असमायोजित प्रेम

Author : मुकेश राई
Published on : May 18, 2012


  
मुकेश राई

महासागर......

शान्त, सुन्दर, निलाम्मे,

आफ्नै सुरमा मस्त

एकतमास छाल र लहर

सदा झैँ शनै-शनै

सुर्यले बिदा लिएको लाली विलिन हुँदै

अन्धकार फैलियो

अलिबेरमा त्यही शुन्य क्षितिजमा

चन्द्रमाले मधुर रंग छर्दै

आफ्नो आगमनको आभास दिलायो..

अब बयस्क रातको कालिमा

चिर्दै चन्द्रमा मुस्कायो !

उसको सुनौलो रंग

शान्त सागरको छातीभरी छरियो !

सुस्तरी, सुस्तरी

सागर र चन्द्रमाको नजर मिल्यो,

मायाको भावहरू आदानप्रदान भए

जूनले सोधी 'तिमी मलाई कति माया गर्छौ ?'

सागर बोल्यो 'मेरो असिमित गहिराइ जति'

सागरले त्यही प्रश्न दोहोर्र्यायो

चन्द्रमाले भनिन 'असिमित आकाश जति'

अगाध रुमानी पलसगैँ

ति दुई आकर्षित हुँदै गए

समिपताको प्यास बढ्यो,

मानौं अब एका अर्कामा समाहित हुन चाहन्छन !

तर दुर्भाग्य,

उनीहरूको दुरी, नजिक बन्न सकेन,

बरु ज्वारभाटा चल्यो,

ठूल-ठूला छालहरू उठे,

आँधीबेह्रीले चारैतिर तहस नहस बनायो,

क्षणभर मै सारा संसार निस्तब्ध बने !

बिस्तारै क्षितिजमा उषाको लाली छरियो !

उदास चन्द्रमा निहारिकामा सुटुक्कै विलिन भईन,

सागर उस्तै मौन अनि गम्भिर थियो

मानौं धिर भएर प्रतिक्षा गर्नु उनको तपस्या हो,

काश........ ।