मेरो शहर कति झल्ला छ

Author : प्रेम ओली
Published on : April 12, 2012


  
प्रेम ओली

यहाँ खसिको मासु पाईन्छ भन्ने ठाउँमा

बुढी बाख्री काटिन्छ

भागवानको घरमा

नयाँ जुता पुरानो जुता सँग साटिन्छ

हरेक दिन नयाँ कुराको हल्ला छ

तपाईंलाई के थाहा

मेरो शहर कति झल्ला छ,

 

यहाँ काम नगर्नेहरुबाट नै

भाषन ठूलो ठूलो छाँटिन्छ

टिटिमाइले आकाश आँटे झै

आश्वासन ठूला ठूला बाटिन्छ

भुसिया कुकुरबाट

जनताको दिमाग चाटिन्छ

आज एउटा कुरोको सल्लाह

भोली अर्कै कुरोको हल्लाह छ

तपाईंलाई के थाहा

मेरो शहर कति झल्ला छ,

 

यो शहरको बाहिर एउटा

भित्र अर्कै खोल छ

मान्छे पिच्छे

यहाँ मान्छे मान्छे बिच मोल छ

निमुखाहरु बिचरा छन्‌

बलिया बाङगाको बोल छ

हेर्दा तडक र भटक सबैको

बुझ्दा भित्र धेरै डामाडोल छ

आजको भाले त्यो

भोली त त्यो चल्ला छ

तपाईंलाई के थाहा

मेरो शहर कति झल्ला छ,

 

यहाँ घरै पिच्छे

तुम्बा र ठर्राको भट्टी छ

भट्टी भित्र

मन बहलाउने अधबैसे पट्ठी छ

नगद नारायणलाई स्वागत

उधारो माग्नेलाई कट्टी छ

बहिर छेक्ने पर्दा भए पनि

भित्र सबै खुलम खुल्ला छ

तपाईंलाई के थाहा

मेरो शहर कति झल्ला छ,

 

ठग्नेहरु पनि यही

ठगिनेहरु पनि यही

जती शुद्धता कुरा गरे पनि

हरेक खाद्यन्यमा माटोको डल्ला छ

हिजो पनि आज पनि

सरकारको सधैं

करबाही गर्छु भन्ने हल्ला छ

तपाईंलाई के थाहा

मेरो शहर कति झल्ला छ,

 

यहाँ हरेकको आफ्नै दाउ छ

सोझा साझालाई घुमाउ छ

टाठा बाठाको सधैं भाउ छ

मै हुँ भन्नेको पनि यहा बाउ छ

हिजो कै नहुनेहरु आज

गगन चुम्बी भब्य गाँउ छ

देखाउने एउटा

बेच्ने अर्कै गल्ला छ

तपाईंलाई के थाहा

मेरो शहर कति झल्ला छ ।