छलाङ साहित्यिक आन्दोलनको विषयमा

Author : हाङयुग अज्ञात
Published on : September 25, 2008


  
हाङयुग अज्ञात
Author

नेपाली सामाजिकता यतिबेला सङ्क्रमणकालको चरम बिन्दुमा छ । त्यसकारण राज्यका विविध अवयव र क्षेत्रमा अनेक तर्क र सिद्घान्तहरू तछाडमछाड गर्दै जनसमक्ष आइरहेका छन् । विकास र प्रगतिको उपल्लो तहमा पुगेका राष्ट्रहरूले यस्तो प्रक्रियालाई 'छनौटको युग' भनेर सैद्घान्तिकीकरण गर्न खोजे पनि नेपालजस्तो अविकसित र पराश्रति राजनैतिक चिन्तन भएको राष्ट्रमा यो सङ्क्रमणकाल सक्षमता, प्रगतिशीलता र सृजनशीलताको परीक्षा हो जसमा समग्र नेपालीले उतीर्ण हुनैपर्छ । अनि मात्र राष्ट्र समुन्नत र अग्रगमनको मूलबाटोमा आउनेछ । यही सन्दर्भमा नेपाली साहित्य समेत सङ्क्रमणकालको मजबुत भुँवरीमा फासिसकेको छ जसबाट फुत्किनुलाई सिद्घान्तकारहरू आ-आफ्ना ज्ञान र विवेकले भ्याएसम्मन्का तर्कतर्कनाहरू गरिरहेका छन् । मलाई ताज्जुब लागेको कुरा चाहिँ के हो भने ती सप्पै साहित्यिक सिद्घान्तकारहरू कस्तुरीजस्तै आफ्नै नाइटोमा भएको बिन्दा खोज्दै हिँडिरहेका छन् । आदिबासीजनजाति, उत्पीडित र उपेक्षित वर्गको पक्षबाट मुद्दा लड्नेबित्तिकै राष्ट्र र आम नेपाली जनताको विजय हुनेछ तथापि तथाकथित अभिजात्यवर्ग अथवा उपल्लो जातिका विद्वानहरू आफू प्रतिस्थापित या विस्थापित हुने भ्रमपूर्ण दुःस्वप्नको शिकार भएर सोझो र स्पष्ट कुरालाई पनि बाउन्न ठाउँमा घुमाउँछन् र त्रिपन्न ठाउँमा गाँठो पार्छन्, अनेकका राइटिस्ट र लेफ्टिस्टका तर्कतर्कनामा स्वयम् झुल्छन् र झुलाउन खोज्दछन् । यो नमीठो विडम्बनामा राष्ट्र अधोगतितिर जाँकिदोछ । विश्वका एक मात्र महान् क्रान्तिकारी दार्शनिक कार्ल माक्र्सले लिङ्ग, जाति अथवा नश्लको आधारमा गरिने विभेदमाथि चिन्तन नगर्नु, खालि वर्ग विभेदको पाङ्ग्रा घुमाउनु भनेर कहाँ भनेका छन् ? बृहत्तर नेपाली माक्र्सवादीहरूको सप्पैभन्दा ठूलो समस्या भनेकै लिङ्ग, जाति अथवा नश्लको आधारमा राज्यले जनतामाथि अत्याचार गरिरहेको छ भनेर आवाज बुलन्द गर्नेबित्तिक्कै वर्गको कुरा झिकेर नेपाल राष्ट्रको यथार्थ र प्रमुख समस्याबाट पन्छिन खोज्नु हो । आफूलाई क्रान्तिकारी दाबी गर्नेहरू समेत राज्यसत्तामा लामो समयदेखि क्षेत्रीबाहुनहरूले हालीमुहाली गर्दै सत्तरी प्रतिशत आदिबासीजनजाति, आधा आकाश ��"गटेका नारी जाति, मधेसीमूलका जाति तथा हिन्दु वर्णाश्रमले दलित र अछुत बनाएका जातिहरूमाथि शोषण, दमन, अन्याय, अत्याचार र आफ्नो जातीय अहङ्कारको पैतलाले कुल्चेको देख्दैनन् । नयाँ पुस्ताका क्षेत्रीबाहुन मित्रहरूले बेलैमा नेपालको सन्दर्भमा माक्र्सवाद, लेनिनवाद र मा��"वादलाई लिङ्ग, जाति अथवा नश्लका आधारमा व्याख्या विश्लेषण नगर्ने हो र राज्यसत्तामा एउटै जातिविषेशको मात्रै रजगज चल्ने र चलाउने हो भने क्षेत्रीबाहुनहरू पनि राणा र शाहवंशहरू जस्तै हुनसक्ने सम्भावना देखिन्छ । यो कुराको पातलो चिन्तन माक्र्सवादी विद्यार्थी अरूण बरालजीले बाहुनवाद पुस्तकमा गरेका रहेछन्, यसर्थ उनी धन्यका पात्र छन् । यति हुँदाहुँदै पनि उनको ढुलमुले विचारले भने जो कसैलाई स्तब्ध बनाउँछ तथापि उनले उठाउन खोजेको अजेन्डा सृजनशील अराजकताको आग्रहसम्मत्ले निरन्तर रूपमा वि.सं. २०५७ सालदेखि उठाउँदै आएको हुँदा उनका विचारहरूसित केही संवार्ता चाहेको छु ।

खाँट्टी कुरो के भने भर्खरै नेपाली साहित्यमा छलाङ साहित्यिक आन्दोलनका नाममा अर्को साहित्यिक आन्दोलनको घोषणा भएको रहेछ, सृजनशील/प्रगतिशील कवि भोगेन एक्लेबाट थाहा भयो । एक्लेकै आग्रह अनुसार बरालजीको बाहुनवादबाट उनीहरूको आन्दोलन बारेमा थोरै विचार पनि बनाएँ । मित्र अल्पविरामजीले हामीलाई पनि छलाङ साहित्यिक आन्दोलनमा चस्स छुनु भएको रहेछ । नेपाली साहित्यमा सिन्डिकेट प्रणाली नामको उनको लेख पढेर वास्तवमा म मुस्कुराएँ थोरै र धेरै गम्भीर बनेँ । अल्पविरामजीका कतिकति तर्कहरू आफैमा बाझेका रहेछन् । सृजनशील अराजकतालाई अराजकतावादी आन्दोलन भनेर सामान्य समर्थन गरेका रहेछन्, उनको गम्भीरता तिँही मापन गरेँ । सृजनशील अराजकता अराजकतावादी आन्दोलन होइन, अल्पविरामजीको सृजनशील अराजकताप्रतिको  सतही विश्लेषणले अरू अल्मलिने खतरा देखेका छौं । सोझो अर्थमा अराजकता पनि यौटा उर्जा हो तेसलाई सृजनात्मक कार्यमा प्रयोग गरौं भन्ने आग्रह सृजनशील अराजकता हो । यसलाई अराजकतावादी आन्दोलनको तक्मा भिराएर छलाङ साहित्यिक आन्दोलनले छलाङ हान्न सक्दैन, बुझ्नु जरूरी छ । तेस्सै र अल्पविरामको 'नेपाली साहित्यमा सिन्डिकेट प्रणाली' लेखबाट मैले बुझेको छलाङ साहित्यिक आन्दोलन विषयक सृजनशील अराजकताको आग्रहसम्मत्मा केही विचार सम्प्रेषण गर्न चाहन्छु ।

सिन्डिकेट (syndicate) अङ्ग्रेजी शब्द हो । सिन्डिकेटका धेरैवटा अर्थहरू छन् । तर, अल्पविरामको आलेखमा सिन्डिकेट-शब्द प्रयोगको आशयमा नकरात्मकता बोध हुन्छ । अनुचित स्वार्थका लागि राजनैतिक गुटबन्दी गर्ने सन्दर्भमा सिन्डिकेट शब्दलाई उनले धेरैवटा ठाउँ र प्रसङ्गहरूमा प्रयोग गरेका छन् । उनी कथित मूलधारमाथि अभियोग लगाउँछन्- यो साहित्यिक सिन्डिकेट प्रणाली साहित्यभित्रको राजतन्त्रात्मक प्रणाली हो, भन्छन् । गुटबन्दी गर्नुको अर्थमा सिन्डिकेट शब्दको प्रयोग भएको हो भने छलाङ साहित्यिक आन्दोलन भनिकन जो यौटा साहित्यिक/राजनीतिक गुटबन्दी गरिदैंछ त्यो पनि त सिन्डिकेट प्रणाली भित्रै पर्ने भयो । सृजनशील अराजकतामा हामीले हिन्दु अहङ्कारवादी साहित्यलाई निरङ्कुश र हैकमवादी साहित्य मान्दै तेस्तो साहित्यलाई मूलधार मान्न नसकिने जिकीर गरेका थियौं । आज हाम्रो आवाजलाई साथ दिदैं पान्थर लिम्बुवानबाट सृजनशील उत्तरवर्ती, काठमान्डौं केन्द्रबाट रङ्गवाद, दमकबाट मुक्त अभियान र प्रवासबाट भयवाद उदाएको छ । जसले जसरी व्याख्या गरून् यथार्थ यथार्थ नै हुन्छ । जाति या नश्ललाई बिर्सेर साहित्य लेखिन्न, यदी आफ्नो सास्कृति, संस्कार, समाज र स्वभावलाई बिर्सेर साहित्य लेख्ने दुस्साहस गरिन्छ भने त्यो भजनकिर्तन, अर्चना र चाकरी मात्रै हुनेछ भन्ने हाम्रो मान्यतालाई उता उत्तरआधुनिकतातिर लगेर व्याख्या गरे पनि अथवा माक्र्सवादतिर लगेर विश्लेषण गरे पनि हामीले नेपाली साहित्यमा एक जाति, एक धर्म, एक संस्कार, एक सास्कृति र एक विचारको सर्वसत्तावादी नियन्त्रणलाई अस्विकार गर्यौं र यस्तो एकलवादी सोचपरिसोच विरूद्घ सृजनशील अराजकता सधैं उभिनेछ । विविधता र बहुलताको पक्षमा उभिदाँ 'कम्युनिज्मको कित्ता'बाट हुइँक्याएर बुर्जुवा खोरमा थुन्न खोजिन्छ भने लाल सलाम छ कामरेडहरूलाई र सामाजिक तथा राजनैतिक रूपले उत्पीडितउपेक्षित वर्गको पक्षमा साहित्य बनाउँदा 'उग्रवादी विखण्डनकारी हत्यारा लेफ्टिस्ट'को आरोप आइलाग्छ भने जय नेपाल डेमोक्र्याट्हरूलाई । व्यष्टिवादी र समष्टिवादी दुवैलाई गाली गरिसकेपछि 'सामन्त'को मेटलस्ट्याम्पले निधारमा गढ्याम्म बजाए पनि हुन्छ । यस्ता कोरा तर्कहरूले यथार्थको देवल ढल्ने छैन । सृजनशील अराजकता आदिबासीजनजाति तथा उत्पीडितउपेक्षित वर्गको हितमा साहित्य बनाउँछ न कि कुनै राजनैतिक पार्टीको झोला बोकेर झुटा वचनहरू मान्छेलाई बाँड्छ । तेसो र छलाङवादी मित्रहरूले नेपाली साहित्यको तथाकथित मूलधारको पहिचान गर्नु आवश्यक छ । जाति या नश्लगत रूपले केलाउँदा राज्यले प्रदान गर्ने सुखसुविधामा नेपाली साहित्यका केही मुट्ठीभर  क्षेत्रीबाहुनबाहेक अन्य आदिबासीजनजाति तथा उत्पीडितउपेक्षित जातिको उपस्थिति देखिन्न र छैन पनि । यति हुँदाहुँदै पनि अल्पविरामजीका विचारहरूको उद्वेगलाई श्रद्घा गर्दै छलाङ साहित्यिक आन्दोलनप्रति म विषेश सम्मान् प्रकट गर्न चाहन्छु ।
 
साँच्चै नै नेपाली साहित्यमा फस्टाइरहेको सिन्डिकेट प्रणालीलाई ध्वस्त गर्नुछ भने शिक्षामन्त्री प्रदीप नेपालले समेत शुभकामना दिएको छलाङ साहित्यिक आन्दोलन बुटपालिस र राल्फालीको निरन्तरता नभइकन तीजस्तै आन्दोलन हुन् भनिरहनुपर्ने आवश्यकता थिएन । शिक्षामन्त्री या प्रदीप नेपालको ध्वांस दिनु अल्पविरामजीको मूर्खता हो, बुटपालिस र राल्फाली आन्दोलनसित पनि जोड्नु भएछ छलाङ साहित्यिक आन्दोलनलाई जसका कारण यस विषयमा स्पष्टिकरण दिदाँदिदै छलाङको उद्देश्य ��"झेलमा पर्नसक्छ । किनभने, प्रदीपजीको वैचारिकता र व्यवहारिकता मापन भइसकेको छ भने राल्फा र बुटपालिसका केही अभियन्ताहरूको स्थिति पनि तेत्ति उत्तम देखिएन । छलाङ भन्ने शब्दसित शिक्षामन्त्री प्रदीप नेपाललाई गाँस्दा अर्कै बोध (signified) बाहिर प्रकट हुन्छ । नेपालका प्रगतिशील र प्रगतिवादीहरूलाई कत्राकत्रा गम्भीर अभियोगहरू लगाउने मित्रले यस्तो सामन्तवादी र व्यक्तिवादी अहङ्कारको झुसिलो डकार आलेखको शुरूमै डकारेपछि समग्र आलेखको नियत र गम्भीरतामाथि संशय उत्पन्न हुँदोरहेछ । नेपाली सामाजिकतामा 'छलाङ' शब्दको प्रयोग नेकपा मा��"वादीका तर्फबाट भएको हो । छलाङ निख्खर नेपाली खसभाषा होइन, उता भारतबाट आयात गरिएको हो । छलाङको खाँट्टी नेपालीकरण गर्दा लामो फट्को, यौटा कान्लाबाट अर्को कान्लामा फाल हान्नु भन्ने बुझिन्छ । नेकपा मा��"वादीले मा��" जेदोङको सामाजिक-आर्थिक कार्यक्रम 'ग्रेट लिप फर्वाड'लाई छलाङ भन्दै आएका छन् । नेपाली सन्दर्भमा छलाङ शब्द कतिले बुझेर कतिले नबुझी फेसनको रूपमा प्रयोग गरिरहेका भेटिन्छन् । अल्पविरामजीहरूको छलाङ साहित्यिक आन्दोलनले छलाङको मर्म बुझेरै प्रयोग गरिरहेको छ या छैन भन्ने कुरा सृजनशीलहरूको 'जातीय मिथक प्रयोग'लाई सामान्य समर्थन भनेबाट प्रष्ट हुन्छ । गङ्गालाल, काङ्सोरे र चे गुभारालाई एक्कै ठाउँ र प्रसङ्गमा प्रयोग गरेको छु मैले, यी तीनैवटा योद्घा या शहीदहरूको वीरता र साहसमा समानता पाएर मैले जातीय तथा क्षेत्रीय फ्युजन या समावेशीताबाट कवितामा सहअस्तित्वको खोजी गरेको थिएँ । दयालु, दानी र सोझा बलिहाङलाई विष्णुले छलेर पैतलाले पाताललोकमा भसाएको मिथकको प्रयोगले मलाई लाग्छ माक्र्सवादकै पृष्ठपोषण गरेको छ । मैले कवितामा भनेको छु- म बलिहाङको अभ्युदय यौटा कायर षडयन्त्रविरूद्घ, अर्को मुट्ठीभरिको रातविरूद्घ । माक्र्सवाद भनेकै आफूभित्रको अज्ञानता र  शासकहरूको षडयन्त्रहरू विरूद्घ लड्दै उपेक्षित जाति, लिङ्ग या वर्गको पक्षमा उभिनु हो । तेसैले हामीले प्रयोग गरेका मिथकहरूमा सामान्तवाद, साम्राज्यवाद, पुँजीवाद, वर्गवाद या जातीय अहङ्कारवाद कहाँनेर छ ?
अरूण बरालले अल्पविरामको छलाङ साहित्यिक आन्दोलनलाई आफ्नो पुस्तक बाहुनवादमा राख्नुको कारण छलाङवादीहरूले बाहुनवादको विरोध गर्छ अथवा समर्थन गर्छ भनेर देखाउनलाई हुनसक्छ । नेपाली साहित्यमा बाहुनवादको विरोध गर्दै सृजनशील साहित्य निर्माणमा अग्रसर सृजनशील अराजकताको अभियानबारे बरालजीले बाहुनवाद पुस्तकको कुनै पनि पृष्ठमा नामसम्म उच्चारण गरेका छैनन् जसका कारण उनको बद्नियतपूर्ण कुटिल चाणक्य नीतिले बाहुनवाद या सामन्तवादका असली विरोधीहरूको आवाज कमजोर देखाउने प्रयत्न भएको छ । नेपाली साहित्यको सप्पैभन्दा अग्रगामी साहित्यिक आन्दोलन भनेको नै सृजनशील अराजकता हो, यो कुरा अल्पविराम र अरूण बराल दुवै विद्घानहरूले बुझ्नु जरूरी छ । यहाँ बरालको बाहुनवाद पुस्तकको आलोचना गर्न खोजिएको होइन, तिहाँ समाविष्ट छलाङ साहित्यिक आन्दोलन विषयमा सृजनशील अराजकताको तर्फबाट चारदुई अनुभवहरू बाँड्नु खोजिएको भने हो । कथित मूलधारमाथि पाँचवटा र प्रलेसमाथि पाँचवटा अभियोग लगाएका छन अल्पविरामले । यी अभियोगहरूले माक्र्सवादी विचारधारालाई सहयोग पुर्याउने प्रयत्न गरेका छन् । कथित मूलधार यौनजन्य कुन्ठाहरूमा अल्झिरहेको, प्रज्ञाप्रतिष्ठान, गोरखापत्र र अन्य मिडियाहरू उनीहरू (सामन्ती क्षेत्रीबाहुन?) को हातमा भएको, नेपाली साहित्यमा भ्रामक मिडियावाद, नेतावाद र सत्तावाद हावी भएको, साहित्यमा वरिष्ठताको सम्बोधनले योग्यता र प्रतिभाको कदर नभएको र व्यक्तिका नाममा स्थापना भएका पुरस्कारहरू सामन्तवादका अवशेष भएको भन्ने मुद्दाहरू या अजेन्डाहरू कथित मूलधारप्रति लक्षित छन् भने पूर्वीय सास्कृतिभन्दा पाश्चात्य सास्कृति प्रगतिशील हुँदाहुँदै पनि प्रगतिशील लेखक भन्नेहरूले पूर्वीय सास्कृतिको सामन्तवादी मूल्य र मान्यतालाई काखी च्यापिरहेको, आदर्शवादी पण्डित र प्रगतिशील लेखक भन्नेहरूले ��"शो र फ्राइडलाई आलोचनात्मक दृष्टिकोणले मात्रै हेर्दै यौन र महिलालाई पनि गलत दृष्टिकोणले हेर्ने गरिएको, कम्युनिष्ट पार्टीबाट लाहाछाप लगाएपछि आफू प्रगतिशील या प्रगतिवादी लेखक भइने रूढीवादी संस्कार प्रगतिशील लेखक भन्नेहरूसित भएको, प्रगतिशील या क्रान्तिकारी धाराले पनि भक्तिमार्ग समातेको र दोश्रो जनआन्दोलनबाट कथित क्रान्तिकारी सिन्डिकेट प्रणालीको विकास भई राजनीतिक नारा र गाली मात्रै भएका कविताहरू सुन्नुपर्ने बाध्यताको सिर्जना गराएको भन्ने अभियोगहरू प्रलेसतर्फ दागिएका छन् । अभियोगहरू साँच्चै नै गम्भीर छन् तर आलेखको पुछारमा अल्पविराम आग्रह गर्छन- आउनुहोस् साहित्यमा सिन्डिकेट प्रणालीको विरोध गरौं र खुल्ला एवं स्वस्थ्य प्रतिस्पर्धामा भाग लि��"ं । अन्तिमको यो अभिव्यक्ति 'सिन्डिकेटकै लागि सिन्डिकेट'को अर्थमा व्यक्त भएको बुझिन्छ अथवा साहित्यमा राजनीतिक गुटबन्दी गर्नु हुन्न भन्नेहरूको राजनीतिक गुटबन्दी बना��"ं भन्ने आहृवान छलाङ साहित्यिक आन्दोलनवादीहरूले गरे जस्तो लाग्दछ । माक्र्सवाद अथवा कम्युनिज्मबाट अभिप्रेरित आसयहरूले तथाकथित मूलधारको साहित्यलाई दनक दिएपछि आफूहरूलाई पुरानो प्रलेस नभनुन् भनेर प्रलेसमाथि पनि आक्रमण गरिएको छ । तर, प्रदीप नेपाललाई शिरमा राखेर मोदनाथ प्रश्रतिलाई लडाएको आफैमा विरोधाभासपूर्ण देखिन्छ । प्रदीप र मोदनाथ एउटै कित्तामा छन्, माक्र्सवाद या कम्युनिज्मबाट यी दुईको मोहभङ्ग भइसकेको छ, यी दुवै बाहुनवादी हुन् । बेलाबेला यी दुवैले आफ्ना लेख र भाषणबाट बाहुनवादको पृष्ठपोषण गर्दै आएका छन् । तेसो र छलाङ साहित्यिक आन्दोलन बाहुनवादबाट मुक्त छ कि छैन ? अरूण बरालजीले घोत्लिनु धेरै आवश्यक छ र तेसपछि मात्रै हामी अल्पविरामजीहरूसित छलफलमा बस्न रूचाउँछौं ।

'संघीय लोकतान्त्रिक गणतन्त्र'को स्थापना भनेको नयाँ नेपालको जग मात्रै हो । सम्पूर्ण रूपले नयाँ नेपाल निर्माण हुन बीस वर्ष लाग्नसक्छ या त्योभन्दा थोरै या धेरै समय लाग्नसक्छ । बग्रेल्ती समस्याका गाँठाहरू छन् तेसलाई धैर्यता र विवेकले मात्रै फुकाउन सकिन्छ । सृजनशील अराजकताको आग्रहले प्रस्ताव गरेको वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्य, नश्लीयबोध, कवित्व निस्सीमता र सृजनात्मक निर्णयलाई साहित्यिक तथा सामाजिक विमर्श र निष्कर्षको दर्शन मान्दै अगाडि बढेको अवस्थामा निश्चय नै चाँडोभन्दा चाँडो नयाँ नेपाल निर्माणका लागि चाहिने नयाँ साहित्य तथा कलाको उत्पादन गर्न समर्थ हुनेछौं । तिमी बेठीक भनिसकेपछि आफू ठीक हुनुपर्छ । छलाङ साहित्यिक आन्दोलनका नाममा अल्पविरामजीले कथित मूलधार (सामन्तवादी क्षेत्रीबाहुन?) र प्रलेसमाथि तेत्रातेत्रा अभियोगहरू लगाइसकेपछि अब उनले आफ्ना सिर्जना र व्यवहारमा कत्तिको माक्र्सवादीय क्रान्ति देखाउलान्, त्यो नहेरी सृजनशील अराजकताले छलाङवादीहरूलाई पक्कै पनि विश्वास गर्न मिल्दैन । नेपाली समाजलाई एकचोटि जाति या नश्लको आधारबाट पनि विश्लेषण गर्दै राज्यव्यवस्थाका हरेक संयन्त्रहरूमा आदिबासीजनजातिहरूको उपस्थिति किन पाँच प्रतिशत पनि भइरहेको छैन ? के यसको नयाँ उत्तर छ ? नेपाली साहित्यमा राज्यसत्ताले क्षेत्रीबाहुन कविहरूलाई प्रदान गरेका मानपद्वीहरू पनि सामन्ती राज्यव्यवस्था अवशेष हुन् । कसैलाई 'वरिष्ठ' भन्दा तेत्रो कोकोहोलो मच्चाउने छलाङवादी मित्रहरू 'आदिकवि', 'कविशिरोमणि', 'जनकविकेशरी', 'महाकवि', 'राष्ट्रकवि', जस्ता अतिरञ्जना र सामन्तवादका भयानक प्रतीकहरूको विषयमा किन चूप ? सृजनशील अराजकताले ५४सालदेखि नै भन्दै आएको छ सप्पै कवि समान हुन् तेसकारण हामी कसैलाई आदिकवि या कविशिरोमणि, जनकविकेशरी या महाकवि, राष्ट्रकवि या आासुकवि भन्नेवाला छैनौं । जसरी ज्ञानेन्द्र शाहको श्री ५ खोसेर सामन्तवादको नाइकेलाई जनताले ढाले तेसरी नै नेपाली साहित्यमा विद्यमान सामन्तवाद ढाल्नलाई माधवप्रसाद घिमिरेको अगाडि राज्यले थपिदिएको 'राष्ट्रकवि'को अतिरञ्जना खोस्नुपर्छ । तेसरी नै भानुभक्त आचार्यलाई भानुभक्त आचार्य मात्रै भनौं । यसरी सप्पै कवि, गायक, संगीतकार र कलाकारहरूलाई यौटै लहरमा राखौं । राज्यले जुन उँचनीच देखाउने कार्य गर्दै आएको छ तेसको विरोध गरौं । नारायण गोपाललाई स्वरसम्राट किन भन्ने ? बालकृष्ण समलाई नाट्य सम्राट किन भन्ने ? स्रष्टाहरू सप्पै समान हुन्छन् । माक्र्सवादले भन्ने कुरा यही हो । तेसो र सृजनशील अराजकताले उठाएका मुद्दाहरूमा छलाङ साहित्यिक आन्दोलनले सहमति जनाउँछ भने कार्यगत एकता गर्न हामी सहर्ष स्वीकार गर्छौं । तर, अहिलेलाई यति भन्नसक्छु कि यदी कसैले नेपाल र नेपालीको साँचो प्रगति चाहेको हो भने सत्तरी प्रतिशत नेपालीको पनि उत्थान आवश्यक छ । नेपाली साहित्यमा कथित मूलधारले छुटाएको सत्तरी प्रतिशत नेपालीको जीवन र जगत लेख्नु नै सृजनशील लेखन हो । सप्पै प्रगतिशील र अग्रगामि कविलेखकहरूलाई म सृजनशील लेखनमा स्वागत गर्न चाहन्छु । किनभने सृजनशील लेखन नै नयाँ नेपाली साहित्यको मार्गचित्र हो र नयाँ नेपाल बनाउनलाई निश्चय नै नयाँ साहित्य चाहिन्छ । तर्कतर्कनाहरू आ-आफ्ना ठाममा हुँदाहुँदै पनि मनले चाहेको सत्ते थोक भनेको नयाँ नेपाली साहित्यको निर्माण हो ।