घर छाड्नु अघिल्लो रात

Author : टोप बहादुर राई
Published on : April 14, 2012


  
टोप बहादुर राई

आज फेरि गाउँघरलाई सम्झिएं

आँखाभरी लालुपाते सजाएं

हत्केला भरि गाउँकै माटो मुसारें

पर्सि शहर पस्नु थियो,

 

बेसी खेत झरें

गराका आला-आलीहरु टेकें

गाईगोठ चहारें

सललल बगेको हिउँ खोला तरें

पर्सि मुग्लानमा दुःखको सागर तर्नु थियो,

 

टारबारी पुगें

गौथली र जुरेलीहरुसंग खुबै जिस्किएं

सिमलको भूवासंगै उडें

पर्सि मुग्लानको जहाजमा उड्नु थियो,

 

फेरि डाँडाघर फर्किए

धनसार, कुल देवता र पितृहरुलाई सम्झिए

सिकुवा, आँगन र गुवाली सोरे

पर्सि मुग्लानमा दुःखको भाग्य सोर्नु थियो,

 

अन्तत सानो हुँदाताका झै आमाको न्यानो काखमा पल्टिए

आमाकै सुवाष आउने बर्को सिरानी लगाए

बाबाको न्यानो स्नेहको सिरक ओढेर निदाए

पर्सि मुग्लानमा चिसो रात कटाउनु थियो ।