मृग तृष्णा

Author : प्रकाश के.सी.
Published on : November 25, 2008


  
प्रकाश के.सी.

                                            भाग ३

           किट्टी ज्ञानको विनिमय ज्ञानसँग गर्न चाहन्थिई । यसैक्रममा, प्रेममा विश्वास आफै भई न रहने र यसलाई बनाई राख्नु पर्ने सन्दर्भहरुबारे चाख लिएर सुन्दथिई । बैवाहिक जीवनमा गर्ने र गरिनुको प्रशस्तै सम्झौताहरुबारे मन नपराएरै स्वीकार्द थिई समीरका सिद्धान्त जस्ता कुराहरु ।

           कर्कलाको पातमा परेको शीतको थोपा जस्तो स्वच्छ र शाश्वत किट्टीको मन ! चिरा-चिरा परेको जीवनको बैवाहिक खोलहरु, सम्झौताले कति टालिन्छन् ? कति सिलाईन्छन् ?  किट्टीलाई के थाहा ?

           यस्तैमा केही हप्ता बितेर महिना भइसकेपछिको एकछुट्टीको दिन उसरी नै 'अनलाइन' हुँदा किट्टी अचम्भसँग फैलिईन खोजेकि थिइ उनीहरुको चिनारीमा । अनायासै, व्यक्तिगत हुन थाल्दैथिए कुराहरु । किट्टी समीरको व्यक्तिगत मनलाई आफ्नोपनले छाम्न खोज्दैथिई । उसको आदर्श, उसको जीवन शैलीबारे, उसको स्वप्निल रहरबारे, मस्तसँग खुसी हुन सक्ने पलहरुको बारे, खुबै चाख लिएर जान्न खोज्दथिई । समीर आश्चर्यजनक रुपमा खोलिरहेको थियो आफूलाई, मनभित्र जेलिएर, बेह्रिएर रहेका कुराहरुको एकसिरो किट्टीको हातमा परेपछि ऊ सजिलैसँग उध्रिईँदै गएको थियो । त्यसदिन, उसको किट्टीतर्फको सोँचाइमा या सोँच्ने धरातलमा भिन्नता भने अवश्य आएको थियो र यसैक्रममा, 'यदि भएको भए...' भन्ने तात्पर्यको थालनी दुबैतर्फबाट हुनु असान्दर्भिक थिएन ।

           च्याटमा नै समीर उसको र किट्टीको वार्तालापमा अति गहन गम्भीरता छाएको गम्भीर भएर महशूस गर्दै थियो । त्यँहा, हातका औंलाहरूले मनभित्रका भावनाहरुलाई अक्षरहरुमा बदलेर बोलिरहेको मात्र थिएन, सम्पूर्णतः मन नै विस्तार-विस्तार, अक्षर-अक्षर हुँदै कलम बटनसँगै साटिईँदै थियो । लगभग कुनै गहिराइमा या निर्क्यौलमा पुगेजस्तो गरी किट्टी अगाडि आएकी थिई-

           Can u spare just a week, outa ur life ? -तिमी आˆनो जीवनबाट एक हप्ता छुट्याउन सक्छौ ?)'  प्रश्न गाह्रो होइन, तर कुन हिसाबले छुट्याउने भनेकि हो ? बुझिएन ।

           How do you want, that to be spared ? -तिमी कसरी त्यो छुट्टएिको चाहान्छौ ?)'

           थाहा नै नपाईकन बिस्तारै मीत्रताले या सम्बन्धले नाम लिनथाल्दै थियो, तर, निश्चय नै उक्त नाम छुट्टिएर आउँथ्यो चलनचल्तीबाट, किनकि, समीर बिवाहित थियो र हङ्गकङ्ग भौगोलिक हिसाबमा बैँककबाट टाढा थियो । उनीहरुबीच प्रेम थिएन र हुन सक्ने आधार भएता पनि 'नर्मल' थिएन । एक-अर्कोले कुराकानी मन पराउँथे, अवसर मिले साथ पनि, तर त्यो साथको स्थायित्व भने पक्कै हुँदैनथ्यो र गर्नको लागि प्रयास आफैमा बेकार थियो । यो दुबैलाई राम्रैसँग थाहा थियो ।

           LetÚs live together, whole life in one week, for and ever ! -सँधै-सँधैकै लागि सारा जिन्दगी एकहप्तामा बाँचौं सँगै)'

           मान न हो ! वास्तवमा रमाइलोहरु 'झ्वाम्म' पसेको थियो उसको मानसिकताभरि । what’s the heck ! के नै बित्छ र ? उसले नयाँ बाटोबाट फेरि दोहोर्याएर सोँच्न थाल्यो । किट्टी हेर्दै ज्यादा उत्साहित भएकि थिई । समीरले स्वीकारिसकेपछि, बैँककको बसाइ, त्यसभित्रका अवस्था, मान्यता, शर्तहरु अनि त्यसपछिका आ-आफ्नै संसारका बारेमा व्यापक छलफल गरिएको थियो ।  सातदिन, दुबै, सबैबाट मुक्त भई शाश्वत आफूमा हुनु पर्ने र उक्त पलहरुमा, एक-अर्कोप्रति पूर्ण समर्पित हुनु पर्ने प्रतिज्ञा गरिए एक-अर्कोसँग ।

           जीवनमा त्यसपटक उत्साह, साउनको झरी जसरी मनका अन्तर-कुन्तर भिजाउने गरी अनायासै दर्किएको थियो । योजनाका तयारी दुबैबाट हुँदैथियो । समीरलाई बाराम्बार किट्टीको, उसले भन्ने गरेकी Hidden Desire ! -लुकेको ईच्छा) ले नबुझिने गरी भावुक बनाउने गर्थ्यो-

           I want you to feel me, while walking on my streets by my side ! -मेरा गल्लीहरुमा मसँग हिँड्दै, तिमीले मलाई अनुभव गर भन्ने चाहान्छु ।)'

 

           त्यही हप्ताभित्र बैँककको एयरपोर्टबाट समीर बाहिर निस्किरहेको थियो, एउटा सानो ब्याग र हातमा चकलेटको प्याक लिएर, जे होस् निक्र्यौलमा । उपाय सजिलोसँग हात लागेको थिएन । उक्त वार्तालाप पछि पनि लामो 'च्याटिङ्ग', लामो फोन-वार्ता आदि भएपछि हात लागेको पहिलो उपायलाई, झम्टेसरी समातेपछि, त्यसैलाई नछोडी यसरी 'थाई एयरवेज'बाट हङ्गकङ्ग छोडेको थियो उसले र पुगेको थियो नितान्त, नौलो, सर्वथा अपरिचित ठाउँ, पूर्ण भिज्ञ भई नसकेकि व्यक्तिको भरोसामा ।

           आगमन कक्षमा मानिसहरु प्रशस्तै थिए । कोही हात हल्लाउँदै थिए, कोही अँगालिईँदै थिए । समीर असमञ्जस अनि केही अन्योल थियो, तर मनका भावनाहरुलाई लगभग नियन्त्रण गर्दै अगाडि बढ्दै गयो र 'सरसरती' चारैतिर आँखाहरु घुमाउन पनि थाल्दथ्यो । धेरैबेरसम्म पनि कतै कहीँ किट्टी जस्ती हुन सक्ने केटी उभिएकी देखेन उसले । ऊ अगाडि बढ्दै गयो र देबे्रतिरको लहरमा रातो गुलाफको एकझुप्पा फूल हल्लाउादै ऊ भएतिर हेरेर हाँसिरहेकी युवतीलाई देख्दा एक पटक निरीह भावले 'घुटुक्क' थुक निल्यो भन्दा अतिश्योक्ती हुँदैनथ्यो, अवश्य नै ।

           जति ज्यादा प्रयास गरेको भए तापनि समीर सजिलैसँग 'नर्मल' देखिईन सकिरहेको थिएन । किट्टीले रिजर्व गरेकि कारमा बसेर एयरपोर्टलाई धेरै पर छोडिसकेको थियो समीरले किट्टीसँगै । डिसेम्बर महिनामा पनि बैँकक, रोटी सेकाउन मिल्ने तावा जसरी तातिएको थियो, 'एसी' नभएको कारको सीसाबाट तातो वाफहरु हावासँग, सँगैकी किट्टीको गोरो गालासँगै उसको आफ्नो गालालाई पनि मुसार्ने गर्दथ्यो ।

           किट्टीको हातबाट रातो गुलाफको झुप्पा लिँदा, वास्तवमा उसले हीनतावोध गरेको थियो । किट्टी, उसले कल्पना गरेकी भन्दा राम्री, कोमल र धेरै नै ज्यादा सम्वेदनशील भएकी पायो उसले । गुलाफको राग पोखिएको गालालाई अझ सिन्दूरे पार्दै, उसका आँखाहरु खुम्चिन्थे घरि-घरि, सशरीर अनि सुकोमल किट्टी साँच्चै नै कोपिला देखिन्थिई ।

           समीरलाई अझै प्रष्टै याद छ कि, त्यो दिन कार पार्कतर्फ जाँदै गर्दा एयरपोर्टमा, किट्टीले फूल र समीरले चकलेट आदन-प्रदान गर्दा दुबैका हातहरु 'थर-थर' काम्मिरहेका थिए र प्रशस्तै हड्बडाएका थिए । कारभित्र बसेपछि, किट्टीले उसको ठेला परेका साह्रो र खस्रो हत्केलामा आफ्ना कोमल हातहरुले सुम्सुम्याउँदै गर्दा मात्र ऊ बिस्तारै खुल्न सकेको थियो । मनभित्रका असजिलाहरु, कारको झ्याल भएर भित्र छिरेको तातो हावाको लहरहरु सँगै बाहिरिादै थिए । अर्कोतर्फको झ्याल हुँदै, अनि उसको मन मस्तिष्कका झ्याल ढोकाहरुबाट पनि ।

           केही बचेको या अड्केको औपचारिकताहरु, किट्टीले उसको हत्केलामा चुम्बन गरेपछि 'स्वाहा' भएको थियो । ऊ मनभित्रका कुना-काप्चाहरुबाटै कृतज्ञ भयो, धन्य भयो । उमेरले पत्याउन नसकिने नारीत्व र भावुकता बोकेकि किट्टीलाई, हातका ईसाराहरुले औंल्याएर देखाउँदै गएकि दृश्यहरुको व्याख्याहरुबाट मात्र मनन नगरी, नजिकैको उसको कौमार्य साथ, पर्फ्युमको मन्द बास्ना र बेला-बेलाको स्पर्शहरुबाट आत्मसात् गर्दै गयो समीर । 'ट्राफिक जाम', वाहनहरुका लश्करहरु र 'हर्न'का एकोहोरो 'बैरागी हल्लाहरु र गर्मीको तापमा पनि त्यो यात्रा लम्बियोस्, नरोकियोस् झैँ लागिरहेथ्यो उसलाई ।

           दिन भर्खरै शुरु हुँदैथियो । किट्टी आधा घण्टामा र्फकन्छु भनी गएकिथिई बाहिर उसलाई होटेलको रुममा पुर्याएर 'फ्रेश' भई तल पर्खने भन्दै । चीसो पानीमा नुहाएपछि ऊ चंगाझैँ हलुङ्गीएको थियो । तयार भएर होटेलको लबीमा पुग्दा किट्टी अर्कै हल्का ड्रेशमा एउटा सानो झोला लिई आउँदै थिई । उक्त झोलालाई रिसेप्शनमा नै छोडेर उसको हात समात्दै छिटो-छिटो देब्रतिरबाट पुरानो आबाक् युनिभर्सिटीतिर लाँदैथिई । बाटोभरि वाहनहरुका चालकहरु एकोहोरो 'हर्न' बजाउँदै, जस्तो, अत्याधिक गाडीहरुको चापको रुवाइ रुँदैथिए । हिँडेको केही मिनेटभित्रै पसिना उत्पादन गर्न सक्ने घाम अविछिन्न शीरैमाथि फैलिएको थियो । किट्टी आफ्ना सानो-सानो गोडाहरुलाई बेस्सरी चलाइरहेकी थिई चप्पु चलाए जस्तो नदीमा । केही ज्यादा असजिलिएरै पनि समीर पछ्याइरहह्यो, र किट्टीको आकाशसरी फैलिएको उत्साह देखेर मीठो पनि मान्दै गयो । बाटोमा कतै भिड भेटे किट्टी उसलाई आफ्नो पछाडि पारेर, जस्तो, जोगाउथिई र कहिले उसलाई अगाडि सारेर आफै जोगिन्थिई । त्यसर्थ, त्यँहा, रमाइलो नै थियो, एकै पल तब पनि, आफ्नो हातबाट उसको हात हटाउन्नथिई पसिनाले हात चिप्लै भए पनि ।

           केही खुल्ला सडकको पेटी-पेटी हिँडेर, फलफूल पसलहरुको सम्मुख पर्ने 'टेलिफोन-बुथ'हरुमध्यको छेउको बुथमा पुर्याई, समीरलाई भित्र पसेर उसलाई अनुभव गर भन्दै ऊ जुश किन्न अगाडिको पसलमा गएपछि, समीर यन्त्रस्वचालित बुथभित्र पसेथ्यो तब । केही बुझ्न, नियाल्न या पढ्न, जे होस् गम्भीर भएर भित्र कोचियो । हेर्नुलाई के नै थियो र, एउटा झुण्डिरहेको फोन बाहेक ! ताजा हावा पटक्कै थिएन जस्तो भन्न मिल्ने गरी चारैतिरबाट ढाकिएको थियो उक्त बुथ । बस्ने ठाउँ पनि नभएको बुथभित्र असजिलोसँग उभिएर चारैतिर हेर्दै गयो समीर । उसको नाम पनि लेखिएको रहेछ, थरि-थरिका अरु नामहरुसँगै । किट्टीलाई पनि बोल्दै र केही कोर्दै गर्ने बानी रहेछ । बुझ्नु नै के थियो र भित्र, गर्मीले 'तप-तप' चुहिनु बाहेक । ऊ चुपचाप धैर्यशील, वाफिएर असजिलासाग बुथको एकातिर एउटा कुनामा अढेसिएर भित्तामा लेखिएको नामहरु हेरिरहह्यो । किट्टीले आफूसँग ल्याएकि जुश पिएपछि अमृत पिएको अमृतानुभव भयो उसलाई । उसको निधारको पसिना पुछ्दैथिई किट्टी, उसँगै बुथको बाहिर उभिएर केही बेरपछि ।

           Did you use to call me always from this booth ? -यही बुथबाट तिमी साधै मसँग बोल्ने गर्थ्यौ ?)'

           किट्टीले समीरको निधारबाट अविरल तप्किरहेको पसिनाहरुलाई 'टिस्यू पेपर'ले पुछ्दै स्वीकारोत्तिमा टाउको तल-माथि गरी । समीर त्यसपछि धेरैबेर एकोहोरो हेरिरहह्यो बाटुलो गोरो मुहार, भरिलो ओजपूर्ण भावुक आँखाहरु, सुकोमल अधरहरु !

           'You are crazy, you know that ? -तिमी पगली हौ, तिमीलाई थाहा छ ?)'

           'Yes, I know .-हो, मलाई थाहा छ ।)'

           हाँसेकिथिई किट्टी, तर समीर भने हाँस्न सकेको थिएन । एकै मिनेटमा पनि 'खलखल' पसिना आउने, त्यस्तो खोर जस्तो बुथमा उभिएर किट्टी उसाग घण्टौँ बोल्दथिई । कति दुख्थेहोलान् उसका गोडाहरु ! कति फुल्थे होलान् उसका श्वास-प्रश्वास ! अनि कति वाफिन्थिई होली, भित्र बुथमा, पसिना-पसिना भएर ! गीत पनि त गाउने गर्दथिई, समीरले फर्मायस् जो गर्दथ्यो हङकङबाट । त्यतिबेला उसले केही साथीहरुलाई पनि सुनाउँथ्यो कि 'आईडीडी-कल'मा कसैले त्यति टाढाबाट गीत गाएर सुनाउँछे भन्दै किट्टीमाथि रमाइलो गर्ने गर्दथ्यो । समीर आफूलाई अति दोषी, लुच्चा, फटाहा अनि लफंगा आदि ठान्नथाल्यो । उसको मुटुभरि, दया अनि टीठ उम्लिएर आयो किट्टीको लागि । बिचरी ! बेकारमा समय नष्ट गर्दैछौ !

She really deserves much more better than me. -उसले मभन्दा अति धेरै अशल पाउनुपर्छ)' सोँच्यो समीरले ।

           धेरैबेर एकोहोरो किट्टीलाई हेरिरहह्यो उसले, तर, केही भन्न सकेन । अपराधवोध जो हुँदै थियो उसलाई, उसको मनभित्र । किट्टीले त्यसपछि उसलाई अरु ठाउँतिर डोर्याउँदै लगी । किट्टीले धेरै पटक सोध्दा पनि बताएन कि उसले के सोच्दैथियो । ऊ व्यथित भएको थियो, त्यो किट्टीले पक्कै पनि बुझेकी थिई र त्यसलाई हटाउनको लागि, कहिले यो, कहिले त्यो, एउटा कुशल  गाइडले झैं वर्णन गर्दै गई । आफैमा अपरम्पार बैंककको गल्ली, सडक, चौक हिँड्दै, 'टुकटुक' चढ्दै गर्दा कतिखेर मनभित्र का व्यथा जस्तो गहु्रगोपन हराएछ, समीरले थाहै पाएन ।

                                                                                                                क्रमश ………………………… 

                                                                                                                                   कथाको बाँकी अंश भाग  ४ मा हेर्नुहोला…….