राइफलको मूर्च्छनाले म फेरि बल्झिदै दुःखेँ

Author : शिवधन राई
Published on : March 11, 2012


  
शिवधन राई

         खुकुरीले बिर्सन्छ, तर अचानोले बिर्सन्दैन-भन्ने कहावतको सान्दर्भिकताभित्र घटना घटेको विगत पच्चिसौं बसन्त पार भइसकेछ । यस समयभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको पत्रपत्रिकामा विभिन्न विश्लेषण अनुसार विविध क्षेत्रका दिग्गज विद्वानहरूलाई संयुक्त राज्य अमेरिकाको पचासौं राज्य हवाई टापुमा फस्ट बटालियन सेभेन गोर्खा राइफल्सको सपोर्ट कम्पनिभित्र सन् १९८६ सालको जुन महिनामा घटेको घटनाले सयौं लेखहरू लेख्ने अवसर प्राप्त भई प्रकाशन भयो । यद्यपि ब्रिगेड अफ् गोर्खाजको हवाईकाण्ड अनिर्णयको बन्दीभित्रै आज पर्यन्त ओझेलमा रुमलिएको थियो । समयले बल्ल कोल्टे फेर्यो-प्रवासि नेपाली साहित्य समाजभित्रका धेरै चम्किला ताराहरू मध्येका एक सुपरिचित लेखक श्री गणेश राई हाँडीखोले ज्यूद्वारा लेखिएको राइफलको मूर्च्छना नामक उपन्यासको पाण्डुलिपि सरसर्ति हेर्ने अवसर पाउँदा बिसौं सताव्दीको उत्तरार्धमा अत्यन्त अमानवीय सो घटना स्वयम् आफैले भोग्नुपरेको तत्थ्यसँग उपन्यासकारको कल्पनाभित्रका काल्पनिक पात्रहरूको भूमिका केवल संयोगमात्र नभई अत्यन्तै समसामयिक र परिस्थिति अनुकूल पात्रहरूको भूमिकाभित्र पीडक र पीडित दुवैले प्राप्त गरेका परिणामहरूका तथ्यहरू सो हवाईकाण्डको रजक जयन्ति पछि भए पनि सत्य कुराको खुलासा विश्वका पाठकवर्गमा उपन्यासकारले पुर्याउने जमर्को गर्नुभएको उपन्यासमा पाइन्छ ।

यस उपन्यासले खुलासा गरेका घटनाका तथ्यहरू काल्पनिक रुपमा प्रस्तुत गरीएका भएतापनि धेरै हदसम्म पात्रहरूको भूमिका व्यवहारिक र समय अनुकूलनै भएको पीडित अचानोको हैसियतले स्वीकार गर्ने अवसर प्राप्त हुादा अहिले पनि घरले जा जा बनले आइज आइज भन्ने समय भएको भए पनि यो मन अनिलो भएर आउँछ । भलै ढिलै भएपनि ब्रिगेड अफ् गोर्खाजको तत्कालिन समयमा मालिक र नोकर -सेता कुाहिरे जति मालिक र नाक थेप्चे पुड्के गोर्खा जति नोकर) बीचको भावनात्मक सम्बन्धलाई उपन्यासले ऐनाको रुपमा छर्लङ्ग देखाएको तथ्यलाई पंक्तिकारमात्र नभई सम्पूर्ण विश्वका पाठकवर्गले एक पटक सरसर्ति राइफलको मूर्च्छना पढेर त्यस घटनाको दोषिलाई राजदण्ड नभएपनि देउदण्डबाट आजिवनमात्र नभई मरणोपरान्त पनि मृत आत्मालाई त्रासमय भयवादी अवस्थामा रहनु पर्ने धु्रवसत्य भएको पाउँनु हुने छ ।

यस राइफलको मूर्च्छनाभित्रमात्र होइन, वीर गोर्खालीहरूको इतिहासभित्र सुगौलीको सन्धिदेखि अहिलेसम्मको ब्रिगेड अफ् गोर्खाजको लाहुरे जीवनमा विपना तुहेको सपना धेरै होलान तर यसभित्र तुहेको सपना दुवै पक्ष सकारात्मक र नकारात्मक दिशामा दिशावोध भएको पाइन्छ । अधिकार प्राप्त गर्नको लागि कर्त्तव्यमात्र पालन गरेर नहुने रहेछ र मौका परे फौदारी कम्पनिको दर्जा प्राप्त पनि गर्नु पर्ने आवश्यकता हुँदो रहेछ । किनकि कुनै मानिसले कसैको हत्या गर्दछ तर हत्या गर्नु पर्ने कारण पनि अवश्य हुन्छ । हत्याकोमात्र न्याय गरिन्छ तर हत्याको कारण पत्ता लगाउन सकिएन भने त्यस्ता हत्याहरू अझ् धेरै हुने सम्भावनाहरू रहन्छन् । र हत्या भइनै रहन्छ । तर हत्या गर्ने कारण पहिचान भएमा निश्चित रुपमा हत्या हुने घटनाहरू न्यूनिकरण हुदै जानेछन् । भौतिक रुपले हत्या हुनु स्वभाविक भएता पनि मनोबैज्ञानिक ढङ्गले नैतिक हत्या भएपछि कठाग्रिदो माघ महिनाको जूनेलि रातमा चन्द्रमाको प्रकाश तापेर आकाशलाई एकोहोरो हेर्दै अब कुन बेला के हुने हो ? भनी मनभित्र एक कुइन्टेलकोभन्दा गह्रो भारिबाट उकुसमुकुस हुँदै बाँचेका उपन्यासका खलपात्र "प्रतापजङ"जस्तै जिउँदै मरेर बाँच्नपर्ने अन्तिम विकल्पलाई नकार्न सकिदैन । त्यसैगरी अर्का पात्र युवाहाङ र उनकी जीवन संगिनीका आशावादी पल्टनीया सपनालाई हावाले उडाएर चकनाचुर पार्नु र, नयाँ जीवनको खोजिमा लाग्नु एक थप नौलो आयाम मान्नु पर्छ ।

उपन्यासकारको धेरै ओटा कृतिमध्ये यो राइफलको मूर्च्छना उपन्यासले स्वच्छ हिमाली पहाडि क्षेत्रका सोझा नेपाली युवाहरूको गोर्खाभर्ति प्रतिको चाहना र चासो अनुसार धेरैले राम्रा-राम्रा फलहरू प्राप्त गरेका भएता पनि विभिन्न प्रकारका शोषण र दमनभित्र उकाली र ओराली पनि भोग्नु परेको तथ्यमध्ये पल्टने दर्जा बढ्दै गए पछि सपनामा पनि ठूलो दर्जाको फुलिनै फुलि देख्ने विपनामा पनि अनेकौं प्रकारका हरकतसँग पचासौं बर्ष पछिको कुरो पनि अहिले नै देख्ने अनि दमनकारि नीति तयार गरी दुनियालाई पासोमा पार्ने सेता कुहिरेहरूका निमेक पानी खाएको योजनामा आफ्नै भाइलाई लातमारी आफैले खाने थालमा दिसा गर्ने तत्कालिन फुलिदारहरूको अन्तरआत्माभित्रको सत्यतालाई छर्लङगसँग देखाउँन सक्ने उपन्यासकारको कल्पनाशिलतालाई पाठकवर्गले सत प्रतिशत उच्च मूल्याङ्कन गर्नु हुने नै छ भनी पीडित पंक्तिकार पूर्ण विश्वास गर्दछ ।

त्यसैगरी प्रवासि नेपाली साहित्य समाजभित्र यस उपन्यासकारका अरु थप कृतिहरू ब्रिगेड अफ् गोर्खाजभित्र लुकाएर वा कुहाएर शोषणपूर्ण राखिएका घटनाहरूको विश्लेषण र बर्णनहरू गर्दै जाने लेखन शैलीको शक्तिले छलाङ्ग मार्दै जाने छ भन्ने पूर्ण बिश्वासकासाथ पुनः सबै पाठकवर्गले एकपटक राइफलको मूर्च्छना नामक उपन्यास पढ्ने र हवाईकाण्डको सत्यतथ्य बुझ्ने अनमोल अवसरबाट बन्चित नहुन पीडित पंक्तिकार हार्दिक अनुरोध गर्दछ । राइफलको मूर्च्छना हवाईकाण्डका पीडित आत्माको साँचो ढुकढुकि भएको यथार्थ कृतिको अवलोकनपछि खुलासा हुनेछ । राइफलको मूर्च्छनाले त्यसै भन्छ ।

फोक्सटन केण्ट, बेलायत