कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो... 'कोसेली परदेशबाट'

Author : अशोक राई
Published on : June 08, 2012


  
अशोक राई

कवि नगेन्द्र ईङ्नाम 'आठराईली' को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरूले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु ।

कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन् उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा । हरेक लेखकहरूको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा र तरीका हुन्छ । ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पठकको मन छुन्छ । जुनसुकै बिषय र भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ । उनको कवितामा खासगरी स्थानीयता, आञ्चलिकता साँस्कृति, जाती धर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संबेदना र प्रेम जस्ता विषयवस्तु प्रसस्तै पाईन्छ ।

कवितालाई क्लीष्ट बनाउनुपर्छ अन्यथा यो कविता हुन सक्दैन भन्ने आजको सोचलाई कविले पछ्याएका छैनन् । आम पाठकलाई सुपाच्छ छ यो कृती । अर्को कुरा कविताले कुनै वाद र धार नै आत्मासात गर्नुपर्छ भन्ने मान्यता पनि यस कृतिले बोकेको छैन । पाठकको दिल छुने खालको सिर्जना तयार गर्नु भनेको अमर हुनु पनि हो । कविको महत्वपूर्ण पक्ष आफ्नो कलाले पाठकलाई आनन्द दिनु हो, पाठकको मनको भाषा अक्षरले बोल्नु हो र पीडालाई छाम्नु हो । कवि अल्पग्राह्य छैनन् सर्वग्राह्य हुन सक्नुपर्छ जुन कुरा ईङ्नामका सरल कवितामा पाईन्छ ।

अब उनका केही कविताहरूलाई केलाउने तर्फ लाग्नु पर्दा । जब म तेह्र घण्टाको लामो ड्यूटी सिध्याएर थकित शरीरलाई रेलको डब्बाभित्र थुपार्छु त्यसबेला कवि नगेन्द्र ईङ्नामको कवितांश मनमा आउँछ ।

गहकिलो छ समस्या परदेशीहरूलाई परदेशमा प्रतिकूल समय छ फर्कनलाई आफ्नो देशमा घर सम्हाल्न जाउँ बिना कालमै मारिईने डर अर्काको देशमा गैर कानूनी भनी लखेटिईने डर....(परदेशमा) 

परदेशको पीडा परदेशी स्वयमलाई अरुलाई भन्दा बढी ज्ञान हुन्छ । परदेशको पसिना, पराई बचनहरू, अलाराम समय र परिवारीक दु:ख थुप्रैथुप्रै कुरा हुन्छन परदेशीको छाँतिभित्र । जाने ठाउँ भन्नु स्वदेश हो, उतातिरको बेथिती अस्थीरता र बेरोजगारी सधैं प्रतिकुल रहन्छ । त्यैपनि मान्छेको मनमा एक प्रकारको मायावी रहर हुन्छ डलरको । मनमा तृष्णा रहिरहन्छ सपना देख्न मन हुन्छ न्यू योर्क शहरको । काव्यकृति स्वयम् एक परदेशी कविको हो जो दूई दशक समय परदेशमा गुजारीरहेका छन । भोगाईको अभिब्यक्ती पनि हो कविता । कृतिको नामाकरण गरिएको सन्दर्भलाई हेर्दापनि शायद थाहा हुन्छ यी कुराहरू । एउटा कविता छ यस कृतिभित्र जो प्रेममा आधारित छ ।

स्वच्छ सुनौलो बिहानीहरूको पर्खाईमा

कैयौं दुःखी रातहरू गुजारी रहेको छु

हाम्रो भावि सुख र मिलनको पर्खाईमा

सयौं बाधा र अड्चनहरू पन्छ्याई रहेछु.... (कोसेली परदेशबाट) ...यो प्रेमा पीडा परदेशीको हो । कविताको पात्र प्रेयसी या प्रिय पत्नी जो कोही पनि हुन सक्छ जसलाई परदेशीले मार्मिक सम्झना गरेका छन् । यी सांकेतिक पीडाहरू कृतिमा धेरै पाउन सकिन्छ ।'यसैको न्यानोपनाले आजसम्म बाँची रहेको छु' ।

परदेशमा रहंदा स्वदेशको सम्झनापनि अति मार्मिक रुपमा प्रस्तुत गरेका छन् यिनले । जब एउटा परदेशीलाई परदेशले छोड्न नसकेपछि उसले गुमाएका अनुभवहरू निम्न कवितांश मार्फत बुझ्न सकिन्छ ।

छोडेको थिएँ सोल्टिनीलाई

चिठी पत्रमा भेट्दै गरौंला भनी

ती क्षणहरू युगमा बदलि सके

भन्छन्,

जेठी, माईली र साईंली हुंदै

मेरी कान्छी सोल्टिनीले पनि

आफ्नो घरबार जोडिसकिन् रे

तर मलाई यो पापी परदेशले छोडेको छैन... (मलाई परदेशले छोडेको छैन)

लामो समयसम्म कवि न्यू योर्क शहरमा रहेका हुनाले उनले आफ्नो कवितामा यस शहरको विशेषता, जीउने तरीका, नेपालीले अपनाएको यहाँको जीवनबारे व्याख्या गर्न पनि भ्याएका छन् । धेरै मानिसहरू बाहिरबाट सपनाको गह्रुङ्गो भारी बोकेर यहाँ आउँछन्, जीजीबिषा खोज्छन् र संस्कृतिसित रुझ्दै-भिज्दै समय बिताउँछन् । सिमा विहीन स्वन्त्रतता, अर्ध पागल गीतहरू, बार-रेष्टुँरा, विधुत्तीय खेलहरू र अंग्रेजी फेसन जस्ता थुप्रै थुप्रै कुरा छन् तेश्रो भुगोलका मान्छेलाई रिङ्गटा लगाउने । कविताले भन्छ थोरैमात्र मानिसहरू सुखी धेरैजसो खिन्नछन् यहाँ....

जागा जागा बत्ति र सडकहरू

जागै रहन्छ शहर चारै प्रहर

भिडमाथि भिड थपिँदै थपिँदै

असिमित हुँदैछ शहरको रहर

कसैलाई रमाईलो

कसैलाई, सही नसक्नुको छ

यो न्यू योर्क शहरको रहर....

कवितालाई अत्यन्तै मायाँ गर्ने कविले कवितालाई रहस्यमय सुन्दरी या पात्र बनाएर अर्को कविता बुन्छन् । त्यो काव्य पात्रलाई कतै आकर्षक सुन्दरी या सुन्दर नर्तकी कतै सबैको आकर्षणको केन्द्रवस्तु मानौ फुटबल यताउता आँखा घुमाउनुपर्ने, सुन्नलाई प्रिय श्रब्य सामाग्री ईत्यादि विशेषताले परिभाषित गर्दै अन्तमा रहस्य खोलिन्छ त्यो पात्र अरु कोही नभई स्वयम् कविता हुन्छ यो कविता रोमाञ्चक छ र निकै कलात्मक छ ।

आखिर उनी कोही नभई

एक नेपाली कविता थिईन्

म उनैको वाचन सुनेर मुग्ध

एउटा कुनामा बसेको श्रोता थिएँ....  (उनी अनि म)  

कवितालाई मायाँ गर्नेमात्र कवि कहाँ हुन र उनी कवि हुनुमा गर्व गर्दै कवि कवयित्रीहरुको सामाजिक प्रतिष्ठालाई माथि उठाउन र जोगाई राख्नलाई पनि तम्सेका छन् यिनी ।

कहलिए पनि नकहलिए पनि

कवि हुनुमा गर्व महसुस गर्छु

त्यसैले कवि, कवयित्रीहरुको

प्रतिष्ठा कहिंपनि गिरेको मनपर्दैन

बरु भोकै मरुन कवि, कवयित्रीहरु

तिनका कान्ती मरेको मनपर्दैन.... (कवि हुनुको गर्व)

अर्को एउटा कविताको सन्दर्भ उठाउँने शिर्षक हो 'शब्दहरु हेरेर अर्थ बुझिदिनु' यस कवितामा अभिजात भनाउँदा कथित बुज्रुगहरु प्रति एउटा उपेक्षित पात्रको तर्फबाट गरिएको ब्यांग्यको भाव छ । हाम्रो समाजमा बिभिन्न बर्ग छन् दर्जा छन् जाती छन् । त्यसमा उपल्ला बर्गका मानिएकाहरु सत्ता संयन्त्र शासक र शासनसित नजिक छन् भने निम्न तहकाहरु सधैं उपेक्षामा रहन्छन् । कथित ती उपल्ला तहकाहरुले निम्न तहकाहरुलाई नचिने झैं गर्नु, बेवास्ता र अवहेलना गर्नु सामान्य चलन नै हो । यस कवितामा एक उपेक्षित या अवहेलित पात्रले ती कथित अभिजातका मानिसलाई रचनामार्फत पोखेको ब्याङ्ग्य भाव पाईन्छ । यहाँ म जे हुँ कोही हुँ र मैले जे बोल्छु तिमीलाई नमीठो लागे पनि त्यो तिमीले सुन्न जरुरी छ भन्ने चेतावनी पनि छ ।

हाम्रो पुरानो चिनजान थिएन

त्यसैले हजुरले ख्यालै गर्नु भएन

धेरै चिन्या जान्याहरुको माझमा

पहिलो परिचयको वास्ता भएन....-(शब्दहरु हेरेर अर्थ बुझि दिनु)

त्यसै गरेर अर्को कविता छ 'मुकदर्शक मानवता' जसले नेपालमा आज पर्यन्त रहेका बेथिती र कुशासनको भण्डाफोर गर्दछ र मानवताको दुहाइ दिन्छ ।

कुरो टाढा राखौं

कश्मिर, कान्धाहार

लेबनान, बेरुत र गाजा

अनि बग्दादको

आफ्नै देशभित्रका

बेथितिहरु नियाल्दै,

कुरीतिहरुलाई हेर्दा

लडाईं नै लडाईं देखिन्छन् (मुकदर्शक मानवता)

केही वर्ष अघिको नेपालको जनयुद्ध र आजपर्यन्त बलियाले निर्धालाई गर्ने व्यावहार हेर्दा मानवता मुकदर्शक भएको नै प्रतीत हुन्छ ।

यसै कवितासित मेल खाने अर्को कविता छ 'खोइ मानवता' यो कविताले संसारमा भई रहने युद्ध अपराध र निर्दोष बलीको सन्दर्भ उठाउंछ र त्यस्ता नरसंहारमाको चाँहीं दोषी हो त भन्ने प्रश्न आँफै प्रश्नमै थाँति रहन्छ अनि कविले फेरि मानवतालाईनै प्रश्न गरेकाछन् । 

भन अझ कति युगसम्म

रमिते जस्तो बनी रहने ?

तिम्रो सामु सधैँ यसरी

असत्यले सत्यको अस्तित्व लुट्दा

किन मानवताका आँखा खुलेनन्

अफगानमा बुद्धको प्रतिमा ढाल्दा....-(खोइ मानवता)

काम नगर्ने तर राज्यको सम्पत्ति रित्याउने कथित नेपाली नेताहरुप्रति द्रोह पोखिएको कविता पनि छ । देशको अस्थिरता, बिसंगती र बेथितीहरु प्रति दु:ख ब्यक्त भएका सन्दर्भ थुप्रै कवितामा छन् । कवि तथा लेखकहरु जहाँ रहेर लेखेपनि प्रतिपक्षमा हुन्छन् । उनीहरुलाई आफ्नो माटोको मायाँ हुन्छ, आफ्नो देशको मायाँ हुन्छ र राम्रो कुराको प्रशंसामा शब्द खर्च गर्छन् भने राज्यको बदनामि प्रति गाली पनि गर्छन् ।

'उर्वर नेपाली माटोमा

धेरै फैलिए रुखा नेताहरु

सिद्धान्तलाई टाढा लत्याएर

अघि बढ्छन कुर्सिका भोकाहरु'... (हाम्रो देशको यथार्थ)

यो काव्यमा उल्लेख्य मात्रामा प्रेमरसले भरिएका कविताहरु पढ्न पाईन्छन । कवि प्रेमको मामिलामा रोमान्टिक पनि छन । कतै लाहुरेको आँखामा झलझलि आउने प्रेयसी सोल्टेनीका कुरा, कतै परदेशीले दु:खमा आफ्नो प्रियतमालाई गरेको याद, कतै नारी पात्रले पोखेका प्रेमभाव, कतै मायाँलुले अविश्वासप्रतिको गुनासो त कतै प्रेमीप्रेमिकाहरुलाई जीवनपर्यन्त प्रेमको इमान्दारिता देखाउनुपर्ने सन्देश यस्ता भावना भएका थुप्रै कविताहरु काव्यमा संकलित छन् ।

कवितामार्फत नै एकजना लाहुरेले पल्टनबाटै सोल्टिनीलाई सम्झाउँदै भन्छन्:

अब त भयो नि सोल्टेनी,

कति खिन्न बनाई रहन्छौ मनलाई

पुसे मेलाबाट छुटेदेखि रोएको मन

अझै निको भएको छैन कि कसो हो ?

....................................

जेठको गर्मीले मन नपगालोस्

भदौको भेलले पनि मन नबगावोस्

दीपावलिमा मनको दीप जलाएर

तागेरा निङ्वाभु माङको सहारामा

अरु झैं तिमी पनि प्रतीक्षा गर्नु

बारुदको खेल मैदानबाट

आफ्नो जिन्दगी जितेर

चैते हुरीबतासको बेग सँगसँगै

बैशाखे बाचा बन्धन बाँध्न

म तिम्रो सामुन्नेमा आई पुग्नेछु

ओठभरिको मुस्कान कोसेली बोकेर....-(सोन्टेनीलाई लाहुरेको चिठी)

वास्तवमा यो संग्रहमा  आञ्चलिक सुस्केराहरु पनि छन् । पूर्वाञ्चलमा लाग्ने प्राय: सबै मेला बजारहरुको याद दिलाउँदै पुषेमेलामा शुरुवात भएको प्रेमविम्ब अनि लाहुरेले पल्टनमा रहंदा देखेको सोल्टिनी सपना जसलाई यस्तो मार्मिक विम्ब र भाव 'सोन्टेनीलाई लाहुरेको चिठी'मा प्रस्तुत गरिएको छ् कि सिङ्गो यस कवितालेमात्र पनि आञ्चलिकताको पूर्ण झलक दिंदछ ।

यस कृतिमा कविको स्वछन्द मन विना कुनै परिधि जताततै पुगेको पाईन्छ । उनी निर्दोषहरुले  ईराकमा ज्यान गुमाउँदाको पीडा लेख्छन्, मेलमिलापको आग्रह गर्दै मार्गहरु देखाउने पनि गर्छन् । कहिले ढोल झ्याम्टा लिएर साकेलामा नाच्न पुग्छन्, कतै सुनामि वर्षातमा वर्षाकन्याको कल्पना गर्छन् भने निर्दोष रातका गुनासो लेख्न पनि पछि परेका छैनन । कहिले शीतल पवन बनेर सोल्टेनीको मन छुन देउराली भञ्ज्याङमा पुग्छन्, कविताकै माध्यमले उनी साँघु, ढुंङ्गेसाँघु, तेम्बे, चाँगे, दोभान, हाङ्पाङ, छिन्ताङ, फूलबारी, निघुरादिन, खाम्लालुङ हुंदै सक्रान्ती बजार भर्न पुर्याउँछन् भने हुवाकु, ईवा, छातेढुंगा, चुहानडाँडा, बोखिम, थोक्लुङ र नाम्जाङको ढलेबरबाट फाक्चुवाको तेर्छो बाटो हिंडाउँदै आठराईको सेरोफेरोमा थाहै नपाई रमाईलोसँग घुमाईदिन्छन् यिनी ।

मेरो चिनजानका कवि 'आठराईली' न्यूयोर्कमा रहेका साहित्यकारहरुमा एउटा डाईनामिक नाम हो । मीठो गजल लेखेर पाठकलाई मन्त्रमुग्ध पार्ने हुनाले यिनी सबै माझ लोकप्रिय गजलकार पनि हुन् । उनी लामो समय पत्रकारिता गरेका एक अनुभवी पत्रकार तथा बिभिन्न संघसंस्थामा नेतृत्व गरेर कुशल काम गरेका निस्वार्थ समाज सेवक हुन समग्रमा भन्नु पर्दा उनी समाजका एक बौद्धिक ब्यक्तित्व हुन । 'यूएस नेपाल अनलाईन डट्कम का कार्यकारी र बहालवाला साहित्य सम्पादक ईङ्नामले अन्य बिभिन्न पत्रपत्रिकाको सम्पादन गर्नमा पनि उत्तिकै जिम्मेवारी निभाई रहेका छन् । साहित्यमा स्थानीयताको माध्यमलाई आधार बनाएर कदम अघि बढाउनु भएका कविलाई नयाँ लेखनतर्फ उन्मुख हुने मत जाहेर गर्दै थप सुन्दर सिर्जना र कृतिहरुको लागि आग्रिम शुभकामना दिन चाहन्छु ।

 
हाल: काउलुन हङकङ