा मरेका लासको समान हालखबरमा झटारिन्छु निरन्तर ।  

   'बैंकमा घर राखियो र छोरीलाई अमेरिका पठाको !'

   'छोराले खेत निखन्ला नि त !'

   'छोराछोरी दुबैलाई पठाउँदा रुनसम्म नसक्ने गरी बाँचेको छु !'

   यी तीनवटा खबर इमेलमा पढिनँ मैले । बरु यी तीनवटै तथ्यलाई रसातलमा पुर्याउँदै लास उठाइमाग्न बिन्ती गरिएका इमेलहरु मेरो इनबक्समा छिर्छन् सुटुक्क । चुपचाप आएर हलचल मच्चाइरहेका यिनको सम्मान मैले अब कसरी गर्नु-

   थला परेकालाई फेरि भारी बोकाउने कुरा सुनाउनु भनेको नेल, हत्कडी लगाए सरह हो । आजभोलि मेरा वरपरका घरमा त्यो कथाले पाइरहेकै छ साँचो सम्मान । सम्पन्नता आउने सम्भावना भित्रको विपन्नतालाई नचिन्नेहरुसँग गर्धन जोडिएकै छ मेरो ।

   सस्तो समाजमा जन्मेर सस्तो खाना खाँदै हुक्र्यौं हामी । पोषण वा शिक्षादीक्षाको मूल्य पनि त सस्तै । कमसल मनोरञ्जन वा स्वास्थ्यको सामान्य हेरविचारमै बढ्यो जीवन पनि । सस्तैसँग भइरह्यो गुजारा । सबै सस्तो, कमसल, सामान्य रुपमा परिचय बनिरहेथ्यो ।

   अब त्यो महँगो संसारमा पुगेपछि चर्को हुने नै भयो हरेक कुरा । महासस्तो ठानिएको वा गणना गरिएको जीवन त हरेक पाइलामा महँगियो । कसलाई ठग्नु र- कसलाई किनारमा छोड्नु र-

   इमेलमा मृत्युको त्यही खबर आउँछ फेरि ।

   बिहान पढेको इमेलले दिनभरि अन्यौल पारिरहेकै थियो । दिउँसो पढेको इमेलले साँझसम्म खलबल पारिरहेकै थियो । साँझ पढेको इमेलले रातिसम्म आँधीमय तुल्याइरहेकै थियो । बिहान, दिउँसो, साँझ, राति-सबै दुखित तुल्याउने कालखण्ड भएका छन् । नचिनिएका र अपरिचित नामले पनि कठोर सम्बोधन साथ प्रश्न गर्न छोडेका छैनन् ।

   आज एउटा उद्घेश्य थियो-खुशी भएको विपना हेरुँ ।

   देश रित्तिएर मानिस गइरहेको खबर कसैका निमित्त भएको छैन चासो  । कुनै चर्चा यसबारे कोही गरिरहेको छैन । कसैलाई  वास्ता पनि त छैन यतातिर । कुनै खिन्नताले ओर्लिएर 'च्व' सम्म उच्चारण गर्ने होइन । भोग्दै गरेको विषय यही हो । हुँदै गरेको विषय यही हो ।

   थामिएको छैन इमेलमा फरवार्ड खबर ।

   मसँग बिहान नहुने होभने यसबाट परै हुन्छु । मसँग साँझ नहुने होभने यसबाट अलग्गै हुन्छु । सूचना मेरा निम्ति मौलिक अधिकार होभने इमेलका खबर नपढ्नु कसरी नि -

   'देश छोड्ने निर्धनहरु महँगा लास भए !'

   यही हो फरवार्ड इमेलको भाषा ।