सोल्टेनी ज्यू

Author : रूद्र नाल्बो
Published on : April 14, 2012


  
रूद्र नाल्बो

सोल्टेनी ज्यू

फेरी आए है, सम्झनाको तीनजुरे काटेर भेट्‌न

नल्याईकन हातमा गुराँसका थुंगाहरू

मेन्छ्याम थेगुमा पक्लुंग हानेर फर्कंदा

बाटै परेर भेट्‌न आएको नठानी दिनु होला ?

बिचैमा परिचय मागेर अप्ठ्यारो नपार्नु होला ?

त्यहि मान्छे

जसले खाली हजुरको पछ्यौरीमा

पार्न सकेको थिएन युपारुंग गाँठो

जसले कटाउन सकेन फालेलुंग भन्ज्यांग

जो हजुरको दिलको आकाशमा सधैँ उदौउन सक्ने जुन बनेर,

 

आज

यसरी हजुरको सामु उभिन्दा

बुढो सिपाहीको पूर्व युद्ध स्मृति कथा जस्तो लाग्छ

मेरो उपस्थिति

या, युद्ध पराजित सिपाहीको युद्ध धङधङगी जस्तो,

 

सोल्टेनी

म कहाँ छु र पहिले जस्तो अहिले

जब,

मैले बोकेर हिडेको बिचारको झोलाबाट झिकिएर

धेरै आमाहरूको सपनाको हत्या गरियो

मेरै सामु चेलीहरूको युपारुंग गाठो फुकाइयो

प्रत्येक भेटमा ति टुहुरा नानीहरूको अनुहारले

सोधी रहेको जस्तो लाग्थ्यो

मैले हिडेको बाटोको लक्ष्य ?

कुनै समय हजुरलाई मन नै नपरेका ति कुराहरू

सब सब बगाई दिए तमोरमा,

 

हो यो मिक्लाजोंग बस्तीमा बजेका

यी  दु:खका उदास धुनहरू

सुन्न छाडेको अहिले म

यहि धुनहरूको बिरुद्ध उभिने क्रमहरूमा

हजुरको दिल दुखाएको थिए मैले

आफ्नै जिन्दगीको सपनाहरू हराएको थिए

आज

यो बस्तीको गल्लीहरूमा

हिउँदको तुसारोमा चापलसंग साटी रहेछु जिन्दगी यात्रा,

 

सोल्टेनी

जसरी इतिहासको पानाले एउटा बादशाहको अन्त्य

लेखन भुल्दैन

त्यसरी नै हजुर मेरो आँखा देखि खस्दाको दिन

म बिर्सन सक्दिन ?

ति सबै बिगतहरू भुल्न नसके पनि

यसपालिको चासोक तँङनाम भेटउ है

पहिले घास दौरा जादा भर्लाको पात बजाउदै गएको पालाम

बैशमा  हाम्ले मेला र बजार  गाएको पालाम

फेरी यसरी गाऊ

पालाम सुनेर यो मिक्लाजोंग बस्ति

विउझियोस्‌ निन्द्राबाट,

 

सोल्टेनी ज्यू

आउनु होस् है

एक फेर जिन्दगीको पालाम गाऊ ।