प्यारी संगीनीको अन्तिम जीवन यात्रा

Author : कृष्णकला वनेम
Published on : March 21, 2012


  
कृष्णकला वनेम

       समय र वाद्यताले मानिसलाई कहाँ कहाँ पुर्र्याउँदो रहेछ । नसोचेको,  नपुगेको,  नसुनेको ठाउँमा पुग्नु पर्ने रहेछ । नभोगेको,  नगरेको काम गर्नु पर्दो रहेछ । आज म सात समुन्द्रपारी पुगेर खुल्ला आकाशमा उड्न नपाएकी चरी पिंजडामा छट्पटिए झै जिन्दगीको सुनौलो दिनको कल्पना गर्दै,  खोजी गर्दै  यो बिरानो देशको बिरानो  शहरमा छट्पटी रहेछु । म एक नारी हुँ,  नारी भए पनि पुरुष सरह कर्तब्य र जिम्मेवारी बोकेकीछु । हरेस खान जानेकी छुईन त्यसैले जिन्दगीमा  देश,  समाज,  परिवार र आफ्नो निम्ति केही गरेर मरौं लागि रहेको छ ।

आज र्इजरायलमा मुटु नै चुडीएला झै धेरै जाडो बढेको छ,  एकैछिन नरोकी बर्षात भै रहेछ । हावा,  हुन्डरी,  तुफान चलिरहेको  छ । र पनि मलाई भने  पश्चिमतिरको झ्याल बिस्तारै खोलेर समुन्द्रतिर आँखाहरू हुत्याउँन मन लाग्छ । समुन्द्रका छालहरू सामुन्द्रीक आँधी आए झै बिशाल अनगिन्ति छालहरू उर्लिएर ढुङ्गामा ठोक्कीदै फर्कन्छन् । मलाई त्यो सुन्दर दृष्यले  लोभ्याउँदा उतै दौडीएर जाउँ झै लाग्छ । त्यही छालको छल्कोसंगै रमाउँ झै लाग्छ । किन हो किन आज अत्यन्तै रमाईलो महशुस भै रहेकोछ । तर यस्तो रमाईलो वातावरण हुँदाहुँदै पनि हावा हुन्डरीसंगै घनाघोर बर्षात भएकोले एक्कासी  मेरो छाती चसक्क घोच्यो । अनायासै मेरो बालापनको झझल्को यि आँखा वरीपरी नाँच्न थाल्यो । म सानो छँदा बर्षात असाध्यै मन पराउँथे । जब आकाश गड्याङगुडुङ गरेर झरी पर्न थाल्थ्यो तब म हतार हतार लुगा खोलेर मेरी साथी तारालाई बोलाई हामी दुई पानीमा रुझ्न थाल्थिउ । उनीसँग बिताएको ति क्षण अब मेरो निम्ती सम्झना मात्र बनेको छन । सायद उनी यतैकतै आँधी हुरी भएर मेरै वरीपरी होलीन भान्ने भान भैरहेकोछ । त्यो समुन्द्रको छाल हुन्डरीले हुईक्याएर मेरो अनुहारसम्म पानीको छिटा चिसो आईपुग्दा म झस्किए । अनि हतार हतार झ्याल बन्द गरे । ढुकढुकीको तेज एक तमामले बडीरहयो ।

मलाई लाग्छ दु:ख र सुख,  मिलन र बिछोड,  रुनु र हाँस्नु नै जिन्दगीको सँगम हो । तर यिनै जिन्दगीमा सुखदु:खका कुईनेटाहरूसँग सम्झौता गर्न नसक्दा मानिसले आफ्नो जिवनलाई कलङकीत बनाउँछन् । मृत्युको मुखमा पुर्र्याउँछन्‌ र आत्महत्या गर्दछन्‌ ।

आज यस्तै कुराहरूले मलाई धेरै पोलि रहेकोछ । यो मनमा त्यसै उकुसमुकुस भैरहेको छ । मेरो बाल्यकालको संगिनीको धेरै याद आर्इरहेकोछ आज । सँगसंगै एउटै आँगनमा खेलेर हुर्केका हामी,  उनले यति अमुल्य जिन्दगीलाई चिन्न , बुझ्न र सम्झौता गर्न नसक्दा जीवन यात्रा नै अन्त्य गरीन् ।

आज म उनीसँग बाल्यकाल बिताएका क्षणहरू यसरी  सम्झिदैछु ।

जबदेखी मलाई बाल्यकालको स्मरण छ । त्यही बेला देखी हामीसंगै हास्दै, खेल्दै, नाच्दै, झगडा गर्दै हुर्किएका थियौ । त्यो समय कति रमाईलो थियो । त्यो बालापनको आनन्दमय पलहरूमा । हामीसंगै स्कुल जान्थ्यौ र फर्कन्थ्यौ । दिनमा एक चोटी हामी झगडा गरेकै हुन्थ्यौ । एकैछिन भेट भएनौ भने खोजाखोज गर्थ्यौ  र एकै छिनमा मिल्थ्यौँ । हामी साह्रै झगडालु भएकोले दशैको साईत पारी आमाबाबाहरू मिलेर हामीलाई भालु मित लगाई दिएका थिए । यसरी नजानिदो तरीकाले हामी मितीनीको सम्बन्धमा बाधीयौं र त्यसपछी भने कहिल्यै झगडा गरेनौ । हाम्रो उमेर पनि लगभग आठ बर्षको भएको थियो । तारा सारै राम्री थिईन,  उन्को आमा जातमा बाहुन थिईन र बाबा प्रधान भएकोले सवैले ठ्याम्बर भएकोले सारै राम्री भएकी भन्थे । उन्लाई हेर्दा पुरानो फिल्म की हिरोईन स्वर्गिय नबिना श्रेष्ठ जस्ती देखिन्थिन र उन्लाई सवैले जिस्काएर नबिना भनी बोलाउँथे । हामी एउटै उमेरका थियौ । केही महिनाले मात्र उनी म भन्दा ठुली थिईन । पढ्नमा ज्यादै तगडा र खेलकुदमा पनि ज्यादै ईच्छुक थिईन । प्रत्येक सालको  महिला दौडमा उनि नै प्रथम हुन्थिन । दौडको पुरस्कार उन्कै हातमा हुन्थ्यो । म भने खेलमा ईच्छा भएर पनि खेल्न सक्दिन थिए । हाजिरी जवाफ र बादबिवादमा मात्र भाग लिन्थे । हाम्रो घरबाट स्कूल पुग्न लगभग पचास मिनट हिडेर जान लाग्थ्यो । बाटोभरी हास्दै, चल्दै, खेल्दै जाने आउँने गर्थिउ । राम्रो फिल्म हलमा लाग्यो भने स्कुल नगईकन भागेर सिनेमा हेर्न पुग्थ्यौ । शनिबारका दिनहरूमा चारकोसे झाडीमा कुसुम टिपेर खान पुग्थ्यौ । दिनभरी जङ्गलमा रमाईलो गरेर साँझपख घर फर्कन्थ्यौं । कहिलेकहि त बाबाआमाको पिटाई पनि खानु पर्थ्यो । खेदाउँनु हुन्थ्यो अनि भाग्थ्यौ । उनि सँगको बाल्यकाल लगभग दश बर्ष यसरी नै  रमाईलो गरी बित्यो ।

समयको अन्तरालसंगै बड्दो उमेर हामी चौध बसन्तको खुड्किलामा हिड्दै थियौ । उनिसँगको त्यो रमाईलो क्षण,  त्यो रमाईलो दिन सायद दैबलाई पनि पचेन होला । हामीलाई समयले,  बाद्यताले,  परिस्थितीले यसरी छुट्याई दियो धेरै टाढा टाढा । तर हामी टाढा रहे पनि तन, मन, चाहनाले नजिक थियौं र बारम्बार पत्र मार्फत भेट भै रहन्थ्यौ । म बर्षमा एक पटक गाउँमा आउँथे । अनि सवैभन्दा पहिले उनिलाई नै भेट्थे । अनि उहि पुरानो हर्कतहरू दोहोर्र्याउँने गर्थ्यो । सिनेमा हेर्न जाने, मिठा मिठा कुरा गर्ने गर्थ्यौ र फेरी म फर्कने बेलामा छुट्न उस्तै गार्हो हुन्थ्यो । म आफ्नो घर जानु दुईचार दिन अघिबाट नै  रुवाई सुरु हुन्थ्यो उनको र मेरो । हामी धेरै रुन्थ्यौ ।

सोह्र, सत्र बर्षकी हु्ँदै गएपछी    उनी झनै स्वर्गकी परी जस्तै देखिन्थिन्‌ । भनेर साध्य नै छैन, जो कोही केटाहरू भुतुक्कै हुन्थे उनलाई देखेर कैयौं प्रेम प्रस्तावका पत्रहरू आउथे र अघीपछी केटाहरू बोल्नलाई ताँत लाग्थे त्यति राम्री थिईन उनि । बिवाहको लागी पनि धेरै प्रस्ताबहरू आउँन थाल्यो । तर उनि पढाई सकेर मात्र विवाह गर्ने लक्ष्यमा थिईन ।

ताराले  एस्.एल.सी. सकेर मेची क्याम्पसमा भर्ना भएकी थिईन, बिहान कलेज जाने र साँझ पख घर आउँने गर्थिन । एक छोरा एक छोरी मात्र थिए । सुखी परीवार थियो बाबा ईलाममा शिक्षकको जागिर गर्नु हुन्थ्यो । घरमा तारा उनकी आमा र दाजु बस्दथे । एक दिनको कुरा हो तारा कलेजबाट आउँदै थिईन । बाटोमा आफ्नै गाउँको भुलनसँग भेट भयो । भुलनले मिठो हाँसोको साथमा तारालाई बोलायो । ताराले पनि मुस्कुराउँदै मिठोसँग बात गरिन । तारा भुलनसँग नजिक हुन चाहदिनथिन किनकि भुलनको राम्रो बानी, नियत थिएन । बिचरीलाई के थाहा त्यही भुलनले उस्लाई मन पराएकोछ भनेर । भुलन ज्यादै फटाहा थियो । गुन्डा गर्दी गर्थ्यो । तास, जुवा, जाड्, रक्सी, चुरोट, बिडी सवै चिजको सेवन गर्थ्यो । भुलनले यसरी तारालाई एकाएक उस्को मनमा लागेका कुराहरू दिनहुँ गर्न थाल्यो । तारा म तिमीलाई मन पराउँछु,  माँया गर्छु,  म तिमीलाई बिवाह गर्न चाहन्छु । तिमीलाई म यो कुरा धेरै अगाडिबाट भन्न चाहेको थिए तर समय नमिलेर भन्न सकिरहेको थिईन । तिमीले मेरो कुरालाई अस्विकार नगरीदेऊ । म सच्चा दिल देखी नै चाहन्छु,  मायाँ गर्छु । यस्तो कुरा सुनेर तारा छाँगाबाट खसिन अनि उन्ले भुलनको कुरालाई बिस्तारै साहस गरेर अस्विकार गर्दै गईन । स्विकार पनि कसरी गर्लिन भुलन जस्तो एक चरित्रहिन ब्याक्तीसँग । जो कोहीले आफ्नो जीवन सुम्पन सक्दैन थियो ।

तर ताराले जति अस्वीकार गरे पनि भुलनले आफ्नो जिद्दी भने छोडेन । ताराले पटक पटक उस्को कुरालाई अस्विकार गरे पछी भुलनले आफ्नो रिस र धम्की देखाउँन थाल्यो । राम्रोसँग तिमीलाई भन्दा मानेनौ भने म जे गर्न पनि सक्छु । आजबाट कोहीसँग बोलेको, हिडेको देखे भने राम्रो हुने छैन भनी तारालाई बारम्बार  धम्क्याउँन थाल्यो । ताराका आमा बाबालाई पनि गएर भुलनले त्यही भन्थ्यो । तारालाई कोही केटासँग बिवाह गरी दिने कोशीस गरेमा राम्रो हुने छैन । यदी गरी हाल्यो भने म दुबैलाई मारेर जेल जान्छु । मलाई मेरो ज्यानको प्रवाह छैन, यस्तो धम्की दिए पछी ताराका बाबा आमा छक्क पर्थे र डराउँथे पनि । नडराउँन पनि कसरी र ? उस्ले कैयौं पटक जेलनेल भोगी सकेको थियो । उस्लाई कुनै कुरासँग डर हुदैन थियो । उस्ले चाहेको कुरा जे गरेर भए पनि प्राप्त गरेरै छोड्थ्यो । फटाहासँग कसैको केही नलाग्दो रहेछ ।

त्यसपछी ताराले पुलिसमा रिपोर्ट गरीन । पुलिसले पनि कैयौं पटक चौकीमा थुनेर हार खाएका थिए । उस्लाई फेरी लगेर थुनामा राखे केही दिन र छोडी दिए । गाउँका समाजहरूले भुलनलाई हदसम्म सम्झाउँने प्रयास गरे तर पनि उस्ले कान ठाडो लाएन । त्यस पछी ताराका बाबा आमाले त्यो गाउँठाउ छोड्ने बिचार गरे । उनीहरूको पुर्खौली घर दार्जिलिङ् थियो र उतै जाने निर्णय गरे । तर सोचे जस्तो कहाँ हुने रहेछ र ? उनिहरूको घर जग्गा कैयौं प्रयास गर्दा पनि बिक्री गराउँन सकेनन । अनेकौं गर्दा पनि उनिहरूले सोचेको काम पुरा भएन । तारा साह्रै पिरमा परेकी थिईन, उन्को अनुहारमा मुस्कान हुँदैन थियो । दिन रात भुलनको डर त्रासमा ताराका दिनहरू बित्थ्यो । हुँदाहुँदै एक बर्ष पनि बित्यो ।

एकदिनको कुरा हो, तारा धरान आफन्तकोमा गएर फर्कदै थिईन । बिर्ताबजार देखी तल बिराट पोखरामा आई पुगेकी थिईन त्यहाँ अलिकती एकान्त चिया बगान छ । अचानक भुलन त्यहाँ देखा पर्र्यो । तारा एक्लै थिईन डरले भुतुक्कै भएर बोल्नै सकिनन्‌ । र भुलनले भन्यो तारा तिमीलाई राम्ररी बाबा आमा सँग तिम्रो हात मागेर बिवाह गर्छु भन्दा मानिनौ लौ अब मसँग हिड म तिमीलाई नै पर्खी रहेको हुँ यहाँ । यदी चिच्याउँने, पुलिस बोलाउँने चेष्टा गरेउ भने राम्रो हुने छैन किनकी तिमीले मलाई राम्ररी चिनेकै होला हैन ? तारा छक्क परीन । न उनी त्यहाँबाट उम्कनै सकिन न केही गर्नै सकिन । आखिर भुलनले आफ्नो कब्जामा बनाएरै छोड्यो । त्यस्को केही दिन अघी मात्र भुलनले उन्लाई बिहे गर्ने कुरा गरेको थियो । तर ताराले म बिहे नै गर्दिन भनेकी थिईन । त्यहाँ ताराको केही लागेन । उन्लाई जबरजस्ती अपहरन गरेर भुलनले लग्यो । यहाँ लग्यो भनेर पत्तै नलाग्ने ठाउँमा लग्यो, एक महिनासम्म पुलिसको गाउँलेहरूको सहायता लिएर उन्का बाबाआमाले खोजतलास गरे तर केही पत्ता  लागेन । कही  पनि भेट्न सफल भएनन । एक महिना बिती सके पछी उनिहरू आफै गाउँमा आए । बाबा आमाले छुट्याउँने प्रयास पनि धेरै गरे । तर तारा मानिनन । किनकि उनले सम्पूर्ण आफ्नो नारी अस्तित्व गुमाई सकेकी थिईन । दानबरुपी त्यो भुलनसँग बच्न पनि कसरी सक्लिन तारा । उनले भुलनसँग छुट्नुको कुनै अर्थ थिएन । तारा आफ्नो जिन्दगीलाई धिक्कार्दै धेरै धेरै रोईन, कराईन, चिच्याईन र अन्त्यमा उनले मेरो भाग्य नै यस्तै रहेछ भनेर चित बुझाईन र भुलनलाई स्विकारीन । उन्का बाबा आमा पनि धेरै धेरै रोए छोरीको बाँकी जीवन के होला कस्तो होला भनेर ।

ताराले धेरै कुराहरू सोचिन मलाई साचो माया गर्छ भने मैले भनेको पनि भुलनले  मान्नु पर्छ, जति नराम्रो काम आजसम्म गरे पनि अबबाट यि कामहरू म गर्न दिने छैन भनि साहस गरीन । त्यहि दिनदेखी उन्ले आफ्नो प्रयास सुरु गरीन । ति सारा जाड, रक्सि, जुवा, तास, गुन्डा, गर्दिबाट मुक्त गराउँनलाई ।

हुँदाहुँदै अठार महिना बित्यो उनिहरूबाट एक छोरा पनि जन्मियो 'निशान' । तर ताराको प्रयास भने सफल बनेको थिएन । भुलनको घरको अवस्था पनि कम्जोरी थियो । सानो नानीसँग काममा ज्यादै खट्थिन उनि, भुलन बिहान हिँडेपछी साँझमा मातेर आउने अनि झगडा गर्ने, रात भरी कराउने गर्थ्यो । यस्तै क्रम चली नै रह्यो  उनीहरू बिचमा बर्षौसम्म । हुँदाहुँदै  सात बर्ष पनि बितेछ, उनिहरूको तीन सन्तान भै सकेको थियो निशान, रेस्मा, आस्मा । शुन्दर बच्चाहरू थिए गुडिया जस्ता तर भुलनलाई बच्चाहरूको वास्ता थिएन । ऊ त खाली साँझमा घर आयो तारालाई मन परी भन्ने, अनि पिट्ने । जब ऊ मातेर घर आएको थाहा पाए पछी तारा  आफ्नो साना नानीहरू लिएर छिमेकी घरमा साहरा लिन पुग्थिन । अर्काको साहरा पनि कतिन्जेल लिनु,  बिचरीले । यसरी अत्याचार भए पछी त छिमेकीले पनि वास्ता गर्न छाडे  दिक्क भएर । वास्ता पनि कति गर्नु एक दिन हैन दुई दिन हैन दिनहुँ,  कति कचहरी बस्नु, कति पुलिस लाउँनु । अब भने ताराको घरमा जतीनै झगडा भए पनि छिमेकीहरू कान थुनेर नसुन्ने भै ढोका थुनेर सुत्थे ।

उनको शरीरमा सवै निलडाम मात्र हुन्थ्यो । कही बाहिर जानु पर्र्यो भने पछ्यौरीले मुख छोपेर हिड्थीन् । नछोप्नु पनि किन ? बिचरीको अनुहार देखाई नसक्नु निलैनिल हुन्थ्यो । ताराले भुलनलाई सुधार्न बर्षौ कोशीस नगरेकी हैन तर ऊ कहिल्यै सुधारिएन । अत्याचारको पनि सीमा पो हुन्छ त । यसरी अत्याचार अन्त्य नभए पछी यातना खप्न नसकेर बिस्तारै ताराले पनि लत्ता छाड्दै गईन । उन्ले पनि बिस्तारै बिस्तारै रक्सी जाडको सेवन गर्न थालिन । हुँदाहुँदै भुलन र तारा बराबर रक्सी पिउन थाले । टन्न रक्सी जाँड पिएर ताराले आफ्नो गतिमति इज्जत सवै बिर्सन थालिन । उनि बेहोश बनेर आफ्नो पिडा भुल्न चाहन्थिन । यो अवस्थामा उनीलाई मैले धेरै पटक भेट्टाए । कुनै बेला त उन्ले मलाई पनि चिन्दिन थिईन । म उनिलाई कति सम्झाउथे यसरी रक्सी पिएर समस्याको समधान हुँदैन । उनिलाई कैयौं सल्लाह सुझाव नदिएको भने  हैन मैले पनि । भुलनसँग पारपाचुके गरेर एउटा खुशी जीवन बिताउने सल्लाह दिन्थे बारम्बार । तर उनि मान्दिनथिन, उनि भन्ने गर्थि यि साना नानीहरूलाई छोडेर म कही जान सक्दिनँ । म कहाँ जाउ ? र उस्को पासमा छोड्न पनि सक्दिन । फेरी म जहाँ गए पनि मलाई खोजतलाश गर्छ । मुर्ख छ घमन्डी  छ । के गर्नु मुर्खको लागी कानुन पनि नहुदो रहेछ । केही पनि नहुदो रहेछ । भर पनि नहुदो रहेछ । हुन पनि  भुलन ज्यादै मुर्ख थियो । गाउँका सवै समाज डराउँथे उसँग उस्को बिरुद्धमा कोही अघी सरेर बोल्न सक्दैनथे । उस्ले जे गर्न पनि पछी पर्दैनथ्यो ।

उनि भन्थिन म टन्न पिउछु । अनि मेरो सारा  दुखाईका दर्दहरू,  पिडाहरू भुल्छु । मरी हाल्न पनि सक्दिन यि साना साना लालाबालाको मायाले गर्दा  । यदि म मरे भने यि मेरा बच्चाहरू कस्ले रेख देख गर्ला ? यही रक्सी टन्न पिउछु अनि बेहोश बनेर मेरो दु:खपिर भुलाउछु भन्थिन ।

समय सँगसँगै मानिसको जिन्दगी यसरी परिवर्तन हुदोरहेछ । तर मैले कहिल्यै सोचिन, त्यति राम्री मेरी सङ्गीनी स्वर्गकी परी भन्दा कम थिईन । हेर्दाहेर्दै उन्को रुप यसरी बदलिन्दै गयो । रातदिन बुढाको कचकच, पिटाई, मसिना बालबच्चा, रक्सीको रिएक्सनले होला । दिनदिनै काली, काली, हाडी जस्ती हुदै गईन । जो कोही पहिले देखेको मान्छेले ठम्याउन गाह्रो हुन्थ्यो उनिलाई । मसँग भेट हुँदा सारै रुन्थिन, जिन्दगीमा भोग्नु परेका बेदना सारा सुनाउथिन मलाई । भन्ने गर्थिन कतै म मरी गए भने त मेरो नानीहरूको ख्याल गर्नु है भन्थिन  । ति सारा कुराले मेरो पनि सारै मन रुन्थ्यो । तर म  साथी भएर पनि उनको निम्ती केही गर्न सकिन ।

दशै आउँन लागेको थियो । मानिसहरूको गाउँघरमा चहल पहल छ । बजारहाट जाने मालसामन किनमेल गर्ने, घरको रंगरोगन सजीसजावट गरी रहेछन । सवैको मुहारमा चाडको उज्यालो छाएको छ । तर पनि आज आकाश खुलेको छैन । पानी पर्ला जस्तो भएको छ । आकाशमा जताततै कागहरू रमाउँदै कराई रहेछन । ताराले नानीहरूलाई मिठा मिठा खानेकुरा बनाएर खान दिईन । राम्रा राम्रा कपडा लगाई दिईन र नानीहरूलाई आधा बाटोसम्म स्कूल पुर्याउन गईन । अनि उनीहरूलाई आँखाले भ्याउन्जेल हेरी पठाईन आँखा भरी भरी आँसु बनाउँदै । नानीहरू स्कुल गैसके पछि उनी फर्केर घर आईन । भुलन पनि घरमा थिएन । ताराले घरको भित्र पसी दैलो थुनेर बिष पिईछिन कसैले थाहा पाएनन । बिहानको साडे नौ बजे बिष पिएको दिउँसोको तिन बजे भुलन घर आउँदा मात्र बल्ल थाहा भयो । तारा बेहोस भै सकेकी थिईन । उस्लाई हतार हतार गाउँका सवै भेला भएर मेची अस्पताल भद्रपुर लगीयो तर उन्लाई बचाउन सकेनन । उनले यसरी अत्याचारलाई खप्न नसकेर सधैंको लागी आत्महत्या गरेर  समाप्त  गरीन जीवन यात्रा ।

आज आएर भुलनको होस खुलेको छ ताराले आत्महत्या गरेको पनि सात बर्ष बित्यो । तर भुलनले बिवाहको लागी एउटै पनि केटी पाउँन सकेको छैन । र तारा माथी गरेको अत्याचार, पाप सम्झेर  पुर्पुरोमा हात राखी पश्चातापको आगोमा जल्दैछ ।

अहिले ताराको ठूलो छोरा निशान पन्ध्र बर्षको भएकोछ । उस्लाई सवै यादछ आमामाथी बाबाले गरेका अत्याचारहरू । पुन: उस्ले आमामाथी बाबाले गरेको अत्याचारलाई भुल्न नसकेर बदलामा बाबालाई यातना समेत दिन थालेकोछ । ताराले केही बर्ष धैर्य धारणा गरेकी भए आज आफ्ना बाल बच्चाबाट सहयोग पाउँनेथईन । आज रेस्मा पनि तेह्र बर्षकी भईन र आस्मा एघार बर्षकी भएकी छिन । यि तीन जना आज आमाको यादमा छट्पटिन्छन । आमाले आत्महत्या गरेमा तड्पीन्छन् । मलाई भेट्दा आमाको तिर्सना मेट्दछन्‌ । आमा नहुनुको पिडा र दु:खको बेदना म मा पोख्ने गर्दछन ।

अझै पनि हाम्रो देशमा नारी माथी गरीने अत्यचार, शोषण, निच घृणित कामहरू गर्न भने पुरुषहरूमा हटेको छैन । पुरुषहरूले जबसम्म महिलालाई आधा अंग हो भनेर सम्झदैनन्‌ तबसम्म नारीलाई एक असल जिवन संगीनीको रुपमा साथ दिन सक्दैनन्‌ । तर यो चेतना कहिले आउँला हाम्रो समाजमा ?

कतिपय नारीहरू दानबरुपी पतीबाट यस्ता यातना,  पिडा,  अत्याचार भोगी रहेकाछन  अझै पनि । कति नारीहरू आफ्नो ईज्जत बाबा, आमा, माईती, मावलीको ईज्जतलाई सम्झेर यस्ता अनेकौ कष्ट सहेर आफ्नो खुसीको आहुती, बली चढाएर बसेको पाईन्छ । जबसम्म हामी नारीहरू आफुले आफैलाई कमजोर महसुस गर्छौ,  आफुले आफैलाई तल पार्छौ । तबसम्म यस्ता अत्याचारबाट कहिल्यै मुक्त हुन सक्दैनौं । हाम्रो देशमा नियम र कानुनको आशा गर्नु भन्दा आफैलाई सक्षम बनाउँन सिकौं । संघर्ष गर्न सिकौं । रुढीबादी संस्कारको चिरफार गरौं । नारी माथीको अत्याचारलाई भण्डाफोर गरौं । आफ्नो भाग्य र कर्मको दोष लगाएर पुर्पुरोमा हात राखेर नबसौं । आत्मविश्वास, आत्म बल, आत्मशक्ती जगाएर यस्ता हरेक आउँने कुकर्महरूलाई कुल्चिएर अगाडि बड्दै जा��"ं । मरेर हैन बाँचेर, संघर्ष गरेर, पुरुषहरूसँग काँधमा काँध जुदाए

प्रीय संगीनी तारा तिमीले  जुन हालतमा आफ्नो जिन्दगीलाई समाप्त गरे पनि,  तिमी मेरो बाल्यकालको प्यारी सङ्गिनी हौ । त्यसैले म धेरै धेरै सम्झन चाहन्छु तिम्रो स्वर्गिय आत्मालाई चिरशान्तीको कामना गर्दै यी शब्दगुच्छाहरू चढाउँन चाहन्छु ।

 

झापा हल्दिबारी

हाल ईजरायल